नेपालका कम्युनिस्टहरूबिच जाति र वर्ग लाई हेर्ने दृष्टिकोण स्पष्ट नभएकोले कम्युनिस्टहरूले वर्गको मात्र कुरा गर्छन्, जातिको कुरो गर्दैनन् भन्ने आम जनजातिहरूमा गहिरो छाप परेको छ । तर यो भ्रम मात्र हो । वास्तबमा सच्चा क्रान्तिकारी कम्युनिस्टहरूले वर्ग र जातिबिच गहिरो अन्तः सम्बन्ध देख्छन र नेपालको सन्दर्भमा वर्गीय मुद्दा हल गर्नका लागि जातीय मुद्दा पनि सँगसँगै समाधान गरिनु पर्दछ भन्ने मान्यता राख्छन् । यसबारे नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव क. मोहन बैद्य “किरण“ सँग अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष तथा जनजाति मुक्ति आवाजका सम्पादक प्रा.डा.ओम गुरुङले लिनु भएको अन्तरवार्र्ता ।

प्रश्न. महासचिव ज्यू अहिले तपाईको स्वास्थ्य कस्तो छ र तपाईको दिनचर्या कसरी बितिरहेको छ ?
उत्तर. मेरो स्वास्थ्यस्थिति सामान्यतः ठिकै छ । दिनचर्या पनि पार्टीको काम, लेखन अनि साथीहरूसित भेटघाट यस्तै मोटामोटी रूपमा राम्रैसित चलिरहेको छ ।
प्रश्न . नेपालको वर्तमान राजनीतिक अवस्थालाई कसरी मूल्याङ्कन गरिरहनु भएको छ ? यस्तो अवस्थाबाट कसरी पार पाउन सकिन्छ । यसबारेमा तपाईँको विचार र पार्टीको नीति केकस्तो रहेको छ ?
उत्तर. अहिले देशको अवस्था जटिल र गम्भीर बन्दै गएको छ । यद्यपि बाह्य रूपमा हेर्दा सरकारमा कम्युनिस्ट पार्टी आसीन रहेको छ । परन्तु, वस्तुतः यो कम्युनिस्ट पार्टी नै होइन । त्यसले विकासको गुड्डी हाँक्ने र दम्भ प्रदर्शन गर्ने बाहेक देश र जनताका पक्षमा खासै काम गर्न सकेको छैन । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या झनै विकराल बन्दै गएका छन् । देशमा आन्तरिक र बाह्य अन्तविरोधहरू चुलिँदै जान थालेका छन् । यो कम्युनिस्ट नामधारी सरकार हो र यसमा यी अन्तर्विरोधहरूको समाधान गर्न सक्ने क्षमता छैन । यो सरकार विभिन्न प्रकारका घेराबन्दीमा पर्दै गइरहेको छ । तर, यो घेराबन्दी संसदवादी राजनीतिकै सीमाभित्र छ । आज देश र जनताका निम्ति एक नयाँ सशक्त क्रान्तिकारी विकल्पको आवश्यकता छ र त्यस प्रकारको विकल्पका रूपमा संघीय जनगणतन्त्र स्थापना गर्नुपर्ने आवश्यकता छ । र, त्यस प्रकारको विकल्पका लागि आन्दोलनको तयारी गर्न जरुरी छ ।
प्रश्न . तपाईँ दस वर्षे जनयुद्धको सिद्धान्तकार तथा जनयुद्धको मार्गचित्र तय गर्ने मुख्य नेता हुनुहुन्छ । तर जनयुद्ध र जनयुद्धले उठाएका मुद्धाहरू त सबै समाप्त भएर गए नि ? उत्पीडित वर्ग, जाति, समुदायको माग केही पनि पूरा भएनन् । उत्पीडित वर्ग, जाति, समुदायको माग पुरा नहुनुमा जनयुद्धमा उठाइएका ती वर्ग, जाति र समुदायका मागहरू सही नभएर हो कि उनीहरूलाई उपयोग गर्न मात्र खोजिएकाले हो ?
उत्तर. हो, पक्कै पनि जनयुद्धलाई समाप्त पारियो र जनयुद्धले उठाएका वर्गीय, जातीय, लैङ्गिक लगायतका मुद्दाहहरूलाई कार्यान्वयनमा ल्याइएन । विजातीय कित्तामा गइसकेको नेतृत्व पङ्क्तिको मूल हिस्साबाट कार्यान्वयन गर्नु सम्भव पनि थिएन । तर, पनि जनयुद्धले उठाएका मुद्दाहरू समाप्त भएका छैनन् र तिनको परिपूर्तिका लागि नयाँ जनवादी क्रान्तिको प्रक्रिया जारी छ ।
जनयुद्धको प्रक्रियामा उठाइएका वर्गीय, जातीय र सामुदायिक लगायतका मुद्दाहरू विल्कुल सही र जायज थिए । ती मुद्दा वा मागहरू सही नभएर कार्यान्वयनमा नल्याएको होइन । नेतृत्वको एउटा हिस्साले देश, जनता र क्रान्तिप्रति विश्वासघात गरेकाले त्यसो भएको हो । जहाँसम्म उपयोग गर्न मात्र खोजिएको भन्ने कुरा हो त्यो जनयुद्धमा संलग्न अवसरवादी पक्षका लागि नै सत्य सावित भएको छ तर क्रान्तिकारी पक्षका लागि भने होइन ।
प्रश्न. दस वर्षे जनयुद्धमा पहिचानको आधारमा आत्मनिर्णय अधिकारसहितको लिम्बुवान, खम्बुवान, ताम्सालिङ, नेवा, मगरात, तमुवान, थारुवान(थरुहट खसान, कोचिला, मधेश आदि गरी १४ प्रदेशको जातीय राज्य घोषणा गर्नुभयो । के यो घोषणा सही थियो ? सही थियो भने जातीय राज्य अहिले किन लागु गरिएन र यसको रक्षा किन गरिएन ?
उत्तर. जनयुद्धको अवधिमा उत्पीडित जातीय पहिचानलाई आधार बनाउँदै र जातीय आत्मनिर्णयको अधिकारलाई सैद्धान्तिक रूपमा स्वीकार गर्दै चौध ओटै प्रदेशहरूमा जातीय स्वशासनमा आधारित सरकारको जुन घोषणा गरियो त्यो सही नै थियो । तर, जनयुद्धको नेतृत्वकारी एउटा शक्ति विचलित भएपछि त्यसलाई लागु र रक्षा गर्न सकिएन । जनयुद्धमा संलग्न क्रान्तिकारी धारा कमजोर बन्न गयो ।
प्रश्न . तपाइ र प्रचण्डहरू एउटै पार्टीमसँगै हुँदा जातीय राज्यप्रति प्रचण्डजीको धारणा के थियो ? कि तपाईहरूको दवावले गर्दा मात्र यस्तो नीति बनाइएको थियो ? होइन भने अहिले प्रचण्डजी जातीय राज्यप्रति किन उदासीन देखिनुभाको छ ?
उत्तर. जनयुद्धको एउटा कालखण्डमा जातीय प्रश्नबारे प्रचण्डले मूलतः सही ढङ्गले नै सोच्तथे, परन्तु अर्काे कालखण्डमा उनमा विचलन पैदा भयो र उनले विश्वासघात गरे । अनि त्यसस्थितिमा वर्गीय मुक्ति लगायतका प्रश्नहरूका साथै जातीय प्रश्नप्रति पनि उनमा उदासीनता देखा प¥यो ।
प्रश्न. तपाई त सिद्धान्तनिष्ठ कम्युनिस्ट नेताको रुपमा स्थापित हुनुभएको छ । अब भन्नुहोस् कम्युनिष्टहरूको नजरमा उत्पीडित जातिको पहिचान, आत्मनिर्णयको अधिकार र स्वशासनलाई कसरी हेरिनुपर्छ र यसबारे तपाईको पार्टीको नीति के छ ?
