अतिक्रमित भूमि फिर्ताको माग गर्दै ३ नं. प्रदेशका जिल्ला प्रशासन कार्यालयहरुमा देजमोले बुझायो ज्ञापन पत्र (फोटोफिचर)

प्रकाशित मिति : २०७६ मंसिर १०


काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को क्रान्तिकारी संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले ३ नंं. प्रदेशका जिल्ला प्रशासन कार्यालयहरुमा मंगलबार ज्ञापन पत्र बुझाएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा पुगेका क्रान्तिकारी माओवादीका केस तथा काठमाडौं जिल्ला सचिव सरु तथा देजमोका केस तथा काठमाडौं अध्यक्ष खगेन्द्र छन्त्यालको नेतृत्वमा गएको मोर्चाको टोलीले प्रमुख जिल्ला अधिकारी खगराज दाहाललाई ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्रमा करिब डेढ वर्ष अघिदेखि नै मोर्चाले कालापानी, लिपुलेक, लिम्यिाधुरा लगायतको ३७२ वर्ग किमि भूमि गायब पारिएको नक्कली नक्सा सरकारी कार्यालयमा प्रयोग भइरहेको पाइएपछि देशव्यापी विरोध गरेको र काठमाडौं जिल्ला प्रशासनलाई पनि स्मरण पत्र बुझाएको प्रसंग उल्लेख गर्दै हालै भारतले जारी गरेको नक्सामा उक्त नेपालको भूभाग भारतमा गाभेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न र प्रभावकारी कुटनीतिक पहलमार्फत् उक्त भूमि फिर्ता गराउन दबाब सिर्जना गर्ने उद्देश्यले ज्ञापन पत्र बुझाइएको बताइएको छ । ज्ञापन पत्रमा उक्त भूमि फिर्ता गराउन दबाब नदिनेहरु राष्ट्रघातीहरुको मतियार हुने कुरा पनि उल्लेख गरिएको छ ।

त्यसैगरी ललितपुरको देजमोले पनि जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य क्षितिज, सचिव दिपकसहित मोर्चाकी केस तथा जिल्ला अध्यक्ष इन्दिरा अधिकारीको नेतृत्वमा गएको मोर्चाको टोलीले प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेलाई ज्ञापन पत्र बुझाएको हो । एउटै व्यहोराको ज्ञापन पत्रमा भारतीय विस्तारवादी अतिक्रमणमा परेको कालापानी क्षेत्रको भूभाग फिर्ता गराउन सरकारलाई दबाब दिन माग गरिएको छ ।

त्यसैगरी भक्तपुरमा पनि मोर्चाले ज्ञापन पत्र बुझाएको छ । प्राप्त जानकारी अनुुसार पार्टीका केस तथा भक्तपुर इन्चार्ज जीवनको समेत उपस्थितिमा मोर्चाका जिल्ला सचिव रामहरि गणेजुले भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी दिलिप लामिछानेलाई ज्ञापन पत्र बुझाएको हो ।
त्यसैगरी देजमोले काभ्रे, सिन्धुली, चितवन, दोलखा, रामेछाप, नुवाकोट लगायत नौ वटा जिल्लामा ज्ञापन पत्र बुझाएको बताइएको छ ।