सकारात्मक र असंदिग्ध गतिशीलताको अभावमा मुलुकमा भएको राजनीतिक परिवर्तनले सही दिशा र गति लिन पटक्कै सकिदो रहेनछ भन्ने कुरा संबिधान घोषणा पछिका धेरै गतिबिधिले एकदमै प्रष्ट पारेको छ । त्यसैले गर्दा पछिल्लो अपूर्व ऐतिहासिक संयुक्त जन आन्दोलन सम्पन्न भएको र मुलुकमा राजनीतिक परिवर्तन आएको डेढ दशक बित्नलाग्दा पनि समस्याले सही निकास नपाएर जनतामा झन पछि झन निराशा ब्याप्त हुँदै गएको छ र राजनीतिप्रति ब्यामोह र बितृष्णा आजको सत्य बनेको छ । यस क्रममा सत्तामा खाइखेली गरेका राजनीतिक दलहरु र तिनको नेतृत्वका जनबिरोधी र राष्ट्रिय हित बिपरीतका गतिबिधिहरुले तिनीहरु बद्नाम भएका छन् र भइरहेका छन् । यो कुरा पनि आजको दैनन्दिन अकाट्य भएको छ । यस्तो स्थितिमा मुलुकका भएको परिवर्तनका सकारातमक उपलब्धीहरु संस्थागत र सुदृढ हुने बातावरण बन्दैन र देश र जनताले राहत पाउन सक्तैनन् । अनि मलुकले सही मोड लिन पनि सक्तैन ।
वास्तबमा आज मुलुक र जनता कमजोर भएर गएका छन् । उनीहरुको अस्तित्वमाथि नै संकटका काला बादलहरु मडारिइरहेका छन् । बाह्य हस्तक्षेप र दबाबका अनेक गतिबिधिहरुले मुलुकलाई अठ््याइरहेको स्थिति छ । त्यसबाट कसरी पार पाउने कुनै संकेतसम्म पनि देखा परिरहेको छैन । सत्तामा पुगेबसेका दलहरु केवल संकीर्ण सत्ताका खेलमा चुर्लुम्म डुबेका छन् । उनीहरुले जनता र देशको बिकास र समृद्धिको जुन कुरा गर्ने गर्दछन् त्यो ‘हात्तीको देखाउने दाँत’ जस्तो मात्र साबित हुँदै आएको छ । बितेको डेड दशकयता सत्तामा पुगेको राजनीतिक नेतृत्व बिश्वास र भरोसा गर्न लायक देखापरेन । बरु देश र जनताको दोहन गरेर आफु सशक्त बन्न सकिन्छ भन्ने क्षुद्र सोच र मानसिकतालेग्रस्त रहेको देखाप¥यो । फलतः आम जन मानसमा परिवर्तनको सन्देश प्रवाह र बोध हुन नसकेको र राजनीतिक दलहरु र जनताका बीचमा अबिश्वासको खाडल बनेको कुरा पनि यथार्थ हो ।
जनताले हिजो परिवर्तनकामी अर्थात अग्रगामी परिवर्तनका पक्षधर मानिएका र ठानिएका राजनीतिक दलहरु र तिनको नेतृत्वको जसरी औसरबादी, यथास्थितिबादी र प्रतिगामी जुन चरित्र र ब्यवहार देखे र भोगे, भोगिरहेका छन् त्यसबाट प्रत्युत्पन्न वास्तविकताको अभिब्यक्ति नै हो ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने आजको आम जन प्रतिकृया । हुन पनि राजनीतिक परिवर्तन पछि पहिलेभन्दा भिन्न र उच्च सकारात्मक सोच, नीति, नियम, विधि, विधान, निष्ठा र नैतिकताको सन्देश खोज्दै आएका जनताले ती कुनै कुरा पाएनन् र त्यस बारे प्रश्न पनि उठाइरहेका छन् तर यी कुरा सुन्ने कसले ? असल कुरा अँगाल्ने कसले ? आज यी प्रश्नहरु अनुत्तरित रहीरहेका छन् ।