उत्तर. कम्युनिस्ट विश्वदृष्टिकोण अनुसार उत्पीडित जातिको पहिचान, आत्मनिर्णयको अधिकार र स्वशासनको प्रश्नलाई ऐतिहासिक र सामाजिक÷आर्र्थिक सन्दर्भ तथा परिवेशका आधारमा हेर्ने गरिन्छ । नेपाली नयाँ जनवादी क्रान्तिको ठोस सन्दर्भ र परिवेशमा भन्नु पर्दा उत्पीडित जातीय पहिचान, आत्मनिर्णयको अधिकार, स्वशासनलाई हाम्रो पार्टीले सकारात्मक रूपमा नै ग्रहण गरेको छ । हाम्रो पार्टीले उत्पीडित जातीय पहिचान सहितको सङ्घीयताको मान्यतालाई अँगालेको छ र हामी सङ्घीय जनगणतन्त्र स्थापनाको पक्षमा रहिआएका छौं ।
प्रश्न. लेनिनले त उत्पीडित जातिको आत्मनिर्णयको अधिकार स्वीकार नगर्ने कम्युनिस्ट हुन सक्दैन भनेका छन् । नेपाल कम्युनिस्ट पार्टीका सस्थापक नेता पुष्पलाल श्रेष्ठले पनि उत्पीडित जातिको आत्मनिर्णयको अधिकारलाई जोड दिएका छन् । तर, अहिलेका नेपालका लेनिनवादी कम्युनिस्ट भनाउदाहरूले आत्मनिर्णयको अधिकार स्वीकार गर्दैनन् । यस्तो खाले कम्युनिष्टहरूलाई हामीले लेनिनवादी भन्ने कि के भन्ने ? लेनिनको भनाइप्रति तपाईको के विचार छ ?
उत्तर. नेपाल जस्तो बहुजातीय तथा बहुसांस्कृतिक र अर्धसामन्ती, अर्धऔपनिवेशिक, तथा नवऔपनिवेशिक अवस्थामा रहेको मुलुकमा जातीय आत्मनिर्णयको अधिकारलाई सैद्धान्तिक रुपमा स्वीकार्नु आवश्यक हुन्छ । यस प्रकारको मान्यताका विरुद्ध जानेहरू माक्र्सवादी–लेनिनवादी हुनै सक्तैनन् ।
प्रश्न . लेनिनले संसारका उत्पीडित जाति र वर्ग एक होऔँ भन्ने नारा अघि सार्नुभयो । तर, आफुलाई लेनिनवादी भनेर कहिल्यै नथाक्ने नेपाली कम्युनिस्ट भनाउदाहरूले यस नारालाई महत्व दिएको पाइन्न । उनीहरू जातिको कुरो नगरेर वर्गको कुरो मात्र गर्छन । के यो लेनिनवादी सारसँग मिल्छ ?
उत्तर. हो, लेनिनले उत्पीडित जाति र वर्ग एक होऔं भन्ने नारा अगाडि सार्नुभयो । यस नाराको विशेष ऐतिहासिक महत्व छ । यस प्रकारको नारालाई महत्व दिन नचाहनेहरू गलत हुन् । यहाँनेर के बुझ्न जरुरी छ भने उनीहरूले जातिको कुरा नगरेर वर्गको कुरा मात्र गरेका छैनन् । अपितु उनीहरूले जाति र वर्ग दुवैको कुरा गरेका छैनन् । अनि यी दुवैको कुरा नगर्नेले उत्पीडित जाति र वर्ग एक होऔं भन्ने लेनिनवादी मान्यताको सारलाई अवलम्बन गर्ने प्रश्नै उठ्दैन ।
प्रश्न. क. माओ हान जातिका व्यक्ति हुनुहुन्छ । तर उहाँले चिनिया समाजमा हान अहङ्कारवाद छ र महान् समाजवादी चीन निर्माणका लागि हान अहङ्कारवाद बाधक छ । त्यसैले महान समाजवादी चीन निर्माणका लागि हान अहङ्करवाद माथि विजय प्राप्त गर्न अनिवार्य छ भन्नुभएको छ । चीनमा समाजवादी चीन निर्माणको लागि हान अहङ्कारवाद बाधक भए जस्तै के नेपालमा पनि नेपाली जनवादी क्रान्तिको लागि र नेपाली समाज विकासको लागि व्राम्हणवाद र पहाडिया उच्च जातीय अहङ्कारवाद नै बाधक हो भनेर भन्न मिल्छ ? यहाँ स्वयं बाहुन हुनुभएकोले यस प्रति तपाइको धारणा के छ ?
उत्तर. हो, माओले हान उच्च जातीय अहङ्कारवादको विरोध गर्नुभयो र त्यसलाई समाजवादी क्रान्तिका लागि बाधक भन्नुभयो । त्यसरी नै नेपाली समाजको विकासका लागि ब्राह्मणवाद र पहाडिया उच्च जातीय अहङ्कारवाद बाधक हो भन्न मिल्छ । म बाहुन भएकोले ब्राह्मणवादको विरोध गर्नुहुन्न भनेर कहिल्यै भनेको छैन र मैले ब्राह्मणवादको लगातार विरोध गर्दै आएको छु । साथै, यहाँनेर स्मरणीय कुरा के पनि छ भने माओले हान अहङ्कारवादको विरोध गर्दा निम्न जातीय अहङ्कारवादको पनि विरोध गर्नुभएको थियो । त्यसरी नै हामीले पनि मुख्यतः सामन्ती ब्राह्मणवादका विरुद्ध सङ्घर्षमा जोडदिनु पर्दछ र साथै गौण रूपमा निम्न जातीय अहङ्कारवादको पनि विरोध गर्नु पर्दछ ।
प्रश्न . तपाईको पार्टीको राष्ट्रिय सम्मेलनद्वारा पारित दस्तवेजमा नेपालका उत्पीडित जनताको मुख्य उत्पीडक आन्तरिक रुपमा सामान्ती ब्राह्मणवाद र बाह्य रुपमा साम्राज्यवाद र विस्तारवाद हो भन्ने छ । सामन्ती ब्राम्हणवादको विरुद्धमा तथा उत्पीडित जातिको पक्षमा पार्टीको कार्यक्रम कस्तो छ ?
उत्तर. यहाँनेर सर्वप्रथम थोरै सैद्धान्तिक कुरा गरौं । माक्र्सवादीहरूले अन्य विषयमा जस्तै जातीय समस्यालाई पनि एकातिर समाजको ठोस ऐतिहासिक तथा आर्थिक विकासको अवस्थासित जोडेर हेर्दछन् भने अर्कोतिर त्यसलाई गति तथा परिवर्तनशीलतामा बुझ्दछन् । जातीय समस्या उदीयमान पुँजिवादी युगमा पैदा भएको समस्या हो र यो इतिहासका दुई चरण हुँदै विकसित भएको छ । ती चरण हुन्—पहिलो उदीयमान पुँजिवादी युगको चरण र दोस्रो साम्राज्यवाद तथा सर्वहारा क्रान्तिको युगको चरण । पहिलो चरणको जातीय समस्या मूलतः कुनै राष्ट्र विशेषको आन्तरिक समस्या अथवा भनौँ राष्ट्रिय राज्यको निर्माणको समस्यासित सम्बन्धित थियो । त्यहाँ लडाइँ प्रायशः सामन्तवादका विरुद्ध लडिन्थ्यो, केही अपवादलाई छोडेर । तर, दोस्रो युगमा जातीय समस्या सामन्तवाद र साम्राज्यवाद दुवैका विरुद्धको सङघर्षको समस्याका रूपमा विकसित हुनपुगेको छ । कैयौँ ठाउँमा त साम्राज्यवादका विरुद्ध मात्र पनि केन्द्रित हुने गरेको छ । हामीले नेपालका सन्दर्भमा जातीय समस्यालाई हेर्दा सामन्तवाद र साम्राज्यवाद दुवैका विरुद्धको सङ्घर्षको समस्या, सामन्तवाद र साम्राज्यवाद विरोधी नयाँ जनवादी क्रान्तिसित अभिन्न रूपमा जोडिएको समस्याका रूपमा बुझ्नु पर्दछ ।
राष्ट्रिय सम्मेलनमा पारित दस्तावेजमा नेपालमा उत्पीडित जनताको आन्तरिक उत्पीडनमा सामन्ती ब्राह्मणवाद भनिएको कुरा ठिक छ । नेपाली जनवादी क्रान्तिको वर्तमान चरणमा दलाल तथा नोकरशाही पुँजिपति वर्ग र सामन्तवर्गलाई समेत उत्पीडक भनिएको छ । अनि बाह्य उत्पीडक साम्राज्यवाद र विस्तारवाद त हुन् नै । यो कुरा दस्तावेजमा पनि उल्लेख गरिएकै छ । सामन्ती ब्राह्मणवादको विरोध र उत्पीडित जातिको रुपमा पार्टीको कार्यक्रम स्पष्ट नै छ । आत्मनिर्णयको अधिकारको सैद्धान्तिक स्वीकृति सहित जातीय तथा क्षेत्रीय स्वायत्तता, समावेशी समानुपातिक प्रतिनिधित्व, उत्पीडित जातीय पहिचान सहितको सङ्घीयता — यही नै हाम्रो पार्टीको मूल जातीय कार्यक्रम हो ।
प्रश्न . वर्गीय समाजमा वर्ग र वर्ग सङ्घर्ष प्रधान नै हुन्छ । तर वर्ग निर्माणको चरित्र सबै मुलुक र समाजमा एउटै हुँदैन । वर्ग निर्माणको चरित्र समाजको विशिष्ट विशेषता र राज्यसत्ता चरित्रको आधारमा फरक हुन्छ होइन र ?
