पुँजीवादको सङ्कट – श्रम र ज्यालाका बीचको अन्तर्विरोध विस्फोटनतर्फ

प्रकाशित मिति : २०७७ कार्तिक २५

- – क. वसन्त

इतिहासको कालखण्डमा पहिलो औद्योगिक क्रान्ति पछि, अर्थात् १८औ शताव्दीको उत्तरार्धतिर, सामन्तवादको गर्भबाट पुँजीपति वर्ग र सर्वहारा वर्गको विकास भयो । त्यति बेला यी दुई वर्गका बीचको आपसी सम्बन्ध अहिलेको जस्तो दुस्मनीपूर्ण थिएन, दुवै सामन्तवादबाट पीडित थिए । औद्योगिक क्रान्ति पछि विकसित भएको नयाँ उत्पादक शक्ति र पुरानो सामन्तवादी उत्पादन सम्बन्धका बीचको अन्तर्विरोध निकै चर्केर गयो । यो अन्तर्विरोधलाई सामन्तवादले थेग्न सकेन । परिणाम स्वरुप पुँजीपति वर्गको नेतृत्व र सर्वहारा वर्गको सक्रिय सहभागितामा वेलायत, फ्रान्स, इटली, जर्मनी लगायत युरोपका थुप्रै देशहरुमा पुँजीवादी क्रान्ति सम्पन्न भए । तिनलाई पुरानो पुँजीवादी जनवादी क्रान्ति भनिन्छ ।
पुँजीवादी क्रान्ति पश्चात् समाजको अन्तरर्विरोध बदलियो । पहिले सामन्तवादका विरुद्ध सँगै लडेका पुँजीपति वर्ग र सर्वहारा वर्गका बीचको मैत्रीपूर्ण अन्तर्विरोध पछि पुँजीवादी समाजमा दुस्मनीपूर्ण अन्तर्विरोध बन्न गयो । पुँजीवादी बजार तथा राजनीतिक सत्तामा पुँजीपतिहरुको एकल नियन्त्रण र उत्पादनका साधनहरुमाथि पुँजीपति वर्गको एकाधिकारका कारण श्रमिकहरु माथिको शोषण तथा उत्पीडन असह्य बन्दै गए । हिजो सामन्तवादका विरुद्ध सँगै लडेका पुँजीपतिहरुको जीवन वैभव र मोजमस्तीको भयो भने मजदुरहरु नारकीय जीवन विताउन बाध्य बनाइए । यसरी पुँजीवादी समाजमा पुँजीपति र सर्वहारा वर्गका बीचको अन्तर्विरोध प्रधान अन्तविरोध बन्न गयो ।
उत्पादनका साधनहरुबाट बञ्चित रहेको र बजारमा बेच्नका लागि आफ्नो श्रमबाहेक अरु केही चीज बाँकी नरहेको सामाजिक वर्ग नै सर्वहारा वर्ग हो । यो वर्ग जीवन निर्वाहका लागि आफ्नो श्रम बेच्न बाध्य हुन्छ । पुँजीवादी श्रम बजारमा श्रमको मुल्य पनि उपभोग्य मालको मुल्य जस्तै सधै एकनास रहँदैन र यो माग तथा आपुर्तिका आधारमा घटबढ भइरहेको हुन्छ । पुँजीवादी अर्थशास्त्रको नियम अनुसार श्रम बजारमा श्रमिकको माग बढी भए उनीहरुको मुल्य पनि बढ्छ अर्थात् उनीहरुले सापेक्ष रुपमा धेरै ज्याला पाउँछन् र माग कम भए उनीहरुले पाउने ज्याला पनि कम हुन्छ ।
तर, श्रमिक वर्गसँग बाँच्नका लागि आफ्नो श्रम बेच्नुको अर्को विकल्प नहुने हुनाले उसँग ज्यालाको मोलतोल गर्ने क्षमता अत्यन्त न्युन हुन्छ, त्यसकारण उनीहरु कम भन्दा कम ज्यालामा काम गर्न वाध्य भएका हुन्छन् । अर्कोतिर, पुँजीपति वर्गले धेरैजना श्रमिकको बीचमा प्रतिस्पर्घा गराउने सुविधा पाउँछ, तसर्थ उसको सौदावाजी गर्ने हैसियत निकै धेरै हुन्छ । यसरीे ज्याला र श्रमको मोलतोल गर्ने क्रममा पँुजीपतिहरुले अघोषित एकाधिकार पाएका हुन्छन् । फलतः पुँजीवादी समाजमा पुँजीपति वर्गले श्रमिक वर्गलाई बाँच्नसम्म पुग्ने ज्याला दिएर काम गराएको हुन्छ । श्रमजीवि वर्गलाई बाँच्न जति गाह्रो भयो त्यति सस्तोमा मजदुर उपलव्ध हुने हुनाले पुँजीवादले भित्रभित्रै योजनाबद्ध रुपमा गरिबहरुको खेतिगर्ने काम गरिरहेको हुन्छ । गरिवी उन्मुलन गर्ने जति राम्रा कुरा गरे पनि त्यो पुँजीवादी सत्ताधारीहरुले श्रमजीवि वर्गका बीचमा भ्रमछर्न गरेको केवल नौटङ्की मात्र हो, अरु केही होइन । पुँजीपतिहरु श्राजीवीप्रति संवेदनशील हुनै सक्दैनन् ।
माक्र्स र एङ्गेल्सले पुँजीवादी समाजमा विद्यमान श्रम र ज्यालाका बीचको अन्तरविरोधको गहिरो अध्ययन गर्नुभई उत्पादनका साधनहरुमा श्रमजीवि वर्गको सामुहिक स्वामित्व स्थापना भएपछि मात्र त्यो अन्तरविरोध समाधान हुने कुरा बताउनु भयो । साथै, त्यसका लागि कम्युनिस्ट पार्टीको नेतृत्वमा वैज्ञानिक समाजवादी क्रान्ति आवश्यक हुने र त्यसले मानव जातिको मुक्तिका निमित्त विश्व साम्यवाद तर्फको मार्ग प्रसस्त गर्ने कुरा औल्याउनु भयो । त्यति वेलाको पुँजीवादका अन्तर्विरोधहरुको आधारमा माक्र्सले युरोपका कतिपय विकसित पुँजीवादी देशहरुमा एकैचोटी समाजवादी क्रान्ति सम्पन्न हुने कुरा औल्याउनु भएको थियो । तर पछि पुँजीवादले एकाधिकारी चरित्र ग्रहण गर्न पुग्यो र यो प्रक्रियामा विकसित पुँजीवादी देशहरुले वित्तिय पुँजी मार्फत् विश्वभरि साम्राज्य विस्तार गरी त्यो अन्तर्विरोधको अस्थायी समाधान गर्न सफल भए । साम्राज्यवादीहरुले उपनिवेश र अर्ध–उपनिवेशहरुबाट आर्जन गरेको अत्यधिक मुनाफाको एउटा सानो हिस्सा मध्येबाट मजदुरहरुको ज्याला बढाएर श्रम र ज्यालाका बीचको अन्तरविरोधलाई तत्काल विस्फोटन हुनबाट जोगाए ।
