
प्रिय रुकू,
सप्रेम सम्झना
यो भन्दा अगाडिको पत्रमा मैले हिन्दूू धर्मको बारेमा केही बुझाउँछु भनी तिमीलाई लेखी पठाएको थिएँ । आजकालका बुढापाकाहरू चालचलन, रीति रिवाज, धर्म कर्म र गरिब धनी त पहिलेदेखि नै ईश्वरले बनाएर ल्याएको हो भन्ने विश्वास गर्ने गर्दछन् र नयाँनयाँ चाल चलन देखे भने के जुग आयो यस्तो † भनी कोकोहोलो हालेर कराउने र खुइय गरेर सुस्केरा हालेर वेदना प्रदर्शन गर्दछन् । नयाँ चाल चलनलाई के जुग आयो यस्तो भनेर पछुतो मान्ने चलन त प्राचीन कालदेखि कै परम्परा भनिदिए पनि भयो । पुरानो रीतिरिवाजबाट नयाँ रीतिस्थितिमा पाइलो टेक्ने सङ्क्रमणलाई तत्कालीन रुढिवादीहरूले अलि मन पराउँदैनन्, किन भन्लाउ भने तिनीहरूको दिमागले त्यो ठम्याउन नसकेकोले नै उनीहरूको त्यो विरोधी भावना प्रकट भएको हो सत्ययुगमा । तर, आजकल त्यसलाई आदिम साम्यवाद भन्दछन् । त्यसबेला देखि नै भएर आइरहेको परिवर्तनमा पनि त्यसबेलाका केही बुढाबुढीहरूले त्यसै भन्दथे र आज पनि त्यसै भन्दैछन्, भोलि पनि त्यसै भन्नेछन् तर समाजको यो प्रगतिलाई रोक्न सक्ने संसारमा केहीको पनि सृष्टि भएको छैन, हुने पनि छैन र होला भनेर कसैले आशा गरेर हिँड्न खोज्नु, पृथ्वीको गतिलाई रोक्न खोज्नु जस्तै हो । यो त आशा र कल्पना गर्न नसकिने कुरा हो ।
सत्युयुगमा कुनै जात भात, सानो ठूलोे, धनी गरिब, छुतअछुत, तेरो मेरो भन्ने कुरा नै थिएन । तर तिमी पनि यस्तो सुन्दा कस्तो कस्तो अनुभव गरौली । पढ्दै गएपछि तिमीलाई त्यो खल्लो अनुभव कता हराउँछ कता । हामी कुनै कुरा नबुझीकनै अन्सारमै सबैकुरा ईश्वरको थाप्लोमा हालिदिन्छौँ । यही बानीले हाम्रो समाज आजसम्म पनि अन्धो जस्तो बनी नबुझीकनै रहनु परेको छ र हामी अरूले डोहो¥याएको भरमा हिँडिरहेका छौँ । यो त अब बिसौँ शताब्दीको वैज्ञानिक युग हो । अब हामीले पनि जानेर र बुझेर काम गर्नुपर्छ । अब फेरि तिमी भनौली त्यो बेलाको कुरा अहिले तपाईँले भन्नुभयो भन्दैमा कसरी पत्याउनु र । हो ! तिमीलाई पत्यार नलाग्ला, तर यो त इतिहासका तथ्यहरूले नै साबित गरिसकेको छ, मैले कुनै हावामा गोलि चलाएको होइन । संसारका मानिसहरूले जसले संसारका बारेमा धेरै जाँचीबुझी अनुसन्धान गरी पत्ता लगाएपछि निर्णय गरेको कुरा हो र आज सबैजसोले यो कुरा मानेका छन् । यो कुरा मान्नु नै पर्ने ठम्याएर मानेका हुन् । बास्तविकतालाई कसैले छोपेर छोप्न सक्दैन । तिमीले ती कुराहरू नमाने तापनि तिमी हिन्दू धर्म मान्ने भएकीले हिन्दू धर्मशास्त्रलाई त पत्याउली । यसबाट नै म तिमीलाई बुझाउने कोसिस गर्दछु । पहिलेदेखि नै बन्दै