२०७७ असार २२
उपत्यकाको ऐतिहासिक महत्वको पुरानो ग्रामीण शहर खोकनाका किसानहरु आफ्नो खेतमा रोपाई गर्न गएको बेलामा यही असार २० गते उनीहरुमाथि लाठी र अश्रुग्याँस बर्षाएर दमन गर्ने सरकारको निन्दनीय रबैयाप्रति हामी चार किसान संगठन — अखिल नेपाल किसान महासंघ(अप्पो) अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान संघको गम्भीर ध्यानाकर्षण भएको छ । त्यहाँका किसानको ‘जमिन जोगाऔं, प्राचीन सभ्यता जोगाऔं’ भन्ने स्थानीय किसानको मागप्रति हाम्रो पूर्ण ऐक्यबद्धता र समर्थन छ ।
काठमाण्डौ—निजगढ द्रूत मार्ग बनाउने नाममा स्थानीय किसानको उर्बर जग्गा कब्जामा लिने, उनीहरुलाई उचित मुआब्जा नदिने र उनीहरुले आफ्नो खेतमा काम गर्न जाँदा यसरी सयौंको संख्यामा जनपथ र सशस्त्र प्रहरी भिडाएर दमन गर्ने सरकारको जति निन्दा गरे पनि कमै हुन्छ । किसानमाथि यस्ता दमनकारी घटना दोहोरिन नदिन हामी सरकारलाई सचेत गराउन चाहन्छौं ।
हामी चार किसान संगठन स्थानीय किसानको थात थलो र उब्जाउ जमिनबाट तर्काएर द्रूत मार्ग बनाउन र जग्गा अधिग्रहण गरिनु पर्ने भए स्थानीय किसानको सक्रिय सहभागीता, स्वीकृति र उनीहरुको रोहभरमा सरोकारवाला सबैको उपस्थितिमा उचित मुआब्जा दिएर मात्र उनीहरुको स्वामित्वको जग्गा द्रूत मार्ग निर्माणका लागि लिन जोडदार माग गर्दछौं । यस सन्दर्भमा उपत्यकाको अत्यन्तै उर्बर जमिन सरकारको गलत नीति र भूमाफियासँगको साँठगाँठले आज अनुपात्पादक बनेको र यहाँको प्राचीन सभ्यता, सँस्कृति र ऐतिहासिक महत्व नै खतरामा परेको कुरा समेत दर्शाउन चाहन्छौं र जग्गाको अनुचितरुपमा दुरुपयोग गर्ने यस्तो गलत नीतिको जोडदार बिरोध जनाउँदछौं ।
भैरबराज रेग्म सीताराम तामाङ्ग
अध्यक्ष अध्यक्ष
अखिल नेपाल किसान महासंघ(अप्पो) अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी )
लोकनारायाण सुबेदी कृष्ण राना
अध्यक्ष इञ्चार्ज
अखिल नेपाल किसान यूनियन आखिल नेपाल प्रगतिशील किसान संघ