सेपेधुरी नाघेपछि

संस्मरण

प्रकाशित मिति : २०७८ असार ५

- हिरामणि दु:खी

समय थियो, २०४६ को वैशाख महिना । सल्यानको खलङ्गादेखि उत्तरतर्फको मेरो पहिलो यात्रा हुँदै थियो । यो यात्राको अवसर जुटाइदिनु भएको थियो मेरो हाइस्कुले सहपाठी एवम् सहयोद्धा कमरेड ईश्वरीप्रसाद गैरेले । उहाँले त्यतिबेला रुकुममा शिक्षण पेसा गर्ने निधो गरेर त्यसतर्फ जाँदै हुनुहुन्थ्यो । पहिलो पटकको यात्रा भएकाले मलाई पाहाड घुम्न जाउँ भनेर आग्रह गर्नुभयो । खासमा उहाँलाई साथीको जरुरत परेको थियो । म क्याम्पसबाट छुट्टीमा घर आएको थिएँ । मैले उहाँको प्रस्ताव स्वीकार गरेँ र बाटो नाप्यौँ उत्तरतर्फको ।

हामीले एकैसाथ मा.वि खाद्रेबाट रेगुलरतर्फको एसएलसी पास गरेपछि म उच्च शिक्षा अध्ययनका लागि क्याम्पस गएको थिएँ । ईश्वरीजी भने सुरुदेखि नै शिक्षण पेसातिर लाग्नुभएको थियो । सुरुमा त उहाँ मा.वि. अस्वारामा निजी श्रोतमा शिक्षण पेसामा लाग्नु भयो, पछि सरकारी दरबन्दीमा रहनेगरि रुकुममा जाने निधो गर्नुभएछ । रुकुम जाने निर्णय केवल सरकारी दरबन्दीमा जागिर खानु मात्रै थिएन, त्यसभित्रको रहस्य अर्कै थियो । त्यो रहस्य भनेको उहाँको प्रेमविवाह थियो । यदि उहाँ प्रेमविवाहमा बाँधिने मनसुवा नराखेको भए रुकुमको विकट कुनातिर कुद्नु पर्ने थिएन सायद । उहाँको प्रेमविवाह परम्परागत संस्कार र संस्कृतिमाथिको धावा थियो । एउटा विद्रोह थियो । त्यो विद्रोहको सामना गर्न पारिवारिक रेखदेखको दूरी टाढा बनाउनु पथ्र्यो । त्यसका लागि उहाँले रुकुमको विकट बस्ती रोज्नु भयो । त्यो एकप्रकारको थुन्नाबन वा मुग्लान पस्नु जस्तै थियो । किनकि उहाँले बाटेको प्रेमको बन्धन चलनचल्तीको हिसावले फरक जातिसँग थियो । जङ्गबहादुरको मुलुकी ऐनको भाषामा तागाधारी तल्लो जाति । पानी चल्ने, भात नचल्ने । अर्थात् आपूm बाहुन, प्रेमिका क्षेत्री । तसर्थ उहाँले घर छोड्नु पर्ने अवस्था सिर्जना भयो ।