आएका हिन्न्दू धर्मशास्त्रहरू नै पछि एकदम फरकफरक हुँदै आएका छन् । यसको मतलब हो समाजको गतिविधि अनुसार शास्त्र रचिँदै आएका रहेछन् । वेदका कुराहरू उपनिषद्मा मिल्दैनन्, उपनिषद्का स्मृतिमा मिल्दैनन् । वैदिक काल एउटा मातृसत्ताको युग हो यसमा सबै सामूहिक रूपमा कुलसँगको सम्बन्धमा थिए । यसैताका श्रुतिको रचना भएको र बिस्तार बिस्तार परिवर्तन हुँदै मातृसत्ताको अन्त्य र पितृसत्ताको उदय हुने सङ्क्रमणकाल आउँछ र मातृसत्ता र पित्रृसत्ताबीच द्वन्द्व हुन्छ । यसैकालमा उपनिषद्को रचना भयो र आखिरमा पितृसत्ताले विजय पाएपछि समाजमा पहिलेका सामूहिक सङ्गठनात्मक व्यवस्था नाश भई दास युग आयो । यही दासयुगमा विभिन्न ऋषिमुनिहरूले स्मृतिको रचना गरे । यस्ता पुराना श्रुति र उपनिषद्का कुराहरू प्रयोगमा नआई विधिको रूपमा मात्र आउँछन् । त्यसैले धर्म भनेको पुरानो एउटा सामाजिक नियम हो । अझ सोचविचार गरी भनौं भने शोषक वर्गको स्वार्थलाई रक्षा गर्ने एउटा बलियो गढ हो र तिनीहरूकै स्वार्थलाई रक्षा गर्दै आएको कानुन हो ।
तिमी हाम्रा पुरेत र पण्डित बाजेहरूका मात्र कुरा नसुनेर चारैतिर नियालेर हेरेर विचार गर त ! यदि तीन त्रिलोक चौध भुवन (यो काल्पनिक हो, जुन अहिले मिल्दैन) का मालिक ईश्वर, ब्रम्हा, विष्णु, महेश्वर हुन्, उनले नै सबै सृष्टि, स्थिति र संहार गरेका हुन्, उनले नै धर्म र पापको फैसला गर्ने भएको भए के आज संसारमा एकै किसिमका धर्म छन् त ? किन देश अनुसारको धर्म फरकफरक मिल्दै नमिल्ने भएको हो ? संसारका धेरैजसो मानिसहरूले ब्रम्हा, विष्णु, महेश्वर भन्ने नाम नै सुनेका छैनन् । कोही मूर्ति पूजा गर्नु नै धर्मको मूल उद्देश्य मान्दछन् भने कोही मूर्तिपूजाको भयङ्कर विरोधी छन् । कोही कुनै चिजलाई मान्दछन् भने कोही कुनै चिजलाई मान्दछन्, कसैको ईश्वरको धर्मको बारे एउटा भनाइ छ अर्काको ईश्वरको भनाइ बेग्लै छ । यदि संसारमा ईश्वरले पनि आफ्नो साम्राज्य कायम गरेको हो त ? तसर्थ तिमीले अझ घोरिएर विचार गरी हेर त ! धर्म र ईश्वर भनेको मानिसको समाजले बनाएको हो कि होइन ? आफ्नो सामाजिक रीतिस्थिति, चालचलन अनुसार आफ्नाआफ्ना विचारबाट उत्पन्न भएको चिज हो कि होइन रहेछ ? हिन्दू आर्यहरूले सबैभन्दा पहिले प्रकृति र शक्तिलाई ईश्वर भन्ने मान्यता दिए, किनभने त्यस बेला विज्ञानको उन्नति भएको थिएन, प्रकृतिको भीषण प्रहार देखेर त्यसभित्र कुनै अज्ञात वस्तु छ, जुन ईश्वर हो भनी कल्पना गरे । अझ सबैभन्दा पहिले इन्द्रलाई सबैभन्दा शक्तिशाली मान्दथे र उनको नै पूजा धेरै हुन्थ्यो । जति कुरा