‘सर सर ! उ तलीफुर शाहीसेना आयाछन् ।’ चौरमा खेल्दै गरेका तीनचार जना विद्यार्थी दौडँदै आए र कक्षाकोठामा पढाउँदै गरेका शिक्षकलाई एकैसाथ स्वासैस्वासले सूचना गरे ।
‘सर सर ! हाम्रो स्कुलतिरै आइरह्या छन् । जताततै ग्रुप ग्रुप बनाइकिन आयाछन् ।’ अर्को केटो हस्याङ् फस्याङ् गर्दै उही कक्षामा आएर साउती ग¥यो । बाहिर चौरमा खेल्दै गरेका सबै केटाकेटी एकैठाउँ डल्लो परे । कक्षाकोठाका विद्यार्थी चुपचाप आ–आफ्ना सिटमै स्थिर भए । मानौ ती कुनै कालिगढले आफ्नो ग्यालरीमा ठड्याएर राखेका मूर्तीका लस्करहरू हुन् । पढाई पूरैका पूरै डिस्टर्व भयो । वालसुलभ दिमागमा ठूलो मनोवैज्ञानिक आतङ्क सिर्जना भयो । अब कतिवेला गोली चल्ने हो, चिट्युँ…चिट्युँ…। पटट्ट…ड्याम्म । आतङ्कित छन् सबैका मनहरू । खुला आकास भएर पनि अँध्यारो देखिँदै छ सबैलाई । घामलाई एकचोक्टा निश्ठूरी कालो वादलले एक्कासी छेकिदिएझैँ भयो । सबैको मनमा चट्याङ प¥यो । मानौँ त्यहाँ हुरिबतास हुँडुलिएर आएको छ र सबैलाई स्वास फेर्न गाह«ो भएको छ । समय स्तब्ध छ । सन्त्रस्त छ मौसम ।
सदरमुकामबाट दूर्गम गाउँमा छ स्कुल । प्राथमिक स्कुल हो त्यो । पाहाडको ठाउँ । यसै पनि विद्यार्थी कम हुने । त्यसमा पनि अचेल हरिया र काला टाटेपाटे कानुनी बर्दिहरूको आतङ्क छाएको छ । जसले गर्दा स्कुलमा विद्यार्थी आउन पनि छोडेका छन् । किसोर किसोरीहरूको त झन् विउ नै भेटिँदैन स्कुलमा । कतिखेर सिंहहरूको हुल आएर उनीहरूको रगत पिउने हो, पत्तै हुँदैन । उमेरले दर्जन नाघेकाहरूले त गाउँ बस्तीहरूमा पढाइ नै बन्द गरिसके हिँजोआज ।
गाउँमा अचेल हिंश्रक सिंहको राज छ । र, उसले गाउँका सबै प्राणिहरूलाई एकएक गरेर आफ्नो आहारा घोषित गरिसकेको छ । सिंहको इच्छामुताविक निरीह प्राणिहरूले उसको भोजनको तृप्ती मेटाइदिनु पर्छ । पाठापाठीहरू निमोठ्ने वा तन्नेरीहरूलाई चोक्टाउने, उनीहरूको इच्छाको कुरा हो त्यो । अथवा बुढाबुढीहरूलाई लुछ्न पनि त सक्छन् । जे गरे पनि उनीहरूकै मनपरितन्त्र छ अचेल ।
शरदऋतुको मौसम छ । आकास छ्याङ्ग फाटेको छ । पाखामा सुनौला घाम लागेको छ । तर पनि स्कुले विद्यार्थी र मास्टरहरूको मन भने अँध्यारो छ । शरीरमा घाम लागे पनि उनीहरूको दीलमा घाम लागेकै छैन ।
शाहीवर्दी र काला बुटहरूले स्कुल चारैतिरबाट घेरा हालेका छन् । अवोध शिशुहरूको छाति ताकेका छन् बन्दुकका मोहरी र संगीनहरूले । बन्दुकको आँखा भए पो स्कुले बच्चा र तिनका गुरुहरूको अनुहार छुट्ट्याउँदो हो ।
दिउँसोको साढेबाह« बजेको छ । आफ्नै आँखा अगाडिबाट आपूmहरूलाई संधै माँया गरेर पानी पिलाउने, घण्टी लगाएर छुट्टी भएको जनाउ दिने पिउनलाई घिसार्दै, मुण्ट्उँदै र लात्ताले भकुर्दै लगे एकहुल राक्षसहरूले । पिउन अर्थात् नन्दलाललाई । उसलाई पिउनसर भनेर बोलाउँछन् विद्यार्थीहरूले । कहिलेकाहीँ कुनै शिक्षक खाली भएको वेला उसैले लिन्थ्यो उनीहरूको कलास । पाहाडको स्कुल, अक्सर गरेर एउटा न एउटा शिक्षक गयल भइरहन्छन् । हरेकदिन अपडेट भइरहने त त्यही पिएन मात्रै त हो । ऊ त गाउँको न थियो । सरहरू भने बाहिरी जिल्लाका थिए ।
सन्त्रस्त बच्चाहरू सबैलाई डाँको छोडेर रुन मन लागेको छ । तर, घाँटी त्यसैत्यसै अरर्राे भएर अड्किएको छ । केहीले त कट्टुमै तुक्र्याइसकेछन् । विचराहरू । अवाक भएका छन् बबुराहरू । निश्लोट अनुहारहरूले एकापसमा मुखामुख पनि गर्ने हिम्मत बटुल्न सकेका छैनन् । सबै कक्षाका विद्यार्थीहरू एकैठाउँ गुटुमुटु परेका छन् ।
अफिसमा मास्टरहरूमाथि केरकार हुँदै छ । देशै कफ्र्यूमय भएका बखत गाउँको स्कुलमा नित्य पढाउनु उनीहरूको अपराध भएको छ क्यारे सायद । नत्र उनीहरूको के अपराध थियो र केरकार गर्नुपर्ने । न त उनीहरू तिनीहरूले भनेजस्तै ‘माओवादी आतङ्ककारी’ थिए । न त उनीहरू कुनै चौकी र व्यारेक रेड गर्न गएका थिए ।
अफिसको भित्तामा टाँगिएको घडिले एक बजेको घण्टि हान्यो ट्वाङ्ङ । संयोग भन्नुपर्छ, बाहिर पनि आँखा नभएको एसएलआर पड्कियो पटट्ट…ड्याम्म । विद्यार्थी र मास्टरहरू सबैको शरीर शिताङ्ग भयो । हातखुट्टा फत्राकफुत्रुक्क भएर गले । कठै बिचरा ! विना कसुर पिउनसरको छातिमा चाँदमारी हानेक्यारे असत्तीहरूले । सबैसबैको अन्तरआत्माले त्यही ठहर ग¥यो । आफ्नै आँखा अगाडि घिसारेर लगेको निमेसभर वितेको छैन, एक्कासी गोली पट्किन्छ भने कसले अनुमान गर्न सक्दैन र ? आज पियनको रगत पिए नरपिचासहरूले ।
‘होइन सरहरूले हामीलाई…’, शिक्षक ईश्वरीले केही भन्नलाई मुख खोल्दै थिए, बुट बजार्दै कासन आयो– ‘चुप.., बढ्ता जान्ने हुन खोज्दैछस् । सापले जेजे सोध्नुहुन्छ त्यसको मात्र जवाफ दिने, धेरै बोल्ने होइन ।’
शिक्षकहरू चुपचाप भए ।
‘ए मास्टर ! तेरो घर कहाँ हो ?’
‘दाङ ।’
‘नाम के नि ?’
