यस सम्मेलनका आदरणीय अध्यक्ष मण्डल, प्रमुख अतिथि, अतिथिहरु तथा विभिन्न तह र तप्का बाट पाल्नुभएका आमन्त्रित अतिथिहरु, साथै सम्मेलनमा सहभागी आयोजक, प्रतिनिधि तथा पर्यवेक्षक साथीहरुमा क्रान्तीकारी अभिवादन टक्य्राउन चाहन्छु । श्रमिकवर्गको लक्ष्य, उद्देश्य हासिल गर्ने ध्येय बोकेर अनवरत संघर्षशील हाम्रो महासंघको राष्ट्रिय सम्मेलनको यस गरिमामय अवसरमा महान सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छौं । विभिन्न क्रान्तिकारी युद्ध र संघर्षहरुमा श्रमिकवर्गविरोधी राज्यसत्ताद्वारा बेपत्ता पारिएका योद्धाहरुको स्मरण गर्न चाहन्छु । विभिन्न कालखण्डमा भएका संघर्षहरु तथा महान् जनयुद्धका दौरानमा घाइते भएका योद्धाहरुप्रति गर्बिलो सहानुभूति तथा समानुभूति व्यक्त गर्न चाहन्छु ।

हार्दिक शुभकामना !

२०६८ को राष्ट्रिय भेलापछि हुन गइरहेको यो सम्मेलनले श्रमिक आन्दोलनका क्षेत्रमा यो पाँच वर्षको अवधिमा हामीले सिर्जना गर्न खोजेको बहस र संघर्ष उठानको आगामी योजनाको चित्र प्रस्तुत गर्ने जमर्को गर्न गइरहेको छौ ।

हामी सबैलाई थाह नै छ कि २०६८ को राष्ट्रिय भेला क्रान्तिकारी श्रमिक आन्दोलनकोे आधार खडा गर्ने र सबै खाले विजातिय प्रभावलाई पराजित गरेर नयाँ आधारमा पुनर्गठन गर्न गरिएको गम्भीर प्रयत्न थियो । विपरीतहरुको एकत्वको नियमानुुसार नै यस पुनर्गठनको अभियानभित्र विभिन्नखाले चिन्तन प्रवृत्ति पनि सँगसगै गुजुल्टिएर आएका थिए । खास गरी श्रमिक आन्दोलनको क्रान्तिकारी दिशा पकड्ने तथा गन्तव्यहीन अकर्मण्यतामा रुमलिदै एकताका नाममा वा उत्तेजना र भावनासहित तत्काल श्रमिकवर्गको विजयको काल्पनिक चाहनामा जुझारु/अर्थवादी बाटो अनुसरण गर्ने जस्ता मूल प्रवृत्ति विद्यमान थिए– अर्थवादी, जुझारु अर्थवादी र क्रान्तिकारी ।

तत्कालिन अवस्थामा वर्गिय तथा राष्ट्रिय आत्मसमर्पणको बाटो हुँदै दलाल तथा नोकरशाही पँुजीपतिवर्गको जुवामा नारेर समाप्त हुनै लागेको श्रमिक आन्दोलनको झण्डालाई पितट्रेडयूनियनवादीहरुबाट खोसेर क्रान्तिकारी स्वत्व र गरिमालाई जोगाउनका निमित्त गरिएको प्रयत्नस्वरुप बनेको अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघको गठन आफैमा एउटा गौरवशाली पहल कदमी थियो । त्यसैको जगमा हामीले श्रमिक आन्दोलनको क्रान्तिकारी भविष्य निर्माण गर्ने महान सपना देख्न संम्भव भएको थियो । २०६८ देखि आजसम्म आइपुग्दा ६ वटा राष्ट्रिय भेला भए अखिल नेपाल ट्रेड यूनियन महासंघभित्र चलेका बहस, विवाद र संघर्षको उत्कर्षको रुपमा हामीले अखिल नेपाल क्रान्तिकारी टे«ड यूनियन महासंघको गठन गरेर वर्गीय तथा राष्ट्रिय आत्मसमर्पणवादी तत्वसंग सम्बन्ध विच्छेद गरेको थियौ । तत्कालिन उपाध्यक्ष बद्रि बजगाइँको नेतृत्वमा क्रान्तिकारी श्रमिक आन्दोलनको जग बसालेका थियौं ।

देशको तरल राजनैतिक अवस्था र हाम्रो सुदृढ एकता र परिपक्वताको कमजोरीका बीचमा विभिन्न राजनीतिक रुचीहरुको दाउँपेचका रुपमा लगतै भएको दोश्रो राष्ट्रिय भेला (२०६८ चैत्र १७) द्वारा रामदिप आचार्यलाई महासंघको संयोजक बन्ने परिस्थिति पैदा भयो । नेतृत्व निर्माण र विकास गर्ने विधि र पद्धतिका दृष्टिले मात्र होइन, नेतृत्व प्रतिस्थापन गर्ने विधिका हिसाबले समेत पनि त्यो हामीले भन्दै आएको जनवादी केन्द्रियताको उदेकलाग्दो प्रयोग थियो । यद्यपि दुई वर्षे यो अवधि श्रमिक आन्दोलनप्रति विविधतायुक्त बुझाई र अभ्यासका हिसाबले प्रचारात्मक रहे ।

श्रमिक आन्दोलनको आधारभूत तहबाट विकास भएर आएका र अन्य भूमिका र राजनैतिक परिवेशबाट आएकाहरुका बीचमा समेत आन्दोलनका स्वरुपसम्बन्धी बहसका बीचमा विभिन्न समीकरणहरु निर्माण हुने र भत्कने क्रम चलिरहे । मुख्य रुपमा ३ वटा समीकरणयुक्त महासंघ त्यो टिम धेरै समय संगै जान सकेन । रातारात र तत्काल क्रान्तिको धुनमा लागेका साथीहरुको एउटा समूह चोइटिएर अलग भए । यसै अवधिमा चौथो राष्ट्रिय भेला हुन पुग्यो र त्यस भेलाले रामदिप आचार्यलाई प्रतिस्थापन गरी सोनालाल साहको नेतृत्वमा पुनगर्ठनको कोशिस भयो । तरल राजनैतिक परिस्थिति र तत्कालिन अवस्थामा चलेको दक्षिणपंथी हावाहुरीका बीच डोलायमान हुँदै सोनालाल साह नेतृत्वको बहुमत टिम क्रान्तिकारी श्रमिक आन्दोलनबाट पलायन भयो ।

२०७३ साल जेष्ठ महिनासम्म आइपुग्दा महासंघभित्र विद्यमान तरलता, बिघटन र दक्षिणपंथी हावाहुरीको प्रभावले उत्कर्ष प्राप्त ग¥यो । २०७३ जेष्ठ महिनापछि श्रमिक आन्दोलनको क्रान्तिकारी झण्डालाई समाल्दै पुनः गठनको प्रयास भएपश्चात् दुईजना कार्यालय सदस्यको पलायन र महासंघद्वारा उनीहरु माथिको कारवाही बाहेक संगठनात्मक रुपमा बिघटनको प्रक्रिया रोकिदै विकासको प्रक्रियामा अगाडि बढायो । २०७३ साल फाल्गुण महिनामा नेपाल प्रगतिशील ट्रेडयुनियन महासंघ तथा त्यस पश्चात् न्यूक्लियसका बीचमा भएको एकताद्वारा प्राप्त उर्जासहित ट्रेड युनियन महासंघको विस्तार र सुदृढीकरणको प्रक्रियाले गति प्राप्त गर्यो ।

यसै प्रक्रियाको निरन्तरतास्वरुप अहिले देशका ७ वटै प्रदेशमा संगठन निर्माणको आधार तयार भएका छन् । १ देखि ५ नं. प्रदेशसम्म महासंघको संरचना निर्माण भइसकेका छन् भने ६ नं. प्रदेशमा सम्पर्क र ७ नं. प्रदेशमा जिल्ला स्तरिय महासंघ गठन भई नियमित कामहरु भइरहेका छन् । पेशागत हिसाबले निर्माण, होटल, यातायात, अटो, पर्यटन, सेक्यूरिटी, गलैचा, धातु, उद्योग पेन्टर आदिका केन्द्रिय संरचना निर्माण भएका छन् भने विभिन्न जिल्लाहरुमा समेत महासंघ गठन भइरहेका छन् । यी ६ वर्षका अवधिमा महासंघले एकता संघर्ष र फुट प्रक्रिया बेहोर्दै पुनः नयाँ आधारमा एकता, संघर्ष र रुपान्तरणसहित नयाँ एकताहुँदै विकास, विस्तार र सुदृढहुँदै अगाडि बढिरहेको छ ।

अन्तर्राष्ट्रिय परिस्थिति

आजको विश्वको प्रधान अन्तरविरोध भनेको श्रम र पुँजी बीचको अन्तरविरोध हो । लेनिनले भने झैं साम्राज्यवाद तथा सर्वहारा क्रान्तिको युग हो । आजको साम्राज्यवादले भूमण्डलीकृत चरित्र ग्रहण गरेको छ । भूमण्डलीकरण विश्वव्यापीकरण, उदारीकरणको नीतिअनुरुप पुँजी लगानी र नाफा सोहोर्ने होडमा विश्वका पुँजीपतिवर्गका लागि उदारिकरणका आमनीतिका आधारमा प्रतिस्पर्धा गर्ने बाटो खोलिएको हो । विश्वलाई एउटा देश मानेर खुकुलो भन्सार नीति, लगानीमैत्री राज्य प्रशासन, लगानीमैत्री कानून, लगानीमैत्री, टे«डयुनियन आदि नाराहरुलाई कार्यान्वयन गर्न सवल, समृद्ध र साम्राज्यवादी राष्ट्रद्वारा उत्पीडित, अल्पविकसित र तेस्रो विश्वका मुलुकहरुलाई समेत नयाँ प्रकारको औपनिवेशिकता र थोपरिरहेको छन् ।

प्रविधि र पुँजीको प्रचुरतासहित विश्वव्यापी लगानी र नाफा सोहरेर धनी राष्ट्रहरुले आफ्नो देशको औजार र प्रविधि बिक्री गरेर खर्बौं सम्पत्ति थुपारिरहेका छन् । तेस्रो विश्वका मुलुकहरु संसारभर श्रमिक निर्यात गर्ने स्थितिमा छन् । यसरी हेर्दा साम्राज्यवाद तथा औपनिवेशिक मुलुक र जनता बीचको अन्तरविरोध पनि पेचिलो र तिव्र बनिरहेको छ ।

एकातिर पुँजीपतिवर्गले राज्य सत्तामा आफ्नो प्रभावलाई मजबुत बनाउँदै लगिएको छ भने अर्कोतर्पm कमजोर र तेस्रो विश्वका मुलुकहरुमा समेत प्रभावलाई विस्तारित गरिरहेको छ परिणामतः तेस्रो विश्वका मुलुकहरु साम्राज्यवादका दलालहरुद्वारा सञ्चालित हुन पुगेका छन् । साम्राज्यवादका दलाल शासक तथा जनसमुदाय बीचको अन्तरविरोध पनि तिव्र बन्दै गइरहेको छ ।

व्यापारिक नाफाका निमित्त प्रतिस्पर्धामा उत्रेका संसारका थैलीपतिहरु आपैmले घोषणा गरेको उदारीकरणविरुद्ध लगानी र नाफामा विशेष अधिकारको माग गरेर व्यापारिक युद्धको धम्की र दबाब अगाडि बढाइरहेका छन् । खास गरी अमेरीकी सभ्यताको पुनर्योदयको नारामा अमेरिकी संरक्षणवाद तथा अन्य प्रतिस्पर्धी मुलुकको व्यापारिक युद्ध पनि अब सतहमा आइसकेको छ र चीन तथा अमेरिकी व्यापारिक युद्धमा अर्बौं डलर क्षति बेहोरिरहेको कुरा सार्वजनिक भइरहेको छ । अन्तरसाम्राज्यवादी युद्धको नयाँ मोडेल व्यापारिक युद्धको रुपमा एउटाले अर्काको व्यापारिक क्षति पुर्याउने शैलीमा देखा परेको छ ।

यी सबै स्थिति र अन्तरविरोधका वावजुद श्रमिकवर्गको विश्वव्यापी शोषण र पुँजीपतिवर्गको विश्वव्यापी प्रभावका बीचमा नयाँ टक्कर पनि सुरु भइरहेको छ । उदारीकरणले पुँजी, लगानी र व्यापारलाई मात्र विश्वव्यापी बनाएको छैन, करोडौ करोड श्रमिकहरुलाई पनि विश्व श्रम बजारमा फैंलाई दिएको छ । तेस्रो विश्वका मुलुकबाट दोस्रो र विकसित मुलुकहरुमा श्रमशक्ति बिक्रि गर्ने र जिविकोपार्जन सरल र सहज बनाउने सपना संसारका श्रमिकहरुको साझा सपना जस्तो हुँदै गएको छ । ‘कराइबाट उम्केको माछो भुँग्रोमा’ भने झैं युरोप, अमेरिका, मध्यपूर्व वा मलेसिया सबैतिर श्रमशक्तिको शोषण दोहनको चरित्र विश्वव्यापी रुपमा आधारभूत समानता रहेको छ ।

उत्पादन, वितरण र नाफाको केन्द्रिकरण पुँजीवादको आमचरित्र हो र आजको विश्वमा पुँजीपतिहरुको नाफा दिन दुगुणा रात चौगुणा हुँदै फैंलिदो छ ।

प्रविधिमा भएको द्रुततर विकास र नयाँ नयाँ खोज र अनुसन्धानले साधारण श्रमिकको विसाल हिस्सालाई बेरोजगार मात्र बनाएको छैन कि दक्ष र उच्च दक्ष श्रमिकहरुसमेत बेरोजगार बनाउँदै लगेको छ । आगामी २० वर्षको अवधिमा ४६% दक्ष जनशक्ति बेरोजगार हुने प्रक्षेपण पनि गरिनथालेको र उच्च दक्षता हासिल गरेका १२% श्रमिकसमेतले रोजगारीबाट हात धुनु पर्ने कुरा हालै अक्स्फाम इन्टरनेशलद्वारा गरिएको कुरा विशेष स्मरणिय छ ।

त्यसै प्रतिवेदनअनुसार यस वर्ष संसारका आधा जनसंख्याको ११% सम्पत्ति ओरालो लागिरहेको छ भने पुँजीपतिहरुको सम्पत्ति १२% ले वृद्धि भएको छ । श्रमिकहरुको सम्पत्तिमा तिब्रत्तर ओरोलो लाग्नु र अरबपतिहरुको सम्पत्ति वृद्धि हुँदै जानुमा श्रमिक आन्दोलनको विश्वव्यापी दमनलाई समेत कारण बताइएको छ ।

एक प्रतिवेदनअनुसार संसारका १ प्रतिशत व्यापारीहरुको कब्जामा ८२ प्रतिशत कुल सम्पत्तिको केन्द्रिकरण भएको छ भने विश्वका आधा जनसंख्याको सम्पत्ति ११ प्रतिशतले घटीरहेको छ । (अक्सफाम इन्टरनेशनल २.१७) श्रमिकहरुले उत्पादनका साधारण साधनहरु समेत गुमाएर सर्वहाराकृत हुँदै गइरहेका छन् भने २३ जना खर्बपतिको हातमा ५० प्रतिशतभन्दा धेरै सम्पत्ति थुप्रिन पुगेको छ ((हरि रोका) ।

अघिल्लो वर्ष ४६ जनाका हातमा रहेको सम्पत्ति यस वर्ष २३ जनाको हातमा थुप्रिनुले वर्तमान पुँजीवादी विश्व असमान वितरणको कारण पुर्नै नसकिने खाडलमा आफैं पुरिएर संकटग्रस हुने परिस्थिति बनिरहेको छ । त्यसका परिणाम पनि अब सतहमा देखा परिरहेका छन् । खासगरी पुराना र परम्परागत ट्रेडयुनियनहरुका स्थान नयाँ ट्रेड युनियन आन्दोलनले लिइरहेका छन् । फ्रान्सेली श्रमिकहरुले (Yello Vest) सरकार र कर नीतिविरुद्ध चलाएको आन्दोलन त्यसको ठोस दृष्टान्त हो ।

(अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघको प्रथम राष्टिय सम्मेलनमा तात्कालिन संयोजक ईश्वर तिमिल्सिनाद्वारा प्रस्तुत)

प्रतिक्रिया

सम्बन्धित खवर