काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दुई हजार नाघ्यो

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दुई हजार नाघ्यो

भदौ १ काठमाडौं,
कोभिड–१९ को सङ्क्रमण बढदै गएपछि उपत्यकामा पनि सङ्क्रमित बढेका छन । अहिलेसम्म उपत्यकामा दुई हजार १३४ जना सङ्क्रमित पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिएका छन । उपत्यकामा बन्दाबन्दी खुलेपछि सङ्क्रमित बढ्न थालेका हुन ।
डा समिरकुमार अधिकारीकाअनुसार अहिलेसम्म काठमाडौँ जिल्लामा एक हजार ७०५, भक्तपुरमा १४७ र ललितपुरमा २८२ जना रहेका छन । यस्तै उपत्यकामा १० जनाको कोभिड–१९ को कारणले मृत्यु भइसकेको छ । यसरी मृत्यु हुनेमा नौ जना काठमाडौँ र एक जना ललितपुरका रहेका छन ।
यस्तै २४१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन । काठमाडौँ जिल्लामा १६२, भक्तपुरमा ३५ र ललितपुरमा ४४ जना निको भएर घर फर्किएका छन । आज मात्र उपत्यकामा १६८ जना सङ्क्रमित फेला परेका छन । काठमाडौँमा १३९ जना, ललितपुरमा १५ र भक्तपुरमा १४ जना रहेका छन ।
उपत्यकामा अहिलेसम्म सक्रिय सङ्क्रमित एक हजार ८८३ जना रहेका छन । काठमाडौँ जिल्लामा एक हजार ५३४, भक्तपुरमा ११२ र ललितपुरमा २३७ जना सक्रिय सङ्क्रमित रहेका छन । नेपालमा २७ हजार २४१ सङ्क्रमित, १७ हजार ४९५ निको भएका, १०७ जना सङ्क्रमणले गर्दा मृत्यु भएका र नौ हजार ६३९ सक्रिय सङ्क्रमित रहेका छन ।