देशैभर उपनिर्वाचन बहिस्कार आन्दोलन तीब्र, सल्यानमा देजमोका दुई केन्द्रीय सदस्यसहित ४ जना पक्राउ, धरानमा पक्राउ परेका ९ जना विरुद्ध मुद्दा दायर

प्रकाशित मिति : २०७६ मंसिर १०


काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को क्रान्तिकारी संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको नेतृत्वमा जारी उपनिर्वाचन बहिस्कार आन्दोलन तीब्र बनेको छ । मोर्चाका नेता कार्यकर्ताहरुले प्रहरी हस्तक्षेप र अवरोधका बाबजुद बहिस्कार आन्दोलनलाई तीब्र पारेका छन् । जारी राष्ट्रिय आन्दोलनसँगै उपनिर्वाचन बहिस्कार आन्दोलनलाई पनि मोर्चाले तीब्र बनाउँदै लगेको छ ।

भर्खरै प्राप्त जानकारी अनुसार देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको उपनिर्वाचन बहिस्कार आन्दोलनकै बीच मोर्चाका केन्द्रीय सचिवालय सदस्यद्वय चक्रपाणी शर्मा र दिपकबहादुर शाहीलाई सल्यानबाट प्रहरीले गिरफ्तार गरेको छ । नेताहरु शर्मा र शाहीसँगै क्रान्तिकारी माओवादी सल्यानका सचिव छत्र शाह, जिल्ला सदस्य हिरालाल गोसाई लगायतलाई प्रहरीले गिरफ्तार गरेको छ । शान्तिपूर्ण रुपमा कार्यक्रम गरिरहेको अवस्थामा उनीहरुलाई गिरफ्तार गरिएको जनाइएको छ ।

यता शान्तिपूर्ण कार्यक्रम गरिरहेको अवस्थामा धरानबाट गिरफ्तार गरिएका देजमोका ९ जना नेता कार्यकर्ताहरुका विरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ ।
प्रहरीले नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य मोहन लिम्बू, केन्द्रीय सदस्य विमल, देजमोका केन्द्रीय सदस्य टिका राई, किराती राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष गौरव राई, मोर्चाका केस पारस लिम्बु, केस पारक लिम्बू, सुविना, पदम तामाङ, सन्तोष ठाकुर, रामबहादुर पौडेललगायतलाई प्रहरीमाथि अभद्र व्यवहार गरेको भन्दै अभद्र व्यवहार ऐन अन्तर्गत मुद्दा दर्ता गरेको छ । सँगै पक्राउ गरिएका क्रान्तिकारी माओवादीका सुनसरी सेक्रेटरी पेमा लामालाई भने छाडिएको छ ।

यसैबीच नेकपा (क्रान्तिकारी माओवादी) र देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल १ नं. प्रदेशले वक्तव्य जारी गरी गिरफ्तार नेता कार्यकर्ताको विनाशर्त अविलम्ब रिहाईको माग गरेको छ । पार्टीका प्रदेश सचिव रत्न र मोर्चाका प्रदेश अध्यक्ष शान्तिराम गिरीले छुट्टा छुट्टै वक्तव्य जारी गरी गिरफ्तारीको कडा शब्दमा निन्दा एवम् भत्र्सना गर्दै नेता कार्यकर्ताको रिहाईको माग गरेका छन् ।


यसअघि दाङमा भएको बहिस्कारसभाको पूर्वसन्ध्यामा ६ जना नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको थियो । चौतर्फी दबाबपछि उनीहरुलाई छाडिएको थियो । क्रान्तिकारी माओवादीले पार्टी सम्बद्ध मोर्चा मार्फत् मंसिर १४ को उपनिर्वाचन सक्रिय बहिस्कार गर्ने नीति लिएको छ । उपनिर्वाचन नजिकिएसँगै देशभक्त जनगणतान्त्रिक मोर्चाले देशैभर बहिस्कार आन्दोलनलाई सशक्त बनाउँदै लगेको छ ।


मंसिर १४ को उपनिर्वाचन नजिकिदै गर्दा नेकपा (क्रान्तिकारी माओवादी) तथा सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले ‘संसदीय उपनिर्वाचन सक्रिय बहिस्कार गरौं !, नयाँ जनवादी क्रान्तिको दिशामा अघि बढौँ !!’ भन्ने मूल नाराका साथ उपनिर्वाचन बहिस्कार आन्दोलनलाई तीव्रता दिएको हो । उपनिर्वाचन सक्रिय बहिस्कारको नीति लिएको क्रान्तिकारी माओवादीले आफू सम्बद्ध क्रान्तिकारी संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको व्यानरमा उपनिर्वाचन बहिस्कार आन्दोलनलाई तीब्रता दिइरहेको छ ।

भारतीय विस्तारवादले लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायत कालापानी क्षेत्रको ३७२ किमि भूभाग आफ्नो नक्सामा गाभेपछि भूमि अतिक्रमणका विरुद्ध देशव्यापी रुपमा क्रान्तिकारी माओवादी तथा देजमो, नेपाल अहिले आन्दोलनरत छ । दिनदिनै राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता तथा क्षेत्रीय अखण्डताको पक्षमा पार्टी तथा मोर्चाले कार्यक्रम गरिरहेका छन् । मोर्चाले पोखरा, दाङ, भक्तपुर, चितवन, धरान, सल्यान लगायतका जिल्लामा बहिस्कार सभा भव्य रुपमा सम्पन्न गरेको छ ।