मेरो घर त्यतिबेला तुलसीपुर १, सिस्नेरीमा थियो । तुलसीपुरबाट पैदल तीन घण्टाको दूरी । ईश्वरीको घर भने तुलसीपुर बजारछेउमा थियो । उहाँले केटी भगाएर मेरो घरमा ल्याउनु भयो वैशाख १५ गते राती करिब दुईबजेतिर । प्रेमिकालाई भगाएर ल्याउन मेरो भाइले साथ दिएको थियो । भोलीपल्ट म उहाँको साथ लागेर रुकुमको यात्रा तय गर्‍यौँ । सल्यानको धनवाङ, लुहाम, गरिज्युला, अत्तरगाँरा, स्यानीखाल, मोख्ला, कालाखेत हुँदै । हाम्रो घरबाट हिँडेको पहिलो दिन हामी कालाखेतमा बास बस्यौँ । त्यसपछि अर्कोदिन शिवरथ, हुँदै सीमाखोली झरेर एकजना पंडितको घरमा गएर उहाँहरूको बिहेवारीको विधीविधान पूरा गर्‍यौँ । त्यसपछि हामी पुन: त्यहाँबाट अगाडि बढ्यौँ । तेस्रो दिन हामी रुकुमको भलाक्चाको …. गाउँमा पुग्यौँ । हामी तीनै जनाको त्यो पहिलो यात्रा थियो । अहिलेको जस्तो जताततै बजार, होटेलको सुविधा थिएन । बाटोमा पर्ने गाउँहरूमा बास मागेर बस्नु पथ्र्यो । पहिला ईश्वरीजी बास माग्न जानुभयो । म र इश्वरीजीको पे्रमिका (श्रीमती) बाटोमै बस्यौँ । बास माग्न गएको उहाँले पाउनु भएनछ । मलिन अनुहार लाउँदै फर्कनुभयो । हामी त्यो गाउँ छोडेर अगाडि बढ्न सक्ने अवस्थामा पनि थिएनौँ । किनकि लगातारको हिँडाईले हामी थकित भएका थियौँ । त्यसमा भोकले आन्द्रा बटारिँदै थिए । अझ ईश्वरीजीको श्रीमती आशा सबैभन्दा बढि थकित र गलित हुनुभएको थियो । चौध बर्सकी कलिली केटी । जीवनमा यति लामो यात्रा कहिल्यै नगरेकी । तीनचार दिनसम्मको हिँडाइले उहाँका गोडा सुन्निएका थिए, शरीर गलेको थियो । त्यसमा पनि बुबाआमाको काख छोडेर पराया केटाहरूसँग बिरानो ठाउँको यात्रा । कति कष्टकर र नियास्रो भए होला । म अनुमान मात्र गर्न सक्छु ।

मूल बाटो नजिकै रहेको त्यही गाउँमा म बास माग्न गएँ । एउटा घरमा सानो बच्चा विरामी रहेछ । बच्चा सात/आठ बर्सको हुँदो हो । मैले ‘यो बच्चालाई के भएको हो’ भनेर सोधेँ । बच्चा रोइरहेको थियो । ऊ विरामी भएको कुरो बाबुआमाले एकै साथ बताए । मैले यता लयाउनुस् त भन्दै अह«ाएँ । बाबुले बच्चा मेरो छेउ ल्याए । मैले बच्चाको नाडी छामे, पेट छामे, यताउती हेरेँ । अनि मैले ‘यो बच्चालाई मसान लागेको रहेछ, झारफुक गर्नु पर्छ, यहाँ कतै झारफुक गर्ने मान्छे भए फुकफाक गर्न लगाउनु पर्‍यो’ भनेँ । बच्चाका बाबुले त्यस गाउँमा झारफुक गर्ने मान्छे नभएको बताए । अनि ‘तपाइँले झारफुक पनि गर्नुहुन्थ्यो कि’ भनेर सोधे । अब मलाई सजिलो भयो । मलाई त्यहाँ जसरी पनि बासको व्यवस्था गर्नु थियो । मैले झारफुक त गर्छु तर अलि समय लाग्छ, सामाधामा जुटाउनु पर्छ, भनेपछि उनीहरूले ‘लौ आज यतै बस्नुस् रात पनि पर्‍यो, बच्चालाई झारफुक पनि गरिदिनु पर्‍यो’ भनेर आग्रह गरे । त्यसपछि मैले हामी तीन जना छौँ भनेपछि सबैलाई बस्न दिने बताए । हामी त्यहीँ बास बस्यौँ । बेलुका झारफुकका सामान बनाउन लगाएर मसान फालिदिएँ र केही तन्त्रमन्त्र जपेजस्तो गरेर फुकफाक गरिदिएँ । खासमा यो सबै नक्कली काम थियो । मलाई न त झारफुक गर्न आउँथ्यो न त म यसकुराप्रति विश्वास नै गर्थें । बच्चाले खाना नखाने, वाकवाकी गर्ने गथ्र्यो र उसको पेट फुलेको थियो, हल्का ज्वरो आएको थियो । मैले बच्चालाई जुका परेको ठानेको थिएँ र उसका बाबुआमालाई भोली यो बच्चालाई औषधि लिएर खुवाउनुस् किनकि यो बच्चालाई जुका पनि परेको छ र ज्वरो पनि आएको छ भनेर जुकाको दवाई र सिटामोल लेखिदिएँ । यसरी जीवनमा पहिलो पटक धामी र डाक्टरको अभिनय गरेर बास मागिएको थियो । उनीहरूले रुखोसुखो हामीलाई राम्रै सत्कार गरेर पाहुना बनाए । पछि फर्कंदा थाहा भयो कि त्यो बच्चालाई जुका नै परेको रहेछ । मैले लेखिदिएको औषधी ल्याएर खुवाएपछि सञ्चो लागेछ । म डराइ डराइ बाटोमा हिँडिरहेको थिएँ । गहुँ ओसाउँदै गरेका ती मान्छेले मलाई देखेर बोलाए । त्यसरात मलाई खुबै राम्रो सत्कार गरेर बसाले ।

भोलीपल्ट बिहानै उठेर हामी खलङ्गा हुँदै अगाडि बढ्यौँ । त्यसदिन रुकुमकोट ऋषिराज गौतमको घरमा बास बस्न पुग्यौँ । त्यसपछि अर्कोदिन त्यहाँबाट हिँडेर हामी साखिम, सेरावाङमा रहेको रत्नबहादुर बुढाको घरमा पुग्यौँ । ती रत्नबहादुर बुढा कलकत्तामा जागिर गर्ने त्यस गाउँका शिक्षित व्यक्ति रहेछन् । मगर बस्ती भएपनि दुहुनो भैँसी पालेका । हामीले पहिलो पटक ढिँडोको स्वाद लियौँ । हामीले ढिँडो खान सुरुमा जानेनौँ । चपाएर खान हुँदो रहेनछ । हातले सानो गासको डल्लो पार्‍यो, तरकारीमा डोब्यो अनि मुखमा हालेर घुर्लुक्क निल्नु पर्दो रहेछ । जसोतसो भागमा रहेको ढिँडो खायौँ हामी दुईले तर आशाले खानै सक्नुभएन । पछि दूधमा मुछेर अलिकता खानुभयो । मैले ‘ओहो यो ढिँडो खान दाँत नचाहिने रहेछ, यहाँका मान्छेले दाँत त तराइतिरका दाँत झरेका बूढाबूढीलाई दान गरेपनि हुने’ भन्दा सबैमा हाँसोको फोहरा छुट्यो । रत्नबहादुरले तत्काल प्रतिकृया जनाउँदै भने ‘होइन सर ढिँडो खान दाँत नचाहिए पनि भैँसीको मासु लुछ्न चाहिन्छ त’ भन्दा फेरि हाँसो भयो । हामी उठ्यौँ । त्यसपछि लत्रिँदै पत्रिँदै हामी सेपेको धुरीतिर उकालो चढ्यौँ । उकालो निकै ठाडो र विकट थियो ।

घरबाट हिँडेदेखिको सबैभन्दा अग्लो लेख थियो हाम्रालागि सेपेको धुरी । टाकुरामा पुग्दा हामीलाई सास फेर्न धोधौ भएको महसुस् भयो । पछि थाहा पायौं कि त्यहाँ कसैकसैलाई लेख लाग्दो रहेछ । घना जङ्गलले घेरिएको धुरी रहेछ । धुपी, गोब्रेसल्ला, चाँप, बाँझ, कटुस, रैँच, चन्दन (सेतोखाले), टुनी आदिका रुखहरूको जङ्गल । लेखमा धेरैबेर बस्न सकेनौँ । बाघ बालुको पनि डर लाग्यो । लेखबाट वारीपारिको बस्ती कम भएकाले मानिसको आउजाउ त्यो बाटोबाट कमै हुँदो रहेछ । लेखबाट अलिक तल झर्दै गर्दा सीमाराङ्सीका मानिसहरूले दार चिर्दै गरेको भेटायौँ । हामीलाई अलिक हौसला मिल्यो । केही मान्छे रुकमकोटतिर जान त्यही बाटो आउँदै पनि रहेछन् । लेखबाट ओह«ालो झर्दै गर्दा इश्वरीजी अलि अगाडि हुनुहुन्थ्यो । म र आशा (ईश्वरीजीको श्रीमती भैसकेपछि नाताले मेरो सासू पर्नुभयो) पछिपछि थियौँ । मैले उहाँलाई ‘यति सानै उमेरमा किन पोइला आउनुभएको ? पढ्दा पढ्दै किन हिँडेको ? यो दु:ख खप्न सक्नुहुन्छ त ? अब त यहाँ भातको मुख देख्न नपाइँदो रहेछ, ढिँडो खान सक्नुहुन्छ ? कहिल्यै घर नछोडेको मान्छे अब कति बर्स यो पाहाड कुर्नु पर्ने हो, कसरी बस्नुहुन्छ ?’ भन्दै विभिन्न प्रश्नैप्रश्न गरेँ । आशाले कतिखेर आँखामा आँशू टिलपिल पार्नुहुन्थ्यो त कतिखेर रुन्चेहाँसोमा ‘खै जे त पर्ला’ भनेर जवाफ दिनुहुन्थ्यो । मैले प्रश्नसँगै सम्झाउँदै पनि गरेँ ।

