गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वको सरकार, मुख्यमन्त्रीमा नेपाली नियुक्त

प्रकाशित मिति : २०७८ जेष्ठ २९

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार उनलाई संविधानको धारा १६८ को ५ बमोजिम नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

प्रदेश प्रमुख कार्यालयका सचिव हरिप्रसाद बास्तोलाले नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको जानकारी दिए । अब नेपालीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ ।

एमालेको सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २७ गते सदनमा विश्वासको मत गुमाएका थिए । त्यसपछि प्रदेश प्रखुम सीता पौडेलले सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

शुक्रबार ३१ जना सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेसका नेता कृष्णचन्द्र पोखरेलले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

गुरुङले पनि जनमोर्चाका बर्खास्त सांसद कृष्ण थापा र जसपा महन्थ ठाकुर पक्षको पत्र लिएर मुख्यमन्त्रीमा दाबी गरेका थिए । तर प्रदेश प्रमुख कार्यालयले भने एक जनाको मात्रै दाबी परेको बताएको छ ।