काठमाडौं । विभिन्न सञ्चार गृहमा कार्यरत पीडित पत्रकारहरुले पेशागत अधिकारको लागि थालेको आन्दोलनप्रति नेकपा (क्रान्तिकारी माओवादी)लगायत २० दलीय मोर्चाले ऐक्यबद्धता जाहेर गरेको छ । संयुक्त संघर्ष समिति बनाएर पीडित पत्रकारहरुले थालेको पहिलो चरणको आन्दोलन अन्तर्गत गरिएको पाँच दिने रिले अनसनको चौथो दिनमा अनसन स्थलमा पुगेर २० दलीय मोर्चाको तर्फबाट नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका महासचिव परि थापाले ऐक्यबद्धता जाहेर गर्नुभएको हो ।


अनसन स्थलमा ऐक्यबद्धता मन्तव्य दिदै नेता थापाले आफ्नो पेशागत अधिकारका लागि मिडिया मालिकहरुको शोषण र उत्पीडनका विरुद्ध पीडित पत्रकारहरुले थालेको आन्दोलनप्रति खुशी व्यक्त गर्नुभयो र आन्दोलन पूर्णरुपमा सफलताको शुभकामना पनि दिनुभयो । श्रमजीवी तथा श्रमिक वर्गप्रति राज्य उदासिन रहेको चर्चा गर्दै मिडिया मालिकहरुसँग बालुवाटारमा भोज खाने राज्य र मिडिया मालिकहरुका विरुद्ध श्रमजीवी पत्रकार तथा कर्मचारीहरु, अन्य ट्रेड युनियन संघ संगठनहरु, सञ्चारसम्बद्ध विभिन्न संघ संगठनहरु सबै एकताबद्ध भएर संगठित र योजनाबद्ध वृहत् आन्दोलन खडा गरी अगाडि बढ्न पनि नेता थापाले सुझाव दिनुभयो ।


सोही अवसरमा श्रमिक तथा मजदुरहरुको पेशागत अधिकारका लागि आन्दोलनरत आठवटा ट्रेड यूनियनको तर्फबाट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष इश्वर तिमिल्सिना र समाजवादी ट्रेड यूनियन महासंघका अध्यक्ष लालध्वज नेम्वाङले पनि ऐक्यबद्धता जाहेर गर्नुभएको थियो । उहाँहरुले मिडिया मालिकहरुले श्रमजीवि पत्रकार तथा कर्मचारीहरुका माग अविलम्ब पूरा नगरे मिडिया हाउसहरु घेराऊ गर्न हजारौ मजदुरहरु उत्रने चेतावनी दिनुभयो । र, सबै श्रमिक वर्ग एकताबद्ध भएर वृहत् आन्दोलन उठानका निम्ति पनि उहाँहरुले आव्हान गर्नुभयो ।


त्यसैगरी सोही अवसरमा सञ्चारसम्बद्ध आन्दोलनरत ११ वटा संघ संगठनको तर्फबाट प्रेस संगठनका संयोजक महेश्वर दाहाल र क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले आन्दोलनप्रति सहभागितासहितको ऐक्यबद्धता जाहेर गर्नुभयो । विभिन्न सञ्चारगृहमा कार्यरत पीडित पत्रकारहरुको आन्दोलनलाई संयुक्त संघर्ष समितिको रुपमा संगठित आन्दोलनको रुपमा उठान गर्न प्रत्यक्ष अप्रत्यक्ष रुपमा आफूहरुले भूमिका खेलेको चर्चा गर्दै अरुका निम्ति पटक पटक लडेका श्रमजीवी पत्रकारहरु यसपटक आफ्नै लागि सडकमा उत्रिनुभएकोमा उहाँहरुले खुशी व्यक्त गर्नुभयो । पत्रकारहरुको यो भद्र आन्दोलनबाट अगाडि सारेका जायज मागहरु मिडिया मालिक र राज्यले सुन्दैन भने भोका पत्रकारहरुको आन्दोलन उनीहरुका लागि निकै महंगो पर्ने पनि नेताहरुले चेतावनी दिनुभयो । उहाँहरुले आन्दोलनलाई वृहत, सशक्त र जुझारु बनाएर लैजानुपर्ने आवश्यकतामाथि जोड दिंदै आन्दोलन पूर्णसफलताको शुभकामना दिनुभयो र आन्दोलनमा सहभागिता रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

आन्दोलनरत पत्रकारको तर्फबाट समन्वय गर्दै आउनुभएका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले जनसमाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई, सत्तारुढ नेकपाका नेता नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट लगायतका नेताहरु पनि अनसन स्थलमा आएर ऐक्यबद्धता जाहेर गरेको बताउनु भयो । पीडित पत्रकारहरुको पहिलो चरणको आन्दोलन अन्तर्गत पाँच दिने रिले अनसनको कार्यक्रम सोमबार (आज) समापन हँुदैछ । यसपछि सञ्चारगृह घेराउको कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर