
फाटेको पुरानो ज्याकेट जस्तो जिन्दगी !
यता तुन्दा उता फाट्छ
उता टाल्दा यता च्यातिन्छ
र, पनि कर्तब्यको सियोमा धैर्यताको मियो मिलाएर
फाटेको जिन्दगी सिउनु त छँदै छ ।
ठण्डी महिनाको सानो सिरक जस्तो जिन्दगी !
टाउको छोप्दा खुट्टातिर पुग्दैन
खुट्टा छोप्दा टाउकोतिर पुग्दैन
र, पनि घरहरूको यो घना जङ्गल बिच
अभाव ओढेर गरिबी जिउनु त छँदै छ ।

समयको चक्रब्युहमा
सिउनु र जिउनु
अथवा, जिउनु र सिउनु
जिन्दगीको अर्को नाम बनेको छ ।
यो भुईँमान्छेको सपना भन्नु फाटेको स्वीटर न हो
धागो जति तान्यो उति खुस्कँदै जान्छ
आफ्नो आशा भन्नु पनि भेलले बगाई ल्याएको मुढा न हो
घरि वारी ठोकिन्छ, घरि पारी ठोकिन्छ
आफ्नो भागको खुशी जति सेती बनेर भासिए पनि
किनाराको बगर बनेर म रामघाटमै लमतन्न सुतेको छु
र, त मेरा छातीमाथि ढुङ्गा बालुवा बटुलेर
जिन्दगी गुजारि रहेछन् दौँतरीहरू
भएजतिको सारा सुख भरि
आँशुमा रुपान्तरित फेवाताल बनेको छ सामुन्नेमै
जहाँ नौकाबिहारमा तल्लिन छन् बिदेशी पर्यटकहरू
मुकदर्शक बन्न बिवश छु म ।
जति कसिउँ म माछापुच्छ्रे र अन्नपूणर्ाको उच्च अँगालोमा
जति बेरिउँ म सराङ्कोट र काहुँडाँडाको न्यानो बहुपासमा
कहाँ बन्छु र म हिमाल जतिको अग्लो ?
कहाँ बन्छु र म पवन जतिको सुवासिलो ?
बस ! म त सिर्फ पसिनाको गन्धमा
जिन्दगी घचेटिरहेको एक भुईँमान्छे न हुँ ।