‘ईश्वरी भट्टराई हो सर ।’
‘तेरो नाम नि ? (अर्कोलाई सोध्छ ।)’
‘मेरो टीकाराम शर्मा हो, घर गुल्मी पर्छ ।’
‘मैले नाम सोध्या’छु घर होइन । खुबै जान्ने हुँदोरै’छ ।’
फेरि चुपचाप ।
‘आतङ्कारीहरूलाई खुब पालिन्छ होइन ? कति दिन्छौ पैसा ? खलङ्गाको खबर काहाँ काहाँ पु¥याइन्छ नि ? हेडमास्टर को हो ? कोको नेताहरूलाई चिन्या’छस् तिमेरूले ?’ प्रश्नमाथि प्रश्नको बौछार लगाइएको छ ।
‘हामीले कुनै आतङ्कारीलाई चिन्या छैनम् सर ।’
‘अझ चिन्या’छैनम् भन्छस्, साला राँडीको छोराहरू । जङ्गली के जङ्गली । जङ्गलीहरूलाई चिन्या’छैनस् तिमेरूले ? साला आफैहोला जङ्गली, अझ नचिनेको स्वाङ पार्छस् मा..सालाहरू । माओवादी सरहरू भन्दैनस् तँहरूले ? आउँछन् कि आउँदैनन् ? काहाँ छन् तिनीहरू ?’ फेरि प्रश्नको वर्षा हुन्छ ।
‘आउँछन् सर । तर काहाँ बस्छन् त्यो त हामीलाई पनि थाहा हुँदैन ।’
‘पैसा कति दिन्छस् नि ?’ फेरि अघिकै प्रश्न दोहो¥याउँछ ।
‘सबैले एकेक दिनको तलव दिनुपर्छ सर ।’
‘ए ! मास्टरहरूले पैसा दिने गोलीगट्ठा किन्न, गाउँलेहरूले रासन दिने र हाम्रो ब्यारेक हान्न आतङककारीहरूलाई पठाउने हैन ? साला राँडीका बानहरू ।’ अश्लील गाली त उनीहरूको पेशाको मर्यादा नै हो क्यारे । शब्दैपिच्छे मर्यादा पालन गर्न सतर्क छन् उनीहरू ।
‘यी मास्टरहरूले त आतङ्ककारीलाई परशिक्षन पनि दिन्छन् सर । कमिसार हो कि केजाती त यिनीहरू नै हुन्छन् भन्ने सुन्याछु सर मैले त ।’ तनक्क तन्किएर बुट बजार्दै अर्कोले कुरा थप्यो ।
‘हो हो ।’ तेस्रोले सही थाप्यो ।
‘ए केटा हो ! यी दुईटा मास्टरलाई पछाडि हात बाँधेर लैजा त । ह्याँ राम्रोसँग स्वीकार्दैनन् जस्तो छ । यिनेरूलाई भरे स्वर्गतिर पठाएपछि त्यहीँ बक्छन् होला सतको सत ।’ टोलीप्रमुखले मनोवैज्ञानिक आतङ्क दिँदै आदेश ग¥यो रिक्रुटहरूको जत्थालाई ।
‘हामीलाई किन लैजानुहुन्छ सर ? हामीले के विरा’छम् र ! यस्तो गाउँमा त तपाईहरू बसेको भए पनि माओवादीलाई सहयोग गर्नुहुन्थ्यो होला । तपाईंहरूको घरमा पनि बा–आमाहरूले सहयोग गरेकै त होलान् नि सर !’ शिक्षक ईश्वरीले प्रतिवाद गर्न खोज्यो ।
‘कुरो त ठिकै ग¥या हो गाँठे यो मास्टरले । मेरो भाइ र एउटी बैनी पनि त यहि पार्टीमा छन् । आपूm यहाँ यी सोझासिधा मास्टरहरूलाई पकड्न आउनु प¥या’छ । आफ्ना भाइ–बहिनीहरूलाई पनि हाम्रै साथीहरूले यस्तै त गर्दै होलान् ।’ एउटा जवानले मनमनै सोच्यो र सम्झियो आफ्ना भाइ–बहिनीहरूको अनुहार ।
‘ए यो मास्टर त बढ्ता बोल्दो रै’छ । आतङ्ककारीलाई सहयोग गर्ने अझ हामीलाई समेत आरोप लाउने यसको यत्रो हिम्मत !? खुरुक्क हिँड । पछि थाहा पाउलास् कस्ले सहयोग गर्दो रै’छ ।’ कमाण्डर कड्कियो । ‘ए केटा हो सुनिनस् मैले भनेको ? केको ट्वाल्ल परिरा’छस् । स्वास्नीको याद आयो कि क्याहो तिमेरूलाई पनि ? छिटो बाँध् यी राँडिका छोराहरूलाई । यस्तो कडा कुरा गर्ने मान्छे, के थाहा यहि पो हो कि गुरिल्ला ।’ आतङ्कित छ ऊ पनि ।
स्कुलमा आएको पनि धेरै समय वितिसकेको छ । उता गोली चलेको थाहा पाएर छापामारहरूको एण्टी घेरामा पो परिने हो कि ? साँझ पनि पर्न थालेको छ । सशङ्कित छ ऊ ।
दुईजना मास्टरहरू ईश्वरी र टीकारामलाई हात बाँधेर बीचमा हालेर हिँडाले आतताईहरूले ।
‘नलैजानुस् हाम्रो सरहरूलाई ।’
‘हाम्लाई क’ले पढाउँछ ।’ रुन थाले विद्यार्थीहरू ।
उनीहरूको अनुनय र रोदनलाई विवेक र आत्मा नभएका ती निष्ठुरीहरूले केको सुन्थे । उल्टै दुईचार थप्पड पो दिए बबुराहरूलाई ।
‘साला…यी भुसुण्डाहरूलाई आतङ्ककारी शिक्षा त पढा’होलान् यी मास्टरहरूले ।’ एउटा बर्दीधारी फतफतायो ।
दिन ढल्दै छ । स्कुलभवन पनि छायाँमा परिसक्यो । नाडिघडिले चार बजाउने तरखरमा छ । अफिसकोठामा ताल्चा ठोकिदियो एउटा वर्दीधारीले हेडमास्टरसित चावी खोसेर । पढ्ने कोठाहरू त सबै ह्वाङ्गै छन् । कुनैमा ढोका नै छैनन्, कुनैमा ढोका त छन् तर साङ्लाहरू छैनन् । त्यसै पनि चर्को गरिबीले थिचिएर निश्लाम बनेका अनुहारहरू, झनै आजको त्यत्रो घटनाले विच्छिप्त भएका बबुरा केटाकेटीहरू टुहुराजस्तै भएर घरतिर लागे । अब भोलिदेखि स्कुल आउने कि नआउने !? अनुत्तरित प्रश्नको पोको बोकेर ।
बाटोमा उनीहरूलाई निकै केरकार गरियो । ‘तिमेरू आतङ्ककारीको कुन कुन कमिटीमा बसेका छौ ? कुन कुन नेताहरूसँग सम्पर्क छ ? कतिओटा कार्वाहीमा भाग लियौ ? नेताहरू काहाँ काहाँ बस्छन् ? प्रचण्ड बाबुरामहरू यता आउँछन् कि आउँदैनन् ? किन आतङ्ककारीहरूलाई सहयोग गरेको ? अबदेखि गाउँमा जङ्गलीहरू आएको खबर हाम्रो व्यारेकमा पु¥याउने कि नपु¥याउने ?’ यिनै प्रश्नहरू बारम्बार दोहोरिई राखे ।
बाटोमा हिँड्दा हिँड्दै रात प¥यो । दिउँसो आफ्ना पियनलाई गिरफ्तार गरेको केही समयमा गोली चलेको दृश्य दुवै शिक्षकहरूको मथिङ्गलमा रिलझैँ घुमेको छ । दिनभरका घटनाहरूका ताजा दृश्यहरू चुक घोप्टाएजस्तो रातमा पनि छर्लङ्गै देखिएका छन् ।
‘ए मास्टर भाग ।’ एउटाले गिज्यायो उनीहरूलाई ।
‘अँ दौडनेबेला पछाडिबाट गोली हानेर मार्नलाई होला नि’ मनमनै सोचे शिक्षकहरूले । ‘किन भाग्ने सर, हामीले के विरा’छम् र भाग्ने । लैजानुस् न जहाँ लैजानुहुन्छ । तपाईंहरूसँगै खुरुखुरु हिँडेकै त छौँ नि ।’ ईश्वरीले दह«ो प्रतिवाद ग¥यो ।
‘बाठो छ यार यो मास्टर त । मा.. साला यो पनि नेतै हुनुपर्छ ।’ गलल हाँसे सबै एकछिन् ।
‘किन हल्ला ग¥याछस् ए राँडीका छोराहरू ? अहिले एम्वुसमा पर्लास् र खालास् जागिर ।’ कमाण्डरले पछाडिबाट हका¥यो सबैलाई । चुपचुप भए सबै । ग¥याप ग¥याप बुट बजारेको आवाज मात्र आइरहेको छ । रात घर्किसकेको छ । कतिकतिवेला लाटोकोसेरो र भुद्रुङ कराउँछन् नेपथ्यमा ।
खलङ्गा जाने बाटो पनि होइन यो । उनीहरू नहिँडेको बाटो लगिँदै छ । जङ्गल छ घनघोर । सल्लाका कुसुमले गर्दा सल्लेरीवन हो भन्नेसम्म अनुमान छ उनीहरूलाई । कहाँ लगिँदै छ, केही अत्तोपत्तो छैन । गन्तव्यहीन यात्रा गरेको लुते कुकुरको यात्राजस्तै भएको छ उनीहरूलाई । उनीहरू अर्थात् शिक्षक ईश्वरी र टीकारामलाई ।
चौतारोमा बसे सबै । घण्टौँ भयो हिँडेको । पिसाव फेर्न मन लाग्यो भनेकाले दुबैको हात खोलिदिएका छन् । पिसाव फेर्दैगर्दा ईश्वरीले टीकारामको कानमा स्वासले भन्यो–‘सर यदि हामीलाई मारेनछन् भने हामीले स्कुलमा जे बयान गरेका छौँ त्यही बयान गर्नु पर्छ है । केही पनि पोल खोल्नु हुँदैन ।’
‘हुन्छ सर, त्यसको केही चिन्ता गर्नु पर्दैन ।’ टीकारामले सहमती जनायो ।
पोल नखोल्न भन्नुको अर्थ माओवादी समर्थित शिक्षक सङ्गठनमा बसेको कुरा नबताउनु थियो । दुबैले सहमतीमा बाचा गरे । दिउँसो चारबजे गिरफ्तार गरेर ल्याएको, रातभर हिँडाउँदा पनि नमारेकाले अब त मार्दैन कि भन्ने झिनो आसा पलाएको छ उसको मनमा । अरु गाउँलेहरूलाई व्यारेकमा पु¥याएर मारेको घटना पनि त उसलाई थाहा नभएको होइन । त्यसैले फेरि त्रसित हुन्छ उसको मन । क्षणक्षणमा आसा पलाउँछ र फेरि विलाउँछ ।
फेरि उसैगरी हात बाँधेर हिँडालियो । उसलाई घरको यादले बेस्सरी सतायो । ‘आफ्नो बाबाको काखमा हुर्कन त पाएनन् पाएनन् बबुराहरूले, अब मुख पनि भेट्न नपाउने भए ।’ मनमनै सोच्यो र खुइय सुस्केरा हाल्यो उसले । ‘गरिबीको कारण दूर्गम जिल्लामा प्राइमरीको जागिर खान आउनु परेको छ । पेन्सन पाक्नेवेला हुन थाल्दा पनि परिवारसँग साथै बस्ने र बालबच्चाहरूलाई आपैmले रेखदेख गर्न पाउनु छैन ।’ सोच्दासोच्दै वेचैन भयो ऊ ।
प्रेम विवाह गरेको हो उसले, पाहाडतिरै जागिर खाँदा । एकवर्ष त आफैसँग राख्यो उतै । त्यसपछि घरमै छोडेर हिँडेको वषौँ वितेको छ । चार छ महिनामा एकपल्ट घर जाँदा भेट हुन्छ परिवारसँग । यतिखेर उसका कलिला दुईवटा मुनाहरू छन् घरमा । ती बबुराहरूका लागि आफ्नै देशमा जागिर खाने बाबुलाई पनि परदेश गएकोझैँ सम्झनु परेको छ । ‘खोई बाँच्न दिएछन् भने बाबाको मुख देखौला नत्र त…।’ आफ्ना कलिला मुनाहरूलाई सम्झेर भावुक भयो ऊ । साथीहरूले धेरै पटक भनेकै हुन्– ‘ए सर ! अब तपाईं पनि हिँड्नुस् है महान् यात्रामा हामीसँगै । तपाईंलाई छोड्ने छैनन् जल्लादहरूले । किन व्यर्थमा जीवनलाई धोका दिनुहुन्छ ?’ अहिले खुबै घाँटीलागेको छ त्यो कुरा उसलाई । तर, के गर्नु, अब त्यो चान्स गुमिसकेको छ । विगत सम्झियो निकैबेर । आँखाबाट अनायासै आँशु खसे बरर्र । रातको समय छ, कस्ले देख्नु उसका आँशु । धित मरुञ्जेल खसाल्यो उसले आँशु । तर, साहस बटुलेर दह«ो मुटु बनायो– ‘बरु ज्यान जाला यी कसाहीहरूसँग कुनै पनि हालतमा झुक्ने छैन ।’ बाँधिएकै अवस्थाका हातहरूले मुठि कस्यो ।
‘ए केटा हो, अब यिनेरूको आँखमा पट्टी बाँध ।’ कमाण्डरले आदेश ग¥यो । सायद उज्यालो हुन थालेकाले ठाउँ थाहा पाउलान भनेर होला ।
ब्यारेकमा पु¥याइयो उनीहरूलाई । गिरफ्तार गरेर ल्याउने कमाण्डरले माथिल्लो तहको हाकिमलाई जाहेरी गरेपछि उनीहरूलाई अनुमान गर्न सजिलो भयो, ‘हामीलाई ब्यारेक ल्याइएछ ।’
‘साप ! दुईजना आतङ्कारीहरूलाई समातेर ल्याएको छ । एकजनाले त हामीलाई ग्रिनेट चार्ज गरेर भाग्न थालेकाले भिडन्तमा मारियो साप ।’ बुट बजा¥यो ग¥याप्प । ‘भन्न त यिनीहरूले आफूलाई मास्टर हौँ भन्छन् साप, तर आतङ्ककारीहरूलाई पाल्ने, गाउँमा प्रशिक्षण दिने, गाउँलेहरूलाई हाम्रा विरुद्ध उचाल्ने गर्दा रै’छन् साप ।’ फेरि बुट बजा¥यो उस्तै गरी ।
बन्दी बनाइएका मास्टरहरूको मन एकतमासको भयो– ‘कस्तो अचम्म !? कति झुठ बोल्न सकेका ? बिचरा पियनलाई स्कुलको प्रङ्गणबाटै समातिएको छ । अझ ऊ त काङ्ग्रेस समर्थक हो, केको ग्रिनेट हान्नु बिचराले । यस्तो सफेद झुठ बोलेर दिनलाई नै रात बनाउने ?!’
