खाल्डोको नाम हो काठमाण्डु
काठमाण्डु खाल्डोको पर्याय हो
काठमाण्डु देशको मुटु हो
देशको मुटु खाल्डोभित्र छ
खाल्डोभित्र देशको मुटु छ
मुटु चलाउने मस्तिष्क भने
सीमाबाहिर छ
सीमाबाहिर बसेको मस्तिष्कले
खाल्डोभित्रको मुटु चलाउँछ
यस्तो छ मेरो देशको हालत
मेरो मातृभूमिको विवशता
सत्य,
यही हो मेरो देशको अवस्था ।

खाल्डो स्वाभिमानको
बन्धकी माग्छ
बन्धकी राखेरमात्र स्वाभिमानको
खाल्डो बाँच्छ
स्वाभिमान ठिङ्ग उभिँदा
खाल्डो निष्प्राण बन्न पुग्छ
खाल्डोको प्राण भर्न
स्वाभिमानले चाकडीमा झुक्नुपर्छ
स्वाभिमान र खाल्डो
खाल्डो र स्वाभिमानमा
वर्गभेद छ ।

जब खाल्डोभित्र स्वाभिमान पस्छ
यहीँ हराउने गरेको छ
हराउन चाहेन स्वाभिमान भने
खाल्डोमा रहन पनि त सक्तैन
या त खाल्डोले पछ्याउनुपर्छ
स्वाभिमानको पदचाप
या त स्वाभिमानले अँगाल्नुपर्छ
खाल्डोकै विरासत
देख्दै छु म यतिखेर
खाल्डो र स्वाभिमानको
मल्लयुद्ध चलिरहेछ ।

स्वाभिमान !
बरु बन्छ सहिद
झुक्दैन स्वाभिमान कदापि
वर्गबैरीसँग
सुनको कचौरा लिएर
भिक्षाटन गर्दैन स्वाभिमान
बरु भोको पेटको सारङ्गी बजाउँदै
स्वाभिमान पसिनाले माटो भिजाउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार