लोकतान्त्रिक चोरी

प्रकाशित मिति : २०७७ बैशाख २६

- मित्रलाल पंज्ञानी

इटालीको हाइएस्ट अपील कोर्टले फैसला सुनायो—‘घरबारबिहीन भोको मान्छेले कुनै सुपरमार्केटबाट खाने कुरा चोरेको विषय अपराध हुँदैन ।’ एउटा स्टोरबाट ४.७ युरो बराबरको दुई टुक्रा चीज र एक पकेट ससेज चोरेर लैजान खोज्दा रङ्गेहात समातेर अदालती कारवाहीमा पठाइएको रोमन ओस्तृयाकोभ नामक व्यक्तिका नाममा सुनाइएको फैसला थियो यो । यो निर्णयमा सम्पत्तिको अधिकारभन्दा बाँच्न पाउने अधिकार प्राथमिक हुने तर्कले काम गरेको थियो । सन् २०१६ मे २ मा इटलीको न्युज एजेन्सी ए.एन.एस.ए. मा प्रकाशित यो समाचारले इटालीमा तातो तातो प्रतिक्रिया उत्पन्न गरेको थियो । मे ३ का दिन बी.बी.सी.ले प्रसारण गरेको र ‘द न्यु योर्क टाइम्स’ले पनि प्राथमिकता दिएर छापेको थियो ।
यो कुनै सिद्धान्त नभएर अपवाद हो । सुपरमार्केटमा पसेर सामान चोर्ने र अदालतबाट सफाइ पाउने अवसर सबै भोकाहरूलाई प्राप्त हुने कुरा होइन । र पनि यसले गम्भीर सन्देश दिन्छ– ‘सबै प्रकारका चोरीलाई एउटै दर्जामा नराख ।’

संस्कृतमा यस्तै आशयको एउटा नीतिवाक्य प्रचलित छ ः ‘बुभूक्षितः किं न करोति पापम्’ अर्थात् ‘भोकाले किन पाप नगरोस् ।’ साहित्यकार विजय मल्लले ‘बौलाहा काजीको सपना’ नामक एकाङ्कीमा चोर्नु भन्दा मर्नु ठूलो पाप भएकाले चोरेर भए पनि बाँच्नु पर्छ भन्ने सन्देश दिएका छन् । काम गरेर कमाउने ठाम नपाएपछि र सेवा गर्दा गर्दै भएको सम्पत्ति पनि गुमाएपछि चोरी निर्विकल्प भएको बयान दिन्छ कवि भेषजराज शर्माको कविताको एउटा पात्रलेः
 
हुन्थेँ त तिम्रो भतिजो कि सालो
मिल्थ्यो अवश्यै पनि आज पालो
 
सेवा गरेँ साहुहरू रिझाएँ
‘होला कि’ ले जीवन यो बिताएँ
 
परन्तु उल्टो फल भोग्न पाएँ
सम्पत्ति आफ्नै पनि जो गुमाएँ
 
जहान बच्चा कसरी म पालूँ
संसार आफ्नो कसरी सँभालूँ
 
बाटो यही एक थियो समाएँ
तसर्थ चोरेँ भन के बिराएँ ?
 
चोरी हाम्रो समाज व्यवस्थाको उपज हो । हाम्रो अर्थराजनीतिक प्रणालीको उपज हो । हाम्रो वितरण प्रणाली विषमतामा आधारित छ । यस्तो प्रणालीमा पैसाको खोलो मास्तिर बग्छ । राज्यसत्ताको निर्णायक भूमिकामा बसेकाहरूको भण्डारतिर । धनाढ्यहरूको खजानातिर । भोका, नाङ्गा र निमुखाहरूको वस्तीतिर सुख्खा, ठण्डाराम !
 
हाम्रो राज्यव्यवस्थाले जनताको दुःखको जिम्मेवारी बोक्दैन । गास, वास र कपडाको ग्यारेन्टी लिँदैन । र पनि मान्छेहरू इमान्दार भएर उभिने चेष्टा गर्छन् । श्रम गरेर कमाउने प्रयत्न गर्छन् । चोर हुन कोही पनि चाहँदैन । सज्जनता मान्छेको स्वाभाविक वृत्ति हो । सङ्कटको अकाट्य मोडमा पुगेपछि मात्रै मान्छे चोरमा बदलिन्छ । यस्तो चोरीलाई दण्डका माध्यमले नियन्त्रण गर्न सकिँदैन । बाँच्नुका आधारभूत आवश्यकता जुटाउने बन्दोबस्त गरिदिनुपर्छ राज्यले । त्यसै दिनु पर्दैन, रोजगारी र श्रमको उचित मूल्य दिए पुग्छ । यति व्यवस्था मिलाउन नसक्ने हो भने सरकार, संसद र न्यायालय किन चाहियो ? कसका लागि चाहियो ? प्रश्नहरू सधैँ चुप लागेर बस्तैनन् ।
 
बाँच्नका लागि न्यूनतम आवश्यकता पूरा गर्न चोर्नेहरू सरल चोर हुन् । प्रशस्त धन हुँदा हुँदै अझै धेरै चोर्न हौसिनेहरू जटिल चोर हुन् । सरल चोरहरूले चोरेको छ्याङ्गै देखिन्छ । जटिल चोरहरूले चोरेको हत्तपत्त देखिँदैन । सरल चोरहरूको सम्पर्क सञ्जाल तलतलै सीमित हुन्छ । जटिल चोरहरूको सम्बन्ध राज्यसत्ताको उपल्लो तहसित गाँसिएको हुन्छ । यस्तो चोरीलाई आधुनिक भाषामा भ्रष्टाचार भन्छन् । एन.सेल काण्ड, सुन काण्ड, जहाज काण्ड, कोरोनाकालको आपूर्ति काण्ड जस्ता काण्डहरू यसै अन्तर्गत पर्दछन् । भ्रष्टाचारी मध्येका पनि उपल्लाले राज्यको कानुन र नीति निर्माणमै हस्तक्षेप गर्ने हैसियत राख्छन् ।
 
कतिपय पार्टीहरू भ्रष्टाचारीको दक्षिणामा चलेका छन् । त्यसलाई चन्दा वा आर्थिक सहयोग पनि भन्न सकिन्छ । जब दक्षिणा लेनदेन हुन्छ तब त्यसको गणना पनि सँगसँगै हुन्छ । धेरै दिने ठुलो, थोरै दिने सानो र दिँदै नदिने तुच्छ गनिन्छ । यो दक्षिणा हाम्रो संस्कृतिरुपी वृक्षमा टाँसिएर बेरिएर खतर्नाक ढङ्गले झाङ्गिएको ऐजेरु हो । भ्रष्टाचारको आधार पनि हो । चुनावका बेलामा नेताहरूलाई ठुलो अङ्कमा दक्षिणा दिनेहरूले तिनको पार्टीको नीति विचार मन परेर अथवा दानी भएर दिएका हुँदैनन् । त्यसबाट प्राप्त हुने नाफा हिसाब गरेर दिएका हुन्छन् । त्यसैकारण तत्काल सत्तामा जाने सम्भावना नभएकाहरू र मुड्के बल देखाउन नसक्नेहरूले चाहेर पनि चन्दा उठाउन सक्तैनन् । 
 
नेपालकै एउटा ठूलो पार्टीको कोटाबाट समानुपातिक सांसद बनाइएकी एउटी महिला संसदमा निर्णायक मतदान हुने बेलामा अनुपस्थित रहिन् । उक्त पार्टीले तिनलाई कारवाही गर्ने घोषणा ग¥यो । उनले आफूले दिएको पैसा सम्झाइन् । सप्रमाण भण्डाफोर गर्ने उद्घोषसहित आफ्नो स्वर चर्काउँदै लगिन् । अन्ततोगत्वा उनलाई कारवाहीको साटो दोसल्ला ओढाएर सम्मान गरियो । यी त चुहेर बाहिर आएका दृश्य जगत्का कुरा हुन् । त्यो भन्दा निकै विशाल छ अदृश्य जगत्को चलखेल । अग्रगामी निर्णय गर्न खोज्ने र कार्यान्वयनका बेलामा पश्चागामिता नै अँगाल्नुको मुख्य कारणहरू यस्तै यस्तै अनेक प्रकारका स्वार्थजन्य सम्बन्धहरू नै हुन् ।
 
