जनयुद्धकी छोरी शहीद हीरा थापामगर ‘झनिमाʼ

प्रकाशित मिति : २०७६ असार ११

- घननाथ सापकोटा“विकास”

शदिऔंदेखिको सामन्तवादी केन्द्रीक्रृत राज्य व्यवस्थाका बिरूद्ध २०५२ साल फाल्गुण १ गते नेपाल कम्युनिष्ट पार्टी(माओवादी)ले सुरु गरेको महान् जनयुद्ध बेगवान गतिका साथ अगाडि बढीरहेको थियो । नेपाल आमाका क्रान्तिकारी सर्वोत्तम छोराछोरीहरूले जीवनमा एकपटक मात्र प्राप्त हुन् भौतिक शरीरको कुनै प्रवाह नगरी देश र जनताको लागि वर्गसंघर्षको तुफानमा होमिन लालयित थिए । देशमा सङ्कटकाल लगाउने, माओवादी पार्टीलाई आतङ्ककारी घोषणा गर्ने, क्रान्तिकारी जनताका छोराछोरीहरूको टाउकाको मूल्य तोकिएको थियो ।

लुटाहाहरूको सत्ता रेबिज लागेको कुकुरझैँ बस्तीहरूमा जथाभावी टोक्दै चिथोर्दै दौडिरहेको थियो । को कहाँबाट, कतिबेला गिरफ्तार हुने हो? ठेगान थिएन । गिरफ्तारी त के हुन्थ्यो, अपहरण गर्थ्यो । गोपनीयता भङ्ग गराउन हुर्मत लिन्थ्यो, इज्जत लुट्थ्यो । आत्मस्वाभिमानमाथि धावा बोली सकेपछि सकेपछि भौतिक रूपमा समेत हत्या गर्थ्यो । २०५२ सालदेखि २०६३ सालसम्म तत्कालीन सत्ताको दैनिक दिनचर्या यस्तै थियो ।

चितवन जिल्लाको पूर्वी भाग १ नं. मुख्य इलाकाको रूपमा पार्टीले आफ्नो योजनामा वर्गसंघर्षको विकास गरिरहेको थियो । यस इलाका अन्तर्गत शक्तिखोर, पदमपुर, जुटपानी, पिठुवा, चैनपुर, रत्ननगर नगरपालिका र बछ्यौली गा.वि.स. ख उपइलाका अन्तर्गत मेरो जिम्मेवारी ठोस गरिएको थियो । हाम्रो टिममा क.शुष्मा खनाल, सीता, गोमा तिमिल्सीना, सावित्री आचार्य, पिताम्बर पौडेल लगायतको टिम थियो उक्त भूगोलमा । पार्टीले दिएको योजना पूरा गर्नुको साथै सङ्गठन, संघर्ष र पूर्णकालीन कार्यकर्ता उत्पादन गर्नु मुख्य जिम्मेवारी थियो । २०५८ साल श्रावण महिनाको कुनै दिन आकाशे निलो रङको सर्ट र फ्रक लगाएकी एक जनजातिकी छोरी आउनुभएको रहेछ । मेरो पहिलो कर्तव्य उहाँको परिचय लिनु थियो र मैले सोधेँ ‘उहाँ बैनी को हुनुहुन्छ?’ उहाँको घर कहाँ हो? कसकी छोरी हुनुहुन्छ? । प्रत्युत्तरमा कमरेडहरूले भन्नुभो ‘उहाँ बैनी शक्तिखोर गा.वि.स. वडा नं. ८ देवीटारकी हुनुहुन्छ । चतुर्मुखी मा.वि. शक्तिखोरमा कक्षा ९ मा पढ्दै हुनुहुन्छ । उहाँ नेकपा(माओवादी) पार्टीको पूर्णकालीन सदस्य भएर जनयुद्धको सेवा गर्नको लागि आउनु भएको हो ।’ यस कुराले मलाई केही दुविधा पैदा गरायो ।

एक त भर्खर ९ कक्षामा पढ्दै गरेकी छात्रालाई पार्टीमा सामेल गराउने की नगराउने? अर्को भर्खर अत्यन्त कलिलो उमेर जनयुद्धको गति र परि आउने कठिनाइको सामना गर्न सक्छिन कि सक्दिनन्? भन्ने कुराको त्यसपछि हामीले केही दिन उनलाई परीक्षण कालमा राख्यौँ। पार्टीको नीति योजना र कार्यक्रमलाई उहाँले आत्मसात गरेर अगाडि बढ्ने तत्परता देखाउनु भयो भने ठिक छ ‚ उहाँ पार्टीमा स्थायी रूपले सामेल हुनुहोला यदि सक्नुभएन भने घर फर्कनुहोला । यसरी उहाँ केहि दिन हाम्रो टिममा हिँडिसकेपछि उहाँमा निहीत क्रान्तिकारी विचार झन परिपक्व भएर गयो । उहाँको बाबा तथा जेठा दाजु पनि माओवादी पार्टीको कार्यकर्ता हुनुहुँदो रहेछ । जसले गर्दा क्रान्तिकारी विचार तीब्रत्तर गतिमा विकास भैसकेको थियो । त्यसपछि उहाँ माओवादी पार्टीको परिपक्व पूर्णकालीन सदस्य बनेर काम गर्न थाल्नुभयो ।