तर, यो समाधानले विकसित पुँजीवादी देशहरुको साम्राज्य विस्तारको अभियानलाई झन प्रेरित ग¥यो । परिणाम स्वरुप अन्तर–साम्राज्यवादी अन्तर्विरोध अरु चर्कियो जसको मुल्य मानव जातिले दुइवटा विध्वंशक विश्वयुद्धहरु मार्फत् चुकाएको छ । ती विश्वयुद्ध पछि अन्तर–साम्राज्यवादी अन्तर्विरोधहरु केही समयका लागि सिथिल त भए तर विश्वयुद्धका कारण ध्वस्त हुन गएको अर्थतन्त्रको जगमा श्रम र ज्यालाका बीचको अन्तरविरोध पुनः चर्केर विष्फोटक बन्न गयो र सर्वहारावादी आन्दोलनहरु अगाडि बढे । यो प्रक्रियामा पहिलो विश्वयुद्ध पछि रुस र दोस्रो विश्वयुद्ध पछि चीन तथा पूर्वीयुरोप लगायतका अन्य कतिपय देशहरुमा सर्वहारावादी क्रान्ति सम्पन्न भए । त्यतिमात्र होइन दोस्रो विश्वयुद्धको अन्त्य पछि उपनिवेशवादका विरुद्धको राष्ट्रिय मुक्ति आन्दोलन अगाडि बढ्यो र औपनिवेशिक युगको अन्त्य भयो ।
यसबाट के स्पष्ट हुन्छ भने विश्वका तीनवटा आधारभूत अन्तर्विरोधहरु — श्रम र ज्यालाका बीचको अन्तर्विरोध, अन्तर–साम्राज्यवादी अन्तर्विरोध र साम्राज्यवाद तथा उत्पीडित राष्ट्रका बीचको अन्तर्विरोध — एक आपसमा अन्तरसम्बन्धित छन् र साम्राज्यवादले एउटा अन्तरविरोध समाधान गर्न खोज्दा अर्को झन ठुलो अन्तर्विरोधमा जेलिन गइ यो आफै एकपछि अर्को गरी गहिरो आर्थिक तथा राजनीतिक सङ्कटमा फस्दै गइरहेको छ । यो पुँजीवादको चारित्रिक विशेषता नै हो । पुँजीवादी व्यवस्थाका कारण पैदा भएका उपरोक्त अन्तर्विरोधहरु र तिनले पैदागर्ने थप सङ्कटको समाधान पुँजीवादभित्र संभव छैन र यसको एकमात्र समाधान वैज्ञानिक समाजवाद हो भन्ने कुरा बारम्बारका घटनाक्रमहरुले पुष्टिगर्दै आएका छन् ।
पुँजीवादको अन्तर्निहित सङ्कट पर धकेल्ने प्रयास स्वरुप १९८०को दशकदेखि साम्राज्यवादले नवउदारवादको सिरानी हालेर आफ्नो आर्थिक गतिविधिलाई अगाडि बढाउँदै आएको छ । यस प्रक्रियामा अवलम्बन गरिएका भुमण्डलीकरण र निजीकरण जस्ता विधि मार्फत् विश्वभरि एकाधिकारी वित्तीय पुँजीको विस्तार गरी यसले तेस्रो विश्वका उत्पीडित देशको राष्ट्रिय पुँजीलाई ध्वस्त बनाएको छ र ती देशका राज्यको भुमिकालाई निस्प्रभावी बनाएर अर्थतन्त्रको मात्र होइन राजनीतिको समेत चाभी दलालहरु मार्फत् आफुले खोसेको छ । फल स्वरुप उत्पीडित देशका शासकहरु बहुराष्ट्रिय कम्पनीका लागि अत्यधिक मुनाफा कमाउन आधार तयार गरिदिने र तिनको आर्थिक, राजनीतिक तथा भौतिक सुरक्षाको ग्यारेन्टी गरिदिने व्यवस्थापक बन्न गएका छन् । त्यसमाथि, कम लगानी र अत्यधिक मुनाफाका लागि साम्राज्यवादले मानव श्रमलाई समेत विस्थापित गर्ने गरी प्रविधिको विकासमा जोड दिएको छ र पर्यावरणमाथि अनियन्त्रित आक्रमण गर्दै आएको छ ।
मानवजातिले १९८०को दशकपछि विज्ञान र प्रविधिको अभूतपूर्व विकास गरेको छ । सामान्यतः प्रविधिको विकास भनेको उत्पादक शक्तिको विकास हो र यसले मानव समाजलाई अगाडि बढ्न मद्दत गर्दछ । तर, साम्राज्यवादले प्रविधिको विकास गरी जसरी त्यसमाथि एकाधिकार कायम गरेको छ, त्यसले श्रमिकलाई काममा सहयोग गर्न नभएर तिनलाई कामबाट विस्थापित गर्न थालेको छ । आउने २०५० सम्ममा आजसम्म मानिसले गर्दै आएका ५० प्रतिशत कामहरु रोबोटहरुले गर्नेछन् भन्ने समाचारहरु दिनहुँ सुन्न पाइन्छ । यसले विश्वभरि बेरोजगारी बढाउने र त्यसले श्रम तथा ज्यालाका बीचको अन्तर्विरोध अरु चर्काउने कुरा निर्विवाद छ । गएको २००८ मा अमेरिकाबाट सुरुभई प्रायः विश्वभरि फैलिएको आर्थिक सङ्कटका पछाडि प्रविधिमाथि पुँजीपतिहरुको एकाधिकार र त्यसको अनियन्त्रित प्रयोगले ठुलो भुमिका खेलेको कुरा हामीले विर्सनु हुँदैन । २००८को आर्थिक सङ्कटले विश्व अर्थतन्त्रलाई नै धराशायी बनाएको थियो ।
पुँजीवादी अर्थशास्त्रीहरुले २०१३ सम्म आइपुग्दा २००८को आर्थिक सङ्कटको प्रभाव सकियो भनेका थिए, तर त्यो यथार्थ थिएन । २०१३ देखि नै विश्वको आर्थिक स्थिति गंभीर मन्दीतर्फ उन्मुख थियो र २०१९को अन्त्यतिर पुग्दा जापानको अर्थतन्त्र ७.१ प्रतिशतले तल खस्किसकेको थियो । २०२० मार्चको मध्यतिर पुग्दा नपुग्दा संयुक्त राज्य अमेरिकाको अर्थतन्त्र ४.८ प्रतिशतले खुम्चिएको र व्याजदर शून्य प्रतिशत भइसकेको थियो । चीनको आर्थिक बृद्धिदर ३० वर्षकै कम ६.१ प्रतिशतमा झरेको थियो । युरोपका वेलायत, जर्मनी, फ्रान्स, स्पेनका अर्थतन्त्र क्रमशः २, २, ५.८ र ५.२ प्रतिशतले ओह्रालो लागिसकेका थिए । मार्चको मध्यतिर आइपुग्दा स्विटजरल्याण्ड र डेन्मार्कले अर्थतन्त्रको रक्षा गर्न बैङ्कको व्याजदरलाई ऋणात्मक बनाएका थिए । विश्वका प्रायः सबै देशका अर्थतन्त्रहरुको अवस्था निकै कमजोर बनिसकेको र बेरोजगारीको समस्या पनि विकराल भइसकेको थियो । पुँजीवादी शासकहरुले भने जस्तो अहिलेको सङ्कट कोभिड–१९ले मात्र ल्याएको होइन । विश्वको आर्थिक स्थिति निकै कमजोर बन्दै गइरहेको थियो, त्यति नै बेला कोभिड–१९ले जवर्जस्त धक्का दिएपछि सङ्कट अरु भायवह बनेको हो ।
२०२० मार्चको मध्यतिर आइपुग्दा कोभिड–१९ महामारी पुरा विश्वभरि नै फैलियो र यसले पहिलेदेखि मक्किएर बसेको विश्व अर्थतन्त्रलाई नराम्रो धक्का दियो । पुरा विश्व यतिवेला गंभीर स्वास्थ्य र आर्थिक सङ्कट भएर गुज्रिएको छ । यो महामारी पछि विश्वभरि मुख्यतः तीनवटा क्षेत्र — कुल गार्हस्थ उत्पादन, वेरोजगारी र आर्थिक असमानता — मा गंभीर असर पर्न गएको छ र यी परस्पर अन्तरसम्बन्धित छन् । यो पछिल्लो आर्थिक सङ्कटले २००९को सङ्कटलाई त धेरै पछि पारेको छ नै, त्यसमाथि कतिपय अर्थशास्त्रीहरुका अनुसार यसले १९३०को दशकको महासङ्कटलाई पनि उछिन्ने संभावना रहेको औल्याउन थालेका छन् ।
२००९को सङ्कटपछि विश्वका अति विकसित भनिएका २० वटा पुँजीवादी देशहरु (जी२०)को कुल वार्षिक गार्हस्थ उत्पादन १.६ प्रतिशतले खुम्चिएको थियो । अहिलेको सङ्कटले उक्त अङ्क ५.८ प्रतिशतमा उक्लेको छ । अरु कति बढ्ने हो, त्यो भन्न सकिन्न । यही २०२० अक्टोबर महिनामा अन्तर्राष्ट्रिय मुद्राकोषले प्रस्तुत गरेको तथ्याङ्कले सम्पूर्ण विश्व र प्रमूख पुँजीवादी देशहरुको आर्थिक बृद्धिदरको प्रक्षेपण गरेको छ, जस अनुसार यस वर्ष विश्वको आर्थिक बृद्धिदर ऋणात्मक हुने र त्यो — ४.४ प्रतिशत हुने उसको अनुमान छ । प्रमूख पुँजीवादी देशहरु मध्ये अमेरिकाको वार्षिक आर्थिक बृद्धिदर — ४.३ प्रतिशत, बेलायतको — ९.८, इटलीको — १०.६, स्पेनको — १२.८, फ्रान्सको — ९.८, जर्मनीको — ६.०, जापानको — ५.३, क्यानडाको — ७.१, भारतको — १०.३, ब्राजिलको — ५.८, साउदी अरवको — ५.४ र अफ्रिकाको — ८.० प्रतिशत रहने मुद्राकोषले आँकलन गरेको छ । यस वर्ष आर्थिक बृद्धिदर धनात्मक हुने अनुमान गरिएको देश चीनमात्र हो र त्यो १.९ प्रतिशत रहने छ । अर्थशास्त्रीहरुले यो वैश्विक आर्थिक घाटा पुर्तिगर्न वर्षौं लाग्न सक्ने बताएका छन् ।
प्रायः विश्वभरि गरिएको लकडाउनका कारण गएको अप्रिल तथा मे महिनाका बीचमा वेरोजगारहरुको सङ्ख्या अत्यधिक मात्रामा बढेको थियो । अप्रिलमा अमेरिकामा जनसङ्ख्याको १४.७ प्रतिशत मानिस बेरोजगार भए भने भारतमा बेरोजगारी दर बढेर २४ प्रतिशतसम्म पुगेको थियो । अन्तर्राष्ट्रिय मुद्राकोषले गत जुन महिनामा तयार पारेको बेरोजगारी दरको आँकडा अनुसार दक्षिण अफ्रिका ३५.३, स्पेन २०.८, टर्की १७.२, ब्राजिल १४.७, इटली १२.७, फ्रान्स १०.४, ग्रिस २२.३, अर्जेन्टिना १०.९, क्यानडा ७.५ प्रतिशत रहेका छन् । लकडाउन खुकुलो पारेपछि बेरोजगारीको बृद्धिदर केही घटेको भनिए पनि पुँजीवादले यसको अन्तिम समाधान दिन सक्दैन । पुँजीवाद रहुन्जेल बेरोजगारी बढ्दै जाने कुरा यसको आफ्नै अन्तर्निहीत विशेषता नै हो ।
यो सङ्कटका बेला विश्वभरि धनी र गरिबका बीचको आर्थिक खाडल अरु फराकिलो भएको छ । स्विस बैङ्कले तयार पारेको प्रतिवेदनका अनुसार गएको अप्रिलदेखि जुलाइको बीचमा विश्वका अरवपतिहरुले कुल सम्पत्ति १५ खरब डलरले बृद्धि गरेका छन् । यो उनीहरुको जम्मा सम्पत्तिको २७.५ प्रतिशत हुन आउँछ । जवकि, करिव २० करोड मजदुरहरु यस बीचमा पूर्ण बेरोजगार भएका छन् र ११ करोड ५० लाखभन्दा बढी जनता निरपेक्ष गरिवीको रेखामुनी धकेलिँदै छन् भन्ने कुरा स्वयम् अन्तराष्ट्रिय मुद्राकोषले बताएको छ ।
अमेरिकाको मात्र कुरा गर्ने हो भने मार्च १८ देखि अक्टोबर ८ का बीचमा त्यहाँका अरवपतिको सम्पति ३ खरव, ७९ अरव ८० करोड डलरले बढेको छ । जवकि, गएको अप्रिल महिनामा अमेरिकामा मात्र ३ करोड ३१ लाख मानिसहरु बेरोजगार भएका थिए । टाइम नामक एउटा अनलाइन पक्रिकाका अनुसार माथिका सबभन्दा धनी १ प्रतिशत अमेरिकी धनाढ्यहरुले पिंधमा पर्ने ९० प्रतिशत गरीव जनताबाट १९७५ देखि २०१८ का बीचमा ४७० खरव डलर आफ्नो हात पारेका छन् । अहिलेको गतिमा प्रतिवर्ष २५ खरव डलरका दरले माथिमाथि सर्ने यो रकम आजसम्म आइपुग्दा ५०० खरव डलर कटिसकेको अनुमान छ । यहीँनेर, उक्त पत्रिकाले थपेको छ, “यसैले अमेरिकालाई कम सुरक्षित बनाएको छ ।”
माथिको सङ्क्षिप्त विश्लेषणबाट यो प्रष्ट हुन्छ कि पँुजीवादी सङ्कटको स्वाभाविक चक्रमा कोभिड–१९ले धक्का दिएपछि विश्वको अर्थतन्त्र अहिले गंभीर सङ्कट भएर गुज्रिरहेको छ । पहिलेका सङ्कटहरुको प्रभाव खास देश वा क्षेत्रमा बढी पर्ने र बाँकीमा त्यसको कम असर पर्ने हुन्थ्यो । तर अहिले पुरा विश्वनै यसको चपेटामा परेको छ । यो स्थितिमा कसैले चाहेर पनि एउटा देशले अर्को देशको अर्थतन्त्र उकास्न सहयोग गर्न सक्ने स्थितिमा कोही छैन । त्यसमाथि यो सङ्कटको सबभन्दा ठुलो धक्का सबैभन्दा बलियो अर्थतन्त्र भनिएका देशहरुमा परेको छ । उत्पादक शक्तिको अभूतपूर्व विकास र विकसित तथा अविकसित सबै प्रकारका देशहरुमा आउने अकल्पनीय आर्थिक सङ्कटका कारण श्रम तथा ज्यालाका बीचको अन्तर्विरोध पनि विश्वभरि नै विस्फोटन तर्फ उन्मूख छ । स्वभावतः विश्वका अरु आधारभूत अन्तर्विरोधहरु पनि चर्किदै गएका छन् । यसले पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवादको अपरिहार्य आगमनको सङ्केत गर्दछ । यो विश्व सर्वहारा क्रान्तिलाई अगाडि बढाउनका लागि “संसारका मजदुर एक हौं !” भन्ने नाराका आधारमा संसारभरि नै एकजुट भएर वर्गसङ्घर्षमा डटने बेला हो । अव साम्राज्यवादको अन्त्य र वैज्ञानिक समाजवादको विजय धेरै टाढा छैन ।
असोज २५, २०७७