आज त अनेक बहानामा राज्यको ढिकुटीको खुलेलाम ब्रह्मलूट मच्चाइएको छ । यो राज्यको ढुकुटी फोर्नदेखि माफिया, दलाल र डनका टाट्नामा बाँधिन तछाडँमछाड गर्नेहरुको अत्यन्तै ठूलो बिगबिगी चलेको र लाज शर्म सबै पचेको देखिन्छ । अनि यस्तो अबस्थामा नेतृत्वको मन मस्तिष्कमा कहाँबाट पलाउन सकुन् सकारात्मक सोच, नीति, नियम, विधि, विधान, निष्ठा, नैतिकता र इमानदारीका टुसा । देशलाई ‘लथालिङ्ग र भताभुङ्ग’ पारेर भए पनि आफ्नो निहीत र अन्ध सत्ता स्वार्थका लागि जनता र देश बाहेक अन्यत्र जतासुकै पनि लत्रिन तयार हुने मानसिकता र गतिबिधि कायम रहेसम्म आंशिकरुपमा आएको प्रगतिशील राजनीतिक परिवर्तन पछि पनि स्थिति सही किसिमले सम्हालिदो रहेनछ भन्ने कुरा नै चरितार्थ भइरहेको आजको अत्यन्तै पीडादायक कटु यथार्थ छ ।
‘योग्य मानिसलाई योग्य ठाउ’ दिने संस्कार र सँस्कृतिको निर्माण र निरन्तरता बिना कुनै पनि देशले बिकासको सही नीति र गति पक्रिन सक्तैन । यो अकाट््य कुरा बिश्वका जुनसुकै बिकसित देशको इतिहास हेरे पनि प्रष्ट हुन्छ । वास्तवमा लोकतन्त्र भनेको केवल मत कतिले कस्को पक्षमा खसाले भनेर टाउको गन्ने बिषय मात्र होइन । यो योग्यताको उचित कदर गर्ने ब्यवस्था र परिपाटी बसाल्ने र निरन्तरता दिने कुरा पनि हो । हामीकहाँ यसलाई बेवास्ता गर्ने र पुरानै चाकडी चाप्लुसी गर्ने र सामन्ती परिपाटीमा भर पर्ने गलत र सन्दर्भहीन कुरालाई नै अँगालिएको छ । यसले गर्दा गुणीहरुको कदर हुदैन, उनीहरुमा आत्मसम्मानको बोध हुन पाउँदैन अनि निराशा र पलायन आउँदछ । ‘ब्रेन ड्रेन’को आजको हाम्रो एउटा जीवन्त यथार्थको कारण यो पनि हो । धेरै पहिला कबि शिरोमणी लेखनाथ पौडेलले ‘गुणग्राही जहाँ छैन बेकम्मा छ वहाँ गुणी, कौडीमा पनि मिल्कन्छ भिल्लका देशमा मणी’ भनेर औंल्याएका र हिजो देशमा सामन्ती ब्यवस्था ब्याप्त भएका बेला जुन चरित्र चित्रण गरेका थिए आज पनि त्यसमा कुनै आधारभूत परिवर्तन आएको छैन । नयाँ सँस्करणमा बरु त्यही प्रथा प्रचलनमा यत्र तत्र सर्बत्र ब्याप्त छ ।
ः हाम्रो न आन्तरिक स्थिति सुध्रेको छ न बाह्य सम्वन्धमा नै कुनै उल्लेख्य सुधार आएको छ । हुन पनि बाह्य नीति गृह नीतिकै प्रतिबिम्ब मानिने गरिन्छ । गृह नसुध्रि बाहिर सुधार्छु भन्ने कुरा पनि एउटा नक्कली र पाखण्डी कुरा मात्रै नै हो । आन्तरिक रुपमा सबल नभइ बाह्य जगतले पनि गन्दैन र मान्दैन भन्ने कुरा सबैलाई राम्र्रैसँग थाहा भएको ठोस सत्य हो । यो अबस्थामा परिवर्तन नल्याई बिकास र सम्बृद्धिको कुरा गरिन्छ भने त्यो पूर्वबत् जनता र देशलाई अल्मल्याउने र फेरि पनि मूर्ख तुल्याउने एउटा चलन चल्तीको प्रपञ्च बाहेक अरु केही ठहरिदैन । तर हाम्रो पुरानै सत्ताको सुस्वादु भोजनमा लागेका भोजन–भट्ट नेताहरु सम्बृद्धिको सुगा रटान गर्न बाध्य छन् । त्यसो नगरी जनतालाई अल्मल्याउन सकिदैन । किनभने जनताको जीवन स्तर गए गुज्रेको छ । रोजगारी छैन । श्रोत साधनमा आफ्नो स्वामित्व र अपनत्व छैन । ती सबै कुरामा जनताले आवाज उठाउनुभन्दा पहिला नै सम्बृद्धिको हो–हल्ला चलाएर जनतालाई ‘बीरबलको खिचडी’ जस्तै कहिले नपाक्ने खिचडीको आशा देखाउदा नै मूल मूद्दाबाट ध्यान अन्यत्र मोडेर अल्मल्याउन सकिन्छ भन्ने उनीहरुलाई थाहा छ र अहिलेसम्मको गतिबिधि यस्तै नै हुदै आएको छ ।