महाभारत श्रृङ्खलाको काखमा रहेको रमणीय गा.वि.स. शक्तिखोर वडा नं. ८ देवीटारमा २०४० साल श्रावण महिना सोमबारका दिन बाबा तिलकबहादुर दर्लामी थापा मगर र आमा प्रेमकुमारी दर्लामी थापा मगरको कोखबाट नौ सन्तानमध्ये सातौँ सन्तानका रूपमा एक क्रन्तिकारी योद्धा क. हीरा थापामगर निमाको जन्म भयो । उहाँको सात दाजुभाइ तथा एक दिदी हुनुहुन्छ । उहाँ सानै उमेरदेखि साह्रै सरल र नम्र स्वभावको व्यक्तित्त्व हुनुहुन्थ्यो । उहाँले साउँअक्षरसम्म गाउँकै विद्यालयबाट गर्नुभयो । कक्षा ६ सम्म न्यूरेनीको विद्यालयबाट शिक्षा आर्जन गर्नुभयो र बाँकी शिक्षा आर्जनका लागि शक्तिखोरको चतुर्मुखी मा.वि.मा भर्ना हुनुभएको हो । उहाँको परिवार २०१८ सालमा धादिङको जोगिमाराबाट पहिला न्यूरेनी र २०२७ सालमा देवीटारमा स्थायी बसोबास गर्नुभएको हो ।

सामन्तवादी सत्ताका पहरेदारहरूले नारीलाई सम्पूर्ण अधिकारबाट बञ्चित गर्दै पुरुष प्रधान समाज निर्माण गरेका छन् । उनीहरू दोस्रो दर्जाको नागरिकको रूपमा व्यवहार गर्दै नारीहरूलाई भोग विलास र शोषणको साधन बनाउँदै आएका छन् । उनीहरू कमजोर र निरीह हुन्छन् भन्ने सफेद झुट षड्यन्त्रद्वारा महिलामाथि शोषण गरिएको छ ।

दशवर्षे महान् जनयुद्धमा ४० प्रतिशत महिलाको सहभागिता त्याग बलिदान र राजनैतिक श्रेष्ठताले उक्त षड्यन्त्रलाई च्यातचुत पारिदियो र नारीहरू पनि आफ्नो हक अधिकार र मुक्तिका लागि जस्तोसुकै परिस्थितिको सामना गर्न सक्छन् । आवश्यक परे हतियार उठाउन पनि पछाडि पर्दैनन् भन्ने कुराको ज्वलन्त उदाहरण महान् जनयुद्धमा महिलाहरूको सहभागिता र बलिदानले प्रमाणित गरिसकेको छ । पुरानो प्रतिक्रियावादी राज्य सत्ताबाट उत्पीडित जनजाति अति विपन्न परिवारमा जन्मेकी क्रान्तिकारी विचारकी धनी क.हीरा थापामगर एक इमान्दार जुझारु क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो । चीनका क्रान्ति नायक क.माओको ‘सेना नभएको जनता वा पार्टीसँग आफ्नो भन्नु केही हुँदैन’ भन्ने दृष्टान्तअनुसार सशस्त्र शक्तिको आडमा टिकेको प्रतिक्रियावादी राज्यसत्तालाई विघटन गराउँदै जनवादी राज्य स्थापनाका लागि सेना निर्माणको प्रश्नस अनिवार्य भएकोले नेकपा(माओवादी) ले पनि सेना निर्माणको योजना अगाडि बढायो ।

जस अनुरूप क. हीरा थापा दर्लामीमगर पनि जनमुक्ति सेनामा भर्ना भई पार्टी साधारण शाखा सदस्य र प्लाटुन कमाण्डरको जिम्मेवारीको हैसियतबाट थुप्रै युद्ध मोर्चामा भाग लिनुभयो । कति युद्ध मोर्चामा बाल बाल बच्न सफल हुनुभयो त कति मोर्चामा घाइते हुनुभयो । एक पटक २०६० सालमा पाल्पा, नवलपरासी, तनहुँ र स्याङ्जाको संगम स्थल ढुङ्गानाबेसीमा दुश्मनसँगको दोहोरो भिडन्तमा गोली लागी घाइते हुनुभयो । उपचार पछि पूर्ण रूपमा स्वस्थ भएपछि फेरि आफ्नो फर्मेसनमा जिम्मेवारी सम्हाल्न जानुभयो ।

