
म कापी समाएर लेख्दै बसेथेँ ,
कहाँबाट लेखौँ म दोधारमा थेँ ।
उहीँ बख्त आकाश तारा उदाई ,
सितारा गनी लेख भन्थे मलाई ।। १।।
यहाँ लेख्नु पर्ने हजारौँ कुरा छन् ,
यहाँ देख्नु पर्ने करोडौँ चुरा छन् ।
तिमी अल्मलिन्छौ समाएर कापी,
यहाँ शब्द खाली बसेछन् युगादि ।।२।।

यता हेर्छु उस्तै उता हेर्छु उस्तै ,
जता हेर्छु मस्तै समस्या प्रशस्तै ।
यहाँ घामका खोट लेखौँ कि हुन्छ ,
यहाँ रातको ख्याति लेखौँ कि हुन्छ ।।३।।
जहाँ घामका क्यै खराबीहरू छन् ,
तहाँ जूनतारा गुणी बन्न सक्छन्
नलेखौँ त कापी मसी खेर जान्छ ,
उजाडिन्छ बाँझो बनी काव्यकुञ्ज ।।४।।
कतै पूmल रुन्छन् म फव्रmी टिपिन्छु
कतै काँट हाँस्छन् नफक्रेर ठिक् छु
सबैको पियारो बनी रुन्छ पूmल
सबैमा बिझाएर काँडो खुसी छ ।। ५।।
बलेको छ बाती जलेको छ आँत,
न सोध्छन् कसैले दुखेको कहाँ छ ?
यता आँसु सुक्दा उता शब्द फुट्छ
विना काव्य संसारको मार्ग रुक्छ ।। ६।।
यहाँ मेघमाला कतै नीच बन्छ ,
उहीँ मेघले कैँ खुबै काम दिन्छ ।
गुणी छन् उनै वस्तु दोषी उनै छन् ,
म लेखौँ कहाँबाट दोधार भो मन् ।। ७ ।।
न गोही खुसी हुन्छ चारो चपाइ,
न धर्ती दुखी हुन्छ छाती लुछाइ ।
न गोही दुखी हो न धर्ती सुखी छ ,
यहाँ आज खाली बसी कुर्छ शब्द ।। ८ ।।
कहीँ भेल दोषी कहीँ ताल दोषी
दुबैमा छ पानी भयो भेद कोटी ।
सितारा खुदै बल्छ आगो नझोसी,
चलाएर ज्युँदो हुँदैहुन्न गोटी ।। ९।।
कतै शब्दलाई निचोरेर फ्याँक्छन् ,
कतै शब्दलाई शिरोधार्य गर्छन् ।
कतै शब्दले शस्त्रमा शान दिन्छ ,
कतै शस्त्रले शब्दको मान छिन्छ ।। १०।।
कुनै शब्दले भोक मेटाइदिन्छ ,
कुनै शब्दले भोक लेखाइदिन्छ ।
यहाँ शब्दले राज अड्याउने छन् ,
यहाँ शब्दले राज पल्टाउने छन् ।। ११ ।।
कुनै कानुनी रूपमा शब्द बस्छ ,
कतै सर्प जस्तै बनी शब्द डस्छ ।
कुनै शब्दले शक्ति जोड्दा म हेर्छु ,
कुनै शक्तिले शब्द तोड्दा म हेर्छु ।।१२।।