
८ श्रावण काठमाडौँ ।
वैदेशिक लगानीमा हालसम्म भारत अग्रस्थानमा रहेकोमा अब चीन अग्रस्थानमा पुगेको छ ।
उद्योग विभागका अनुसार भारतलाई समेत पछि पार्दै आर्थिक वर्ष २०७७/७८ मा कुल २२ अर्ब ५० करोड २० लाख रुपैयाँ चिनियाँ लगानी नेपाल भित्रिएको छ । जबकि गत वर्ष भारतबाट जम्मा ७२ करोड ६० लाखको मात्र वैदेशिक लगानी भित्रिएको थियो । त्यसो त यो भन्दा अघिल्लो वर्षमा समेत भारतलाई पछि पार्दै चीनले नै अधिकतम २५ अर्ब ६५ करोडमाथिको लगानी नेपाल भित्राएको थियो ।
आर्थिक वर्ष २०७७/७८ मा नेपालमा साढे ३२ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी (एफडीआई) भित्रिएको छ । यस्तो लगानी मुलुकको उद्योग, व्यापार, कृषि तथा सेवा क्षेत्रमा गरी कुल १०९ मुलुकबाट ३२ अर्ब ५० करोड २० लाख रुपैयाँ बराबरको भित्रिएको हो ।
गत वर्षमा सिङ्गापुरबाट १ अर्ब ९१ करोड, हङकङबाट १ अर्ब २७ करोड, ब्रिटिस भर्जिन आइल्यान्डबाट ३० करोड, मलेसियाबाट ४ करोड ९० लाख, जापानबाट ५ करोड, म्याक्सिकोबाट १५ करोड, नेदरल्यान्ड्सबाट १५ करोड ६५ लाख, दक्षिण कोरियाबाट ९ करोड, जर्मनबाट २१ करोड र अमेरिकाबाट अधिकतम १ अर्ब ६२ करोडको लगानी भित्रिएको विभागले जनाएको छ ।
तर, तुलनात्मक रूपमा अघिल्लो आर्थिक वर्षको भन्दा गत आर्थिक वर्ष २०७७/७८ मा अधिकांश मुलुकबाट कम वैदेशिक लगानी आएको विभागले जनाएको छ ।
५ प्रतिशतले घट्यो वैदेशिक लगानी
समग्रमा आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ को कुल वैदेशिक लगानी अधिकतम १५.३० प्रतिशतको घटेको छ । विभागका अनुसार अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा कुल ३७ अर्ब ८० करोड रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रिरहँदा गत आर्थिक वर्षको अन्तसम्मका जम्मा ३२ अर्ब २ करोड मात्र भित्रियो, अर्थात् अघिल्लो वर्षको तुलनामा यो ५ अर्ब ७८ करोड माथिको कमी हो ।
होटल तथा पर्यटनमा आकर्षण
वैदेशिक लगानीको मुख्य आकर्षणको क्षेत्र मुलुकको होटल तथा पर्यटन क्षेत्र देखिएको छ । विभागका अनुसार आर्थिक वर्षको कुल ३२ अर्ब २ करोड वैदेशिक लगानीमध्ये अधिकतम १८ अर्ब ३१ करोड माथिको लगानी होटल तथा पर्यटन क्षेत्रमा आएको छ ।
वर्षभरि आएको लगानीमध्ये अधिकतम दुई हजार ७१४ जनालाई रोजगारी दिनेसमेत उल्लेख गर्दै १०१ पर्यटन परियोजनामा विदेशी लगानीकर्ताले लगानी गर्न चाहेको विभागले जनाएको छ ।
यस्तै, उद्योग क्षेत्रमा १९ वटा प्रोजेक्टका लागि २ अर्ब ६८ करोड, कृषि तथा वन पैदावार क्षेत्रको ३ वटा प्रोजेक्टका लागि ५ करोड २९ लाख, ऊर्जा क्षेत्रमा ४ वटा प्रोजेक्टका लागि १ अर्ब ५४ करोड, सूचना तथा प्रविधि क्षेत्रको १५ वटा प्रोजेक्टका लागि २ अर्ब ९५ करोड र सेवा क्षेत्रमा अधिकतम ४१ वटा प्रोजेक्टका लागि ५ अर्ब ९८ करोड माथिको वैदेशिक लगानी आएको विभागले जनाएको छ ।






