उत्तर. वर्ग निर्माणको चरित्र विभिन्न देशहरूमा आआफ्ना विशिष्टता अनुसार पनि हुने गर्दछ । परन्तु, त्यहाँ उत्पादनका साधनहरूको स्वामित्वको प्रश्न र उत्पादन सम्बन्धले प्रधान भूमिका खेलेको हुन्छ ।
प्रश्न . नेपाली समाजमा वर्ग निर्माणको ऐतिहासिक मौलिक चरित्र हेर्ने हो भने पृथ्वीनारायण शाहको एकीकरण पछि एकात्मत्मक केन्द्रीकृत सामन्ती ब्राह्मणवादी राज्य खडा भयो र त्यही राज्य सत्ताले त्यति बेलाको उत्पादनको साधान जमिनलाई बिर्ताको नाममा आफ्ना भाइभारदारलाई, जागीरको नाममा कर्मचारीलाई र गुठीको नाममा गुरु पुरोहित र पुजारी बाहुनलाई वितरण गरेर भूमि आवाद गर्ने आदिवासी जनजातिहरूलाई भूमिहीन हलिया, गोठाला खेताला र कमैया बनायो । भूमिमाथि अधिकार समाप्त भएपछि अहिले तिनै उत्पीडित जातिहरू शोषित वर्गको रूपमा परिणत भएका छन् । के नेपाली समाजमा वर्ग निर्माणको आधार यो पनि हो भनेर स्वीकार गर्नुहुन्छ ?
उत्तर. यहाँले नेपाली समाजमा वर्ग निर्माणको ऐतिहासिक मौलिक चरित्र, पृथ्वीनारायण शाहको एकीकरणपछि बनेको एकात्मक सामन्ती ब्राह्मणवादी राज्य, त्यसद्वारा आदिवासी जनजाति समुदायमाथि गरिएको उत्पीडन र उत्पीडित जातिहरूको शोषित वर्गका रूपमा परिणति लगायतका विषयमा जुन जिज्ञासा राख्नुभयो त्यो निकै महत्वपूर्ण छ ।
यस सन्दर्भमा सर्वप्रथम वर्ग र जातिकाबिचको सम्बन्धबारे स्पष्ट हुनु जरुरी छ । वर्ग पूर्णतः जाति होइन र जाति पनि पूर्णतः वर्ग होइन । वर्ग भनेका मानिसका ती ठुला सामाजिक समूह हुन् जसको हैसियत उत्पादनका साधनहरू माथिको स्वामित्व, उत्पादन सम्बन्ध र वितरण प्रणालीमा विद्यमान भिन्नता र असमानताका आधारमा निर्धारित हुन्छ जस्तो कि पुँजिवादको विकास हुँदै गएको इङ्ल्यान्ड, फ्रान्स, जर्मनी जस्ता देशका सन्दर्भमा जमिन्दार वर्ग, पुँजिपति वर्ग र सर्वहारा वर्ग आदि । त्यसैगरी जाति भनेको ऐतिहासिक रूपमा विकसित त्यो समुदाय हो जो साझा भाषा, अर्थतन्त्र, भूभाग र सांस्कृतिक मनोविज्ञानमा अभिव्यक्त भएको हुन्छ , जस्तो अङ्ग्रेज, फ्रेन्च, जर्मन आदि । यसरी हेर्दा, वर्ग र जातिका आआफ्ना विशिष्ट स्वत्व रहेका हुन्छन् ।
तर, पनि वर्ग र जातिका बीचमा घनिष्ठ सम्बन्ध रहेको हुन्छ । वर्गहरूको विशिष्ट स्वत्व भएर पनि ती जातिसँग पनि जोडिएका छन् र जातीय उत्पीडन अन्ततः वर्गीय उत्पीडनकै एउटा रूप हो । हरेक जातिभित्र उत्पीडक र उत्पीडित दुवै प्रकारका वर्ग रहेका हुन्छन् । कुनै पनि जाति सोलोडोलो उत्पीडित वा उत्पीडक वर्ग बन्न सक्दैन । यस प्रकारको विशिष्टतामाथि पनि विशेष ध्यान दिन जरुरी हुन्छ ।
