एमसीसी खारेजीको माग गर्दै क्रान्तिकारी माओवादीले भक्तपुरमा ग¥यो विरोध जुलुस र सभा

प्रकाशित मिति : २०७७ असार १६


भक्तपुर । नेकपा (क्रान्तिकारी माओवादी) भक्तपुरले सोमबार भक्तपुरमा एमसीसी सम्झौता खारेजीको माग गर्दै जुलससहित विरोधसभा सम्पन्न गरेको छ ।
टौमढीबाट शुरु भएको जुलुस नगरपरिक्रमा गरी च्याम्हासिंहमा पुगेर विरोधसभामा परिणत भएको थियो । विरोधसभालाई क्रान्तिकारी माओवादी भक्तपुर जिल्ला सेक्रेटरी विवेक सम्बोधन गरेका थिए ।

उनले एमसीसी अमेरिकी साम्राज्यवादको हतियार भएको स्पष्ट पार्दै यसले नेपालको प्राकृतिक श्रोत साधनमाथि वैधानिक रुपमै ब्रम्हलुट गर्ने र नेपाल तथा चीन विरुद्ध समेत गतिविधि गर्ने भएकोले यो देशघाती सम्झौता जसरी पनि खारेज गर्नुपर्ने बताए ।


कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सदस्य फुर्नाम्गेल मोक्तानले देजमो र क्रान्तिकारी माओवादीले नै देशभक्तिपूर्ण आन्दोलनको नेतृत्व गरिरहेको स्पष्ट पारेका थिए ।
साँझ मसाल जुलुस गर्ने क्रममा केही बेर प्रहरीसँग झडप समेत भएको थियो । तर क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताहरुले संयमता अपनाएकोले कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न भएको सेक्रेटरी विवेकले बताए ।