“विषादीयुक्त तरकारी तथा फलफूल आयात र त्यसले पारेको असर”

“विषादीयुक्त तरकारी तथा फलफूल आयात र त्यसले पारेको असर”

(देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ५ नंं. प्रदेशको संयोजन र रुपन्देही जिल्ला समितिद्वारा मितिः २०७६ भाद्र ५ गते बुटवलमा आयोजित “विषादीयुक्त तरकारी तथा फलफूल आयत र त्यसले पारेको असर” विषयक अन्तरक्रिया कार्याक्रममा देजमो, नेपालका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं. ५ का अध्यक्ष के. बी. गुरुङद्वारा प्रस्तुत आधारपत्र)

प्रारम्भः
देश हाम्रो कृषि प्रधान । विडम्वना ! खाद्यवस्तु, तरकारी, फलफूल लगायत खरबौंको कृषिजन्य वुस्तु आयत भइरहको अवस्था छ । र, कृषिजन्य वस्तुमा परनिर्भरता दिन प्रतिदिन बढ्दै गएको छ । साठीको दशकसम्म नेपाल खाद्यान्न निर्यात गर्ने राष्ट्र आज आयतमुखि बनेको छ । यसरी “नाउ सुब्बेनी, के खायर उब्बेनी” भने झै देश कृषि प्रधान । तर खुर्सानी समेत भारतबाट ल्याएर खानु पर्ने, त्यो पनि विष मिसाएको ।
नेपालको प्रायः सबै ठाउँमा अनेकौं प्रकारका फलफूल र तरकारी उत्पादन संभव छ । तर आज अरबौं तरकारी र फलफूल आयात भैरहेको छ, त्यो पनि विषादीयुक्त । यसका कार्य र कारण के के हुन् ? यसले के के असर पारेको छ ? यसको समाधानको दायित्व र कर्तव्य कस्को हो ? यस्ता धेरै प्रश्नहरु छन् । तर आजको यो विषादीयुक्त तरकारी तथा फलफूल आयात र त्यसले पारेको असर विषयक अन्तरक्रिया कार्यक्रममा छलफलको सहजताको निम्ति तयार पारिएको आधारपत्रमा उपर्युक्त विषयहरुको विश्लेषण र सश्लेषण सम्भव छैन । तथापि विषयवस्तुको सारसंक्षेप उठान गरिने छ । र, विषादीयुक्त तरकारी र फलफूलले पारेका नकरात्मक असरबारे चर्चा र त्यसको नियन्त्रण र नियमनका सम्बन्धमा जोड दिइनेछ ।

१. आज नेपालको ठूलो जनसंख्याले विषादीयुक्त तरकारी र फलफूल खाईरहेका छौं, त्यो पनि आयत गरेर । विशेषतः भारतबाट आयात भैरहको फलफूल र तरकारीमा विषादीको मात्रा उच्च रहेको भन्नेछ । तर विना क्वारेण्टाईन आयात भैरहेको छ । फलफूल तथा तरकारी उत्पादक किसान र उपभोक्ताहरुले वर्षौंदेखि क्वारेण्टाईन नियमन हुनु पर्ने माग गर्दै आए पनि त्यो ब्यवस्थित हुन सकिरहेको छैन । नेपाल सरकारले केही समय पहिले विदेशबाट आयात हुने तरकारी र फलफूल भारत र चीनको नाकामा नै विषादी परीक्षण गरेर मात्र स्वदेश भित्राउने निर्णय गरेको थियो । त्यसलाई सबैले सकरात्मक रुपमा लिएका थिए । तर आफ्नै निर्णयमा सरकार तीन साता पनि टिक्न सकेन । र, विषादीयुक्त तरकारी र फलफूल आयात हुने सिलसिलाले निरन्तरता पाइरहेको छ । आयातित तरकारी र फलफूलमा मात्र होइन स्वदेशी उत्पादनमा पनि विषादीको अनुगमन, निरिक्षण र नियमन हुन सकेको छैन । यसरी नेपालीहरु विषादीयुक्त तरकारी र फलफूल खान विवस भईरहेका छौं ।
२. विषादीको पहिलो असर त मानव स्वास्थ्यमा पर्ने स्वतः स्पष्ट नै छ । विषादीको असर तात्कालिन र दिर्घकालिन तथा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा मानव स्वास्थ्यमा परिहेको छ । आजको विज्ञानले समेत सहि समाधान पत्ता लगाउन नसकेको क्यान्सर र हेपटाईटिस बी जस्ता प्राण घातक रोगका विरामी बढ्दै गएका छन् । मृगौला, मुटु, कलेजो, फाक्सोका रोगीहरुको संख्यामा दिन प्रतिदिन वृद्धि भैरहेको छ । मधुमेह र उच्च रक्तचाप जस्ता रोगहरुको त महामारी नै बनेको छ । यसका कारणहरु मध्य मूलतः विषादी प्रयोग र अखाद्य वस्तुको मिलावट भएको खाद्य वस्तु उपभोग नै हो । त्यसको परिणामतः नेपाली जनताको स्वास्थ्य स्थिति बिग्रदै गएको छ । यदि यही सिलसिला दश पन्द्र वर्ष जारी रहे नेपालीहरुको स्वास्थ्य अवस्था कस्तो होला गम्भीर प्रश्न उठेको छ । आज खाद्य सम्प्रभूता र सुरक्षाको प्रश्न विश्वव्यापी उठे पनि हामी नेपाली त्यसबाट बेखबर छौं । राज्य र सरकार जनताको खाद्य संप्रभूता र सुरुक्षाको अधिकार सुनिश्चित गर्ने दायित्वबाट अनुत्तरदायी बनेकोछ ।
स्वास्थ्य मौलिक हकको विषय भनिए पनि सरकार त्यो दायित्वबाट विमुख भएको छ । जनस्वास्थ सम्बन्धी राज्य तथा सरकारको अनुत्तरदायी व्यवहार र जनताको स्वास्थ्य चेतनाको कमीका कारण स्वास्थ्यमा गम्भीर असर गर्ने विषादीयुक्त तरकारी र फलफूल सेवन गरिरहेका छौं । र, सरकारलाई दबाब पुग्ने गरी आवाज र आन्दोलन उठाउन र जनस्वाथ्य सचेतना जागरण अभियान पनि संचालन गर्न सकिरहेका छैनौ ।
विषादीले स्वास्थ्यमा पार्ने असर बहुआयामिक हुन्छ । स्वास्थ्य बिग्रेपछि मानिसको जीवन र समाजमा अनेकौ नकरात्मक असर देखा पर्दछन् । प्रसिद्ध भनाइ छः “स्वास्थ्य नै धन हो” । स्वास्थ्य ठिक भए मानिसले सबै समस्याको सामना गर्न सक्दछ भने स्वास्थ्य खराब भए मानिसका निम्ति सबै कुरा प्रतिकुल बन्दछ । आज नेपाल राष्ट्रको सम्वृद्धि र सम्पन्नताको लागि प्रथमतः नेपाली जनता स्वास्थ हुनु अनिवार्य छ । तर आज जनताको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको विषय विषादीयुक्त तरकारी र फलफूल आयात र स्वदेशमा उत्पादित कृषिजन्य वस्तुको अनुगमन र नियमन हुन नसक्नु राज्य र सरकारको गम्भीर गैरजिम्मेवारी र जनस्वास्थ्यप्रति खेलवाड हो । त्यसैगरी स्वयं जनताको पनि आफ्नो स्वास्थ्यप्रतिको अनभिज्ञता र उदासिनता हो ।

३. अनियन्त्रित र अनियमन रुपमा विषादीयुक्त तरकारी र फलफूलको आयातले नेपाली किसानहरुको कृषि उत्पादनमा प्रत्यक्ष नकरात्मक असर गरिरहेको छ । नेपालमा कृषिजन्य वस्तु प्रायः भारत र चीनबाट आयात हुने गरेको छ । नेपालको तुलनामा भारत र चीनको कृषि प्रविधि उच्च छ र राज्य र सरकार पनि किसानमैत्री छन् । जसले गर्दा नेपाली किसानको उत्पादनभन्दा सस्तो र राम्रो पनि हुनु स्वभाविकै हुन्छ । यदि यसरी नै अनियन्त्रित र अनियमनरुपमा विदेशबाट कृषिजन्य वस्तु आयात भइरहे खुम्चदै गएको नेपाली कृषि उत्पादन धारासायी हुन धेरै समय लाग्दैन ।
यसमा किसानप्रतिको सम्मानभन्दा हेलाको ब्यवहार गर्ने, स्वदेशी उत्पादनको प्रयोग गर्ने स्वाधीन र स्वाभिमानी चेत र ब्यवहारमा आएको ह«ास, नेपाली उपभोक्ताको सस्तो र उधारो पाए “एक माना चुक पनि खाने” प्रवृत्ति पनि काफी हदसम्म जिम्मवार छ ।
४.नेपाली अर्थतन्त्रको मेरुदण्ड मानिएको कृषि उत्पादन दिन प्रतिदिन ओह्रालो लागिरहेको छ । कृषिकर्ममा युवाहरुको आकर्षण छैन । राज्यको कृषि नीति र कार्यक्रम सतही, देखावटी र अवस्तुवादी छ । कार्यन्वयनको पाटो पक्षपाति, भ्रष्ट र टपर्टुइ्या“ प्रकारको छ । त्यसको परिणामतः लाखौं युवाहरु विदेश पलायन भएका छन् र त्यो क्रम जारी छ । जब राष्ट्रिय अर्थतन्त्रको आधार कृषिसम्बन्धी नीति कार्यक्रम र कार्यन्वयनको पक्ष ठिक छैन । त्यसप्रति राज्य र सकारले दायित्व लिदैन र जनता जागरुक हुदैनन् र युवा जनशक्ति विदेश पलायन रोकिदैन भने राष्ट्र हरिकंगाल भएर टाट पल्टिन धेरै समय पर्खनु पर्दैन । त्यसैले विषादीयुक्त तरकारी र फलफूल लगायत कृषिजन्य. वस्तुको अनियन्त्रित प्रकारले आयात गर्ने विद्यमान सरकारको नीति कार्यक्रमले राष्ट्रिय अर्थतन्त्रको मेरुडण्ड मै नकरात्मक असर गरिरहेको छ ।

५ निष्कर्षमा भन्नु पर्दा, सर्वप्रथम नेपाल सरकारले कृषिजन्य वस्तुको आयातमा तत्काल नियमन र नियन्त्रण गर्नु पर्दछ । विषादीयुक्त तरकारी, फलफूल लगायत सबै खाद्यवस्तुलाई निषेध नै गर्नु पर्दछ । सरकारले जनतालाई विकल्प सहित भन्न सक्नु पर्दछ र जनताले पनि सोच्नु पर्दछ विषदीयुक्त तरकारी, फलफूलहरु खाएर स्वस्थ्य खराब गर्नु भन्दा नखानु नै उचित हुन्छ । विषादीको समस्या आयातित तरकारी, फलफूल र खाद्यवस्तुमा मात्र होईन स्वदेशी उत्पादित वस्तुमा पनि छ । त्यसलाई पनि नियमन र नियन्त्रण गर्नु त्यत्तिकै आवश्यक छ ।

आयात विस्थापनको लागि तत्काल वास्तविक किसान र कृषिकर्ममा लागेकाहरुको सहि पहिचान गरेर उनीहरुलाई प्रोत्साहन गर्दै कृषि क्षेत्रका समस्याहरु जस्तै, पूर्वाधार विकास, बजारीकरणको ब्यवस्था, विचौलियाहरुको नियन्त्रण, कृषिमा आधुनिकिकरण र यान्त्रिककरण, असली मल, बिउको ब्यवस्था, वास्तविक किसान र कृषिकर्ममा लागेहरुलाई आवश्यक अनुदान, आदिको ब्यवस्था गर्नु अनिवार्य छ । उपभोक्ताहरुलाई स्वदेशी र स्थानीय कृषि उपज उपभोग गर्न सचेत र प्रोत्साहन गरिनु पर्दछ ।

साचो अर्थमा कृषिजन्य वस्तुको आयात विस्थापन गरी आत्मनिर्भर र निर्यातमुखि बनाउनको लागि प्रथमतः राज्य तथा सरकारले क्रान्तिकारी भूमिसुधार लागु गर्नु अनिवार्य छ । वास्तविक किसान र सरोकारवालाहरुसंग सहकार्य गरेर नेपालको धरातलीय यथार्थतामा आधारित भएर वास्तविक विषय विज्ञहरुबाट बिस्तृत् र ठोस कार्ययोजना र कार्यान्वयनको भरपर्दा संरचना र विधि निर्माण गर्नु आवश्यक छ । तर अहिलेको राज्यब्यवस्था र सरकारबाट त्यसप्रकारको आशा र भरोसा गर्न सक्ने अवस्था देखिदैन । तसर्थः साँचो अर्थमा कृषि उत्पादन र किसानको समस्या समाधानको लागि कृषि क्रान्तिको विकल्प छैन ।
२०७६ भदौं ५ गते, बुटवल