शास्त्रमा लेखिएका छन,् ती सबै घटना यही पृथ्वीमा घटेका हुन् र त्यसलाई विशेष बढाईचढाई गरेर लेखे । देवता भन्ने जाति यस्तो सुरपुर भन्ने ठाउँमा रहन्थ्यो र राज्य विस्तार गर्नका लागि दैत्यदानव भन्ने जातिहरूसँग लडाइँ भइरहन्थ्यो । त्यसमध्येका राजा इन्द्र बढो धूर्त, चलाख, कुटनीतिज्ञ र बलवान थिए र उनको शक्तिको अगाडि सबै झुक्नु प¥यो । वैदिक साहित्यमा सबैभन्दा धेरै मन्त्र इन्द्रको बारेमा पाइन्छ । ऋग्वेद जुन वेदमध्ये सबैभन्दा पुरानो वेद हो, त्यसमा १०४६७ मन्त्र छन् यसमा साढे तीन हजार मन्त्र इन्द्रको बारेमा लेखिएका छन् । यी सबै मन्त्रहरू, उपनिषद्हरू र अरू धार्मिक पुस्तक पढ्यौँ भने इन्द्रको चरित्रबारे थाहा पाउन सक्छौँ । ऋग्वेद लेख्ने व्यक्तिहरू पूर्ण रूपले इन्द्रका भक्त थिए । त्यसैले उनीहरूले इन्द्रका बारेमा बढाईचढाई लेखेका छन् । तैपनि सत्य कुरा छोप्न सकिँदैन । इन्द्रको भ्रष्ट चरित्रबारे हामीले धेरै कथाहरूमा पाउँछौँ ।
इन्द्रको जन्मका बारेमा ऋग्वेदमा धेरै प्रमाणहरू पाइन्छन् । इन्द्रको धर्मका बारे ऋग्वेदमा धेरै प्रमाणहरू पाइन्छन् । आर्यहरूको महापुरुष इन्द्रको जतिसुकै महिमा गाइए पनि उनी काल्पनिक देवता थिए । (ऋग्वेद २।३० सु. मन्त्र २,३–४८–२, ४–१८–४, १०–७३–१) पुरुष सूक्त –ऋग्वेद १०–९०–१३) मा लेखिएको छ ः इन्द्र अग्निसँगै पुरुषको मुखबाट जन्मिएको हो । ऋग्वेद ६–५९–२ को मन्त्रमा इन्द्र र अग्निलाई जुम्ल्याहा दाजुभाइ भनिएको छ ।
तिमीले फेरि अग्नि र इन्द्र मुखबाट जन्मिएको भनी विश्वास मान्लेउ, त्यसो होइन । एकातिर मनुष्यका रूपमा इन्द्र शक्तिशाली भएर निस्क्यो भने अर्कातिर अग्निको प्रयोग गर्न जानेकाले आर्य समाजले चाँडै नै आफ्नो विरोधी शक्तिलाई दबाउन सफल हुँदै थियो र क्रमशः विकास गर्दै आयो । त्यसैले इन्द्र र अग्निलाई जम्ल्याहा दाजुभाइ भनी कल्पना गरिदिए । फेरि तिमी अचम्म मान्लेउ । इन्द्र मनुष्यबाट जन्मिएको भए दुईतीन हजार वर्षसम्म कसरी बाँच्न सक्यो होला ? त्यसो होइन । त्यो सिंहासनको पदवी लिएर बसेकालाई पनि इन्द्र भन्दथे र इन्द्र भन्दैमा सबै इन्द्र एउटै होइनन् । त्यस्तै वर्षातले ल्याएको बाढीदेखि भयभीत भएर पानीलाई बरुण भनी पानीको राजा बरुणलाई मान्न थाले । त्यसरी नै प्रत्येक देखापरेको शक्तिहरूलाई ईश्वरीय नामकरण गर्र्दै गए– प्राकृतिक र मानसिक दुवैलाई । त्यसपछि विभिन्न देवताहरूको कल्पना गर्दै जाँदा यी सबैलाई छाडेर ब्रम्हा, विष्णु, महेश्वरलाई सबै शक्ति सुम्पिदिए । आज हुँदाहुँदा तेत्तिस कोटी देवता पु¥याइसकेका छन् । यी अदृष्य शक्तिलाई