अन्ततः सरकारले जारी ग¥यो लिम्पियाधुरासहितको नयाँ नक्सा

प्रकाशित मिति : २०७७ जेष्ठ ७


काठमाडौं । अन्ततः सरकारले लिम्पियाधुरासहितको नेपालको नयाँ राजनीकि तथा प्रशासनिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । भूिम व्यवस्था तथा सहकारी मन्त्रालयले बुधबार सरकारी स्वामित्वको टेलिभिजन च्यानलको प्रत्यक्ष प्रशारणमार्फत् नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको हो ।

गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भारतले अतिक्रमण गरेको नेपालको सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा पर्ने लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको नक्सा प्रकाशन गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई कार्यान्वयन गर्दै मन्त्रालयले आज नेपालको नयाँ नक्सा सार्वजनिक गरेको हो । भारतले गत कार्तिकमा आफ्नो देशको नक्सा प्रकाशन गर्दा नेपालको लिम्पियाधुरा, कालापानी आफ्नो भू–भागको रुपमा समेटेर प्रकाशन गरेपछि नेपाल सरकारलाई पनि मिचिएको आफ्नो भूमि सहितको नक्सा प्रकाशन गर्न चौतर्फी दवाव परेको थियो । भारतले आफ्नो नयाँ नक्सा प्रकाशन गर्दा नेपालको ३ सय ९५ वर्ग किमी भू–भागलाई अतिक्रमण गरेको थियो ।


भारतले अतिक्रमण गरेको भूमि फिर्ताको माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल लगायत नागरिक समाजले समेत विभिन्न अभियान र आन्दोलनमार्फत् सरकारलाई दबाब दिंदै आएका थिए । राजनीतिक नक्सा तत्काल सार्वजनिक गर्न समेत उनीहरुले दबाब दिंदै आएका थिए । क्रान्तिकारी माओवादीले लिम्पियाधुरासहितको नयाँ नक्साललाई आन्दोलनको उपलब्धिको रुपमा लिएको छ । नक्सामा सीमित नगरेर अतिक्रमित भूमि फिर्ताका लागि भारतसँग कुटनीतिक वार्ता गर्नुपर्ने, सीमामा नेपाली सेना तैनाथ गर्नुपर्ने र भारतले बेवास्ता गरे अन्तर्राष्ट्रियकरण गर्नुपर्ने सुझाव तथा दबाब दिंदै आएको छ ।

क्रान्तिकारी माओवादीले नेपालको नक्सा जारी गर्दैगर्दा भित्रभित्रै एमसीसी पास गर्ने तयारी गरेर अर्को राष्ट्रघात गर्न लागेको भन्दै सांसदहरुलाई समेत एमसीसी पास कुनै पनि हालतमा नगर्न सार्वजनिक आव्हान समेत गरेको छ ।