बलेकी आमा

कविता

प्रकाशित मिति : २०७८ जेष्ठ १५

- – मोदनाथ मरहट्टा

हिजोआज बलेकी आमा
गाउँ घरतिर हम्मेसी जान्नन्
झ्वास्स तपाइँले भेटे पनि
दुःखको पोको फुकाउन्नन्
गहिरिएर पढ्नुस् बरु एक पटक
बलेकी आमा इतिहास फुकाउँछिन्
बूढा विदेशमा हराए
जेठो छोरो शहरतिर मजदुरी गथ्र्यो
उतै घरजम ग¥यो
बाँकी एउटा थियो बले
पोहोर साल त्यो पनि दिल्ली हिँडेछ ।

ज्यादाजसो धिताल गाउँमा
ढिकी जाँतोमा पिरती गाँस्थिन्
पाखुरामा दुई मुठी बल थियो
मुखियाको बाँझोसँग साट्थिन्
छातिमा एकतोला हिम्मतले
सुत्केरीको भरिया भै जान्थिन्
गाउँमा ठुला ताउला पाक्थे
भाँडा धुने नोकर्नी हुन्थिन्
अनुहारमा एक झोला बैँस थियो
प्रधानको साह्रै मन परेकि थिइन्
बल र बैँस त्यतै बिसाइन् ।

बलेकी आमा वर्तमान कोपर्छिन्
दाँत फुक्लियो, कपाल फुल्यो
खुट्टा गले, ढाड कुप्रियो
दम बढ्छ, खोकी लाग्छ
आफ्नो भन्ने बूढो छाप्रो
त्यही उनको घर हुन्छ
सानो बर्षाले भत्किन सक्छ
सानो हुरीले च्यातिन सक्छ
साथीसँगी मुसा छुचुन्द्रा
नाच्छन् गाउँछन् भित्र रमाउछन् ।

गाउँमा कसैको भैँसी थाक्छे
बलेकी आमा ‘बोक्सी’ लाग्छे
गाउँमा बारीको कोदो हरायो
बलेकी आमा ‘चोर्नी’ हुन्छे
पँधेर्नीहरू खासखुस गर्छन्–
‘बलेकी आमा धारेहात हेर्छिन्’
डाँडामाथिको पाँडे गाली सुन्छिन्
आर्तनाद चह¥याउँछ पाप्रा उप्केर
चुसाहाले पाखुराको रगत मासु खाए
पातकीले जीउभरीको बैँस चपाए
बलेकी आमा काल कुर्दैछिन्
आँसु पिएर भोक टार्दै छिन् ।