चुनाबका बेलामा, या सत्तामा जाने बेलमा यति बुँदे उति बूँदे अबधारणा पत्र, सहमति पत्र, प्रतिबद्धता पत्रहरुमा जे जे लेखिने गरेको भए पनि देखिने गरेको यथार्थ चाही संकीर्ण सत्ता स्वार्थ त्यसमा आसन जमाइ राख्ने खेल मात्रै ठहरिदै आएकोछ । बिगत डेढ दशकमा कतिवटा सरकार फेरिए त्यसले नै यो यथार्थको सबूत प्रमाण दिन्छ । पछिल्लो निर्बाचित सरकाले जे जे गफ दिए पनि पत्याउने कुनै आधार छैन । कतै कुलमान घिसिङ्ग जस्ता अन्तरकुन्तरमा लेकेका कुनै मान्छे फेला परे पनि कुलमानले लोडसेडिङ्ग घटाउन गरेको अभ्यासभन्दा पनि लोडसेडिङ्ग गराउन र देश र जनतालाई अन्धकारको अभ्यासमा अभ्यस्त गराउन के कस्ता तारतम्यहरु रचिदो रहेछ भन्ने कुरा चाही हाबी देखिएकै हो । जबसम्म यस्तो जनमारा र देशमारा प्रबृत्तिको अन्त्य गर्ने ठोस र प्रभाबकारी नीति र कार्यक्रम ल्याइदैन तबसम्म एक दुइवटा स–साना असल कार्यहरु पनि काल क्रममा हराएर जाने कुरा निश्चित छ । कुलमान गए पछि अहिले बत्ति निभ्ने गति पनि बढ्दो छ । जब कि उद्योगधन्धा नचलेको अबस्थमा बिजुली कहाँ प्रयाग गर्ने स्थिति रहेको बताइन्छ ।
बास्तवमा आजको मूख्य समस्या नै देश र जनतालाई पुरानै यथास्थितिमा या रंगरोगन लगाएर नयाँ बनाइएको तर फेरि पनि पुरानै यथास्थितिमा अल्मल्याउने गतिबिधि नै हुन् । चाहे हामी सरकार निर्माणको कुरा गरौं या सरकार फेर्ने कुरा गरौं, या संबिधान संशोधन गर्न दुइ तिहाई पु¥याउने कुरा गरौं, चाहे भागबण्डाको खेल अन्तरगत नियुक्ति, सरुवा बढुवा आदिको कुरा गरौ, चाहे गणतन्त्र, धर्म निरपेक्षता, संघीयता आदिको कुरा गरौ त्यहाँ सबैतिर सामयिक आवश्यकता, समस्या समाधानको बाटो पहिल्याउने स्पष्ट दूरदृष्टिकोण र देश तथा जनताप्रति समर्पणको कुनै कुरा दृष्टिगोचर हुँदैन । त्यहाँ खाश शक्ति केन्द्रको रुची, दबाब र प्रभाव तथा संकीर्ण सत्ता स्वार्थ नै ठोसरुपमा अन्तरनिहीत रहेको स्पष्टै देखिन्छ । यसरी आत्म केन्द्रित, परनिर्भर र संकीर्ण स्वार्थको गठजोडले कहिले पनि कही पनि समस्याको सही समाधान दिदैन । बरु भ्रष्टाचार बढाउँदछ, अराजकता निम्त्याउँदछ र तुष्टीकरणको राजनीति चल्छ । ती सबै कुराले समस्यालाई अझ जटील र असाध्य रोग जस्तै तुल्याइदिन्छन् । बर्तमानमा हाम्रो नियति यसरी घिस्रिरहेको छ र तत्कालै यसले सकारात्मक मोड लेला भन्ने बिश्वासको आधार कतै फेला पर्दैन । अनि देश र जनताका लागि भने जहाँ छोए पनि दुख्ने स्थिति बिद्यमान छ । यसको निराकरण बस्तुतः जनता सचेत, जागरुप, संगठित र सक्रिय भएर संघर्षशील बन्न सक्ता मात्र हुन्छ । अरु कुनै आशा अपेक्षा गर्नु आफैलाई धोकामा राख्नु मात्र हुने प्रष्ट छ ।