‘पक्कै पनि पियनलाई मार्नुमा कसैको रिसिवी हुनुपर्छ ।’ ईश्वरीले अनुमान ग¥यो ।
उसको मन झन् कठोर भयो । अब कुनै पनि हालतमा झुक्नु हुँदैन– ‘बरु यही ब्यारेकमा सहिद बन्नु परे बनौला ।’
‘यस्तालाई किन यहाँ ल्याएको त ? कस्ले खान दिन्छ यिनेरूलाई यहाँ ? यिनका बाउ बस्याछन् र ? दुईटा गोली पनि महङ्गो लाग्यो कि क्या हो तिमेरूलाई ।’ व्यारेकको कमाण्डर झनै क्रुरतापूर्वक पेश भयो । सायद ऊ केरकार शाखाको हाकिम हुनुपर्छ ।
‘यी छन् नि मानवअधिकारवादी, पत्रकार भन्ने जन्तुहरू, तिनले फेरि शिक्षकहरूलाई मा¥यो भनेर कराउँछन् त साप ।’ बुट बजा¥यो ।
‘कराउन दे सालाहरूलाई । कराएर के नाप्छन् र ?’ कमाण्डर कड्क्यो । ‘ठिक छ ल्याइहाल्यौ, मौका मिलाएर सफाई गरौँला, अहिले भित्र लगरेर मरमत गर । हात खुट्टा र आँखा नखोलिदिनू, भाग्लान् नि । ए सुन् ! यी दुईटालाई अलग अलग राख्नू । योजना बनाउलान र ब्यारेकस्यारेक उडाइदेलान् ।’
हस् साप !
‘कति आतङ्कित छ ऊ । बन्दी बनाएर ल्याइएका र हातखुट्टा बाँधेर आँखामा पट्टी लगाइएकाहरूसँग त यति आतङ्कित छन् भने जनमुक्ति सेनासँग त झन् किन आतङ्कित नहोलान् यिनीहरू ।’ ईश्वरीले उनीहरूको कायरता बुझ्यो ।
उनीहरूलाई छुट्टछुट्टै मरमत कोठीमा लगियो । उज्यालो पनि भएछ क्यारे । चहलपहल बढेको छ बाहिर । आँखामा पट्टी बाँधे पनि बाहिरको वातावरणले उज्यालो भएको अनुभूति दिलाएको छ उनीहरूलाई ।
‘ऐया…मरेँ नि ।’ मरमतको क्रम शुरु भयो दुबैतर्फ । निकै कुटे बगरेहरूले । वेहोस नहुञ्जेल भकुरे । कतिखेर होस खुल्यो उसको । अर्थात् ईश्वरीको । शरीर पूरै सुन्निएको छ । टाउको उठाउनै नसक्ने भएको छ । हात र खुट्टा बाँधिएकै छन् । नाक र मुखबाट ह्वालह्वाल्ती रगत बगेको छ । नाङ्गो भुईंमा लडाइएको छ उसलाई ।
‘ए साला मास्टर, भन् कहाँ छन् आतङ्ककारीहरू । तँ आतङ्ककारी होस् कि होइनस् ?’ टाउको तल बनाएर झुन्ड्याइएको छ, र नाङ्गो शरीरमा सिस्नोले ठटाउँदै बयान लिइँदै छ । ‘तेरो साथीले सबै भनिसक्यो । तँ मात्रै किन मर्न खोज्दैछस् ए राँडीको छोरा । खुरुक्क भन् । माओवादी होस् कि होइनस् ? कुनकुन ठाउँमा आक्रमण गरिस् ?’
‘होइन, होइन । म माओवादी पनि होइन । म कुनै पनि ठाउँमा गा’छैन । मलाई यसबारेमा केही पनि थाहा छैन ।’
अझ था’छैन भन्छस् । ला.. । ला… राँडीको छोरा ।’
वेहोस भयो ऊ ।
होस खुल्दा भुइँमा लडेकै पायो आफूलाई । यसपटक खुट्टा भने खोलिएको छ । आँखामा पट्टी यथावत नै छ । मुख सुन्निएकाले होला आँखाको पट्टी झनै कस्सिएको छ ।
‘ए रणे !’
