लडाइँसँगै सुलह कति संभव ?

ओशाकामा जी–२० शिखर सम्मेलन सुरु

प्रकाशित मिति : २०७६ असार १३

काठमाडौं । बीसवटा औद्योगिक राष्ट्रको समूह (जी–२०) को शिखर सम्मेलन शुक्रबार जापानको ओशाका सहरमा सुरु भएको छ । जापानी प्रधानमन्त्री सिन्जो आबेद्वारा शुक्रवार औपचारिक रुपमा उद्घाटित सो सम्मेलनप्रति विश्वको ध्यान आकृष्ट भएको छ ।

सम्मेलनमा सहभागी हुन हाल विश्व व्यापार तथा प्रविधि युद्ध गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिन फिङ, रसियन राष्ट्रपति भ्लादिमिर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, जर्मन चान्सल एन्जेला मर्केल आदि विभिन्न राष्ट्रका राष्ट्रप्रमुखहरु अहिले ओशाकामा एकै ठाउँमा भेला हुन पुगेका छन् ।

एकले अर्को देशको उत्पादन निकासीमाथि सकेजति कर लगाएर एकले अर्कालाई ठीक गर्न अग्रसर भइरहेका यी राष्ट्रप्रमुखहरु एकअर्का देशका वस्तु उत्पादन र आयात निर्यातकै बारेमा छलफल गर्ने छन् । यी प्रमुख औद्योगिक राष्ट्रहरुका बीचमा मतान्तर कायम रहेकै समयमा भएको यो शिखर सम्मेलनलाई सम्झौताका लागि सुलह र समझदारीको सम्मेलनका रुपमा पनि लिइएको छ ।

जापानी प्रधानमन्त्री आबेले यस सम्मेलनका लागि जापान पुगेका सबै देशका नेताहरुलाई स्वागत गरेका छन् । नेताहरु एक दिनअघि देखि नै जापान पुग्न थालिसकेका थिए । यस सम्मेलनका क्रममा विश्वको औद्योगिक उत्पादन र व्यापारिक मुद्दा बहसको केन्द्रमा हुने बताइएको छ ।

यसका साथै, महिला सशक्तीकरणको मुद्दा पनि यो शिखर सम्मेलनमा उठाइने बताइएको छ ।