माक्र्सवाद विश्वसर्वहारा वर्गको क्रान्ति र मुक्तिको विज्ञान हो । माक्र्सवाद सर्वहारावर्गको मुक्तिको सिद्धान्त र विचारधारा हो । माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो र यो पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । कार्ल माक्र्स (सन् १८१८ – १८८३) र फ्रेडरिक एंगेल्स (सन् १८२० – १८९५) माक्र्सवादका प्रतिपादक हुनुहुन्छ ।
प्रकृति, समाज, राज्यव्यवस्था आदिवारेमा माक्र्स र एंगेल्सले महान् खोज र प्रयोगद्वारा निकाल्नु भएको वैज्ञानिक तथा क्रान्तिकारी विचार, सिद्धान्त दर्शन र व्यवहारको संयुक्त योगलाई माक्र्सवाद भनिन्छ ।
माक्र्स तथा एंगेल्सद्वारा गहिरो अध्ययन–अनुसन्धान सँगै वर्गसंघर्षका वीचबाट स्थापित र संश्लेषित विचार गर्ने नै माक्र्सवाद हो । दर्शन, राजनीतिक, अर्थशास्त्र, वैज्ञानिक समाजवाद र पुँजीवादका विरुद्व र विश्वका बहुसंख्यक सर्वहारा उप्तीडित वर्गका पक्षमा खडा भएको एउटा शसक्त वैचारिक हतियार नै माक्र्सवाद हो ।
माक्र्सवाद भनेको संसारलाई बुझ्ने, व्याख्या –विश्लेषण गर्ने र बदल्ने विश्वदृष्टिकोण र सर्वहारावर्गको मुक्तिको सिद्धान्त हो ।
द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसंघर्ष तथा इतिहासमा बलप्रयोगको भूमिका सर्वहारा वर्गको अधिनायकत्व र वैज्ञानिक समाजवाद तथा साम्यवाद माक्र्सवादका आधारभूत मान्यता हुन् ।

माक्र्सवादका तीन संघटक अंग (तत्व) रहेका छन् । ती हुन् दर्शन (जर्मन शास्त्रीय दर्शन), राजनीतिक अर्थशास्त्र(वेलायती अर्थशास्त्र) र समाजवाद (फ्रान्सेली काल्पनिक समाजवाद) रहेका छन् । माक्र्सवादका विषयमा लेनिनले भन्नु भएको छ, “माक्र्सवादको निर्माण दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका तीन संघटक तत्वहरुको संश्लेषणबाट भएको छ ।” लेनिनकै भनाई अनुसार माक्र्सवाद भनेको माक्र्सका विचार र उनका शिक्षाको व्यवस्थित श्रृंखला हो ।

हार्दिक शुभकामना !

माक्र्सको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । यो दर्शनको सिद्धान्त भौतिकवाद हो । यसले पदार्थ, प्रकृति वा सामाजिक सत्तालाई पहिलो र चेतना, विचार वा सामाजिक चेतनालाई दोस्रो स्थानमा राख्दछ । यसले चेतनालाई बस्तुजगतका आत्मिक प्रतिबिम्बन मान्दछ र विश्वलाई बोधगम्य बताउँछ । माक्र्सवादी दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद भएकाले यो आदर्शवाद र आधारभूतवादका विरुद्ध परिलक्षित रहेको छ । माक्र्सवादी दर्शनको पद्धति द्वन्द्ववाद हो । एंगेल्सले द्वन्द्ववादका तीन नियम अर्थात् विपरितहरुको एकता र संघर्षको नियम, मात्राको गुण र गुणको मात्रामा रुपान्तरणको नियम र निषेधको नियमको उल्लेख गर्नु भएको छ । लेनिले विपरीत तत्वको एकत्व र एकता, संघर्ष र रुपान्तरणको नियम बताउनु भएको छ । माओले दर्शनमा एकको दुई हुने बताउनु भएको छ ।
माक्र्सले ऐतिहासिक भौतिकवादमा सामाजिक सत्ता र सामाजिक चेतना उत्पादन शक्ति र उत्पादन सम्बन्ध, आधार र उपरिसंरचना तथा उत्पीडक र उत्पीडित वर्गहरु बीचको संघर्षको मान्यता प्रस्तुत गर्नु भएको छ ।

माक्र्सको रानीतिक अर्थशास्त्र श्रमको मूल्य सिद्धान्त र अतिरिक्त मूल्यको सिद्धान्तमा आधारित रहेको छ । माक्र्सको वैज्ञानिक समाजवाद वर्ग संघर्ष, इतिहासमा बल प्रयोगको भूमिका, सर्वहारावर्गको अधिनायकत्व र साम्यवादका आधारभूत मान्यताहरुद्वारा निर्मित भएको छ ।
माक्र्स आफ्नो अनन्य भित्र तथा सहयोगी एंगेल्ससँग मिलेर कम्युनिष्टहरुको संगठन कम्युनिष्ट लिगमा क्रियाशील हुनु भयो र लिगको दोस्रो कांग्रेस सन् १८४७ नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म लण्डनमा सम्पन्न भयो । त्यस कांग्रेसमा माक्र्स र एंगेल्सले भाग लिनु भयो । यसै कांग्रेसले माक्र्स र एंगेल्सलाई कम्युनिष्ट पार्टीको घोषणापत्र तयार पार्ने जिम्मेवारी सुम्प्यो । एक वर्ष लगाएर माक्र्स र एंगेल्सले कम्युनिष्ट घोषणापत्र तयार पार्नु भयो र सन् १८४८ फेब्रुअरी १२ का दिन विश्वविख्यात कम्युनिष्ट घोषणपत्र जारी गर्नु भयो । माक्र्स एंगेल्सद्वारा प्रतिपादन गरिएको यो सिद्धान्त नै सर्वहारावर्गको मुक्तिको सैद्धान्तिक हतियार क्रान्तिको विज्ञान बन्यो ।

कम्युनिष्ट घोषणापत्रको चर्चा गर्दै लेनिनले भन्नु भएको छ, “यो कृतिमा नयाँ विश्वदृष्टिकोण, सामाजिक जीवनको क्षेत्रलाई पनि आफ्नो परिधिमा लिने सुसंगत भौतिकवाद, विकासको अधिकतम सर्वाङ्गीण तथा गंभीर शिक्षाका रुपमा द्वन्द्ववाद वर्ग संघर्ष तथा नयाँ कम्युनिष्ट समाजको स्रष्टाको नाताले सर्वहारावर्गको विश्व ऐतिहासिक क्रान्तिकारी भूमिकाको सिद्धान्त मेधावी स्पष्टता र तेजस्विताका साथ वर्णन गरिएका छन् लेनिन संकलित रचनाएँ, दश खण्डमें खण्ड ५, पृ. २३÷२४ प्रगति प्रकाशन भएको १९८२ ।
माक्र्स एंगेल्सद्वारा कम्युनिष्ट घोषणापत्रको निर्माण पछि जर्मनी लगायतका विभिन्न देशहरुमा कम्युनिष्ट पार्टीहरुको नयाँ आधारमा विकास र जन्मको प्रक्रिया सशक्त रुपमा अगाडि बढेका थिए । यसै क्रममा माक्र्स र एंगेल्सले मिलेर सन् १९६४ मा पहिलो अन्तर्राष्ट्रियका स्थापना गर्नु भएको थियो । त्यो १८७२ सम्म कायम रहयो । माक्र्सको निधन पश्चात एंगेल्सको नेतृत्वमा सन् १८८९मा दोस्रो अन्तर्राष्ट्रिय को गठन भयो र त्यो १९१४ सम्म कायम रहयो । माक्र्स र एंगेल्सले कम्युनिष्ट आन्दोलनमा विद्यमान अवसरवाद र अराजकतावादका विरुद्ध संघर्ष गरेर माक्र्सवादको प्रतिपादन र विकास गर्नु भयो । यस विषयमा एंगेल्सले भन्नु भएको छ, “सर्वहारावर्गको विकास जहाँकही पनि आन्तरिक संघर्षको वीचबाट नै अगाडि बढ्छ जस्तो कि माक्र्स र म आफैले पनि अरु कसैसँग भन्दा बढि नक्कली समाजावादीहरु विरुद्ध जीवन मा कठिन लगाइ लडेका थियौँ ।”
माक्र्सवादको प्रतिपादनले विश्व मानव समुदायमा ठूलो क्रान्ति ल्याइदिइयो र हलचल नै पैदा गरिदियो । माक्र्सवादमा विश्वसर्वहारावर्गले संसारलाई विकसित बुझ्ने र त्यसलाई फेर्ने र एक अमूक बौद्धिक अस्त्र भेटाएको छ । यस विषयमा लेनिनले दर्शाउनु भएको छ “माक्र्सको दर्शन एउटा यस्तो परिपूर्ण दार्शनिक भौतिकवाद हो, जसले मानव जातिलाई र खास रुपले मजदूर वर्गलाई ज्ञानका शक्तिशाली औजारहरु प्रदान गरेको छ ।”
सर्वहारावर्गको लागि दर्शनको कत्रो महत्व रहेको हुन्छ भन्ने कुरालाई स्वयं कार्लमाक्र्सले यसरी व्याख्या गर्नु भएको छ,“जसरी दर्शनले सर्वहारावर्गमा आफ्नो भौतिक हतियार भेटाउँछ, त्यसरी नै सर्वहारावर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार भेटाउँछ ।”
त्यसै गरी माक्र्सवादको दार्शनिक पक्षको महत्वलाई माओले यसरी दर्शाउनु भएको छ, “माक्र्सवाद ज्ञानका अनेक शाखाहरुबाट बनेको छ, माक्र्सवाद दर्शन, माक्र्सवादी अर्थशास्त्र माक्र्सवादी समाजवाद अर्थात वर्गसंघर्षको सिद्धान्त तर जग चाहिँ माक्र्सवादी दर्शन हो । यदि त्यसलाई मनन गरिदैन भने हाम्रो एउटा साझा भाषा कुनै साझा तरिका हुने छैनन्, हामी चिजहरुलाई स्पष्ट नपारिकन यताउताको कुरा तर्क मात्र गरिरहेका हुन्छौ । द्वन्द्वात्मक भौतिकवादलाई मनन गरिसकेपछि थुप्रै दुःख कष्टहरुबाट जोगिने छ र धेरै गल्तिहरु हट्नेछन् ।”
माक्र्सवादको माक्र्सवाद – लेनिनवाद–माओवादमा विकास भएको छ । पहिलो चरणमा माक्र्सवादको विकास भएको छ । माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरणमा लेनिनवादको विकास लेनिनवाट भएको छ । माक्र्सवाद–लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरण माओवादको माओत्सेतुङबाट भएको छ ।
आज माक्र्सवाद विज्ञान संघर्षकै क्रममा विकासको तेस्रो नयाँ र उच्च चरणमा पुगेको छ । यो तेस्रो नयाँ र उच् चरण माओत्सेतुङ्द्वारा विकास गरिएको माओवादको चरण हो । यसरी आज अन्तर्राष्ट्रिय सर्वहारावर्गको हातमा एउटा सार्वभौम सिद्धान्तको सिंगो अमेद्य इकाईका रुपमा माक्र्सवाद–लेनिनवाद–माओवाद रहेको छ । माओवादलाई आजको विश्वको माक्र्सवाद–लेनिनवादका रुपमा ग्रहण नगरी केह ीगर्न सच्चा कम्युनिष्ट बन्न सक्तैन ।
जसरी माक्र्सवाद– लेनिनवादको स्थापना कम्युनिष्ट क्रान्तिकारीहरुद्वारा सवैखाले प्रतिक्रियावाद संशोधनवाद र अवसरवादका विरुद्ध संघर्षका क्रममा भएको हो त्यसरी नै आज माओवादको स्थापना पनि निर्मम संघर्षका बीचबाट भइरहेको छ ।
माक्र्सवादको जन्मसँगै संशोधनवादको पनि जन्म भएको हो । माक्र्सवादका तीनवटै संघटक अंग दर्शन, राजनीति अर्थशास्त्र र वैज्ञानिक समाजवादको तोडमोड तथा अपव्याख्या गर्नु संशोधनवाद हो । संशोधनवाद अन्तर्राष्ट्रिय परिघटना हो । संशोधनवादको वर्गीय जश निम्न पुँजीवाद हो र यसले पुँजीवादको सेवा गर्दछ ।
संशोधनवाद माक्र्सवादका तीनओटै संघटक अंग अर्थात दर्शन राजनीतिक अर्थशास्त्र र समाजवादमा व्याप्त रहेको हुन्छ ।
माक्र्स र एंगेल्सले आफ्नो जीवन कालमा कम्युनिष्ट आन्दोलनमा घुसेका तमाम पुँजीवादी र निम्न पूँजीवादी विचारधाराका विशुद्ध कडा संघर्ष चलाउनु भयो । जसमा फ्रान्सका प्रुँधो (१८०९– १८६५) रुसका बाकुनिन (१८१४ – १९७६) र जर्मनीका लासाल (१८२५– १८६४) तथा ड्यूहरिङ्ग (१८३३ – १९२१) सहित तिनका तिनका पक्षधरहरुका विचार प्रमुख रहेका छन् । त्यस पश्चात एडवर्ड बर्नास्टिन (१८५० – १९३४) ले संशोधनवादका स्थापना गरे । बर्नस्टिनलाई शास्त्रीय संशोधनवादका पिता भनिन्छ । उनले माक्र्सवाद को संशोधन गरे । माक्र्सवादको पुनर्विचार गरे ।
दर्शनको फाँटमा संशोधनवादीहरुले द्वन्द्वात्मक भौतिकवादको विरोधमा आदर्शवाद र अधिभूतवादको शरण लिन पुगेका छन् । संशोधनवादका मूख्य दार्शनिक आधार नवकाष्टवाद, प्रत्यक्षवाद र संकल्पबाद हुन् । संशोधनवाद दक्षिणपन्थी, मध्यपन्थी र उग्रपन्थी तीन धारामा विभाजित हुँदै विभिन्न चरणमा विभिन्न रुपमा देखिदै आएको छ ।
संशोधनवादको दार्शनिक सिद्धान्त आदर्शवाद हो यसको दार्शनिक पद्धति अधिभूतवाद हो । मूलतः संशोधनवादको दार्शनिक सिद्धान्त दक्षिणपन्थी संशोधनवादी दर्शनसँग सम्बन्धित छ । दार्शनिक पद्धतिको क्षेत्रमा दक्षिणपन्थी संशोधनवादले क्रान्तिकारी द्वन्द्ववादको विरोधमा भँडुवा विकासवाद र शान्ति पूर्ण विकासको पक्षपोषण गर्दछ ।
संशोधनवादीहरुको विश्वदृष्टिकोण अधिभूतवादी विश्व दृष्टिकोण हो । दार्शनिक पद्धतिको क्षेत्रमा संशोधनवादका मूलतः तीन प्रकारका विशेषता हुने गर्दछन् ती हुन् एकमनावाद, बहुलवाद र सारसंग्रहवाद । भौतिकवादी द्वन्द्ववाद यो तीनओटै गलत चिन्तनको विरोधी रहेको छ । माक्र्सवादले इतिहासको भौतिकवादी अध्ययनका आधारमा समाजवाद र साम्यवादको स्थापना हुने निष्कर्ष निकाल्ने काम गर्दछ । तर संशोधनवाद यस प्रकारको माक्र्सवादी मान्यताको विरोधी रहेको छ ।
