देशको माटोको टीका
निधारमा लगाउँछु भन्ने ’देशभक्त’ले
जुन दिन एउटा बिरुवा रोप्नु पर्ने भयो
हतार हतार पञ्जा खोज्यो
जब भेटाएन पञ्जा
मुख बिगार्दै हातले माटो छोयो
र बीस मिनेटसम्म
मिचीमिची साबुन पानीले हात धोयो !

देशको माटो र आमाको काख
एउटै एउटै हो भन्ने
अर्को एउटा देशभक्त
लामो युरोप बसाईपछि
जब चिलगाडीबाट ओर्लियो स्वदेश
गाउँको घर जान
बाटो हिड्नु पर्छ भनेर
माटो टेक्नु पर्छ भनेर
श्रीमतीलाई राजधानी मै बोलायो
होटलमा डेरा लिएर बस्यो
र फेसवुकमा स्टाटस लेख्यो–
‘कैयन बर्सपछि
एउटा देशभक्त देशको माटोमा’
अर्थात् आमाको काखमा !

बाली विज्ञानमा
विद्यावारिधी गरेको विशेषज्ञले
कितावमा गोडेको धान
खेतमा गोड्नु पर्दा
जव धान जति सबै उखेल्यो
र सामा जति खेतमा छोड्यो
’कालो अक्षर भैंसी बराबर’ काकाले
उसलाई देखेर खिन्न हुदै भने–
‘यस्तो मुर्ख सन्तान
दुश्मनको घरमा पनि नजन्मियोस् !’
२०७८/०२/२८, भक्तपुर

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार