
कालो तुलमा रातो अक्षर पोतेर
सेतो तुलमा रातो अक्षर जोतेर
सडकले धेरै पटक पढ्यो
चन्द्र सूर्य झण्डाको दरिलो स्वर
लिपु र लिम्पियाधुरा
यिनै हुन हाम्रा इतिहासका कुरा ।
सडक छेउमा उभिएका भित्ताहरूले
पर चौरमा उभिएका ठिठाहरूले
धेरै पटक सुने लुटिएको कुरा
नेपाल खाल्डोको सनदभित्र
कोरिएको पुरानो ढड्डामा
दसि पुरिएको छ चारखालको अड्डामा
लिपुले आफूलाई फिँजाएको छ
लिम्पियाले आफूलाई देखाएको छ
लिपु पर्खिएको पर्ख्यै छ
लिम्पिया थर्किएको थर्क्यै छ ।
यता सिँहदर्बारमा स्यालहरू हल्ला मात्र गर्छन्
सालै पिच्छेको बहस
लिपु हाम्रो हो हामी लिम्पियाली हौँ
सिंहदर्बारका स्यालहरूको भाका सुनेर
लिपु र लिम्पिया मरिमरी हाँस्छन्
लिपु बादल देखेर हाँस्छ
लिम्पिया शितबिन्दुको खुट्टा देखेर हाँस्छ
लिपु बोलाउँछ नापी बिभागको अमिन
लिम्पिया साथ खोज्छ तिलाठीको जमिन
आऊ साथी एक पटक लिम्पियालाई पढौँ
कुन्जा र लट्ठी बोकेर लिपुमाठी चढौँ ।
रत्न नगर –३ , चितवन ।