लाहुरे– पेशा वा संस्कार ?

प्रकाशित मिति : २०७७ माघ ५

- गोरे

गाउंले उखानहरु अति सरल र बुढापाकाहरुको अनुभवबाट खारिएर बनेका मिठास शव्दहरु हुन् । यसले मानिसको भित्री मर्मलाई छुने र सुधारको महशुस गराउन व्यंग्यात्मक जस्तो सटिक शव्दजालहरुद्वारा निर्माण गरिएको हुन्छ । यस्तै धेरै उखानहरुमध्ये एउटा यो विषयसंग मेल खाने उखान समावेश गर्नु उचित देखिन्छ । ुधेरै खाएपछि भेलि पनि तितो हुन्छ । कुनै पनि चिज वस्तु चाहे त्यो राम्रो होस् या नराम्रो, त्यसलाई धेरै लामो समय प्रयोग गरियो भने त्यसका बारेमा नकारात्मक पक्ष देखिन थाल्छन् । त्यहि कुरा एउटा समयसम्मको लागि सहि हुन सक्छ, फेरी त्यहि कुरा समयकालपश्चात गलत हुन सक्छ । यसलाई प्रकृतिको नियमसंगत भन्न सकिन्छ । प्राकृतिक नियम अनुसार जन्मसंगै मृत्यु जोडिएर आएको हुन्छ । अर्थात प्रकृतिमा कुनै पनि वस्तु स्थिर छैन, नासवान छ, परिवर्तनशिल छ । यो प्राकृतिक नियमलाई ग्रिकहरु वाद विवाद भन्न रुचाउंछन् र यसलाई कार्ल माक्र्सले द्वन्द्धात्मक भौतिकवाद भनेर व्याख्या विश्लेषण गरेका छन् । समाजमा हुने द्वन्द्ध पनि त्यसैका उपज हुन् । एउटा कालखण्ड पार गरेपछि हिजोको राम्रो मानिएको विषयले द्वन्द्धको रुप ग्रहण गर्छ ।
एउटा मगरको घरमा आफ्ना सन्तालाई आशिक दिंदा क्याप्टेन, सुबेदार भएस् भनेर दिइन्छ । अनि बच्चा पनि गमक्क परेर नाक ठूलो पारेर खुशी हुन्छ, मानौं ऊ लाहुरे भैसक्यो । एउटा लाहुरे भएको घरलाई समाजले गर्वको रुपमा हेर्ने चलन छ । ऊ फलानोको छोरा लाहुरे भयो, थुइक्क तैंले त्यसैको गु खा । बिचरा त्यो लाहुरे नहुने हुतिहारा, नामर्द, तैंले गरेर नखाने भइस्, भुषतिघ्रे, स्वांठ नानाभांति सुन्नु पर्ने । अनि ऊ पनि भर्ति खुल्नााथ छाति र उचांई नाप्न जान्छ । ऊ शारीरिक रुपमा सबैमा फिट हुन्छ तर के गर्नु कहिले केमा कहिले केमा फालिरहन्छ । अनि आफन्ति लाहुरेको साथमा पठाएर उसंगै राखेर पल्टनभित्रै खुवाउने, प्राक्टिस गराउने र पल्टनका जर्सावलाई केटो देखाउने गरिन्छ । यता घरमा छोरो लाहुरे होस् भनेर देविदेवता भाकल गरिएको हुन्छ । अनि सांच्चै छोरो लाहुरे हुन्छ । अनि त के उता लाहुरेको खुशीले जीन्दगी पुरै उज्यालो हुन्छ भने यता गाउंघरमा कम्ति खुशियाली हुदैन । ओहो, त्यति मात्र कहां हो र १ सोल्टिनीहरुको लाहुरेसंग बिवाह गर्न भित्रभित्रै कुस्ता कुस्ती शुरु हुन्छ । मानौं, यो संसारमा ऊ बाहेक अर्को कुनै केटा नै छैन । नयांघरे माइलो गाउंमै मास्टर गर्छ, पढेलेखेको