असार ८ काठमान्डौ ।
पुष्पलाल मित्रता केन्द्रका अध्यक्ष तथा एमाले युवा नेता जगन्नाथ खतिवडाले सत्तरी प्रतिशत जनमत रहेको नेपालका कम्युनिस्ट पार्टीहरूले एउटै कम्युनिस्ट पार्टी बनाउनुपर्नेमा जोड दिएका छन्। पुष्पलाल स्मृति दिवसका अवसरमा शुक्रबार आयोजित प्रवचन कार्यक्रममा खतिवडाले एउटै शक्तिशाली कम्युनिस्ट पार्टी बनाउने पुष्पलालको परिकल्पना पूरा गर्न नसकेर अहिलेका वामपन्थी नेताहरूले योग्यता–क्षमता प्रदर्शन गर्न नसकेको बताए ।
‘देशमा कम्युनिस्ट पार्टीका करिब सत्तरी प्रतिशत शुभेच्छुक, समर्थक छन्, के अहिले हाम्रा कम्युनिस्ट पार्टीका नेताहरूमा मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्दै एउटै आन्दोलनको मूल प्रवाह बनाउने क्षमता छ ?’ खतिवडाले प्रश्न गरे, ‘पुष्पलाललाई स्मरण गर्दा एउटा मात्र कम्युनिस्ट पार्टीको परिकल्पना गर्न सक्छौँ कि सक्दैनौँ ? तर, अहिले हामी अनेकौँ कम्युनिस्ट पार्टी बनाएर हिँडेका छौँ। यसलाई सम्हालेर एक ठाउँमा ल्याउन सक्छौँ कि सक्दैनौँ ?’
उनले शान्तिप्रक्रिया, संविधानसभा निर्वाचन र पछिल्लो आमनिर्वाचनपछि नेपाली समाजको गुणात्मक अवस्था, वर्गसंघर्षको लडाइँबारे कम्युनिस्ट पार्टीहरू अन्योलमा रहेकाले एकीकृत रूपमा कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउनुपर्नेमा जोड दिए। पार्टीहरू एकै ठाउँमा नउभिए अराष्ट्रिय तत्वहरूले शिर उठाउने र नेपालको समाजवादको यात्रा अलपत्र पर्ने उनको भनाइ छ ।
प्रचण्ड र माधव नेपाललाई वैद्यको प्रस्ताव : प्रधानमन्त्री बन्ने मोह त्यागेर कोर्स चेन्जको बाटो रोज्न प्रस्ताव
नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्ने मोह त्यागेर कोर्स चेन्जको बाटो रोज्न प्रस्ताव गरेका छन् ।
‘यहाँ सबै कम्युनिस्ट पार्टी मिल्ने भन्नुभो । तर, मेरो विचार के हो भने, संसद् र सरकारमा जाने र सडकमा रहने कम्युनिस्टहरूले एउटा–एउटा काम गरौँ, तालमेल गरौँ, सरकारमा भएकाले सडकमा भएकाहरूलाई दमन गर्नुभएन । ए–अर्कासँग कार्यगत एकता गरेर राम्रैसँग अगाडि बढ्न सकिन्छ,’ वैद्यले भने, ‘प्रचण्डजी यहाँ आउनुभएन, माधवजी हुनुहुन्छ, तपाईंहरूले कोर्स चेन्ज गर्नुस्, यही संसद् पक्रेर कतिपटक प्रधानमन्त्री हुने ? प्रधानमन्त्री बन्ने लोभ छोड्नुस्, देश र जनताको हित सोच्नुस् । सकिन्छ भने कोर्स चेन्ज गरेर सबैलाई क्रान्तिकारी बनाऊँ, सकिन्न भने सडकमा भएका कम्युनिस्टबीच तालमेल गरेर क्रान्ति गरौँ ।’
उनले कम्युनिस्ट पार्टीहरूको अबको बाटो यही संसदलाई बचाएर सबै कम्युनिस्ट मिलेर चुनाव लड्ने भन्ने हो भने आफूहरू सहमत हुन नसक्ने बताए। ‘संसद्का लागि लड्ने होइन, तर संसद् चिरिञ्जीवी भएर समस्याको समाधान हुँदैन ।’
उनले कम्युनिस्ट पार्टीहरूमा संसदवादी, क्रान्तिकारी र मध्यपन्थी संशोधनवादी तीनवटा धार रहेको बताए। डबल नेकपा संसदवादी भएकाले सैद्धान्तिक हिसाबले फुट्नुको कुनै कारण नरहेको धारणा राख्दै उनले केपी ओलीमा कार्यशैलीगत समस्या र नेताहरूको टकराव र इगोका कारण फुटे पनि मिल्न सुझाब दिए।
क्रान्तिकारी धारका नयाँ जनवादी व्यवस्था, वैज्ञानिक समाजवादी व्यवस्था मान्ने कम्युनिस्ट धार कमजोर भए पनि मिल्ने कोसिस गर्दा पनि आफूहरू पनि अझै सफल नभएको वैद्यको भनाइ थियो ।
कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल,  नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य ‘किरण’, राजमो अध्यक्ष चित्रबहादुर केसी, नेकपाका नेता धमेन्द्र वास्तोला , नेकपाका संयुक्तका महासचिव चन्द्रदेव जोशीलगायतका नेताहरू सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार