यहाँ हरेक खेल हुन्छ मध्यरातमा
दिउँसो खेल खेल्नु हुँदैन
प्रजातन्त्र या लोकतन्त्रमा
गणतन्त्रमा त झन्
खेल्नु नै हुँदैन खेल दिउँसोमा
किनकि यो गणतन्त्र
निशामा रमाउनेहरूको नीजि हो
यहाँ बर्जित छ दिउँसोमा रमाउन,
दिउँसोमा खेल खेल्नु
‘अपराध’ हो÷घोर ‘अपराध’ ।

यहाँ दक्षिणी बायु
आदेश बोकेर आउँछ मध्यरातमा
लैनचौरको बाटो भएर
दर्शनभेट दिनै परे पनि
दिइन्छ मध्यरातमा
लिनेलाई नै मध्यरात मन परेपछि
दिनेले मध्यरातमा दिनु
झनै गौरव ठान्छ
किनकि यहाँ ‘शुभसाइत’ जुर्छ
हरेक पल मध्यरातमा ।

मध्यरातको इतिहास लामो छ
कोतपर्व भएथ्यो मध्यरातमा
भण्डारखालले पनि
मध्यरात नै रोजेको थियो
सात सालको दिल्ली सम्झौता होस्
अथवा छयालीसको
दरबार सम्झौता
भएका थिए मध्यरातमा
त्रिसट्ठीको बालुवाटार सम्झौताले
किन गुमाउँथ्यो र मध्यरातको ‘साइत’
अन्तरिम संविधानले
मध्यरातकै ‘साइत’ रोजेको हो
अपरम्पार छ मध्यरातको महिमा
शासकहरूका निम्ति
यहाँ मध्यरात अति मन पर्छ
सत्ताको फलिफाप हुने ‘साइत’ हो
मध्यरात ।

संसदले मध्यरात नै रुचाउँछ
आपूm अनुकूलका नियम कानून
मध्यरातमै पास गर्छन् सांसदहरू
‘प्रभु’हरूको दर्शन
मध्यरातमै गर्छन् नेताहरू
भेटघाट र छलफल सबै हुन्छन् मध्यरातमा
ककटेल भोज गरिन्छ मध्यरातमा
बालुवाटारको के कुरा भो र ?
उसको ‘शुभसाइत’ नै मध्यरात हो
त्यसैले त बालुवाटार छिर्दा पहिलो पटक
चढाइन्छ ‘देवी–देउता’का नाममा कालो बोको
निशाको रङ नै कालो हुन्छ
यहाँ सबै काम निशालाई मनपर्ने गर्नु पर्छ
निशा यानेकि मध्यरात
यहाँ सबै खेल खेलिन्छ मध्यरातमा ।

शितलनिवास हिँड्छ
मध्यरातमा
बालुवाटार कुद्छ
मध्यरातमा
त्यसो त
पयारीडाँडा र सानेपालाई पनि
मन पर्छ मध्यरात नै
जब हुन्छ मध्यरात आफ्नो अनुकूल ।

सबै सबै रमाउँछन् मध्यरातमा
शासकहरूको गन्तव्य नै
मध्यरात भएपछि
औधी मन पर्छ शासकहरूलाई मध्यरात
मध्यरातमा शासकहरूलाई
जे गर्न पनि छ्ट हुन्छ
किनकि श्रमिकहरू सुत्छन्
मध्यरातमा ।
०८ जेठ २०७८, तुलसीपुर

प्रतिक्रिया

सम्बन्धित खवर