‘हजुर साप ।’ बुट बजा¥यो र तनक्क तन्कियो ।
‘भित्र ती मास्टरहरूलाई खाना दे ।’
‘हस् साप ।’ फेरि उस्तै पोजिसन ।
‘ए मास्टर यी यो खाना खाऊ ।’ रणेले बाँधिएका हातहरू खोलिदियो ।
‘खाना खाने मन छैन मलाई । तिमीहरूले दिने खाना र सम्मान भनेको पशुवत यातना त हो । त्यो त मैले खाएर अघाएकै छु ।’ ईश्वरीले प्रतिवाद ग¥यो । ऊ भित्ताको आड लिएर उठ्ने कोसिश ग¥यो तर सकेन । गद्रम्म ढल्यो भुइँमा ।
‘ए मास्टरसाप म त्यस्तो मान्छे होइन के । मैले भनेको मान । तिम्रो जिउ दुखेको होला । पहिला खाना खाऊ र लौ यो बु्रफेन पनि खाऊ । तिमीले बयान कत्ति पनि नबिगार्नु । एउटै बयान गरिरहनु ।’ सहयोगी भावना प्रकट ग¥यो रणेले । एकछिन आँखाको पट्टी पनि खोलिदियो । ‘अलि खुकुलो बनाइद्या छु । अरु आउँदा आँखा छोप्नू, मैले बाहिर बुट बजारेर खोक्ने छु । मास्टर रै’छौ आँखा बिग्रेला फेरि ।’ रणेले साउतीको स्वरमा सबै कुरा सिध्यायो ।
एवम् रितले उसको दिनचर्या ब्यारेकको कालकोठरीमा वित्दै गयो । कहिले उँधोमुन्टो पारेर कुट्ने । कहिले गोर्खेलौरी लगाउने त कहिले पैतलाहरूमा करेण्ट लगाउने । खाल्टो खनेर टाउको मात्र देखाएर पुरिदिने । केसम्म गरेनन् बगरेहरूले ! यस्ता अनेकौँ यातनाका प्रकृयाहरू पूरा गरियो ऊमाथि । अहँ ऊ गल्दै गलेन । अदम्य शाहस बटुल्यो उसले । ‘बन्दैन देश दुईचार सपुत मरेर नगए ।’ भूपि शेरचनको कविताको हरफले साहस भ¥यो उसलाई । जनयुद्धका महान् सहिदहरू सम्झ्यो उसले । आफ्ना हृदयका मित्रहरू मृत्यु र मुक्तिको सपथ खाएर भूमिगत भएर लम्बेयात्रामा लागेको सम्झ्यो । सबै सबै दृश्यहरू उसको मष्तिष्कमा एकपछि अर्को गर्दै पत्रपत्र भएर पानाहरू खुल्दै गए । यातनाका कयौँ शृङ्खलाहरू पार ग¥यो उसले । त्यो कालकोठरीहरूमा पनि रणे र वले नाम गरेका सिपाहीहरूले उसलाई मानवीय व्यवहार गरिरहे ।
‘सबै सेनाहरू एकैनासका हुँदा रहेनछन् ।’ उसले मनमनै सोच्यो । दानवहरूका बीच पनि मानवहरू हुँदा रहेछन् । यातनाशिविरमा रहुञ्जेल रणे र वलेहरूले सक्दो सहयोगी भावना देखाए । एकथरी आएर चर्को यातना दिने र अर्काथरी आएर सम्झाउँदै आत्मसमर्पण गर्न लागाउने काम पनि निरन्तर भइरह्यो । तर, उसले लल्कार्दै ग¥यो– ‘मैले के विराएको छु र आत्मसमर्पण गर्ने ? सक्छौ भने गोली हानेर मार । तर, यो अन्यायपूर्ण व्यवहारको एकदिन अन्त्य हुनेछ, हुनेछ ।’ अनेकौँ यातनाले पनि गलेन ऊ । उसको आस्था झन् बलियो भयो । अन्तमा जिल्ला प्रशासन कार्यालबाट सादा तारेखमा रिहा गरियो उसलाई ।
(२०६६ पुस ११ माओ जयन्तीको अवसरमा रचित ।)




























