‘नयाँ इजरायल’ निर्माणको पूर्वाभ्यास !

प्रकाशित मिति : २०७७ असार २४

- कुमार शाह


के नेपाल ‘नयाँ इजरायल’ बनाइँदै हो ? यो प्रश्न जति आश्चर्यलाग्दो छ,त्यत्तिकै गम्भीर पनि छ । नेपाल आफैमा एक स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न र कहिल्यै पनि उपनिवेश नभएको देश हो । तर यो एक्काइशौं शाताब्दीको पूर्वाद्र्धमा आइपुग्दा प्रत्यक्ष अमेरिकी फौजी उपनिवेश बनाइने दिशातिर डोर्याइएको छ । सत्तासीन शासकहरुले गरिरहेको धर्म परिवर्तन, त्यसको सार्वजनिक अभ्यास, स्थानीय स्तरमा व्यापक क्रिश्तानीकरण र अमेरिकी धार्मिक, राजनीतिक तथा फौजी रणनीतिको जबर्जस्त कार्यान्वयनको दबाब आदिले जनमानसमा उठेको यस प्रश्नलाई यथार्थमा परिणत गर्दै लगिरहेको छ । पहिले अरब क्षेत्रमा इजरायल भन्ने देश नै अस्तित्वमा थिएन । तर त्यो यस्तै आन्तरिक संकट र अमेरिकी पहलमा प्यालेष्टिनीहरुको सार्वभौमसत्ता खोसेर सन् १९४८ मा इजरायली नामाकरण गरिएको थियो ।

सन् १९४५ को डिसेम्बरमा दोस्रो विश्व युद्धको अन्त्यपछि अरबियन देशहरुमा रहेको अथाह तेल खानीमाथि एकलौटी लूट मच्चाउनका लागि अमेरिका लगायतका पश्चिमा देशहरु निकै लालायित थिए । यसका लागि यिनीहरुले दुईवटा रणनीतिको एकै साथ प्रयोगमा ल्याए ः पहिलो, खाडी देशहरुसँग वार्ता, मैत्री र सुलहको अध्याय अघि बढाउने र दोस्रो, तेल दोहन र बर्चस्वमा स्थायित्व ल्याउनका लागि इजरायलको स्थापना । यी दुई रणनीतिहरु एकआपसमा परिपूरकका रुपमा अघि बढाउँदै आजका दिनसम्म खाडी देशहरुमा अमेरिकालगायत पश्चिमा देशहरुले अकन्टक दोहन जारी राखे ।

एक्काइसौं शताब्दीको आजको समयमा आइपुग्दा एकातिर अमेरिकालगायत पश्चिमा पुँजीवादी देशहरु आन्तरिक रुपमा थोत्रो र बाह्यरुपमा हाउँगुजी मात्र बाँकी रहन गएका छन् । अर्कोतिर, एशियाका चीन, रुस, जापान र भारतजस्ता देशहरु आन्तरिक रुपमा सबल र बाह्य रुपमा बिस्तार हुँदै गएका छन् । पछिल्लो चरणमा आइपुग्दा कोरोनाको महामारीले विश्वका अतिमहाशक्ति भनिने अमेरिका र महाशक्तिका रुपमा रहेका युरोपीय पुँजीवादी देशहरुलाई खुला सडकमा नांगेझार पारेर उभ्याइदिएको छ । निर्विकल्प पुँजीवादको दुहाइ दिने ती देशहरुले न त महामारीबाट आक्रान्त जनताको उपचार र बचाउ गर्न सकेका छन्, न त आर्थिक रुपमा खस्कदै गैरहेको पुँजीवादी अर्थतन्त्रको रक्षा र बचाउ गर्न सकेका छन् ।

