उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयन आज

प्रकाशित मिति : २०७७ मंसिर १३

काठमाडौं  । उद्योगी/व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि आज (शनिबार) मतदान हुँदैछ। बिहान साढे ८ बाट सुरु भएकाे मतदान दिउँसो ४ बजेसम्म चल्ने छ।
महासंघको विधानअनुसार नयाँ अध्यक्षमा वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वत: निर्वाचित हुँदै छन् भने वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहति चुनावी प्रतिस्पर्धामा छन्।
चैतमै हुनपर्ने याे निर्वाचन कोरोना महामारीका कारण हुन सकेकाे थिएन । कोरोना जोखिमकै कारण मतदान पनि ३ स्थानमा राखिएका छन्। एकपटकमा २५ जनाभन्दा बढी लाइनमा बस्न नपाउने व्यवस्था गरिएको महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन्।
जिल्ला/नगरतर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएटतर्फका लागि क्याकेट माइतीघर र वस्तुगत तर्फका लागि महासंघको केन्द्रीय कार्यालयमा मतदानकाे व्यवस्था गरिएको छ। चार जना मतदातालाई भने कोरोना पुष्टि भएकाले उनीहरुलाई कमलादीमा छुट्टै व्यवस्थासमेत गरिएको छ।
निर्वाचनमा एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १ सय २७ जना भिड्दै छन्।

महासंघको निर्वाचनमा ३ किसिमका मतदाता छन्- जिल्ला/नगर, एसोसिएट र वस्तुगत। सबैभन्दा धेरै ५० प्रतिशत मतभार जिल्ला/नगरको हुनेछ। त्यसैगरी एसोसिएटनबाट ३० प्रतिशत र वस्तुगतबाट २० प्रतिशत मतभार रहनेछन्।

सबै मतदातालाई आफ्ना पक्षमा तान्न शुक्रबार राति सबै उम्मेदवारले विभिन्न होटलमा ‘ककटेल पार्टी’ आयोजना गरेका थिए।