श्रमिक वर्गको लक्ष्य, उद्देश्य हासिल गर्ने ध्येयमा क्रान्तीकारी ट्रेड युनियन महासंघ

श्रमिक वर्गको लक्ष्य, उद्देश्य हासिल गर्ने ध्येयमा क्रान्तीकारी ट्रेड युनियन महासंघ

यस सम्मेलनका आदरणीय अध्यक्ष मण्डल, प्रमुख अतिथि, अतिथिहरु तथा विभिन्न तह र तप्का बाट पाल्नुभएका आमन्त्रित अतिथिहरु, साथै सम्मेलनमा सहभागी आयोजक, प्रतिनिधि तथा पर्यवेक्षक साथीहरुमा क्रान्तीकारी अभिवादन टक्य्राउन चाहन्छु । श्रमिकवर्गको लक्ष्य, उद्देश्य हासिल गर्ने ध्येय बोकेर अनवरत संघर्षशील हाम्रो महासंघको राष्ट्रिय सम्मेलनको यस गरिमामय अवसरमा महान सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छौं । विभिन्न क्रान्तिकारी युद्ध र संघर्षहरुमा श्रमिकवर्गविरोधी राज्यसत्ताद्वारा बेपत्ता पारिएका योद्धाहरुको स्मरण गर्न चाहन्छु । विभिन्न कालखण्डमा भएका संघर्षहरु तथा महान् जनयुद्धका दौरानमा घाइते भएका योद्धाहरुप्रति गर्बिलो सहानुभूति तथा समानुभूति व्यक्त गर्न चाहन्छु ।

२०६८ को राष्ट्रिय भेलापछि हुन गइरहेको यो सम्मेलनले श्रमिक आन्दोलनका क्षेत्रमा यो पाँच वर्षको अवधिमा हामीले सिर्जना गर्न खोजेको बहस र संघर्ष उठानको आगामी योजनाको चित्र प्रस्तुत गर्ने जमर्को गर्न गइरहेको छौ ।

हामी सबैलाई थाह नै छ कि २०६८ को राष्ट्रिय भेला क्रान्तिकारी श्रमिक आन्दोलनकोे आधार खडा गर्ने र सबै खाले विजातिय प्रभावलाई पराजित गरेर नयाँ आधारमा पुनर्गठन गर्न गरिएको गम्भीर प्रयत्न थियो । विपरीतहरुको एकत्वको नियमानुुसार नै यस पुनर्गठनको अभियानभित्र विभिन्नखाले चिन्तन प्रवृत्ति पनि सँगसगै गुजुल्टिएर आएका थिए । खास गरी श्रमिक आन्दोलनको क्रान्तिकारी दिशा पकड्ने तथा गन्तव्यहीन अकर्मण्यतामा रुमलिदै एकताका नाममा वा उत्तेजना र भावनासहित तत्काल श्रमिकवर्गको विजयको काल्पनिक चाहनामा जुझारु/अर्थवादी बाटो अनुसरण गर्ने जस्ता मूल प्रवृत्ति विद्यमान थिए– अर्थवादी, जुझारु अर्थवादी र क्रान्तिकारी ।

तत्कालिन अवस्थामा वर्गिय तथा राष्ट्रिय आत्मसमर्पणको बाटो हुँदै दलाल तथा नोकरशाही पँुजीपतिवर्गको जुवामा नारेर समाप्त हुनै लागेको श्रमिक आन्दोलनको झण्डालाई पितट्रेडयूनियनवादीहरुबाट खोसेर क्रान्तिकारी स्वत्व र गरिमालाई जोगाउनका निमित्त गरिएको प्रयत्नस्वरुप बनेको अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघको गठन आफैमा एउटा गौरवशाली पहल कदमी थियो । त्यसैको जगमा हामीले श्रमिक आन्दोलनको क्रान्तिकारी भविष्य निर्माण गर्ने महान सपना देख्न संम्भव भएको थियो । २०६८ देखि आजसम्म आइपुग्दा ६ वटा राष्ट्रिय भेला भए अखिल नेपाल ट्रेड यूनियन महासंघभित्र चलेका बहस, विवाद र संघर्षको उत्कर्षको रुपमा हामीले अखिल नेपाल क्रान्तिकारी टे«ड यूनियन महासंघको गठन गरेर वर्गीय तथा राष्ट्रिय आत्मसमर्पणवादी तत्वसंग सम्बन्ध विच्छेद गरेको थियौ । तत्कालिन उपाध्यक्ष बद्रि बजगाइँको नेतृत्वमा क्रान्तिकारी श्रमिक आन्दोलनको जग बसालेका थियौं ।

देशको तरल राजनैतिक अवस्था र हाम्रो सुदृढ एकता र परिपक्वताको कमजोरीका बीचमा विभिन्न राजनीतिक रुचीहरुको दाउँपेचका रुपमा लगतै भएको दोश्रो राष्ट्रिय भेला (२०६८ चैत्र १७) द्वारा रामदिप आचार्यलाई महासंघको संयोजक बन्ने परिस्थिति पैदा भयो । नेतृत्व निर्माण र विकास गर्ने विधि र पद्धतिका दृष्टिले मात्र होइन, नेतृत्व प्रतिस्थापन गर्ने विधिका हिसाबले समेत पनि त्यो हामीले भन्दै आएको जनवादी केन्द्रियताको उदेकलाग्दो प्रयोग थियो । यद्यपि दुई वर्षे यो अवधि श्रमिक आन्दोलनप्रति विविधतायुक्त बुझाई र अभ्यासका हिसाबले प्रचारात्मक रहे ।

श्रमिक आन्दोलनको आधारभूत तहबाट विकास भएर आएका र अन्य भूमिका र राजनैतिक परिवेशबाट आएकाहरुका बीचमा समेत आन्दोलनका स्वरुपसम्बन्धी बहसका बीचमा विभिन्न समीकरणहरु निर्माण हुने र भत्कने क्रम चलिरहे । मुख्य रुपमा ३ वटा समीकरणयुक्त महासंघ त्यो टिम धेरै समय संगै जान सकेन । रातारात र तत्काल क्रान्तिको धुनमा लागेका साथीहरुको एउटा समूह चोइटिएर अलग भए । यसै अवधिमा चौथो राष्ट्रिय भेला हुन पुग्यो र त्यस भेलाले रामदिप आचार्यलाई प्रतिस्थापन गरी सोनालाल साहको नेतृत्वमा पुनगर्ठनको कोशिस भयो । तरल राजनैतिक परिस्थिति र तत्कालिन अवस्थामा चलेको दक्षिणपंथी हावाहुरीका बीच डोलायमान हुँदै सोनालाल साह नेतृत्वको बहुमत टिम क्रान्तिकारी श्रमिक आन्दोलनबाट पलायन भयो ।

२०७३ साल जेष्ठ महिनासम्म आइपुग्दा महासंघभित्र विद्यमान तरलता, बिघटन र दक्षिणपंथी हावाहुरीको प्रभावले उत्कर्ष प्राप्त ग¥यो । २०७३ जेष्ठ महिनापछि श्रमिक आन्दोलनको क्रान्तिकारी झण्डालाई समाल्दै पुनः गठनको प्रयास भएपश्चात् दुईजना कार्यालय सदस्यको पलायन र महासंघद्वारा उनीहरु माथिको कारवाही बाहेक संगठनात्मक रुपमा बिघटनको प्रक्रिया रोकिदै विकासको प्रक्रियामा अगाडि बढायो । २०७३ साल फाल्गुण महिनामा नेपाल प्रगतिशील ट्रेडयुनियन महासंघ तथा त्यस पश्चात् न्यूक्लियसका बीचमा भएको एकताद्वारा प्राप्त उर्जासहित ट्रेड युनियन महासंघको विस्तार र सुदृढीकरणको प्रक्रियाले गति प्राप्त गर्यो ।

यसै प्रक्रियाको निरन्तरतास्वरुप अहिले देशका ७ वटै प्रदेशमा संगठन निर्माणको आधार तयार भएका छन् । १ देखि ५ नं. प्रदेशसम्म महासंघको संरचना निर्माण भइसकेका छन् भने ६ नं. प्रदेशमा सम्पर्क र ७ नं. प्रदेशमा जिल्ला स्तरिय महासंघ गठन भई नियमित कामहरु भइरहेका छन् । पेशागत हिसाबले निर्माण, होटल, यातायात, अटो, पर्यटन, सेक्यूरिटी, गलैचा, धातु, उद्योग पेन्टर आदिका केन्द्रिय संरचना निर्माण भएका छन् भने विभिन्न जिल्लाहरुमा समेत महासंघ गठन भइरहेका छन् । यी ६ वर्षका अवधिमा महासंघले एकता संघर्ष र फुट प्रक्रिया बेहोर्दै पुनः नयाँ आधारमा एकता, संघर्ष र रुपान्तरणसहित नयाँ एकताहुँदै विकास, विस्तार र सुदृढहुँदै अगाडि बढिरहेको छ ।

अन्तर्राष्ट्रिय परिस्थिति

आजको विश्वको प्रधान अन्तरविरोध भनेको श्रम र पुँजी बीचको अन्तरविरोध हो । लेनिनले भने झैं साम्राज्यवाद तथा सर्वहारा क्रान्तिको युग हो । आजको साम्राज्यवादले भूमण्डलीकृत चरित्र ग्रहण गरेको छ । भूमण्डलीकरण विश्वव्यापीकरण, उदारीकरणको नीतिअनुरुप पुँजी लगानी र नाफा सोहोर्ने होडमा विश्वका पुँजीपतिवर्गका लागि उदारिकरणका आमनीतिका आधारमा प्रतिस्पर्धा गर्ने बाटो खोलिएको हो । विश्वलाई एउटा देश मानेर खुकुलो भन्सार नीति, लगानीमैत्री राज्य प्रशासन, लगानीमैत्री कानून, लगानीमैत्री, टे«डयुनियन आदि नाराहरुलाई कार्यान्वयन गर्न सवल, समृद्ध र साम्राज्यवादी राष्ट्रद्वारा उत्पीडित, अल्पविकसित र तेस्रो विश्वका मुलुकहरुलाई समेत नयाँ प्रकारको औपनिवेशिकता र थोपरिरहेको छन् ।

प्रविधि र पुँजीको प्रचुरतासहित विश्वव्यापी लगानी र नाफा सोहरेर धनी राष्ट्रहरुले आफ्नो देशको औजार र प्रविधि बिक्री गरेर खर्बौं सम्पत्ति थुपारिरहेका छन् । तेस्रो विश्वका मुलुकहरु संसारभर श्रमिक निर्यात गर्ने स्थितिमा छन् । यसरी हेर्दा साम्राज्यवाद तथा औपनिवेशिक मुलुक र जनता बीचको अन्तरविरोध पनि पेचिलो र तिव्र बनिरहेको छ ।

एकातिर पुँजीपतिवर्गले राज्य सत्तामा आफ्नो प्रभावलाई मजबुत बनाउँदै लगिएको छ भने अर्कोतर्पm कमजोर र तेस्रो विश्वका मुलुकहरुमा समेत प्रभावलाई विस्तारित गरिरहेको छ परिणामतः तेस्रो विश्वका मुलुकहरु साम्राज्यवादका दलालहरुद्वारा सञ्चालित हुन पुगेका छन् । साम्राज्यवादका दलाल शासक तथा जनसमुदाय बीचको अन्तरविरोध पनि तिव्र बन्दै गइरहेको छ ।

व्यापारिक नाफाका निमित्त प्रतिस्पर्धामा उत्रेका संसारका थैलीपतिहरु आपैmले घोषणा गरेको उदारीकरणविरुद्ध लगानी र नाफामा विशेष अधिकारको माग गरेर व्यापारिक युद्धको धम्की र दबाब अगाडि बढाइरहेका छन् । खास गरी अमेरीकी सभ्यताको पुनर्योदयको नारामा अमेरिकी संरक्षणवाद तथा अन्य प्रतिस्पर्धी मुलुकको व्यापारिक युद्ध पनि अब सतहमा आइसकेको छ र चीन तथा अमेरिकी व्यापारिक युद्धमा अर्बौं डलर क्षति बेहोरिरहेको कुरा सार्वजनिक भइरहेको छ । अन्तरसाम्राज्यवादी युद्धको नयाँ मोडेल व्यापारिक युद्धको रुपमा एउटाले अर्काको व्यापारिक क्षति पुर्याउने शैलीमा देखा परेको छ ।

यी सबै स्थिति र अन्तरविरोधका वावजुद श्रमिकवर्गको विश्वव्यापी शोषण र पुँजीपतिवर्गको विश्वव्यापी प्रभावका बीचमा नयाँ टक्कर पनि सुरु भइरहेको छ । उदारीकरणले पुँजी, लगानी र व्यापारलाई मात्र विश्वव्यापी बनाएको छैन, करोडौ करोड श्रमिकहरुलाई पनि विश्व श्रम बजारमा फैंलाई दिएको छ । तेस्रो विश्वका मुलुकबाट दोस्रो र विकसित मुलुकहरुमा श्रमशक्ति बिक्रि गर्ने र जिविकोपार्जन सरल र सहज बनाउने सपना संसारका श्रमिकहरुको साझा सपना जस्तो हुँदै गएको छ । ‘कराइबाट उम्केको माछो भुँग्रोमा’ भने झैं युरोप, अमेरिका, मध्यपूर्व वा मलेसिया सबैतिर श्रमशक्तिको शोषण दोहनको चरित्र विश्वव्यापी रुपमा आधारभूत समानता रहेको छ ।

उत्पादन, वितरण र नाफाको केन्द्रिकरण पुँजीवादको आमचरित्र हो र आजको विश्वमा पुँजीपतिहरुको नाफा दिन दुगुणा रात चौगुणा हुँदै फैंलिदो छ ।

प्रविधिमा भएको द्रुततर विकास र नयाँ नयाँ खोज र अनुसन्धानले साधारण श्रमिकको विसाल हिस्सालाई बेरोजगार मात्र बनाएको छैन कि दक्ष र उच्च दक्ष श्रमिकहरुसमेत बेरोजगार बनाउँदै लगेको छ । आगामी २० वर्षको अवधिमा ४६% दक्ष जनशक्ति बेरोजगार हुने प्रक्षेपण पनि गरिनथालेको र उच्च दक्षता हासिल गरेका १२% श्रमिकसमेतले रोजगारीबाट हात धुनु पर्ने कुरा हालै अक्स्फाम इन्टरनेशलद्वारा गरिएको कुरा विशेष स्मरणिय छ ।

त्यसै प्रतिवेदनअनुसार यस वर्ष संसारका आधा जनसंख्याको ११% सम्पत्ति ओरालो लागिरहेको छ भने पुँजीपतिहरुको सम्पत्ति १२% ले वृद्धि भएको छ । श्रमिकहरुको सम्पत्तिमा तिब्रत्तर ओरोलो लाग्नु र अरबपतिहरुको सम्पत्ति वृद्धि हुँदै जानुमा श्रमिक आन्दोलनको विश्वव्यापी दमनलाई समेत कारण बताइएको छ ।

एक प्रतिवेदनअनुसार संसारका १ प्रतिशत व्यापारीहरुको कब्जामा ८२ प्रतिशत कुल सम्पत्तिको केन्द्रिकरण भएको छ भने विश्वका आधा जनसंख्याको सम्पत्ति ११ प्रतिशतले घटीरहेको छ । (अक्सफाम इन्टरनेशनल २.१७) श्रमिकहरुले उत्पादनका साधारण साधनहरु समेत गुमाएर सर्वहाराकृत हुँदै गइरहेका छन् भने २३ जना खर्बपतिको हातमा ५० प्रतिशतभन्दा धेरै सम्पत्ति थुप्रिन पुगेको छ ((हरि रोका) ।

अघिल्लो वर्ष ४६ जनाका हातमा रहेको सम्पत्ति यस वर्ष २३ जनाको हातमा थुप्रिनुले वर्तमान पुँजीवादी विश्व असमान वितरणको कारण पुर्नै नसकिने खाडलमा आफैं पुरिएर संकटग्रस हुने परिस्थिति बनिरहेको छ । त्यसका परिणाम पनि अब सतहमा देखा परिरहेका छन् । खासगरी पुराना र परम्परागत ट्रेडयुनियनहरुका स्थान नयाँ ट्रेड युनियन आन्दोलनले लिइरहेका छन् । फ्रान्सेली श्रमिकहरुले (Yello Vest) सरकार र कर नीतिविरुद्ध चलाएको आन्दोलन त्यसको ठोस दृष्टान्त हो ।

(अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघको प्रथम राष्टिय सम्मेलनमा तात्कालिन संयोजक ईश्वर तिमिल्सिनाद्वारा प्रस्तुत)