हामी बेलुका हुनैलाग्दा राङ्सी गाउँमा झर्‍यौँ । खाम भाषी मगरहरूको बस्ती रहेछ । माथिबाट ओह«ालोतर्फ हेर्दा खेतका गराजस्ता पाटै पाटा देखिने । त्यो त गाउँ रहेछ । घरैमाथि घर । माटोले पाटेको हुँदा खेतका गरा जस्ता लाग्ने । जोडिएका घरहरू । पल्लो पाखाबाट हेर्दा भित्ता खोपेर कोठै कोठा बनाएको जस्तो सुन्दर देखिने गाउँ पहिलो पटक देखेको त्यस्तो बस्ती हामीले । हाम्रो कुरा तिनले धेरै नबुभ्mने, तिनका कुरा हामीले नबुभ्mने । उनीहरूको मातृभाषा हामीले बुभ्mन नसकेपनि उनीहरूलाई हाम्रो मातृभाषा बुभ्mन त बाध्यता थियो । किनकि मेरो भाषा त शासकीय भाषा हो । हामी त्यहाँ पुग्दा त्यहाँको प्रावि स्कुलका लागि पक्की ट्वाइलेट घर बनाउँदै रहेछन् गाउँलेहरूले श्रमदानमा । यती साना कोठाको घर किन बनाएका होलान् भनेर हामीलाई पनि आश्चर्य लाग्यो । काम गर्दै गरेका मजदूरहरूलाई मैले ‘यो के बनाउन थालेको यति सानो कोठाको घर’ भनेर सोधेँ । उनीहरूले हाँस्दै भने ‘हग्ने घर’ । ‘मान्छेले हग्ने पनि घर बनाउने गरे, मास्टरले भनेर बनाउना लागेको’ एकजना अलि पाको उमेरका बूढाले भने । सबै गलल हाँस्यौँ । बास्तवमा हामीले पनि ‘हग्ने घर’ देखेका थिएनौँ गाउँमा । हामी तराइका भएर पनि हाम्रा पनि थिएनन् ‘हग्ने घर’ । म भने क्याम्पस पढ्दा घोराही बजारमा बसेको हुनाले डेरा गर्ने घरको एउटा ट्वाइलेट थियो । पालैपालो जान्थ्यौँ । कहिले त पालो नपाइँदा क्याम्पसमा गएर ट्वाइलेट बस्नु पथ्र्यो ।
त्यस रात हामी त्यहीँ बास बस्यौँ । निगालो बाँसको चोयाबाट बनेको मान्द्रो विच्छ्याएर सुतियो । ओढ्नका लागि भेडाको उनबाट बनेको एकेक ओटा काम्लो दिएका थिए । खाना त उही ढिँडो । ईश्वरीजीले त्यही स्कूलका लागि रुकुम मुसीकोट शिक्षा कार्यालयबाट सिफारिस लिएर आउनुभएको थियो । त्यहाँ शिक्षक राखिसकेका रहेछन् । त्यहाँ गोलखाडाका हेडसर र विव्यस अध्यक्ष त्यहीँ आएकोले भेट भयो । उनीहरूले आफ्नो गाउँमा जान भने । त्यहाँ खाली रहेछ । भोलीपल्ट हामी त्यही राङ्सी गाविसकै गोलखाडाको यात्रा गर्‍यौँ । यसरी पहिलो पटक सेपे काटेर सिस्ने हिमालको आँगनमा हामी पुगेका थियौँ । यद्यपि त्यहाँबाट सिस्ने हिमाल भएको ठाउँमा जान पनि दुई/तीन दिन लाग्छ भन्थे स्थानीय जनताले । तर हामीलाई भने पहिलो पटक हिमाल नजिकैबाट देखेकाले सिस्ने हिमाल ढलेर हामीलाई च्याप्छ कि झैँ लाग्थ्यो ।

४ असार २०७८, तुलसीपुर