माक्र्सवादको विकाससँगै संशोधनवादको पनि विकास हुँदै जान्छ । संशोधनवादले ख्रुश्चोवमा गएर एउट उत्कर्ष प्राप्त गरेको छ । उनले सर्वहारावर्गको कम्युनिष्ट पार्टीलाई सम्पूर्ण जनताको पार्टी, सर्वहारा वर्गको अधिनायकत्वमा आधारित राज्यलाई सम्पूर्ण जनताको राज्य सशस्त्र संघर्षको सिद्धान्तलाई शान्तिपूर्ण संक्रमणको सिद्धान्तमा गिराउने काम गरे । उनले स्टालिन माथि व्यक्तिपूजाको गंभीर आरोप लगाए । खु्रश्चोवको संशोधनवादले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा ठूलो नकारात्मक प्रभाव पा¥यो । खु्रश्चोभलाई आधुनिक संशोधनवादका पिता भनिन्छ । माओको नेतृत्वमा चीनको कम्युनिष्ट पार्टीले ख्रुश्चोभको संशोधनवादको डटेर विरोध गरेको थियो ।
बर्नस्टाइनबाट शुरु भएको संशोधनवादले टिटो, ख्रुश्चोभ लिउ साओ ची, देङ शाओ, पिङ आदि हुँदै युरो कम्युनिज्ममा चरम रुप लिदै नवसंशोधनवादको बाटो हुँदै प्रतिक्रियावादमा गिर्न पुगेको छ ।
संशोधनवाद र अन्तर्राष्ट्रिय परिघटना हुनुको कारण अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा पैदा भएका मतभेद र दुईलाइन संघर्षबाट नेपाल पनि प्रभावित हुँदै आएको छ र अहिलेसम्म आउँदा नेपालमा मूलतः दुई प्रकारका संशोधनवादी धारा देखा पर्दै आएका छन्– ती हुन् बहुदलीय संशोधनवाद र जडसूत्रीय संशोधनवाद । नेपालमा दक्षिणपन्थी संशोधनवादी तथा नवसंशोधनवादी धारा हावी हुदै आएको छ । नेपालमा संशोधनवादको विस्तृत अध्ययन गर्न आवश्यक छ । किनभने दक्षिणपन्थी संशोधनवाद नेपाली क्रान्तिको बाधक बन्दै आएको छ । तर यहाँ धरै लामो व्याख्या गर्न संभव छैन ।
भीषण वर्गसंघर्ष, विचारधारात्क दुइलाइन संघर्षको वीचबाट क्रान्तिकारी माक्र्सवादको रक्ष, प्रयोग र यान्त्रिक ढंगले नभएर सृजनात्मक ढंगले विकास र प्रयोग दुवै गरेर मात्र सबै रुप र रंगका संशोधनवादलाई परास्त गर्न सकिन्छ ।
हामीले नेपाली कम्युनिष्ट आन्दोलनमा माक्र्सवाद र संशोधनवादका बीच चल्दै आएको संघर्षलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणको आधारमा अध्ययन गर्नुपर्ने हुन्छ । विपरितहरुको एकता र संघर्षको नियम द्वन्द्ववादको आधारभूत नियम हो त्यो प्रकृति, समाज र चिन्तनको क्षेत्रमा पनि लागु हुन्छ । सिंगो अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको इतिहास जस्तै नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास पनि विपरितहरुको एकता र संघर्षको इतिहास हो । यो विपरितहरुको वाद, विवाद र संवादको प्रक्रियाका बीचबाट अगाडि बढ्दै आएको तथ्यलाई कहिल्यै पनि भूल्नु हुँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर