दाहालको चिठीमा ओलीको तोक– ‘विधानअनुसार बैठक बोलाउनू’

दाहालको चिठीमा ओलीको तोक– ‘विधानअनुसार बैठक बोलाउनू’

कार्तिक २५काठमाडौँ,
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्र्टी सचिवालय बैठकका लागि सहमति जनाउन आग्रह गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहालसहित पाँच सचिवालय सदस्यले लेखेको पत्रमा तोक लगाउँदै विधानअनुसार बैठक बोलाउन महासचिव विष्णु पौडेललाई निर्देशन दिएका छन । दाहालले भने बैठक बोलाउनभन्दा पनि बैठकका लागि सहमति जनाउन ओलीलाई आग्रह गरिएको प्रतिक्रिया दिएका छन ।
पार्र्टी विधानको धारा ५९ (४) मा कमिटीका २५ प्रतिशत सदस्यले लिखित माग गरे केन्द्रीय कमिटीको बैठक एक महिना र मातहत कमिटीको बैठक १५ दिनभित्र बोलाउनुपर्ने व्यवस्था छ । यही प्रावधानअनुसार १५ दिनभित्र सचिवालय बैठक बोलाउने ओलीको आशयसहितको सन्देश लिएर महासचिव पौडेल अर्का अध्यक्ष दाहाललाई भेट्न खुमलटार पुगेका थिए । ‘शनिबार हामीले दिएको पत्रमा प्रधानमन्त्रीले विधानअनुसार बैठक बोलाउनू भन्ने तोक आदेश जारी गर्नुभएको रहेछ, त्यही ल्याएर महासचिव पौडेल आउनुभएको थियो,’ दाहालको भनाइ उद्धृत गर्दै उनको सचिवालयका सदस्यले भने, ‘महासचिवले दुई अध्यक्षबीच सहमति गरेपछि मात्रै बैठक बोलाऔं भन्ने प्रस्ताव गर्नुभएको थियो, त्यसमा मेरो सहमति छैन ।’

महासचिव पौडेलसँगको भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले आफूसँग हेपाहा व्यवहार गरेको भन्दै गुनासो गरेका थिए । तत्कालीन एमालेले जनताको बहुदलीय जनवाद र माओवादीले ‘२१ औं शताब्दीको जनवाद’ छाडेकै कारण पार्र्टी एकता सम्भव भए पनि प्रधानमन्त्रीले जबजको वकालत गर्दै हिँड्नु एकताविरोधी काम भएको उनको भनाइ थियो । जवाफमा महासचिव पौडेलले गत भदौ २६ मा सम्पन्न स्थायी कमिटी बैठकले गरेको निर्णय कार्यान्वयनकै बाटोमा जानुपर्ने र त्यसका लागि बरु समय लिएर छलफल गर्नुपर्ने बताएका थिए । दाहालले भने तत्काल बैठक बोलाउनुपर्ने बताएका थिए ।
‘कार्यकारी अध्यक्षको हैसियतमा मैले एक्लै बैठक बोलाउन पनि सक्छु, गत २६ गतेको स्थायी कमिटी बैठकको निर्णय पनि त्यही हो । फेरि हामीले बैठक बोलाउने माग गरेर पत्र बुझाएका होइनौं, सहमतिका लागि अनुरोध गरेका हौं र दुई दिनको समय त्यतिखेरै दिइएको छ,’ दाहालले पौडेलसँग भनेका थिए, ‘त्यसैले प्रधानमन्त्रीलाई जतिसक्दो छिटो बैठक बोलाउनका लागि सहमति जनाउन आग्रह गर्नुस ।’ प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि प्रधानमन्त्रीसँग बैठकको माग गरिएको नभई बैठक बोलाउन सहमति जनाउन आग्रह गर्दै पत्र बुझाइएकाले विधानको व्यवस्थाभन्दा यो विषय अलि फरक भएको बताए । उनले मंगलबार बिहानसम्म प्रधानमन्त्री ओलीले बैठक बोलाउने अपेक्षा रहेको प्रतिक्रिया दिए ।
नेकपाको अनुशासन आयोगले पार्र्टीभित्रका जटिलता बैठक बोलाएरै हल गर्नुपर्ने बताएको छ । आयोगका अध्यक्ष अमृतकुमार बोहराले सोमबार विज्ञप्ति जारी गर्दै बैठक राख्ने विषयलाई प्रतिष्ठाको विषय नबनाउन आग्रह गरेका छन । ‘तीन महिना, एक महिना, पन्ध्र दिन र दस दिनभित्र एकता प्रक्रिया पूरा गर्ने भनेर भाखा राख्दै आएको पनि २९ महिना बितिसक्यो,’ उनले विज्ञप्तिमा भनेका छन, ‘तर विधानले एकैछिन पनि असंगठित राख्न नमिल्ने कमरेडहरू वर्षौसम्म जिम्मेवारीविहीन हुँदा पार्टी नेतृत्वलाई किन घोच्दैन, किन पोल्दैन र यति महत्वपूर्ण विषयलाई प्राथमिकतामा किन राखिँदैन ?’
बोहराले पार्र्टीमा अनुशासन र पद्धतिहीनता, गुटबन्दी र अराजकता देखा परेको जनाउँदै यी विसंगति परास्त गर्न वैचारिक संघर्ष गर्नुपर्ने उल्लेख गरेका छन । ‘पार्र्टीमा हिजोआज दिनहुँजसो सम्पूर्ण जनसमुदाय र आम पार्र्टीपंक्तिलाई निराश पार्ने गालीगलौज, निन्दा भत्र्सना, आरोप–प्रत्यारोप र पार्र्टी विभाजन जस्ता सुन्नै नसकिने अत्यन्त अप्रिय कुरा सार्वजनिक सञ्चारमाध्यमबाट आउने गरेका छन । यो हाम्रा लागि गम्भीर चिन्ताको विषय हो,’ विज्ञप्तिमा भनिएको छ, ‘विधि र पद्धति पार्र्टीका प्राण हुन । पद्धति र प्रणाली रहेनन भने पार्र्टी जीवन रहँदैन । यी कुरा हामीले बुझेकै छौं । तर हामी किन पार्र्टी विधानअनुसार विधि–पद्धतिको पालना गर्दैनौं ? बैठकको औचित्य र निर्णय पालनाको मर्मलाई किन बुझ्दैनौं ? जनता र राष्ट्रको हितभन्दा के हाम्रा अरू कुनै स्वार्थ छन ? अनि हामी किन नितान्त आत्मकेन्द्रित भएर सोच्छौं ?’
पार्र्टी एकताको समयदेखिका धेरै निर्णय कार्यान्वयन नभएकोमा पनि बोहराले आपत्ति जनाएका छन । ‘पार्र्टीका निर्णयहरू कार्यान्वयनका लागि गरिन्छ, दराजमा सजाउन होइन,’ उनले विज्ञप्तिमा भनेका छन, ‘यतिसम्म कि लामो रस्साकसी र विवादपछि समाधान हेतु कार्यदलले प्रस्तावका रूपमा ल्याएको तथा गत भदौ २६ को स्थायी कमिटी बैठकले कार्यान्वयनका निम्ति गरेको निर्णयसमेत आजपर्यन्त अलपत्र छन । निर्णय कार्यान्वयन गर्ने तत्परता कतै देखिएकै छैन । बरु त्यसलाई अनेक बहानामा पन्छाउने काम भइरहेको छ ।’ उनले पार्र्टी नेतृत्वको सोच सधैं फराकिलो हुनुपर्ने उल्लेख गर्दै ‘हृदयमा विशालता छैन भने त्यो कम्युनिस्ट हुनै सक्तैन’ भनेका छन ।
संकीर्णता, आग्रह–पूर्वाग्रह, गुटबन्दी र रिसरागले पार्र्टी चल्न नसक्ने पनि बोहराले उल्लेख गरेका छन । ‘उत्तेजना, आवेग र गालीगलौजले समस्याको हल हुँदैन । यसले त विवादलाई झन जटिल बनाउँछ । तनावलाई शिथिल नगरी कि वार कि पार भन्ने ठाउँमा पुर्याउँछ । विनाशको बाटोतर्फ जाने यस्ता कुराको कल्पना हामीले गर्न मिल्छ ?’ उनले विज्ञप्तिमा भनेका छन, ‘पार्र्टीमा समस्या छन, तिनलाई हामीले स्वीकार गर्नुपर्छ । पार्र्टी विधानबमोजिम त्यसको समाधानमा पहल गर्नुपर्छ ।’