काठमाडौं । काठमाडौं उपत्यकामा तीनसाता कडा लकडाउन गर्न मेयरहरुले सुझाब दिएका छन् । काठमाडौं उपत्यकाभित्र महानगर तथा नगरपालिकाका मेयरहरुको संगठन मेयर्स फोरमले कोरोना संक्रमण थप फैलन नदिन र नियन्त्रणमा ल्याउन कम्तिमा दुईदेखि बढीमा तीन साताको कडा लकडाउन गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र सरकारलाई सुझाव दिएका हुन् ।
फोरमले कोभिड–१९ महामारीको दोस्रो चरण देखिएपछि युरोपका धेरैजसो मुलुकमा पुनः लकडाउन शुरु भएकोले काठमाडौं उपत्यकामा पनि शंकास्पद सबैको स्वाब परीक्षण गर्न र कन्ट्याक्ट ट्रेसिङ्ग गरी महामारी नियन्त्रणको लागि कम्तिमा दुई र बढीमा तीन साताको लकडाउन आवश्यक रहेकोमा जोड दिएको छ । शनिबारसम्म मुलुकभर संक्रमितको संख्या दुई लाख १८ हजार छ सय ३९ रहेको छ भने मृतकको संख्या एक हजार तीन सय पाँच जना पुगेको छ ।
हालैका दशैं, तिहार, नेपाल सम्बत र छठ पर्वका कारण काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न भागमा कोरोना संक्रमण बढेको आशंका गरिएको छ ।