यसरी नेपालको ऐतिहासिक विशिष्टतामाथि ध्यान दिँदा एकात्मक सामन्ती ब्राह्मणवादी राज्यसत्ताद्वारा शोषित सबै जातिहरू उत्पीडित जातिभित्र पर्दछन् र त्यसभित्रका बहुसङ्ख्यक उत्पीडित जातिहरू उत्पीडित वर्ग बन्न गएका छन् । परन्तु, वर्गीय दृष्टिले हेर्दा उत्पीडित जाति उत्पीडित वर्ग बन्न सक्दैन । हामीले यस ऐतिहासिक तथ्यमाथि ध्यानदिन जरुरी छ । यसरी हेर्दा वर्ग नै जाति हो र जाति नै वर्ग हो भनेर बुझ्नु हुँदैन ।
अन्तमा हामीले के बुझ्नु पर्दछ भने उत्पीडित जाति र उत्पीडित वर्गका बीच घनिष्ठ सम्बन्ध छ । समाजमा वर्ग निर्माणको आधारका रूपमा जातीय उत्पीडनले पनि काम गरेको कुरा स्वीकार्य छ । यो कुरा दलित र महिला समुदायमाथि पनि लागु हुन्छ ।
प्रश्न . नेपाली समाजमा वर्ग निर्माणको आधार जातीय उत्पीडन पनि हो भने उत्पीडित जाति र उत्पीडित वर्गको मुक्ति सङ्घर्ष सँगसँगै लैजानु आवश्यक छ कि छैन ? यदि छ भने त्यस्तो सङ्घर्ष माक्र्सवादी विज्ञानसम्मत हुन्छ कि हँुदैन ?
उत्तर. वस्तुतः उत्पीडित जाति र उत्पीडित वर्गको मुक्तिका लागि सङ्घर्षलाई सँगसँगै लैजानु पर्दछ । यहाँनेर ध्यानदिनु पर्ने कुरा के हो भने उत्पीडित जातिले उत्पीडित वर्ग र उत्पीडित वर्गले उत्पीडित जातिका हक, हित तथा अधिकारका प्रश्न र सङ्घर्षको परस्पर सम्मान गर्नु पर्दछ । दुवैलाई सँगसँगै जोडेर लग्नु माक्र्सवाद सम्मत नै हुन्छ ।
प्रश्न . तपाईँको पार्टी राष्ट्रय स्वाधीनताका बारे पनि सशक्त मुद्दा उठाउने पार्टी हो । अहिले विश्व परिस्थिति कस्तो छ र नेपालको राष्ट्रिय स्वाधीनताको स्थिति के छ ?
उत्तर. हाम्रो पार्टीले राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्नमाथि जोड दिंदै आएको छ । अहिले यो मुद्दा निकै गम्भीर बन्दै गएको छ । हाम्रो पार्टीले राष्ट्रिय स्वाधीनताको पक्षमा सशक्त आवाज उठाइरहेको छ र आन्दोलनका कार्यक्रमहरू अघिसारेको छ । यसलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन जरुरी छ ।
प्रश्न . राष्ट्रियता, जनतन्त्र र जनजीविकाको बारेमा तपाईँको पार्टीको कार्यक्रम र योजनाहरू केकस्ता रहेका छन् त ?
उत्तर. राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सबालहरूलाई लिएर हामीले आन्दोलनमा जाने सोचिरहेका छौं । यसबारे ठोस योजना आगामी केन्द्रीय समितिको बैठकमा बनाइने छ ।
प्रश्न . अन्तमा विशेष केही थप कुरा भन्न चाहनु हुन्छ कि ?
उत्तर. सबै कुरा आइसके, अहिलेलाई खासै केही भन्नु छैन, धन्यवाद ।
सभार जनजाति मुक्ति आवाज २०७७

प्रतिक्रिया

सम्बन्धित खवर