छ, गाउंघरको सेवा गर्छ, दुःख सुख पर्दा उसैलाई नबोलाई सुखै छैन । तैपनि ऊ लाहुरेको अगाडि समाजमा केहि पनि होइन । मानौं, उसको समाजमा कुनै मूल्य नै छैन । त्यहि समाजको दबाव र इज्जतको लागि पनि ऊ पनि एक दुई पटक नदेखिएको होइन । तर ऊ सफल हुन सकेन । लाहुरे छुट्टिमा आउंदा सारा टोल आएर नाचगान गर्छन्, खुशी साटासाट गर्छन । मानौं, ऊ समाजको लागि महान व्यक्ति हो । त्यो समाजमा उसले कायापलत ल्याउंछ । त्यसैले उसलाई मान्नु पर्छ । यी माथिका अरफहरु लेखिरहंदा कसैलाई गिज्याए या मान प्रतिष्ठामा चोट पु(याए जस्तो लाग्ला । समाजलाई घृणा गरिएको भन्ठालिएला तर यस लेखको आशय कसैको इज्जत, प्रतिष्ठामा आंच ल्याउनु होइन । अब, समय त्यो बेलाको रहेन । वान क्लिक, वल्र्ड फिनिस भैसक्यो । एउटा ह्याकर (कम्प्युटर इन्जिनियर) ले विश्वको अर्थतन्त्र नै ध्वस्त बनाइदिन सक्छ । विपक्षि शत्रुका देशले के के गरिरहेको छ, उसका सारा गतिविधि नियालिरहेको हुन्छ । अरुको कुरा त छोडौं सिंगल व्यक्ति जो संसारमा शक्तिशाली भनेर चिनिएको हुन्छ, उसलाई समेत सजिलै पत्ता लगाउन सकिन्छ । बिडम्बना हामी त्यहि पुरानै शानमा जीवन बांच्न खोजिरहेका छौं । त्यो त्यस बेलाको परिवेश, समय, परिस्थितिको लागि अनुकुल थियो । सधैं त्यहि समयलाई पछ्याएर आज जिउन खोज्नु आजका युवाहरुलाई गिज्याइरहेको छैन होला ? भनिन्छ, उहिलेका कुरा खुइले । संसारमा यति ठूलो प्रगति हुंदा पनि त्यहि जिजु बाज्यकै बाटोलाई पछ्याइरहनु यो उखानको मर्म बिपरित देखिन्छ वा समयको पदचापलाई बुझ्न नखोज्नु हो । यो विषय प्रसंगलाई इतिहांससंग दांजेर हेर्दा ती सोझा जनताजिहरुको जीवनसंग कतै मेल खाएजस्तो लाग्दैन । पेशाकै रुपमा हेर्दा पनि कतै मेल खाएको देखिदैन । एउटा सत्य कुरा के हो भने यी जातिहरु स्वभावैले जोशिलो, लडाकु, निडर, सहनशिल, सन्कि, रिसाहा स्वभावका हुन्छन् । तर्क बितर्क र बिवेक भन्दा बढि मुढे बल प्रयोग गर्ने स्वभावकै कारण त्यसको फाइदा अर्कोले उठाइरहेको थाहै पाइरहेको हुदैन । मिहिनेत त गर्ने तर आफ्नो बिवेक प्रयोग गर्न नसक्नु ठूलो कमजोरी देखिएको छ । यो स्वभाव अशिक्षाको बीचमा हुनु कुनै आश्चर्य भएन तर एउटा शिक्षित मात्र होइन, समाजमा प्रतिस्थित भनेर परिचित व्यक्तिले समेत कतै न कतै बिवेक गुमाएकै कारण समाजले ठूलो क्षति व्यहोर्नु परेको कुरा इतिहांस सांक्षी छ । बिगत समयलाई हेर्दा हाम्रा पुर्खाहरु खेतिकिसान, पशुपालन, सिकर्मी, दकर्मी र ऊन, कपास, भांग (गांजा), सिस्नो, अन्य विभिन्न रुख विरुवाबाट आउने पुवा (धर्सा) आदिको प्रयोग गरि विभिन्न कपडा (राडी पाखी, घुम, भांग्रा, घलेक, कम्बल र विभिन्न सामान तयार पार्ने कार्य) बनाउने, तामा खानी सञ्चालन लगायत बिभिन्न घरेलु सामानहरु (डोको, नाम्लो, दाम्लो, हलो, दालो, भकारी, सोलि आदि) तयार गरि विक्री वितरणबाट आत्मनिर्भर अर्थतन्त्र रहेको पाइन्छ । यो त्यस समयको धमाकेदार पेशा व्यवसाय थियो । यहि पेशा व्यवसायबाट नै नेपालको अर्थतन्त्र बलियो रहेको प्रमाण कसैले मेटाएर मेटाउन सक्दैन । किन कि यो इतिहांस हो । यो कुरा इतिहांसमा नलेखिएको भए कुनै दिन यसले लेख्ने सच्चा इतिहांसकार पाउनै पर्छ र लेखिने पनि छ । इतिहांस भनेको बिगतको घटना विश्लेषण हो र यसले बर्तमानमा भए गरेका गल्ति सच्याएर अगाडि बढ्ने प्रेरणा उत्सर्जन गराउंछ । एउटा सत्य कुरा भनौं या अनुभव भनौं के देखिन्छ भने एउटा गाउं घर वा समाज जसले आफ्नै परिवेश अनुसार व्यापार, व्यवसाय, उव्जनि र प्राकृतिक श्रोतहरुको प्रयोगबाट जीवन हांसी खुशी बिताइरहेको हुन्छ । जहां बांच्नकै लागि कुनै छलकपट, जालझेल, ठगी कार्य, झुठ बोल्ने गर्नु पर्दैन । उनिहरुको एउटा छुट्टै समाज हुन्छ, त्यहां धर्म, भाषा, संस्कृति, चालचलन, रितिरिवाज, रहनसहन आदि सबै सम्पन्न रहेको छ । सबै कुरा आफैमा सम्पन्न भएपछि कसैको बारेमा नराम्रो सोंच्ने, गलत व्यवहार गर्नु पर्ने र अनावश्यक टिकाटिप्पणि गर्नु पर्ने हुदैन जसको फलस्वरुप अन्य बाहिरी दुनियांसंग कुनै सम्पर्क राख्नु पर्ने आवश्यक पनि परेन । यहि कारण यि जातिहरु सधैं सोझो बानी व्यहोरा, सरल, नम्र, कसैप्रति गलत नसोच्ने प्रवृत्ति आज पर्यन्त गाउंघरमा कायम रहेको पाइन्छ । यहि सोझोपनको फाइदा अन्य बाठो जातिहरुले त्यसको भरपुर फाइदा उठाए र उनिहरु आजपर्यन्त उत्पिडनमा रहन बाध्य भए भनेर अहिलेसम्मको संरचनाबाट प्रष्ट हुन्छ ।
अब हेरौं लाहुरेको केहि बिगत ऐतिहांकि घटना परिवेश । यो त्यस समयको सामाजिक, आर्थिक संरचनाको कुरा हो, जुन समय जनता त के आफ्नो देश रक्षाको लागि राजा आफै लडाइंको नेतृत्व गर्नु पथ्र्यो । राजा हुनको लागि शाष्त्र, अष्त्र, राजनीति, कुटनीति बिद्या लिएको हुनु पथ्र्यो । यो बिद्या बिपरित राजा सुख सयल, मोजमस्तिमा लागे भने देशको अस्तित्व नै समाप्त हुन्थ्यो । किन कि त्यस समयमा राज्यको अतित्व नै जित र हारबाट निर्धारण हुने चलन थियो । त्यस समयको परिस्थिति भनेको लड्नै पर्ने बाध्यता थियो । त्यस समयमा लाहुरे हुने चलन थिएन या भनौं व्यवसायिक र स्थिर सेनाको निर्माण गरिएको थिएन । देश बचाउनको लागि जनता अनिबार्य लड्नु पर्ने नियम थियो । पछि माध्यमिककालदेखि मात्र सेनाको संरचना बन्न थालेको पाइन्छ । नेपालको एकिकरणपश्चात नेपालले भारतीय ब्रिटिश इष्ट इन्डिया कम्पनीसंग र तिव्वत चिनसंगसमेत लड्नु परेको थियो । यिनै ब्रिटिस सेनासंगको लडांइमा नेपाली सेनाको बिरता, निडर, साहस, धैर्यताबाट प्रभावित भएर ब्रिटिस सेनामा भर्ना गर्न शुरु गरिएको देखिन्छ । यो भर्नाको शुरुवात अप्रिल २४, १८१५ देखि रहेको देखिन्छ । ब्रिटिस सेनामा भर्ना गर्ने समय इष्ट इन्डिया कम्पनीमा प्रष्ट देखिएता पनि नेपाल र इष्ट इन्डिया कम्पनीबीच कुनै आधिकारिक सम्झौता भएको देखिदैन र नेपालसंग पनि कुनै आधिकारिक तथ्यांक भेटिदैन । यो प्रकृया राणा प्रधानमन्त्रि रणोद्धिप सिंहको पाला सन् १८७७ सम्म पनि कायम रहेको देखिन्छ । इष्ट इन्डिया कम्पनीले नेपालका युवाहरुलाई लुकिछिपि लिएर भर्ना गर्ने गरेको देखिन्छ । जुन कुरा रणोद्धिप सिंहले नेपालका युवाहरुलाई लिन आउने ब्रिटिसहरुलाई गोलि हान्नु भन्ने आदेश दिएबाट थाहा हुन्छ । तर उनका भाई सेनाका प्रमुख धिरशमशेर ब्रिटिसहरुसंग सम्बन्ध बिगार्न चाहदैन थिए र उनले अंग्रेजसंग एक नेपाली युवा बराबर एक राइफल लिने सम्झौता गरेका थिए । त्यसरी नेपाली युवाहरुलाई एकजातिय राणाहरुको राज्य सत्ता सुरक्षित राख्नको लागि गरिएको एउटा व्यक्ति (सेनापति) को सनकमा भएको सम्झौतालाई आजसम्म पनि कायम राखिनु त्यस समयका शासन संचालकका मानसिक दरिद्रता देखिनु कुनै नौलो कुरा थिएन । तर अहिले गणतन्त्रसम्म आइपुग्दासमेत त्यहि पुरानै दरिद्र मनोविज्ञान कायम रहनु परिबर्तनको नाउंमा जनतालाई भ्रममा पार्ने कामबाहेक केहि होइन भन्ने घाम झैं छर्लंग भएन र ? ब्रिटिस राज्य भारत छोडेर जांदा उसले १० वटा पल्टनमध्ये ४ वटा (२, ६, ७ र १०) पल्टनहरु ब्रिटिसहरुले लिएर गएको देखिन्छ भने बांकी पल्टनहरु (१, ३, ४, ५, ८ र ९) भारतमा कायम राखेको देखिन्छ । सन् १९४७ मा भारत स्वतन्त्र भए पश्चात त्रिदेशीय (नेपाल, भारत र ब्रिटेन) सम्झौता अनुसार यो गोरखाली सेनाको भाग बण्डा भएको भनिएको छ । तर यसको अन्य सेवा सुबिधा के थिए भन्ने स्पष्ट खुलाएको देखिदैन । यसरी हेर्दा के देखिन्छ भने विदेशमा लाहुरे हुने चलनले दुई थरिको समस्या देखाएको छ । आर्थिक र रोजगारको पक्षबाट हेर्दा दुबै (देश र व्यक्ति) लाई फाइदा पुगेको छ । व्यक्तिले रोजगारी पाएको छ भने देशले रेमिटान्सबाट राजस्व लिन पाएको छ । देश अहिले यस्तै विदेशमा काम गर्ने मजदुरहरुबाट आउने रेमिटान्सबाट चलेको छ भन्दा फरक नपर्ला । अर्को जो लाहुरे हुन जान्छ, ऊ दुबैतिरबाट स्वसित, पिडितमा परेको छ । जुन देशमा ऊ लाहुरे हुन गएको छ, त्यहां उसले असमान सेवा सुबिधाको पीडा भोग्नु परेको तितो यथार्थ छ भने यता नेपालमा दोस्रो दर्जाको नागरिक सरह हुन बाध्य छ । सेवा सुबिधाको जुन कुरा छ, त्यो विषय भनेको नितान्त दुई देशबीचको आपसी सहमति र सम्झौताबाट तय हुने हो । बिभिन्न इतिहांस र सम्झौताका पानाहरु केलाउंदा पहिला भर्ति हुनु भन्दा अघि नेपालसंग कुनै सम्झौता नभएको देखिन्छ । ब्रिटिस इन्डियाका कम्पनी सरकारले नेपाल सरकारसग कुनै सम्झौता नगरि नेपालका युवाहरुलाई लुकिछिपि लिएर गएको देखिन्छ । जुन कुरा राणा प्रधानमन्त्रि रणोद्धिप सिंहको भनाइबाट प्रष्ट हुन्छ । यसबाट के प्रष्ट हुन्छ भने यहां पनि नेपाली जनजातिहरुमा पनि बिशेषगरि मगर जातिहरुको सोझोपनको फाइदा उठाएको देखिन्छ । किन भने भर्ति गर्न सबभन्दा पहिले मगरहरुलाई लगेबाट बुझ्न सकिन्छ । अर्को विशेष महत्वको कुरा के छ भने नेपाल सरकारको कुनै अनुमतिबेगर एउटा सेना प्रमुखले मात्र इष्ट इन्डिया कम्पनीसंग एक युवा बराबर एक राइफल दिने सहमति गरेको देखिन्छ । यो सम्झौता कानूनी रुपमा कति वैधानिक थियो वा छ कानूनका बिज्ञताहरुले पनि आजसम्म स्पष्ट पारेको देखिदैन । अहिलेसम्म नेपाल सरकारसंग आधिकारिक सम्झौता भएको थियो या थिएन त्यहि विषय नै धेरै विवाद छ । यस्तो विवाद आइसकेपछि नेपाल सरकारले यो विषयमा दुई देश नेपाल सरकार र ब्रिटिस सरकारबीच छलफल गरेर एउटा निर्णयमा पुग्नु पर्ने थियो, त्यो गरेको देखिदैन । आफ्नो देशको नागरिक अर्काको देशमा यसरी पीडामा रहनु र अन्यायमा पर्नु देशको लागि लज्जाको विषय हो । यस विषयलाई नेपाल सरकारको तर्फबाट छिटो भन्दा छिटो निर्णय गर्नु पथ्र्यो । देशको सरकार सञ्चालकले आफ्नो देशको नागरिकबाट एकहोरो फाइदा मात्र लिने तर जनतालाई सेवा सुबिधाको विषयमा जिम्मेवारी लिएको देखिदैन । नेपाली जनतालाई जसरी हुन्छ विदेश जाउ र रेमिटान्स पठाउ तर तिम्रो सुरक्षा तिमि आफै गर भन्ने देखियो । यो सरकारको कमजोरी रह्यो । कमजोरी एक पक्षिय देखिएन । यता जनताले पनि भोलिको बाटोको ख्यालै नगरि आंखा चिम्लेर विदेशीले फकाएको भरमा सरकारको अनुमतिबेगर लर्को लागेर जाने अनि समस्या पर्दा एकहोरो उफ्रेर मात्र कहां हुन्छ ? गल्टि शुरुमै भैसक्यो, त्यसैले त्यसलाई सुधार गर्नको लागि त्याग, बलिदान