कमरेड रामवृक्षको स्मृतिमा

कमरेड रामवृक्षको स्मृतिमा

भाद्र २ गते, कमरेड रामवृक्ष यादवको स्मृति दिवस । एउटा ठूलो राजनैतिक षडयन्त्रकारी योजनामा ०५१ साल भाद्र २ गते उनको जन्मगाउँ धनुषा जिल्लाका बरमझियामै तत्कालीन प्रशासन र तत्कालीन शासक वर्गको मिलोमतोमा नेपाली काँग्रेसका स्थानीय भिजिलान्तेहरु र भाडाका पेशेवर हत्याराहरुले संयुक्तरुपमा उनको निर्मम हत्या गरिदिए । रामवृक्ष यादव तत्कालीन नेकपा (एकताकेन्द्र)का तथा यस पार्टीको राजनीतिक मोर्चा संयुक्त जनमोर्चा दुबैका केन्द्रिय सदस्य थिए । विशेषतः धनुषा र सिरहा जिल्लामा उनको बढदो लोकप्रियताको कारण यस भेगका भ्रष्ट राजनैतिक लबी तथा जमिन्दारवर्गमा एउटा भय व्याप्त थियो । अर्कोतिर देशमा माओवादीहरुको बढदो गतिविधिको कारण प्रशासन समेत त्रसित बन्दै थियो । उनको हत्या यिनै परिस्थितिको परिणाम हो । यस हत्यामा प्रशासन र जमिन्दारवर्गका साथै नेपाली काँग्रेसका केन्द्रिय नेताहरु समेत सामेल रहेको कुरा माओवादीहरुले शुरुदेखि आरोपित गर्दै आएको हो । अझ उनको स्थानीय कार्यकर्ताको प्रत्यक्ष संलग्नता त ति अभियुक्तहरुले सजाय भोगिरहेकै बाट प्रष्ट छ । यस हत्याको आरोपको केही छिँटा त तत्कालीन एमालेको स्थानीय नेताहरुप्रति पनि माओवादीहरुले लगाएका थिए ।
उनको हत्यापछि त्यस भेगका दसौँ हज्जार गरीब जनता जसरी बरमझियामा उनको निम्ति रोएका थिए, उग्रभएर प्रहरी चौकी घेरेका थिए र उनको अन्त्येष्टिमा सामेल भएका थिए, त्यसले उनको लोकप्रियताको उँचाई प्रदर्शित गरेको थियो । उनको निधनमा राष्ट्रिय अन्तर्राष्ट्रिय कम्युनिस्ट समुदायबाट सम्वेदना र प्रतिक्रियाहरु जसरी व्यक्त भए, त्यसले उनको राजनैतिक व्यक्तित्वको राष्ट्रिय–अन्तर्राष्ट्रिय उँचाई अभिव्यक्त भएको थियो ।
आफ्नो राजनैतिक जीवनको शुरुआतदेखि नै गरिब र सर्वहारावर्ग तथा उत्पीडित समुदायको निम्ति संघर्ष गर्दै आएका कमरेड रामवृक्षले बोनी आन्दोलन तथा अनेकौँ भूमि आन्दोलनको नेतृत्व गरेका थिए । यसैकारण शासक वर्ग तथा तत्कालीन जमिन्दार तथा भूस्वामीहरुको षडयन्त्रमा परेर अनेकौँ मुद्धा त झेल्नुका साथै अनेकौ पटक जेल समेत परेका थिए । यो कम्युनिस्ट क्रान्तिकारीपना थियो कि ०४६ सालमा बहुदल आएपछि अरु राजनैतिक नेताहरु जेलमुक्त भएपनि उनको रिहाई एकवर्ष पछि भयो र त्योपनि अनेक दबाब र जुक्ति लगाएपछि मात्र । यस अर्थमा उनको हत्या पञ्चायतकालमा शासकवर्गले व्यवस्थाविरोधी राजनीतिक नेताहरुको गरिने हत्याभन्दा भिन्न थिएन । उनि आफ्नो राजनीतिक आस्था तथा सर्वहारवर्गीय प्रेमको कारण शहीद भए ।
संयुक्त जनमोर्चाले ०५१ साल भाद्र २ गते नेपाल बन्दको कार्यक्रम राखेको थियो । यसै कार्यक्रमको सिलसिलामा जनकपुर बन्द सफल पारेर उनि बस चढेर फर्कँदै थिए र गाउँभन्दा बाहिर मकैबारीमा ढुकेर बसेका हत्यारा समूहले उनको निर्ममतापूर्वक हत्या गरेका थिए ।
त्यतिबेला माओवादीहरु दसवर्षे जनयुद्धको तयारीको क्रममा थिए । भनिन्छ, ०५२ फागुन १ गतेदेखि माओवादीहरुले जनयुद्ध शुरु गर्नुमा कमरेड रामवृक्षको हत्याको आवेगपनि सामेल थियो । जनयुद्धभरि कमरेड रामवृक्ष एउटा आवेगमय क्रान्तिकारी चेतनाको रुपमा देशैभरि प्रेरणा प्रदान गरिरहे । देशैभरि माओवादीहरुले उनको शहादत स्मृति दिवस एउटा क्रान्तिकारी परम्पराको रुपमा मनाउने गरेका थिए । तराई मधेशमा त उनी सर्वोच्च क्रान्तिकारी नेता थिए । जनयुद्धकालमा उनको हत्याभएको स्थलमा माओवादीहरु तत्कालीन प्रशासनको आँखा छलेर कुनै न कुनै किसिमले फूल, माला र पार्टीको झण्डा फहराउँथे । जन जनमा लोकप्रिय जननेता प्रति यो क्रान्तिकारी समर्पण थियो, जस्को निम्ति तत्कालीन माओवादीहरु हमेसा तयार रहन्थे । यस प्रकार कमरेड रामवृक्ष यादव क्रान्तिकारी प्रेरणाका अजस्र स्रोतमा परिणत भइसकेका थिए ।
०६३ सालमा माओवादीहरु शान्तिप्रक्रियामा आएपछि भाद्र २ गते बर्मझियामा उनको शहादतस्थलमा विशाल जनताको उपस्थिति एउटा परम्परा जस्तै भएको हो । अब त माओवादीहरुपनि सत्तामा सामेल छन् । माओवादीका ठूला नेताहरु उनको स्मृतिदिवसमा सामेल हुनुपनि एउटा परम्पराजस्तै भएको छ ।
बर्मझियामा सरकारी बजेटबाट कमरेड रामवृक्ष यादव, जनयुद्धमा शहादत दिने उनको एकमात्र छोरा कमरेड शेखर र एउटा दुर्घटनामा मृत्यु भएकी उनकी श्रीमति तथा लोकप्रिय नेतृ रामकुमारी यादवको प्रतिमा सहितको विशाल द्वारपनि निर्माण गरिएको छ । तर समयसंगै, क्रान्तिकारी भावना तथा सैद्धान्तिकताको दृष्टिले धेरै कुरा फेरिएको छ । कमरेड रामवृक्ष यादवको स्मृतिदिवस एउटा मेलाको रुपमा फेरिँदै गएको छ । एउटा राजनीतिक मेला जस्मा उनिप्रति आदरभाव राख्ने गरीब समुदाय पुग्नैपर्ने भावबोध सहित उपस्थिति हुन्छ भने राजनैतिक लाभ र हानिको हिसाब गरेर राजनेतिक नेताहरुपनि उपस्थित हुनेगर्छन् ।
विगतका वर्षहरुमा धेरैकुरा फेरिएका छन् । माओवादीहरु कयौँ टुक्रामा विभाजित भएका छन् । क्रान्तिकारी माओवादी र विप्लव नेतृत्वका कम्युनिस्ट पार्टीहरु अहिलेपनि संसदबाहिर सडकमै छन् र प्रचण्ड सहितको ठूलो हिस्सा संसदिय राजनीतिमा घरजम गरेर कानूनीरुपमै नयाँ पार्र्टीमा रुपान्तरित भएका छन् — नेकपा (नेकपा) । माओवादले सैद्धान्तिक लक्ष्यको रुपमा उद्घोष गरेको नयााजनवादी क्रान्ति अब बहसबाट समेत ओझेलमा परेको छ र क्रान्तिकारी माओवादी (किरण नेतृत्व) बाहेक प्रायः सबै माओवादी समूहहरु माओवादमा परिमार्जनको नाममा माओवादीभन्दा भिन्न नयाँ दिशाको खोजीमा छन् । यद्यपि क्रान्तिकारी माओवादीका पनि आफ्नै समस्याहरु छन् ।
बदलिँदो परिस्थितिमा कुनैपनि क्रान्तिकारी विचार र दिशामा देश, काल र परिस्थिति अनुकूल परिमार्जन वा नयाँ विकासको आवश्यकता स्वाभाविक नै हो । तर जब यी परिमार्जन र विकास लक्षित वर्ग वा समुदायभन्दा भिन्न वा विपरीत वर्गको निम्ति हितकर हुनथाल्छ ; लक्षित वर्ग र समुदाय उपेक्षित र बहिष्कृत हुनथाल्छन् , यो कि त विसर्जन, कि त पलायनको विचार हुन्छ । अहिले यस्तै देखिएको छ । माओवादी विचारमा विविध परिमार्जन वा संशोधन देखिएपनि माओवादीहरुले प्रतिबद्धता व्यक्त गरेको वर्ग र समुदाय उपेक्षित र बहिष्कृत देखिएकाछन् । संसदीय राजनीतिमा कम्युनिस्टहरुले प्रतिबद्धता व्यक्त गरेको किसान, मजदूर र उत्पीडित वर्ग र ऐतिहासिकरुपमा शासकवर्ग र जातिबाट पछाडी पारिएका राष्ट्रियता तथा जातिय समुदायहरु अझै उपेक्षित छन् । एक थान गणतन्त्र र सत्तामा पुगेको कम्युनिस्ट पार्टीको कुर्सी बचाउनुलाई नै नेपाली कम्युनिस्ट आन्दोलनको एकल कार्यभार घोषित गरेर सत्ताधारीहरुले आफ्ना सबै कमजोरीहरु लुकाउन खोजी रहेका छन् ।
बरमझियामा कमरेड रामवृक्षको स्मृतिसभामा हजारौँको भीड अहिलेपनि जुट्ने गर्छ । राता झण्डाहरु र राता तूलहरु अहिलेपनि झुण्डिने गर्छन् । घनघोर गर्जनसहित नेताहरुको भाषणपनि हुन्छ । तर यस कार्यक्रममा सामेल आमजनसमुदायमा त्यस विश्वासको कमी देखिन्छ, जुन विगत वा जनयुद्धकालमा उत्पीडित वर्ग र समुदायमा देखिने ग¥थ्यो । कुनैबेला कमरेड रामवृक्षको कार्यक्रममा भागलिन आउने नेता होस वा कार्यकर्ता वा जनसमुदाय, सबैमा गरीब जनता र श्रमिक समुदायमाथी दमन र भेदभाव गर्ने शासक र शोषक वर्गप्रति घोर घृणा र क्रान्तिकारीप्रति एउटा विश्वासपूर्ण उत्साह देखिने गथ्र्यो । तर संसदीय राजनीतिले सैद्धान्तिक सूत्र नै बदलिदिएको छ । अब राजनीतिमा कोहीपनि स्थायी शत्रू हुँदैनन् । परिणाम कुनैबेलाका दुई विपरीत विचारका कम्युनिस्टपार्टीहरु एउटै पार्टीमा अँटाएका छन् । कुनैबेला एक अर्कामाथी लगाएका आरोपहरुको कुनै सैद्धान्ति स्पष्टिकरण नदिइकनै दुबै पार्टीका नेताहरु एउटै मञ्चमा बसेका देखिन्छन् । यसबारेमा सफाई दिनसम्म आवश्यक ठानेका छैनन् । मानौ राजनीतिपनि केटाकेटीको खेल जस्तो हो, मनलाग्यो बालुवाको घर बनायो, मनलाग्यो लात हानेर भत्काइदियो । तर राजनीतिमा यस्तो हुँदैन । तपाँईले भनेका कुराहरु सहीरुपमा निरुपण नहुँदा सम्म पटक पटक उठी रहन्छन् । अब कस्ले जवाफ दिने ? कुनैबेला एमालेले माओवादी जनयुद्धलाई आतंकवादी र आपराधिक कार्य भनेको थियो । अहिलेपनि सरकारी नेकपाभित्रका एमाले घटकका कयौँ नेताहरुमा यो प्रवृत्ति देखिएको छ । अर्कोतर्फ माओवादीले एमालेमाथी संशोधनवादी तथा प्रतिक्रियावादउन्मुखताको आरोप लगाएको थियो । सरकारी नेकपामा अहिले अध्यक्ष प्रचण्डसंग मिलेर अर्का अध्यक्ष केपी ओली विरुद्ध एउटा गूट बनाएका माधवनेपालमाथी कुनैबेला माओवादीहरुले रायमाझी प्रवृत्ति अर्थात राजापरस्त धोकेबाजको आरोप लगाएका थिए । जनयुद्धको शुरुकालमा एकपटक तत्कालीन माओवादीका महामन्त्री प्रचण्डले छलफलको निम्ति माधवनेपाललाई सिलीगुडीमा भेट्न बोलाएका थिए । भेटेर फर्केपछि माधवनेपालले माओवादीपार्टीका योजनाहरु राजदरबारमा खोलेको भनेर माओवादीले उनिमाथी राजमाझी (केसरजङ्ग रायमाझी)को आरोप लगाएका थिए । हालको सरकारी नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्रीको पदमा विराजमान केपी ओलीले माओवादी जनयुद्धलाई हिंसात्मक आपराधिक कार्य भनेर पटक पटक विषवमन गर्दै आएको तथ्य प्रष्टै छ । माओवादी जनयुद्ध त धेरै फरक कुरा भयो, ओली त गणतन्त्रको पक्षमापनि थिएनन् । गणतन्त्रको आन्दोलनलाई उनले बयलगाडामा अमेरिकाको यात्रा भनेको भनाई प्रसिद्ध नै छ । एक अर्कामा लगाएका यस्ता कयौँ आरोपहरु जहाँका त्यहीँ छन् । तर अब त संसदीय राजनीतिमा अस्तित्वको दबाबमा सबै आरोप र सैद्धान्तिक प्रश्नहरुलाई एकातिर राखेर माओवादी र एमाले मिलेर एउटा नियमित संसदीय पार्टी नेकपा (नेकपा)मा परिणत भइसकेको छ ।
कमरेड रामवृक्ष यादव जीवनभरि प्रतिकृयावादसंगै संशोधनवादका विरुद्धपनि लडे । तर अहिले सत्ताधारी कम्युनिस्ट पार्टीको निम्ती कमरेड रामवृक्ष नयाँ जनवादी क्रान्ति, निर्बल मजदूर र किसानको निम्ति संघर्ष र क्रान्तिकारी एकता होइन, संसदमा भोट कसरी बढाउने भन्ने तथा वर्ग उत्थान भइसकेका कम्युनिस्ट नेताहरुलाई सत्तामा पु¥याउनका निम्ति आमजनसमुदायमा भावुक उत्तेजनाको प्रसार गर्ने माध्यममा परिणत भएका छन् ।
वि.स.२०३९–४० सालतिर तत्कालीन माले( पछि एमालेमा परिणत) संशोधनवादीबाटो अँगाल्दै थियो, कमरेड रामवृक्षले एउटा गीत लेखेका थिए — पहिरलन नवका चूडी साडी झपाली नौजवान । तत्कालीन माओवादीहरु (माओविचारधारा)ले यसलाई मिहीन पाराको संशोधन भनेको थियो । अहिले त्यस संशोधनवादको भास यति व्यापक र गहिरो भएको छ, जस्मा आरोप लगाउनेहरुकै ठूलो हिस्सासमेत जाकिएको छ । र अब उनिहरुले जनयुद्धको गौरवशाली इतिहास र शहीदहरुलाई आफ्नो अनुहार छोप्ने मकुन्डो बनाउँदैछन् । कमरेड रामवृक्ष यस नक्कलीपनप्रति हमेशा घृणा गर्थे र उनलाई स्वीकार्नुको अर्थ नयाँ जनवादी क्रान्ति, सर्वहारा अधिनायकत्व र वर्गसंघर्षमा सर्वहारा पक्षधरतालाई स्वीकार्नु हो । उनलाई श्रद्धान्जली दिनुको सार्थकता उत्पीडित वर्ग र समुदायको पक्षमा माओवादी आन्दोलनमा होमिनु मात्र हो ।
कमरेड रामवृक्ष उपेक्षित वर्ग र समुदायबीच अधिकारप्राप्ति तथा मुक्तिको क्रान्तिकारी प्रेरणाकै रुपमा सँधै जीवित रहने छन् । कमरेड रामवृक्षप्रति क्रान्तिकारी श्रद्धान्जली !