अपौरुषेय शक्तिको रूपमा ईश्वर मान्ने भएकाले हाम्रो समाजले बाटाका चिल्ला ढुङ्गालाई समेत देवता मान्दै टाउको निहु¥याउँदै हिँड्न थाले र जहाँ पनि देवता स्थापना गरे । त्यसै ठाउँको नामबाट नै देवताको नामकरण गर्दैगए । आज साँच्चै हिसाब गर्ने हो भने तेत्तिस कोटी त के एक अर्बभन्दा पनि बढी देवताको सृष्टि यो समाजले गरिसक्यो होला । जतिजति धर्ममा विकृति बढ्दै गयो त्यतित्यति समाजमा पनि विकृति बढ्दैगयो । त्यसैले धर्मले जटिल रूप लिँदैगयो ।
हाम्रो हिन्दू शास्त्र हेर्ने हो भने खालि सङ्घर्ष, झगडा र खुनखराबीले नै भरिएको छ । वर्गसङ्घर्षले गर्दा एकले अर्कालाई घृणाको दृष्टिले हेर्ने गरेकाले नै हिन्दूहरूमा कुनै एकता नभएकोले त्यत्रो हिन्दूस्तान सयौँ वर्षसम्म परतन्त्रमा जकडिएर बस्नुप¥यो । त्यसैले घृणा नै यो धर्मको नीति हो । हजारौँ वर्षदेखि यो धर्मले मानिसहरूलाई एकदमै निसास्सिएर बस्नुपर्ने अवस्था पारिदियो । ल, हेर त ! धर्मको नातामा युधिष्ठिरले जुवा खेलेर राजपाठ हारेर आप्mनी प्यारी द्रौपदीको कत्रो बेइज्जत गराए र आप्mना भाइहरूलाई दास बनाए । त्यहाँ कस्ता कस्ता धर्मका महान् विभूतिहरू थिए । तिनीहरूले धर्मको विरोध हुन्छ भनेर औंला ठड्याउनु त के चुँ सम्म बोल्न सकेनन् । फेरि धर्मकै नाताले द्रौपदीले ५ वटा लोग्नेलाई सकारेर बस्नुप¥यो । त्यही धर्मले रामले वनवास जानुप¥यो । त्यही धर्मको महान् उपदेशले महाभारतको सङ्ग्राममा आफ्ना दाजु, भाइ, साला, भिना, काका, भतिजा र गुरुजनहरू समेत कयौँको नरसंहार भयो । हरिश्चन्द्रले राजपाठ छाडेर स्वास्नीलाई बेच्न र आपूm पनि बेचिनुप¥यो । यही धर्मको महान् उपदेशले आज कयौँ नारीहरू विधवा बनेर आँसुको भलमा डुब्नु परेको छ । धर्मको कारणले मरेका लोग्नेको नाममा बलजप्mती स्वास्नीलाई बाँधछाँध गरी कैयौँ नारीहरूलाई सती प्रथाको नाममा अग्निमा होमियो । धर्मको कारणले नै करोडौं मानिसलाई अछुत गराई कुकुरभन्दा पनि घृणित बनाइएको छ र त्यही धर्मैको कारणले कुकर्मी, ढोँगीलाई पुजनीय बनाइएको छ । यही धर्मको नसामा गरिब शोषित वर्गलाई अन्धकारमा राखी शोषित गराइएको छ । यसैको नसामा लागेर हिन्दू र मुसलमानहरू एक अर्काका दुस्मन बनी निरपराध मानिसको संहार गरिरहेका छन् ।
यो झुटो धर्मको भाउ धेरै माथि चढेर ओर्लँदै गइरहेछ । रोमका पोपले मर्ने मानिसको पाप नास गरी स्वर्ग पठाउने भनेर स्वर्गको नाममा स्वास्नीसम्म दान लिन्थे । काशी र प्रयागमा मानिसहरू आत्महत्या गर्नु धर्म सम्झन्थे । आजकल भने धर्मको हाँगाबिगा भाँचिदै गइरहेको छ ।
प्रिय रुकू † धर्मको बारेमा यस्ता कुराहरू सुन्दा तिमीलाई चसक्क बिझेको पनि हुनसक्छ । तिमी सम्झ त, धर्मलाई कर्तव्यबाट धेरै टाढा फालेर, हुँदाहुँदा मन्दिरको देवताको अगाडि एक पैसा फिन्द्रिङ्ग फाल्दैमा धर्म हुने, नदीमा एक डुबुल्की लगाउँदैमा धर्म हुने । थोत्रो र आपूmले लगाउन नहुने कपडा दान गरे धर्म हुने, पिपलको रुखवरिपरि दुईचार चोटि घुमे धर्म हुने, तुलसीको एउटा पात चपाएमा स्वर्गको ढोका खुल्ने, गाईको गहुँत खाएमा धर्म हुने, निधारमा तीन धर्के अथवा १११ कोरेको साइन बोर्ड टाँस्यो भने धर्म हुने, बाटो हिँड्दा हिँड्दै सिन्दुर लगाएको ढुङ्गालाई टाउको निहु¥यायो भने धर्म हुने भनेर धर्म नै समाजमा भारी भएर विकृतिको रूपमा गइसक्यो । अब यसरी धर्म पाइने भएपछि पाप कसले नगर्ने ? पास गर्नासाथ झट्ट यी सस्ता धर्महरूले काटिदिइ हाल्छ नि । अब त्यही धर्मको नाताले नै यसरी अर्कालाई मा¥यो भने पाप हुन्छ, दुःख दियो भने पाप हुन्छ, अर्काको पसिना खायो भने पाप हुन्छ, झुटा कुरामा अर्कालाई दुःख दियो भने पाप हुन्छ भन्ने कुराहरूलाई चाहिँ बुझेर पनि पखालिएको छ ।
पहिलापहिला राजामहाराजाहरूका ठूलाठूला अश्वमेध, राजसुय यज्ञहरू हुन्थे । त्यसमा बलिया राजाले निर्धा राजालाई दबाउँथ्यो । पुरेतले राजालाई जता मनलाग्यो त्यतै नचाउँथे । सर्वसाधारण मानिसहरू उनीहरूको दास हुन्थे । मानिसहरू अन्धाझैँ थिए, बहिरा थिए, धर्मका महाजालको पछाडि भेडा झैँ हिँड्दथे ।
हामीलाई धर्मको बारेमा ज्यादा जेलिनु पर्ने कुनै आवश्यकता छैन । मुख्यतः कर्तव्य र अकर्तव्य नै धर्म हो भनेर साधारण मानिसले पनि बुझेका छन् । धर्म र पाप भन्ने कुरा मानव मात्रमा विदित भएको कुरा हो । विश्वका कुनै पनि मानिस धर्म र पापका बारेमा अज्ञात छैनन् । धर्म सम्प्रदायमा जति विभिन्नता देखिए तापनि मोटामोटी रूपमा अर्काको श्रम शोषण नगर्ने र राम्रो कामलाई धर्म र खराब कामलाई पाप भन्ने कुरामा विश्वका मानिस एक छन् भन्ने कुरामा शङ्कै छैन । तर, कुन कुरा खराब र कुन कुरा असल भन्ने कुरामा भने विभिन्न धर्म सम्प्रदायका आफ्नाआफ्ना छुट्टै मत छन् । एउटा धार्मिक सम्प्रदायले असल धर्म भनेको कुरा अर्को धर्म सम्प्रदायलाई पाप हुने गर्छ । कोही खरानी घसेर धुमधुमती बसेर पाताल खेल्छन् भने कोही आकासतीर मुन्टो फर्काएर स्वर्गको भगवानलाई चिच्याएर पुकार गर्दछन् । कोही निर्धा पशुको रगतलाई बहादुरीपूर्वक छ्यालब्याल पारेर स्वर्गतिर जाने पुकार गर्दछन् । धर्मको यो विभिन्नताले गर्दा बुझिन्छ, धर्म भन्ने वस्तु विभिन्न समाजको आप्mनो समाजमा उठेको विरोधी तत्वलाई दमन गर्ने र त्यसलाई साम्य पार्ने एउटा यन्त्र हो । समाजका सबै धर्मावलम्बीहरूले आफ्नो धर्मलाई नै सर्वोपरि मानेका छन् र आफ्नो धर्म प्रचार गर्नमा नै जोड दिएका छन् । यी धर्महरूमा ठूलाठूला राजनीतिक रहस्य लुकेका हुन्छन् । धर्मको नामले मुट््ठीभर वर्गलाई फाइदा दिएको छ भने बहुसङ्ख्यक शोषितपीडित जनताका गला रेटिरहेको छ । धर्म प्रचार गर्दा लाखौँ व्यक्तिहरूको नृशंस हत्या भएको कुरा इतिहासका पानाहरूमा चाङ लागेर बसेका छन् । हामीले कर्तव्य नै धर्म हो र अकर्तव्य पाप हो भन्ने कुरा त बुझिसकेका छौँ । कर्तव्य आफ्नो स्वार्थमा मात्र हितकर हुँदैन । यो परस्वार्थसँग पनि जोडिएको हुन्छ । त्यसैले ‘बहुजन हितायः बहुजन सुखायः’ ले नै कर्तव्यलाई छुट्याउँछ ।
हामीले धर्मका बारेमा नअलमलिइकन सोच्नु पर्छ । तिमीलाई त चित्त बुझ्दैन होला । यो त ऐतिहासिक तथ्यसित गाँसिएको कुरा हो । हत्तपत्त मानिसले नबुझ्न सक्छ । तर बुझेन भनेर चट्ट छाडिदिनु हुँदैन । वर्षौंदेखि खिया लगेको भाँडालाई एक पटक यसो लस्याङलुसुङ तालले माझ्दैमा सफा हुँदैन, त्यसलाई खसो लुँडोले माझिरहनु पर्छ, आखिरमा त्यो टल्किएरै छाड्छ । त्यस्तै हाम्रो रुढिवादी समाजमा उहिलेदेखिका पुराना मैला विचारधाराले भरिएका मथिङ्गल विस्तार विस्तार मात्र साफ हुँदै जान्छन् । म त ठोकुवा गरेर भन्छु, साँचो धर्म त्यो हो, जसबाट मानिसको मानिसप्रति उत्तरदायित्व निर्वाह हुन्छ । धर्म त्यो हो, जहाँ मानिसहरूले जति सक्यो आफूलाई स्वच्छ राखेर लोकोपकार गर्न सकोस् । यसका साथै शोषणविहीन समाज निर्माण गरेर मानिसले स्वतन्त्रता र भाइचाराको सम्बन्ध कायम गराउन खोजेको होस् । तिमीलाई अझ म भन्दछु, दया धर्म हो, सेवा धर्म हो, उत्साह र उदारता धर्म हो । सङ्क्षेपमा भन्दा धर्म त्यो हो, जसले प्रकाश र जीवन दिन्छ । मानवीय कर्तव्य नै धर्म हो ।
तिमीलाई यति लामो चिठी पढ्दापढ्दै पट्टाइ पनि लाग्यो होला र तिम्रो मनमा गढेको भए पट्टाइ नलागेर जिज्ञासा जाग्यो होला । यसलाई धैर्यसँग पढीदिए म तिम्रो ठूलोे गुन मान्नेछु । तिमीले यो चिठी पढ्दा अझ गाउँका भाइ–बहिनीलाई समेत अगाडि राखेर पढिदियौ भने तिमीले पनि देश र समाजको ठूलोे हित गर्न खोजेको हुनेछ ।
तिमीलाई मेरोे यस्तो गन्थने चिठी मन परेको भए, अरू कुरा पनि जान्ने इच्छा भए तिमीलाई चिठी लेख्न मेरा यी हातले समातेको यो कलम कहिल्यै पछि पार्ने छैन । मेरो मात्र एकोहोरो चिठी हैन तिम्रो मनका भावनाहरू ओकल्दै मलाई केही मसला दिन्छौ कि भन्दै यो पत्र यहीँ टुङ्ग्याउँछु ।
तिमीलाई माया गर्ने मायालु






