गर्न पनि तयार हुनु पर्ला नि ? नेपाली जनजाति युवाहरु कति विश्वासिला र भरपर्दा छन् भन्ने त विश्वभरि ‘द गुरखा’ भनेर चिनाउन सक्नु हो । परिआएको समयमा भाग्ने होइन डटेर लड्ने स्वभावका यी सोझा जनजातिका सन्तान अब यो विषयमा पनि आंटिलो हुनु पर्ने देखिन्छ । तपाइहरु सधैं विदेशीको भूमिमा रगत पसिना बगाएर कहिलेसम्म गुलामी बन्नु हुन्छ । यो तपाइहरुको पेशा होइन भन्ने त बिगत इतिहांस र बर्तमानमा पनि गाउंघर गएर हेर्दा थाहा भैहाल्छ । यसले तपांइहरुको आत्मसम्मानमा चोट पु(याएको छ । तपाइहरुले बिरतापूर्वक लडे वापत पाउने भनेको त्यहि असमान र अपमानित तलव होइन ? तपाइहरुले आफ्नो आत्मसम्मान र समान हक चाहनु हुन्छ भने एउटा कठोर निर्णय गर्न तयार हुनुहोस् । जबतक त्यहिका नागरिक सरह सेवा सुबिधाको व्यवथा हुदैन तबसम्म हामी भर्ति हुने कार्य बन्द गर्छौ भनेर निर्णय गर्न तयार हुनु पर्छ । माओवादी सरकारको पालामा सुबिधा असमान भयो, त्यसैले बन्द गर्नु पर्छ भन्दा हाम्रो रोजगारी खोस्ने काम भयो पनि भन्ने र खुरुखुरु लाहुरे हुन लाइन लाग्ने अनि सरकारलाई सेवा सुबिधा बढाउनमा ध्यान दिएन भन्ने र ठूलो धनराशि मुद्धा मामिलामा खर्च पनि गर्ने । सरकारको सहमतिबिना लाहुरे हुन पनि जाने अनि यो भएन उ भएन भन्दा बच्चापन व्यवहार भएन र ? त्यो पिडाले त सधैंभरि पोलिरहने नै छ । त्यसको अलावा आफ्नै देशमा पनि सधैं बाहुनले देश खायो भनेर कुर्लने रोगले छोड्ने छैन र दोस्रो दर्जाको नागरिक सरह जीवन बांचिरहनु पर्ने पिडा पनि भोगिरहनु पर्नेछ । मान्छेको जीवनमा आत्मसम्मान, सम्प्रभुता र समान हक अधिकार कति महत्वपूर्ण हुन्छ भन्ने कुरा त विश्वमा घटेका ठूला ठूला घटनाहरु सांक्षी छन् । पैसा भन्दा ठूलो आफ्नो सम्मान, इज्जत, प्रतिष्ठा हो । चाहे देशको राष्ट्रपति नै किन नहोस् त्यसको के अर्थ यदि सम्मान र इज्जत छैन भने । दुई सरकारबीच समानताको आधारमा सम्झौता भएर भर्ति हुने कार्य भई दिएको भए अवश्य नै त्यसको उपचार खोज्न र मुद्धा मामिलाले पनि छिट्टै निश्कर्ष पाइसक्थ्यो । यसरी नियमसंगत भैदिएको भए आत्मसम्मानसहित रोजगारमा जान गौरवको विषय हुन्थ्यो ।
