राष्ट्रघात र जनघातका विरुद्ध देशैभर २२ राजनीतिक संगठनको विरोध प्रदर्शन (फोटोफिचर)

प्रकाशित मिति : २०७७ मंसिर ७

- अमिट योञ्जन

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको राष्ट्रघात र जनघातका विरुद्ध आइतबार २२ वटा राजनीतिक संगठनहरुले संयुक्त रुपमा देशैभर विरोध प्रदर्शन गरेका छन् । २२ राजनीतिक संगठनले सातवटै प्रदेशका विभिन्न जिल्लाहरुमा विरोध प्रदर्शन गरेका हुन् । ।

प्राप्त जानकारी अनुसार काठमाडौंको माइतीघर मण्डला, पोखराको पृथीचोक, रुपन्देहीको बुटबल, दाङको तुलसीपुर, सुर्खेतको मंगलगढी चोक, कैलालीको धनगढी, उदयपुरको गाईघाट लगायतका स्थानमा नारा जुलससहित विरोध प्रदर्शन गरिएको छ ।

माइतीघरको कार्यक्रमलाई नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका महासचिव परि थापा लगायतका नेताहरुले सम्बोधन गरेका छन् ।


लामो समयदेखि सरकारका राष्ट्रघाती एवम् जनघाती कार्यको विरोध गर्दै राष्ट्र र जनताका पक्षमा संघर्षरत २२ राजनीतिक संगठनको कार्यगत एकताको २७ कात्तिकको बैठकले मंसिर ७ गते काठमाडौं लगायत सातवटै प्रदेशमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । बैठकका निर्णयहरु देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले २८ कात्तिकमा एक प्रेस वक्तव्यमार्फत् सार्वजनिक गर्नुभएको थियो ।

वक्तव्यमा अमेरिकी संस्था एम.सी.सी.सँग नेपालका विभिन्न सरकारद्वारा विभिन्न समयमा गरिएका राष्ट्रघाती सम्झौताको खारेजी, भारतले अतिक्रमण र कब्जा गर्दै आएको लिम्यिाधुरा–कालापानी–लिपुलेक, सुस्ता, महेशपुर आदि भूभागमाथि नेपालको स्वामित्व कायम गर्ने, कोभिड–१९ को रोकथाम, नियन्त्रण र निःशुल्क उपचार, बेरोजगार र विपन्न वर्गलाई खानालगायत न्यूनतम सुविधा, रोजगारीको व्यवस्था, निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था, उखु किसानको बक्यौता रकम तुरुन्त दिलाउने आदि विषयमा कार्यगत एकताले गर्दै आएको संघर्षलाई अझ सशक्त बनाउने निर्णय गरेको उल्लेख गरिएको थियो ।

कार्यगत एकतालाई अझ व्यवस्थित गर्न र यसलाई अझ माथि उठाउनका लागि नीतिगत आन्तरिक छलफल चलाउनुका साथै संगठनात्मक संरचनाहरु निर्माण गर्ने विषयमा पनि आन्तरिक रुपमा छलफल गरी आगामी बैठकमा निर्णय लिइने समेत वक्तव्यमा उल्लेख गरिएको थियो ।

कार्यगत एकतामा सम्मिलित २२ राजनीतिक सङ्गठनहरुमा १. नेकपा (मसाल) २. नेकपा (क्रान्तिकारी माओवादी), ३. नेकपा (माले), ४. राष्ट्रिय जनमोर्चा, नेपाल, ५. देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ६. नेपाल कम्युनिस्ट पार्टी, ७. नेकपा (माओवादी केन्द्र), ८. राष्ट्रिय जागरण मञ्च, ९. जनसमाजवादी पार्टी, १०. नेकपा (संयुक्त), ११. राष्ट्रिय जागरण परिषद्, नेपाल १२. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, १३. नेकपा (बोल्शेविक), १४. राष्ट्रवादी केन्द्र, नेपाल, १५. एम.सी.सी. खारेज अभियान, १६. पुष्पलाल अध्ययन समाज, १७. सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), १८. माक्र्सवादी एकता अभियान, १९. नेकपा (माक्र्सवादी), २०. नेकपा माक्र्सवादी (पुष्पलाल), २१. ने.क.पा. (माओवादी) र समाजवादी राष्ट्रिय मञ्च, नेपाल रहेका छन् ।