क्रान्तिकारी माओवादीका नेताहरुको हातमा हत्कडी, ‘फासिवादी दमनमा उत्रियो ओली सरकार’

प्रकाशित मिति : २०७६ मंसिर ११

काठमाडौं । क्रान्तिकारी माओवादीका विरुद्ध ओली सरकार फासिवादी दमनमा उत्रिएको छ । शान्तिपूर्ण रुपमा गरिएका कार्यक्रमहरुमा समेत हस्तक्षेप गरी नेता कार्यकर्ताहरुलाई विनाकारण गिरफ्तार गर्ने, झुठा मुद्दा लगाउने र अपराधीलाई झै हत्कडी लगाउन थालेको छ । सल्यानबाट मंगलबार गिरफ्तार गरिएका पार्टीका पीवीएम तथा कर्णाली प्रदेश सचिव सीपी शर्मा, केन्द्रीय सदस्य दीपकबहादुर शाही लगायतका नेता कार्यकर्ताहरुलाई हत्कडी लगाएको छ ।

पार्टी तथा पार्टी सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको घोषित नीति तथा कार्यक्रम अनुसार मंसिर १४ को उपनिर्वाचन बहिस्कारको कार्यक्रममा सहभागि नेता कार्यकर्ताहरुका विरुद्ध राज्य दमन र धरपकडमा उत्रिएको छ ।

दाङको हापुरेमा आयोजित उपनिर्वाचन बहिस्कार सभालाई प्रभावित तुल्याउने गरी सभाको तयारीमा जुटेका पार्टीका केन्द्रीय सदस्यहरु हिरामणि दुःखी र निरज केसीलगायत ६ जनालाई गिरफ्तार गरी क्रान्तिकारी माओवादीविरुद्ध दमनमा उत्रिएको ओली सरकारले धरानबाट आइतबार शान्तिपूर्ण कार्यक्रम गरिरहेको अवस्थामा पार्टीका केन्द्रीय सदस्य मोहन लिम्बू र विमल लगायत नौ जना नेता कार्यकर्ताहरुलाई गिरफ्तार ग¥यो । मंगलबार सल्यानमा शर्मा र शाही लगायत ४ जनालाई गिरफ्तार गरेको ओली सरकारको प्रहरी प्रशासनले मंगलबारै राष्ट्रिय स्वाधीनताको विषयमा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएर फर्कदै गर्दा पार्टीका केन्द्रीय सदस्य फुर्नाम्गेल मोक्तानसहित ४ जनालाई गिरफ्तार ग¥यो ।

व्यापक विरोध भएपछि दाङ र सिन्धुपाल्चोकबाट गिरफ्तार गरिएका नेता कार्यकर्ताहरुलाई छाडिए पनि सल्यान र धरानबाट गिरफ्तार गरिएका नेता कार्यकर्ताहरुलाई छाडिएको छैन । उल्टै झुठा मुद्दामा फसाउने षड्यन्त्र भइरहेको क्रान्तिकारी माओवादीका नेताहरु बताउँछन् । मंगलबारै देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले वक्तव्य जारी गरी गिरफ्तार गरिएका नेता कार्यकर्ताहरुमाथि लगाइएको झुठा मुद्दा खारेज गरी अविलम्ब रिहाइ गर्न कडा चेतावानी दिएका छन् । १ नं. र ३ नं. पार्टी प्रदेश सचिवहरु रत्न र प्रवेशले वक्तव्य जारी गरी सरकारी दमनलाई क्रान्तिकारी र देशभक्तमाथि फासिवादी र निरंकुश हमला भन्दै सशक्त प्रतिरोधमा उत्रने चेतावानी दिएका छन् ।

पछिल्ला केही दिनयता क्रान्तिकारी माओवादी, सम्बद्ध संयुक्त मोर्चा देजमो लगायत पार्टीका जबस मोर्चाहरुले श्रृङ्खलाबद्ध देशव्यापी रुपमा राष्ट्रिय स्वाधीनता र उपनिर्वाचन बहिस्कारका कार्यक्रमलाई तीब्रता दिन थालेपछि ओली सरकार क्रान्तिकारी माओवादी विरुद्ध फासिवादी दमनमा उत्रन थालेको क्रान्तिकारी माओवादीका नेताहरुले बताएका छन् ।