एउटा भनाई छ इतिहांसबाट पाठ सिक्नु पर्छ । यदि इतिहांसबाट पाठ सिकेर अगाडिको बाटो तय गर्न सकिएन भने अन्तिममा फाइदा अर्कैले लिइरहन्छ । यहां यी कुराहरु प्रस्तुत गरिरहंदा इतिहांसदेखि बर्तमानसम्मलाई केलाउंदा के थाहा हुन्छ भने गल्टि गरिरहेका थियौं र अझै गरिरहेका छौं । अरुको गल्टि देखाउन जति सजिलो छ त्यति आफ्नो व्यबहार, कार्यहरु परिबर्तन गर्न कठिन छ । यहां दुःखको साथ भन्नु पर्छ, यहांका रैथाने जाति जनजातिहरुको बलियो पकड रहेको देश हो । हामीहरु प्रकृतिसंग बांच्न सिकेका छौं । विश्व पुंजिवादी व्यवस्थाको जस्तो वजारमुखि अर्थतन्त्र वा प्रकृतिको दोहन गरेर धनदौलत जम्मा गर्ने किसिमको संस्कार छैन हामीसंग । हामीसंग प्रकृति अनुकुल अथाह सीप, कला, कोशल, पेशा व्यवसायहरु छन् जसले बांच्नकौ लागि कसैसंग भिख माग्नु पर्दैन । हामीले यसैलाई व्यवसायिक र समायानुकुल प्रविधियुक्त बनाउदै बलियो वजार सञ्जाल निर्माण गर्न सक्नु पथ्र्यो । हामीले आफुले आफैलाई चिन्न नसक्नु र शिक्षित भएकाहरुले पनि त्यसलाई बुझ्न नसक्नु ठूलो कमजोरी रह्यो । जीवनको महत्वपूर्ण शैक्षिक, राजनैतिक र आर्थिक पक्ष कमजोर हुनु, बाहिरी संसारको देखासिखी गरेर झिलिमिलिमा रम्न खोज्नु र यी सबै बुझेका अगुवा बौद्धिक वर्गहरुले पनि यसलाई बुझेर पनि बुझ पचाएको हो वा आफ्नो क्षणिक स्वार्थमा फसेको हो, यो एउटा गम्भिर छलफलको विषय बन्नु र व्यापक मात्रामा समिक्षा हुनु जरुरी देखिन्छ । हामी पेशागत रुपमा लाहुरे होइन भन्ने माथि नै भुमिकामा आइसक्यो । तर बिडम्वना त्यो लाहुरे पेशालाई हाम्रो खानदानी संस्कार जस्तो गरि सामाजिकिकरण गरिनु हाम्रो एकहोरोपनको पराकाष्ठा हो । हिन्दु धर्म अनुसार रक्षाको जिम्मा क्षेत्रीहरुलाई दिइएको भनेर व्याख्या गरेको सुन्नमा आउंछ । यता नेपाल एकिकरण र ब्रिटिस सेनाहरुसंगको लडांइमा नेपाली सेनाको नेतृत्व (प्रधान सेनापति) क्षेत्रीहरुले गरेको देखिन्छ । त्यति मात्र होइन आधुनिक नेपाली सेनाको नेतृत्व पनि राणाहरु र क्षेत्रीहरुले पालैपालो कमाण्डिङ गरेको देखिन्छ । देशभित्र हामी कायर हुने अनि विदेशीहरुको लागि मात्र कसरी बीर गोरखाली भयौं ? अब इतिहांस बुझेकाहरुलाई मात्र होइन, आफ्नो भविश्य नै अन्धकारमा धकेल्ने गरि छांती र उचांई नाप्न लाइन लाग्ने नव युवाहरुलाई जवाफ दिन तयार हुनु पर्छ । यदि हामी पेशागत रुपमा सांच्चि नै लाहुरे हो र बहादुर हो भने नेपाली सेनाको कमाण्ड पालैपालो राणा साहेब र क्षेत्रीहरुले होइन अब बीर गोर्खाली नामले प्रसिद्धि पाएका जनजातिहरुले गर्न सक्नु प(यो । तपांइहरु आज जुन बहादुरको पगरी थापेर विदेशी सेनाको नाममा गुलामी गर्न जांदै हुनुहुन्छ, त्यो क्षणिक हो । केहि पुस्तापछि त्यहिका नागरिक भएर बस्नेहरुलाई प्राथमिकता दिनु पर्ने हुन्छ, जुन विषय धेरै जसो देशहरुमा शुरुवात भैसकेको पनि छ । नेपालका सरकारहरुले तपांइहरुलाई जसरी हुन्छ सधैं विदेशमै रहोस् भन्ने चाहन्छ । किन कि तपांइहरु जस्ता युवा जोशहरु यहि नेपालमा रह्यो भने उनिहरुलाई थाहा छ एकदिन अवश्य विद्रोह हुनेछ । आजको प्रविधियुक्त एक्काइसौं शताव्दिमा पनि एकहोरो त्यहि बाहुनलाई मात्र गाली गरिरहने र तपांइहरु विदेशमा गइरहने हो भने स्वदेशको फाइदा खाने आखिर उनिहरु नै हुन् । उखानमा नै प्रष्ट भनिएको छ राजा मरेर राज्य रोकिदैन । अर्को बिडम्वना त के छ भने आफै जनजातिहरु नै एकआपसमा मिलाप छैन । राजनीतिक रुपमा नमिल्ला तर आफ्नो खोसिएको भूमि, शिक्षा, भाषा, संस्कृति, परम्परा, पेशा व्यवसाय, सीप, कला आदि विषयमा त एक हुनु पर्ने हो नि । तर के गर्ने एउटा टुंडिखेलमा गएर राज्यले हामीलाई सप्पै अधिकार दिइसक्यो भन्छ, अर्को रत्नपार्कमा उभिएर राज्यले हामीलाई अधिकार दिन स्वीकार गरेन भन्छ, अनि अर्को माइतिघरमा गएर बाहुनले यो देश खाए भन्छ, एउटा अर्को एक ठाउंमा उभिएर भनिरहेको हुन्छ यो आरक्षण भन्ने राख्नै हुदैन हटाउनु पर्छ भन्छ, एउटा अर्को ग्रुप पनि देखा परेको देखिन्छ हाम्रो धर्म हिन्दु हो गाई काटेर खान हुदैन भन्छ भने अर्कोले हामी बुद्धिस्त हौं त्यसैले गाई खान पाउनु पर्छ, यो परम्परागत संस्कार हो भन्छ । यता जनजातिहरु आफु आफुमै एकआपसमा मिल्न नसक्ने कुकुर बिरालो जस्तो, उता बाहुन भित्रभित्रै मुसुमुसु हांस्दै मैले खोजेको यस्तै हो र गर्न खोजेको पनि यस्तै हो भन्दै राज्य सत्तामा धलिमलि गरिरहन्छ । एउटा अर्को महत्वपूर्ण विषय के निश्चित हो भने निकट भविश्यमै राज्य सत्ता जनजातिको हातमा आउने सम्भावना बढेर गएको देखिन्छ । जनजातिहरुको राजनीतिक विचारधारा यहि गोलमोटोल अवस्थामा रहंदासम्म अथवा राजनीतिक विचारधारा स्पष्ट नहुंदासम्म राज्य सत्ता हातमा आए पनि उहि पुरानै शक्ति हाबी हुने हो । किन भने हाम्रो शक्ति भनेको यहां शहरमा होइन गाउंघरमा बसेर हलो, कुटो, कोदालो, खेतिकिसानी, पशुपालन र घरेलु पेशा व्यवसाय गरेर राजनीति, शिक्षा, स्वास्थ्य र बाहिरी दुनियांदेखि टाढा भएर आफ्नै एकहोरो धुनमा रमाइरहेको छ । जबसम्म ती समुदायलाई चेतनशील र तिनीहरुसंग बसेर होस्तेमा हैसे गर्दै आर्थिक, सामाजिक, शैक्षिक, राजनैतिक रुपमा अगाडि बढाउन पहल गरिदैन, तबसम्म बाह्र वर्ष रामायण पढायो सीता कसकी जोई नै हुने हो । यी कार्य नगरि यदि कसैले यो भन्दा ठूलो सपना देखेको छ भने त्यो आकासको फल भन्दा बढ्ता नसोंच्दा हुन्छ । यो कुरा लेखितम धनिका नाम गरेर राख्दा हुन्छ ।