त्याग गर्ने परम्परा स्थापित भएका ठाउँमा सबभन्दा ठूला त्यागी नै सबभन्दा आदरणीय हुन्छन् । त्याग तपस्याकै देखासिकी हुन्छ । त्याग तपस्याकै प्रतिश्पद्र्धा चल्छ । र त्यसकै गुरुत्वमा जनताहरू गोलबन्द हुन्छन् । नेतृत्वकर्ताको जीवन सादा र विचार उच्च हुन्छ । जनसेवा मुख्य उद्देश्य हुन्छ । भोगको भावना भड्किसकेपछि स्थिति उल्टो बन्न पुग्छ—जसले सबभन्दा धेरै सुखवैभव भोग गर्न सक्यो त्यही सबभन्दा ठूलो ! यहाँ शान देखाउने प्रतिश्पद्र्धा चल्छ । भोगका अवसरबाहेक बाँकी सबै कुरा भ्रम हुन्छन् । मन मनमा ‘मै खाऊँ मै लाऊँ’ को भावनाले राज गर्छ । तैँले काटेको सुख मैले किन नकाट्ने ? मनमा प्रश्न नै यसरी उठ्छ । वनमा वनमारा फैलिएझैँ अहिले हाम्रा सत्तासीनहरूको मनमा यसैगरी भोगको भावना निकै जागेको छ ।
यिनीहरू सत्ताको नशाले लठ्ठ छन् । नशाबाट आर्जित उपादानमा संसार यथार्थभन्दा अर्कै देखिन्छ । त्यो दृश्यमा उनले जे जानेका छन् संसार भनेकै त्यत्ति हो । उनको जानकारीभन्दा पर कुनै संसार छैन । यो जगत् उनको इच्छाले चलिरहेको छ । आफ्नै प्राकृतिक र वस्तुगत नियमले चलिरहेको छैन । उनले आदेश दिएपछि सकियो ।
शब्द उही भए पनि शासक र शासितहरूको अर्थ फरक फरक हुन्छ ।  गरीबलाई  चुस्ने र धनीलाई पोस्ने प्रणालीको नाम पनि लोकतन्त्र हुन सक्छ । यसमा लोकको अर्थ धनीमानी भन्ने बुझ्नुपर्छ । निर्धालाई कुल्चने र बलियालाई ढोग्ने प्रणालीको नाम समाजवाद पनि हुन सक्छ । यसमा समाजको अर्थ बलियाहरू भन्ने बुझ्नुपर्छ । हामीकहाँ स्थापना गर्ने भनिएको समाजवाद यस्तै किसिमको हो । यस्ता अगुवाको नेतृत्वमा आउने समाजवाद त्यस्तो नभएर कस्तो हुन्छ त ?
यो लोकतन्त्रमा लोकको विचार के छ ? भनेर बुझिरहन जरुरी छैन । नेताले नजानेको केही भए पो ! पाँच वर्षमा एकपल्ट भोट हालेपछि लोकको काम सकियो । बाँकी जम्मै काम लोकतन्त्रका नाममा निर्वाचित भएकाहरूले गर्छन् । चुनावमा उम्मेदवार बन्न र निर्वाचित हुनका लागि लाखौँ लाख खर्च गर्नु पर्छ । कतिले त करोडौँ खर्च गर्छन् । जितेपछिको पहिलो काम त्यही खर्च उठाउने हो । मोज गर्ने हो । संविधानमा सबैको बराबरी हक लेखिए पनि गरिबहरू निर्णायक राजनीतिक पदमा चुनिनका लागि अयोग्य हुने विषय हाम्रो व्यवहारमा प्रचलित अलिखित कानुन हो । यो खर्च गर्न सक्ने धनीहरूको लोकतन्त्र हो । यसले तिनै धनाढ्यहरूको पक्षमा काम गर्छ ।
 
राणा शासन जनताले नै फाले । पञ्चायतलाई उनैले मिल्काए । राजतन्त्र उनैले उखेले । हरेक आन्दोलनमा देश एक कदम माथि उठेको र अगाडि बढेकै हो । तर अझै पनि श्रमलाई दुःख र अपमानको गर्तमा खसालिएको छ । धनलाई सुख र सम्मानको आकाशमा उचालिएको छ । यत्रो धन कहाँबाट कसरी आयो भनेर सोध्ने र शङ्का गर्ने चलन स्थापित नभएसम्म भ्रष्टाचारको अन्त्य हुदैन । यो शङ्का र प्रश्न जनताको घर घर र मन मनमा कहिले झाङ्गिन्छ कुन्नि ! नेपालमा वास्तविक क्रान्ति भएकै छैन ।