वैशाखको महिना थियो । दाङमा गर्मीको मौसम । हामी दुईबिच घरसल्लाहबाट बिहे गरिदिने कुरै थिएन । निम्न मध्ययम वर्गीय ब्राह्मणवादी संस्कारमा हुर्केको म । मलाई त्यो जञ्जाल तोडफोड गर्न पनि कठिनाई थियो । चारैतिरबाट बन्द रुढीवादी संस्कारले बाँधेको थियो मलाई । बुबा बिहानै उठनुहुन्थो । कुटोकोदालो बोकेर पातुखोलाको बगर कोट्याउन जानुहुन्थो । बुबाको कडा परिश्रमको कारण त्यही बगरले हामीलाई टन्न खान पुग्ने बनाएको थियो । बुबा पनि खेतमा जानुहुन्थो बिहानै । हामी पनि आआफुले सक्ने काम गर्न खेतमा जान्थौँ । वुवालाई सघाउथौँ र बिहान नौ बज्नुभन्दा अगाडि घरमा घाँसको भारि ल्याएर आउथौँ । आमाले धोती चोली (चोखो लुगा) लगाएर भान्सा पस्नुहुन्थो र सबैलाई खाना खुवाएपछि मात्रै आफुले खानुहुन्थो । उहाँ भान्सामा पसेपछि उहाँलाई हामीले छुन मिल्दैनथ्यो । चुलोमा भान्सा खान त जनै हाल्नुपथ्र्यो रे । जनै नहालेको कारणले गर्दा भान्सा छुने अधिकार हामीमा थिएन । ठुलो परिवार थियो । झण्डै १८ जनाको परिवार थियोे हाम्रो । घरमा सानोतिनो पसल पनि थियो । गोठमा दुई हल गोरु र दुईचार वटा दुहुना र बकेर्ना गाई पनि पालिएको थियो । समग्रमा हाम्रो परिवारलाई श्रमग रेर बर्स दिनसम्म पुग्ने निर्बाहमुखी खेती थियो । अन्य त्यसका सहायक थिए ।

यही परिवेशमा हुर्कंदै बढ्दै र पढ्दै जाँदाजाँदै एसएलसी अन्तिम लक्ष्य थियो, पूरा गरियो । बिद्यार्थी समयदेखि नै अखिल बिद्यार्थीबाट प्रभावित भएर म आफुलाई कम्युनिस्ट भन्न रुचाउथेँ । कम्युनिस्ट नै देशमा गाडिएर रहेको सामन्तवादी रुढीवादी संस्कार, कुप्रथा, कुशासन, एक दलीय राजतन्त्रात्मक पञ्चायती व्यवस्था तथा जातीय विभेदका विरुद्धमा दरोखरो रुपमा उभिन्छ भन्ने मान्यता मेरो मन मस्तिष्कमा गहिरो छाप परेको थियोे । म पनि जातीय भेदभावको पर्खाल तोड्न चाहन्थेँ । तसर्थ अन्तरजातीय विवाह गर्ने प्रण गरिसकेको थिएँ । तथापि मेरो योजना कुनै पनि हालतमा घरपरिवार, मेरा आपन्तबाट सहयोगको कुनै आशा गरिएको थिएन र पाइएन पनि ।

२०४५ सालमा एसएलसी पास भएको थिएँ र पढाइको अन्तिम बिन्दु मेरो त्यही थियोे । कलेज पढ्नका लागि अहिलेको जस्तो लोटैपिच्छे कलेज थिएनन् । दाङको एउटामात्र कलेज महेन्द्र बहुमुखी क्याम्पस थियो घोराहीमा । घरबाट कलेज पढाउन सक्ने आर्थिक अवस्था पनि थिएन । त्यसबेला क्याम्पस नयाँ भर्नाका लागि आन्तरिक परीक्षा हुन्थ्यो जहाँ एसएलसीको डिभिजन पनि मुख्यरूपमा हेरिन्थ्यो । मेरो राम्रो डिभिजन पनि थिएन । धौधौका कृपाङ्ग प्राप्त गरेर एसएलसी पास भएकोले मा.वि.अश्वारामा दाङमा बिद्यालय सञ्चालक समिति अध्यक्ष लिलामणी गौतम र टङ्क गौतम हेड सर हुनुभएको कारणले निजी स्रोतमा मास्टरको जागिरे जीवन सुरुवात गरेँ 

अब त मास्टर भएको छु । रुपैयाँको कमी भएन । छ सय तीस रुपैयाँ तलब खाइन्थो । पाँच सय रुपैया बालाई बुझाएर एक सय तीस पकेट खर्च राख्थेँ । यही क्रममै मेरो एक जना १४ वर्षीय नानीसित रिमझिम बढ्दै जान थाल्यो । हाम्रो रिमझिमका बारेमा गाउँघर सबैलाई थाहा भइसकेको थियो । मेरो घर परिवारलाई यो कुरा पच्ने कुरै थिएन । घरमा यही बिषयलाई लिएर विवाद शुरु हुन थाल्यो । म ब्राह्मणको छोरा तर मेरो प्रियसी क्षेत्रीको छोरी थिइन् । म उनलाई मन पराउथेँ उनले पनि मलाई धेरै माया गर्थिन् । तर मेरो कथित उच्च जातले ‘तल्लो जात’लाई मन पराउन पाउन्नस् भन्थ्यो । यसरी हामी घरपरिवारको तनाव सहेर बस्न सक्ने स्थिति रहेन । हामी बिचको सम्बन्ध घरपरिवार, गाउँहुँदै उनको स्कुल र मेरो स्कुलसम्म पनि फैलिएको थियो । त्यसबेलाको समाजले मेरो बिहे खुसीसाथ स्वीकार्ने अवस्था थिएन । धेरै पछि सम्म पनि घरले नै स्वीकारेन । अब हाम्रो अन्तिम विकल्प भाग्ने भन्ने थियो । कहाँ भाग्ने, कसरी भाग्ने ? यस बारेमा सोच्दासोच्दै मलाई रुकुम जिल्लामा भागेर जाने र उतै जिल्ला शिक्षा कार्यालयमा रहेका भाञ्जा गणेश न्युरेलाई भनसुन गरेपछि कसो जागिर नपाइएला र भन्ने सोच पलायो । हाम्रो योजना बन्यो । २०४६ सालको वैशाख १५ गते राती भाग्ने । समस्या आयो, राती भागेर जाने कहाँ ? तैपनि हामी भाग्यौँ । राती ११ बज्दै थियो । पातुखोलामा सुनसान वातावरण थियो । मेरो सहयोगीका रुपमा मेरो साथी भेषकुमार पौडेल हुनुहुन्थ्यो । (उहाँको गत बर्स २०७७ वैशाख ७ गते निधन भयो ।) हामी तीनजना रातभर हिँडेर उहाँको घर सिस्नेरी पुग्यौं । त्यहाँ पुगेर भेषकुमार जी त सुत्नु भयो तर हामीलाई भने निन्द्रा लागेन । घरमा मेरो आत्मीय साथी हिरामणी दुःखी (भेषकुमारको दाजु) र उहाँको सबै परिवार हुनुहुन्थ्यो । बिहानै देवीले खाना पकाइन् । हामीले त्यहीँ खाना खायौँ । हिरामणि जीको श्रीमती देवीलाई मैले नातामा छोरी भन्नु पथ्र्यो । मैले सुटुक्क छोरीसित ‘तिमीसँग अलिकति पैसा छ भने मलाई सापटी देऊ न’ भन्दै मागेँ । देवीले माइतीबाट टीकटाला गरी पाएको पैसा जम्मा गरेर राखेकी रहिछिन् । सबै टकटक्याउँदा रु एक हजार जम्मा भयो । मलाई ‘लिनुस् सानबा’ भन्दै दिइन् । मलाई त्यो एक हजार लाखौँ रुपैयाँ जस्तो भयो । खुसी हुँदै मैले लिएँ । त्यसपछि हिड्यौँ हामी नयाँ भविस्य र गन्तव्यको खोजीमा । साथमा दुःखी जी हुनुहुन्थ्यो । घरबाट उत्तरतर्फ हिँड्दै हामी दाङदेखि सल्यानको नेटो गाँडापानी, लुहाम, लान्ती, मुल, स्यानीखाल, हुँदै बेलुकी हामी मोख्लादेखि अलिपर अधिकारीको घरमा पाहुना भएर बस्यौंँ । दाङबाट पैदल हिँडेर त्यहाँ पुगेका थियौँं ।

भोलिपल्ट बिहानै हामी सिमखोली एक जना पण्डितका घरमा पुग्यौँ । त्यहाँ पण्डितलाई ‘लौ हाम्रो बिहे गराइदिनुस्’ भन्यौं र त्यहाँ मैले औपचारिक रुपमा उनको टाउकाको सिँउदोमा सिन्दुर लगाएर वैधानिक रुपमा बिहे गर्यौ । त्यहीँ खानापिना खायौं । हाम्रो एक मात्रै जन्ती हुनुहुन्थ्यो हिरामणी दुःखी । हाम्रो बिहेमा न त हामीसित नयाँ कपडा थिए न त सुनचाँदी । हामीसित मात्र मायाँको पबित्र बन्धन थियो । बिहे गरी पण्डितकै घरमा खाना उर्फ भोज खाएर हिड्यौँ ।

अर्को दिन बेलुकी हामी मुसिकोट पुग्यौं । त्यहाँ पुगेर भाञ्जालाई भेट ग¥यौँ । उहाँलाई सबै कुरा भन्नु पथ्र्यो भनेँ । त्यसपछि खाली दरबन्दी भेटियो राङसी गाउँको स्कुलमा । मलाई बाध्यता थियो । जँहा भए पनि जागिर खानै पथ्र्यो हामी त्यसदिन बेलुकी रुकुमको सुन्दर प्रकृतिले भरिपुर्ण दोस्रो सहर रुकुमकोट बास बस्न पुग्यौँ । हामी १९ गते बिहानै राङसी जाने भन्दै हिड्यौँ हिड्दाहिँड्दै सेरा र साकिम दुईवटा गाउँमा पुग्यौं । त्यहाँका मानिसका भेषभुषा सामाजिक संस्कार खानपिन देखेर हामी दङ्ग प¥यौँ । बिहानको समय थियो । कलकत्ता तिर जागिरे जीवन बिताउँदै गर्नु भएको र छुट्टिमा घरमा आउनु भएको रत्नलाल पुनसङ्ग भेटघाट भयो । बिहान उहाँको आतिथ्य बनेर खानाखाने अबसर मिल्यो । हामी तीनैजनाको जीवनमा कहिल्यै नदेखेको खाना थियो ढिँडो ।

ढिँडो खान पनि जानिएन । तातात्तो खानुपर्ने रहेछ । पहिला हात पोल्छ, त्यसपछि मुख र पेट । मैले त जसोतसो खानुपर्छ भनेर खाएँ दुःखी जीले पनि खानुभयो तर मेरो पत्नीले खान जानिनन् । अलिअलि चाटेर छोडिन् । यसरी जीवनमा ढिँडोको पहिलो स्वाद साकिम भन्ने गाउँमा लिइयो । त्यहाँबाट बिदावारी भएर हिँडियो उकालो उकालो सेपेधुरी । कहिल्यै घर नछोडेकी, कहिल्यै दुःखमा नपरेकी मेरो उनी कसरी हिँडिहोलिन् उकालोमा । म अलि अगाडि हिँड्छु, पर्खेर उनलाई हेर्छु । मुसुक्क मुस्कुराउँछिन । अगाडि बढ्छिन् । नयाँ दुनियाँकालागि हामी लगातार ५ घण्टाको हिँडाईपछि कठिनाइका साथ पुगियो सेपे ।

सेपेधुरी वास्तवमा रुकुमको अग्लो लेख मध्येको एउटा लेख रहेछ । जहाँ वैशाखमा हामी पुग्दा लालिगुराँस लटरम्मै पूmलेका थिए । त्यहाँ राता र सेता लालीगुराँस हँदा रहेछन् । त्योभन्दा टुप्पोमा बसेर चारैतिर नजर लगाउँदा उत्तरमा जाङ र डोल्पाको सिमाना देखिन्छ भने सोही दिशामा सिस्ने हिमाल नजिकै देखिन्छ । पूर्वतर्फ धौलागिरी पर्बत शृङ्खलाको सुन्दर दृश्यले हामीलाई निकै लोभ्यायो ।
२०७८ जेठ २१, तुलसीपुर

 

 

प्रतिक्रिया

सम्बन्धित खवर