झुठा मुद्दा खारेज गरी अविलम्ब नेता कार्यकर्ताको रिहाइ नगरिए कडा संघर्षमा उत्रने देजमोको चेतावानी

झुठा मुद्दा खारेज गरी अविलम्ब नेता कार्यकर्ताको रिहाइ नगरिए कडा संघर्षमा उत्रने देजमोको चेतावानी


काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले एक वक्तव्य जारी गर्दै बहिस्कार आन्दोलनको क्रममा गिरफ्तार गरिएका नेता कार्यकर्ताहरुलाई झुठा मुद्दामा फसाउने षड्यन्त्र भइरहेको भन्दै झुठा मुद्दा खारेज गरी गिरफ्तार गरिएका नेता कार्यकर्तालाई अविलम्ब रिहा नगरिए मोर्चा कडा संघर्षमा उत्रने चेतावानी दिएका छन् । मंगलबार एक वक्तव्य जारी गर्दै अध्यक्ष गजुरेलले यस्तो चेतावानी दिएका हुन् ।
वक्तव्यमा भनिएको छ, “हाम्रो संगठन देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले निर्वाचन आयोगद्वारा केही रिक्त पदहरुको पदपूर्तिका लागि गर्न लागिएको उपनिर्वाचनलाई बहिष्कार गर्ने निर्णय गरेको कुरा सर्वविदितै छ । त्यही नीतिलाई कार्यान्वयन गर्ने क्रममा खासगरी निर्वाचन हुने क्षेत्रहरुमा विरोधसभा गरी राजनीतिक भण्डाफोरका कार्यक्रमहरु सञ्चालन गर्दै आएका छौं । त्यसै सन्दर्भमा सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाको मेयर पदका लागि हुन गइरहेको निर्वाचन बहिष्कारको शान्तिपूर्ण प्रचार गर्ने क्रममा यही मंसिर ८ गते धरानमा भइरहेको कोणसभाबाट देशभक्त जनगणतान्त्रिक मोर्चाका नेताहरु– मोहन लिम्बु, जय आचार्य, तारक लिम्बु, टीका राई, पारस लिम्बु, पदम तमाङ, सन्तोष ठाकुर, गौरव राई र रामबहादुर पौडेललाई गिरफ्तार गरी जिल्ला प्रशासनले झुठा मुद्दामा फसाउने षड्यन्त्र गरिरहेको छ । यो निरंकुश कदमको हामी घोर निन्दा गर्दछांै र गिरफ्तार हुनुभएका सबैलाई अविलम्ब रिहाइको माग गर्दछांै । यदि उहाँहरुमाथिका झुठा मुद्दा खारेज गरी रिहाइ गरिएन भने त्यसबाट उत्पन्न हुने सबै परिणामप्रति नेपाल सरकार पूर्णरुपले जिम्मेवार हुने कुरा पनि हामी प्रष्ट पार्न चाहन्छौं ।”