अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघ काठमाडौँको जिल्ला भेला सम्पन्न

मिनकुमार रानामगरको संयोजकत्वमा २१ सदस्यीय सम्मेलन आयोजक कमिटि गठन

प्रकाशित मिति : २०७७ माघ ४


माघ ४, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघको काठमाडौं जिल्लाको भेला सम्पन्न भएको छ । जित बहादुर गुरुङको अध्यक्षता र मिन कुमार राना मगरको संचालनमा सम्पन्न भेलाले मिन कुमार रानामगरको संयोजकत्वमा ७ सदस्य आगामी बैठकले थप गर्ने गरी २१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति चयन गरेको छ । जसमा सह–संयोजकद्वयमा माधव प्रसाद कोईराला र निम बहादुर गुरुङ, सदस्यहरुमा पदम लोप्चन,बलराम थापा, श्याम परियार, कुमार विश्वकर्मा, डोक बहादुर राई, दिलमाया राई, सीता पौडेल, गीता तामाङ लामा, कल्पना घलान, गणेश राई र भिम बहादुर तामांग हुनुहुन्छ । भेलाले सल्लाहकारमा जित बहादुर गुरुङलाई चयन गरेको छ ।


प्रमुख अतिथि तथा क्रान्तिकारी माओवादीकी केन्द्रीय सदस्य एवम् काठमाडौं जिल्ला इन्चार्ज शारदा महतले भेलाबाट निर्वाचित जिल्ला सम्मेलन आयोजक टिमलाई बधाई दिदै समसामयिक राजनैतिक परिस्थितिबारे पार्टीको धारणा राख्नुभएको थियो । सो क्रममा उहाँले सुकुम्वासीहरुको समस्याहरुको वास्तविक समाधान नयाँ जनवादी व्यबस्थाको स्थापना पश्चात मात्र हुने भयकोहुदा नयाँ जनवादी व्यबस्थाको स्थापनाको निम्ति सुकुम्वासीहरु एकजुट भएर नयाँ जनवादी क्रान्तिमा लामबद्ध हुनुपर्ने कुरामा जोडदिनुभयो ।

भेलामा क्रान्तिकारी माओवादी काठमाडौँका सेक्रेटरी खगेन्द्र छन्त्याल ,देजमो,नेपाल काठमाडौँ अध्यक्ष बन्धुदेव पाण्डे, जबस बिशेष कमिटि,काठमाडौँका सेक्रेटरी शेखरनाथ आचार्य, अखिल नेपाल क्रान्तिकारी सुकुम्वासी संघका केन्द्रीय महासचिव सन्ध्या प्रधान र अखिल नेपाल क्रान्तिकारी सुकुम्वासी संघका केन्द्रीय कोषाध्यक्ष पवन गुरुङलगायतका नेताहरु अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । उहाँहरुले
भेला सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो ।