काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारको राष्ट्रघात र जनघातका विरुद्ध आज २२ वटा पार्टी तथा राजनीतिक संगठनहरुले संयुक्त रुपमा विरोध प्रदर्शनको आयोजना गरेका छन् । सातवटै प्रदेशमा विरोध प्रदर्शनको आयोजना गरिएको छ । केन्द्र तथा ३ नं. प्रदेशको काठमाडौंको माइतीघर मण्डलामा दिनको १ बजे, ४ नं. प्रदेशको पोखराको पृथीचोकमा २ बजे, ५ नंं. प्रदेशको बुटवलमा १ बजे, ६ नं. प्रदेशको सुर्खेतको मंगलगढी चोकमा १ बजे, ७ नं. प्रदेशको धनगढीमा १ बजे र १ नं. प्रदेशको उदयपुर गाइघाटमा १ बजे विरोध प्रदर्शनको आयोजना गरिएको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले जानकारी दिनुभयो ।
कार्यक्रम अनुसार माइतीघरको कार्यक्रमलाई देजमोका महासचिव नेता परि थापा लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अन्य प्रदेशका कार्यक्रमहरुमा पनि आयोजक संगठनका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
लामो समयदेखि सरकारका राष्ट्रघाती एवम् जनघाती कार्यको विरोध गर्दै राष्ट्र र जनताका पक्षमा संघर्षरत २२ राजनीतिक संगठनको कार्यगत एकताको २७ कात्तिकको बैठकले मंसिर ७ गते काठमाडौं लगायत सातवटै प्रदेशमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । बैठकका निर्णयहरु देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले २८ कात्तिकमा एक प्रेस वक्तव्यमार्फत् सार्वजनिक गर्नुभएको थियो ।
वक्तव्यमा अमेरिकी संस्था एम.सी.सी.सँग नेपालका विभिन्न सरकारद्वारा विभिन्न समयमा गरिएका राष्ट्रघाती सम्झौताको खारेजी, भारतले अतिक्रमण र कब्जा गर्दै आएको लिम्यिाधुरा–कालापानी–लिपुलेक, सुस्ता, महेशपुर आदि भूभागमाथि नेपालको स्वामित्व कायम गर्ने, कोभिड–१९ को रोकथाम, नियन्त्रण र निःशुल्क उपचार, बेरोजगार र विपन्न वर्गलाई खानालगायत न्यूनतम सुविधा, रोजगारीको व्यवस्था, निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था, उखु किसानको बक्यौता रकम तुरुन्त दिलाउने आदि विषयमा कार्यगत एकताले गर्दै आएको संघर्षलाई अझ सशक्त बनाउने निर्णय गरेको उल्लेख गरिएको थियो ।
कार्यगत एकतालाई अझ व्यवस्थित गर्न र यसलाई अझ माथि उठाउनका लागि नीतिगत आन्तरिक छलफल चलाउनुका साथै संगठनात्मक संरचनाहरु निर्माण गर्ने विषयमा पनि आन्तरिक रुपमा छलफल गरी आगामी बैठकमा निर्णय लिइने समेत वक्तव्यमा उल्लेख गरिएको थियो ।
कार्यगत एकतामा सम्मिलित २२ राजनीतिक सङ्गठनहरुमा १. नेकपा (मसाल) २. नेकपा (क्रान्तिकारी माओवादी), ३. नेकपा (माले), ४. राष्ट्रिय जनमोर्चा, नेपाल, ५. देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ६. नेपाल कम्युनिस्ट पार्टी, ७. नेकपा (माओवादी केन्द्र), ८. राष्ट्रिय जागरण मञ्च, ९. जनसमाजवादी पार्टी, १०. नेकपा (संयुक्त), ११. राष्ट्रिय जागरण परिषद्, नेपाल १२. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, १३. नेकपा (बोल्शेविक), १४. राष्ट्रवादी केन्द्र, नेपाल, १५. एम.सी.सी. खारेज अभियान, १६. पुष्पलाल अध्ययन समाज, १७. सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), १८. माक्र्सवादी एकता अभियान, १९. नेकपा (माक्र्सवादी), २०. नेकपा माक्र्सवादी (पुष्पलाल), २१. ने.क.पा. (माओवादी) र समाजवादी राष्ट्रिय मञ्च, नेपाल रहेका छन् ।