यस्तो अवस्थामा अमेरिका लगायत पश्चिमा पुँजीवादी देशहरुले उदाउँदै गरेको एशियामाथि नाकाबन्दीसहित प्रहार गरेमा आफ्नो जय हुने देख्न थालेका छन् । उनीहरुले इजरायलसँगै अरब देशहरुमा मच्चाइरहेको ब्रह्मलूटको अग्रमोर्चा दक्षिण एशियामा सार्न केही नयाँ रणनीति प्रयोगमा ल्याएका छन् । यसमा प्रथमतः, एशियाली राजनीतिक भौगोलिक नक्सामा सन् १९४५सम्म निकै ठूलो हेरफेर ल्याउने र दोस्रो, अमेरिकी फौजीक्याम्प दक्षिण एशियामा सार्ने आदि रहेका छन् । पहिलो रणनीति अन्तर्गत अमेरिकालगायत युरापेली महाशक्तिहरु चीन र भारतलाई फुटाएर दक्षिण एशियाको राजनीतिक तथा भैगोलिक नक्सामा परिवर्तन ल्याउन र आफ्नो अनुकूलको राज कायम गर्न चाहन्छन् । योखाले रणनीतिको सफतम् प्रयोगका लागि उनीहरुले नेपाललाई ‘नयाँ इजरायल’ मा रुपान्तरण गर्ने प्रयास अघि बढाएका छन् ।

यही रणनीतिअनुसार नेपालका शासकलाई उनीहरुले घुमाउने र नचाउने गरिरहेका छन् । नेपाललाई विवादमा ल्याउने र त्यहाँ मध्यस्थता र शान्ति स्थापनाका नाममा संयुक्त राष्ट्र संघको ध्यानाकर्षण गराउने तथा अमेरिकी सेनाको आश्रयस्थल निर्माण गर्ने तयारी गरिरहेका छन् । यसका लागि उनीहरुले नेपाल आफैमा भूरणनीतिक महत्वको नाका रहनु, सानो तर सार्वभौम राष्ट्र रहनु, फौजी रणनीतिक अभ्यासका हिसाबले हिमाल, पहाड र तराइको उपयुक्त बनोट हुनु, साहसी र निडर जनताको बसोबास हुनुलाई पहिलो र भरपर्दो आधारका रुपमा लिएको देखिन्छ । दोस्रो आधारका रुपमा चरम गरीबी, लाहुरे संस्कृतिको बोलवाला, अन्तर्राष्ट्रमा लडाकू जातिको पहिचान, फौजी श्रेष्ठता आदिलाई लिएका छन् । तेस्रो कुरा, उपरीसंरचना हत्याउनका लागि महत्वपूर्ण हुनसक्ने आधारहरुमा राजनीतिक अस्थिरता, शासकहरुमा रहेको आत्मसमर्पणवादी सोच र कायरता, दलालपंक्तिको सत्तारोहण, भ्रष्टाचार, लूट र कमिसनको राज आदि रहेका छन् । चौथोमा जनतामा निराशा र वितृष्णाको जन्म हुनुका साथै सामान्य सुधार र सेवाका कामहरु पनि नहुनु रहेका छन् । अन्य महत्वपूर्ण आधारहरुमा पश्चिमा सेतो छालाप्रति आकर्षण, पश्चिमाको सर्वोच्चतामा विश्वास, सम्पर्क सम्बन्ध र हेलमेलका हिसाबले पश्चिमाको निकटता र जीवन व्यवहारमा परिवर्तनको चाहना आदि रहेका छन् ।

रणनीतिक हिसाबले पश्चिमाहरुले खेल्न र एशियामाथि विजय हासिल गर्नका लागि ‘मेनगेट’का रुपमा नेपाललाई लिएका छन् । नेपालको उत्तरमा चीन र दक्षिणमा भारतजस्ता उदाउँदा महाशक्ति राष्ट्रहरु रहनु तर सत्तासीन दलाल शासकले यसै अवस्थामा देशको अस्मिता बेचेर ब्रह्मलूट मच्चाउने चाहना राख्नु नेपाल र नेपालीका लागि अभिशाप साबित हुन थालेको छ । आफ्नो वैयक्तिक स्वार्थका लागि देश, देशको माटो र राष्ट्रिय अस्मिता केही पनि होइन भन्ने सत्तासिनको दलाल मनोवृत्ति विदेशी शक्तिको स्वार्थसाधनाका माध्यम बन्न पुगेका छन् ।
एकातिर मैत्री सम्बन्धको राग उरालिएको छ भने अर्कोतिर केही सहयोगको आवरणमा देशको अस्मिता हस्तान्तरण र संविधान तथा ऐनकानुन निस्क्रिताका लागि एमसीसीजस्ता प्रत्यक्ष अमेरिकी फौजी उपनिवेश कायम गरिने सन्धीमा ओली सरकारले हस्ताक्षर गरिसकेको छ । केही नलागेपछि सार्वभौमसत्ता सहितको कार्यकारी अधिकार हतान्तरणका लागि संसदबाट पारित गर्ने÷गराउने चलखेल हाललाई थाती राखिएको छ । अर्कोतिर एमसीसीको खर्बौं रकमले वाम गठबन्धनको चुनाव खर्चदेखि हाल प्रम ओलीको मासिक वेतन कोरोना कोषमा दिएको स्वाङ रच्दै बिताएको हर सेकेण्डको आलिशान जीन्दगीसम्म धानिरहेको छ । यिनीहरु कुनै पनि हालतमा एमसीसीको आर्थिक कुटनीतिक सिकन्जाबाट मुक्त हुने अवस्थामा छैनन् ।

वाम गठबन्धनदेखि ओलीको अहिलेको सत्तासीन पार्टी विभाजनको खेलसम्म गरेका सबै कुकार्यहरु एमसीसीको रणनीतिक कार्ययोजन अन्तर्गत गरिएका छन् । ओली सरकार निर्माण हुने बित्तिकै वाक स्वतन्त्रता, सभासम्मेलन र विरोध प्रदर्शनमा अंकुश र निषेधित क्षेत्रहरुको घोषणा अमेरिकी फैजी आगमनका लागि पूर्वसन्ध्यामा ओछ्याइएका रेडकार्पेट हुन् । त्यसपछि धर्मनिरपेक्ष राज्यमा उक्त राज्यका कार्यकारी शासक र सत्तासीन पार्टीका वरिष्ठ नेताहरु होली वाइन शेचन गर्दै तीनतीन दिनसम्म होटेल सोल्टीमा रजगज गर्नु देशको राजकीय धर्म क्रिश्चियन हो भनी अन्तर्राष्ट्रमा सन्देश प्रवाह गर्नु हो । होली वाइन शेचनका बेला प्रम ओलीले आफ्नो स्वास्थ्य स्थितिलाई ढाल बनाएर सिंह दरवारभित्र रहेको देशसञ्चालनको कार्यकारी थलो होटेल सोल्टीमा सारेका थिए । यो नेपालको इतिहासमा विधिवत तीन दिनसम्म क्रिश्चयन सरकार सञ्चालन गरिएको व्यवहारिक अभ्यास थियो । जहाँ प्रमओली लगायतका नेताहरुले विधिपूर्वक क्रिश्चियनमा पुनर्जन्म लिएको ‘ब्याप्टिज्म’ पनि गरेका थिए ।

यसपछिका मुख्य कार्यहरुमा युरेनियम उत्खननका लागि बाटो फराक गर्नुका साथै देशको जासुसी संयन्त्र प्रमको कोठरीमा सार्नु र बिगत एक वर्षदेखि एमसीसीको खर्च नेपाल सरकारको नाममा बेहोरिनु रहेका छन् । एमसीसी पास गर्नका लागि प्रम ओलीको चरीफुरीमा राष्ट्रपतिको प्रत्यक्ष हात र साथ रहनु र पछिल्लो सयमा आएर एमसीसी पक्षधर र एमसीसी विरोधीको कित्ताबन्दीका लागि प्रमओलीको अक्षम्य हर्कत कायमै रहनु रहेका छन् । यी तथ्य प्रमाणहरुले नेपाल क्रमशः नयाँ इजरायल बनाउँदै लगिएको सहजै भान हुनजान्छ । ओलीको दम्भ, अहंकार, स्वेच्छाचारिता र राज्यमाथिको हाकाहाकी ब्रह्मलूटले यहाँ सम्म कि उनी परिआएमा देश छाडेर भाग्नका लागि तयारी गरिरहेको हुनसक्नेमा कुनै आश्चर्य हुनसक्दैन ।