प्रचण्ड र माधवलाई महासचिव किरणको सुझाब : ‘कोर्स करेक्सन गर्नुस्, देश र जनताको लागि संसद छाडेर मैदानमा आउनुस्’

प्रचण्ड र माधवलाई महासचिव किरणको सुझाब : ‘कोर्स करेक्सन गर्नुस्, देश र जनताको लागि संसद छाडेर मैदानमा आउनुस्’


काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव किरणले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका नेता माधवकुमार नेपाललाई पुष्पलालप्रति निष्ठा छ भने राजनीतिक कोर्स सच्याउन र देश र जनताको लागि संसद छाडेर मैदानमा आउन सुझाब दिनु भएको छ । उहाँले त्यसो गर्न नसके संसदवादी कम्युनिस्टहरुको एउटै पार्टी बनाउन समेत सुझाब दिनुभयो । ४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा महासचिव किरणले यस्तो सुझाब दिनुभएको हो ।
उहाँले नेपाली कम्युनिस्ट आन्दोलनमा तीनवटा धारा रहेको चर्चा गर्दै संसदवादी कम्युनिस्टहरु र क्रान्तिकारी कम्युनिस्टहरुबीचमा एकता सम्भव नरहेको स्पष्ट पार्नुभयो । उहाँले बरु सरकार र संसदमा प्रतिनिधित्व गर्ने कम्युनिस्टहरु र सडकमा रहेका क्रान्तिकारी कम्युनिस्टहरुबीचमा तालमेल भने गरेर जान सकिने प्रस्ताव गर्नुभयो ।
उहाँले कम्युनिस्ट क्रान्तिकारी धारका पार्टीहरु एक हुनुपर्ने बेला आएकोमा जोड दिंदै उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि प्रधानमन्त्रीको लोभ त्यागेर जनताको सेवामा लाग्न सुझाव दिनुभयो ।
उहाँले विगतमा डबल नेकपाको सरकारले विप्लव नेतृत्वको नेकपालाई दमन गरेर ठूलो गल्ती गरेको भन्दै संसदवादी कम्युनिस्टहरुले क्रान्तिकारी कम्युनिस्टहरुलाई दमन गर्न नहुने बताउनु भयो ।
केपी शर्मा ओलीको स्वेच्छाचारी कार्यशैलीका कारण डबल नेकपा विभाजित भए पनि सिद्धान्ततः ओली, प्रचण्ड र माधवहरु अर्थात् संसदवादी कम्युनिस्टहरुमा फरक नरहेको स्पष्ट पार्नुभयो ।
यही संसदीय व्यवस्था र संविधानबाट मुलुकमा उत्पन्न संकटको समाधान सम्भव नरहेको भन्दै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुको समाधानका लागि क्रान्ति अपरिहार्य रहेको कुरामा जोड दिनुभयो ।
माक्र्सवाद–लेनिनवाद र माओवाद÷विचारधाराको वैचारिक पथप्रदर्शनमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्नु नै पुष्पलालप्रतिको सच्चा निष्ठा र सम्मान हुने बताउनु हुँदै महासचिव किरणले यो नै कम्युनिस्ट आन्दोलनको संकट समाधानको अबको बास्तविक बाटो भएकोमा पनि जोड दिनुभयो ।
कार्यक्रममा एमालेका बरिष्ठ नेता माधव नेपालले आममाफी दिने पार्टी अध्यक्ष केपी शर्मा ओलीको घोषणालाई श्री ५ को हुकुमको संज्ञा दिनुभयो । नेता नेपालले भन्नुभयो, ‘हिजो महामहिम श्री ५ बडामहाराजधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायतका माननीय सदस्यहरुमाथि जति पनि स्पष्टीकरण सोधिएका छन्, उनीहरुलाई आममाफी दिइन्छ । एम्नेस्टी इज ग्रान्टेड । हामी गदगद् भयौं !’
‘महाराजधिराज खुशी हुनु भएको छ । हामीलाई आममाफी मिलेछ । नाच्नु पर्ने भयो, खुशी हुनुपर्ने भयो । यही हो पद्धति ? यसलाई कम्युनिष्ट पद्धति भनिन्छ ?’ उहाँले भन्नुभयो ।
ओलीतर्फ संकेत गर्दै बादशाहलाई घोडाबाट झारे पनि अहंकार कम नभएको उहाँले बताउनुभयो । नेताहरुले एकतामा असर पर्ने केही नबोल्न आग्रह गरेको र आफूले पनि ओली सुधिएलान् कि भनेर आफू जोगिएर बोल्ने गरेको नेता नेपालले सुनाउनु भयो ।
एमाले वरिष्ठ नेता नेपालले पार्टीमा अहिले देखिएको अन्तरविरोध पदका लागि नभएको पनि बताउनु भयो । तर अध्यक्ष ओलीले त्यसलाई व्यवस्थित गर्न नसकेको भन्दै उहाँले भन्नुभयो, ‘पार्टीको अन्तरविरोधको मूल कारण के हो खोजी गर्नुस् । यो पद, प्रतिष्ठा र इगोको लडाइँ होइन, वैचारिक मान्यता र यहाँ देखा परेका वैचारिक विचलनसँग जोडिएका अन्तरविरोध हो । पार्टीभित्र देखा परेका अनेक विकृति, विसंगति, नीति, विचार र विधि र आचरणसँग जोडिएको विषयको अन्तरविरोध हो ।’
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद हावी भएको बताउनुहुँदै कम्युनिस्ट आन्दोलनभित्र साँस्कृतिक आन्दोलनको खाँचो रहेको बताउनु भयो । कम्युनिस्ट पनि भइरहने निजी सम्पत्ति थुपारिरहने ? भन्दै उहाँले कम्युनिस्ट आन्दोलनभित्र मौलाउँदो पुँजीवादी प्रवृत्तिको आलोचना गर्नुभयो ।
कार्यक्रमा नेकपा (विप्लव)का सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले संसदीय व्यवस्था भ्रष्ट व्यवस्था भएको भन्दै वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्नुको विकल्प नरहेको कुरामा जोड दिनुभयो । संसदीय व्यवस्थामा पैसाको बोलवाला हुने भन्दै यो व्यवस्था रहेसम्म देशको हालत कहिल्यै नसुध्रने ठोकुवा गर्नुभयो ।
नेकपा (संयु क्त)का अध्यक्ष चन्द्रदेव जोशीले पनि कम्युनिस्ट आन्दोलनभित्रका खराबीहरुको बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा एमाले नेतृ तथा मोतीदेवी स्मृति केन्द्रकी अध्यक्ष अष्टलक्ष्मी शाक्य र नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य गणेश साहले पनि कार्यक्रममा आफ्ना विचार राखेका थिए ।
पुष्पलाल मित्रता केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाको अध्यक्षतामा सम्पन्न प्रवचन कार्यक्रमको सञ्चालन एमाले नेता विरोध खतिवडाले गरेका थिए ।