यसरी जनताका परिवर्तनका बाहक राता मान्छेलाई जनताका दुश्मन निशाचरहरूले घेरो हालेर गौँडो ढुकेर सिध्याउने षड्यन्त्रलाई जनमुक्ति सेनाले धुलो चटाउँदै अगाडि बढिरहेको थियो । देशको ८० प्रतिशत ग्रामीण भू(भागमा जनताको सत्ताको अभ्यास भइरहेको थियो । तर युद्ध युद्ध नै हुँदोरहेछ । युद्धमा जित मात्र होइन जित हासिल गर्न क्षतिको सामना पनि गर्नुपर्दे रहेछ । एकदिन त्यस्तो दुःखद समाचारको सामना गर्नुपर्योा । २०६१ साल कार्तिक ३१ गते टिम सहित गोरखातिर जाँदा लमजुङ जिल्लाको गौडा गा.वि.स. को वेतनी भन्ने ठाउँमा दुश्मनले घेरामा पारी गोली हानी हत्या गर्योर । यसरी नेपाल आमाकी एक छोरी लाल योद्धाले अमरत्त्व प्राप्त गर्नुभयो । मान्छे जन्मन्छ र मृत्यु पनि सँगसँगै लिएर आएको हुन्छ । मर्ने तरिका फरक फरक हुन्छन् । जो आफ्नो नितान्त निजी स्वार्थका लागि बाँच्दछन् तिनको मरण, प्वाँखभन्दा हलुको हुन्छ । ती जनताको घृणाको पात्र हुन्छन् । जो देश जनता र परिवर्तनको लागि बलिदान गर्दछन् उनको मृत्यु सगरमाथाभन्दा उचो र पहाडभन्दा गह्रुङ्गो हुन्छ ।

यसै मध्येकी यो ब्रह्माण्ड रहँदासम्म फेरि जन्मन नपर्ने गरी बाँचि रहने योद्धा मध्येकी नेपाल आमाकी छोरी शहीद क. हीरा दर्लामी थापामगर (निमा) हुनुहुन्छ । शहीद क.निमालाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै हाम्रो तर्फबाट लालसलाम! ती राता मान्छे जन्माउने र क्रान्तिमा पठाउने बाबा, आमा र सम्पूर्ण परिवारजनहरूमा हार्दिक धन्यावद !

उहाँले जनमुक्ति सेनाकै सदस्य गोरखा छेपेटार घर भएका क. बाबुराम कुमाल ठाकुरसँग वैवाहिक सम्बन्ध कायम गर्नुभएको थियो । उहाँलाई पनि २०६१ भदौ ६ गते पोखराबाट शाही सेनाले गिरफ्तार गरेर हालसम्म पनि बेपत्ता बनाएको छ ।

महान् शहीद निमाको विषयमा उहाँका बाबा, आमा, घरपरिवार र छिमेकीहरू यस भन्नुहुन्छः(

बाबा तिलक बहादुर दर्लामी थापामगरः( उनी अति मिलनसार तथा राम्रो स्वभावकी छोरी थिइन् । पार्टीमा जाने बेलामा अहिले जाने उमेर भएको छैन भनेको मानिन । उ गई छाडि । उसको बानी आफूलाई लागेको कुरा गरी छाड्ने थियो । घरमा हजुर आमालाई पार्टीमा गई भन्दिनु भनेर समाचार छाडेर गइछन् । उ पार्टीमा गएपछि एक दिन रक्सी घोप्ट्याउने अभियानमा भेटेको थिएँ । र अर्को्दिन तालिम गरिरहेको ठाउँमा पार्टीमा बोलाएर भेट्ने मौका मिलेको थियो । मेरो पिर नमान्नु मलाई सजिलो भएको छ भनेर साथीहरूसँग बाटो लागीन । म फर्केर आएँ । त्यसपछि भेट भएन । एक्कासी शहादत भएको खबर आयो । यसरी जनताका छोराछोरी शहीद भएका छन् तर नेताहरूले शहीदको रगतको व्यापार गरिरहेका छन् । दुरूपयोग गरेका छन् । यी नेताहरूसँग बोल्न पनि मन लागेको छैन ।

८६ वर्षे हजुरआमा एकुमाया रानामगरः

डल्ली डल्ली शरीर भएको । कसैलाई पनि केही धक्का नलगाउने असल स्वभावको मान्छे थिई । घरको कामकाजमा सघाउने । पढ्ने लेख्ने गर्थी । त्यो दिन घाँस काटेर ल्याएर, बासीभात खाएर गएकी त्यसपछि फर्केर आइन । उसको सबै अनीबानी बिर्सीनसक्नु थियो ।

यति भन्दै गहभरी आँसु रसाए त्यो दृश्य देख्ने सँगै शहीद परिवार भेट्न जानुभएको नेकपा(माओवादी)को केन्द्रीय सदस्य क. अमृता थापामगरका आँखाबाट पनि आँसुका ढिका खसेका थिए ।

हजुरबुबा सुमबहादुर रानामगरः

अति राम्रो मान्छे । असल थियो । अहिलेसम्म पनि आँखा वरिपरि घुमीरहेको छ । कुनैदिन बाजे भनेर आउँछे कि जस्तो लाग्छ तर के आउनु दुष्टहरूले त्यस्तो गरे ।

जेठो दाजु चित्रबहादुर दर्लामी थापा मगरः

उ सानोमा पनि अति असल मान्छे थिई । घरका सबै भाइ बहिनीलाई माया गर्थी। घरको काममा सघाउँथी । देश र जनताको लागि माओवादी पार्टीमा लागेर बलिदान दिई । शहीद भई । ऊ साँच्चै मुलुककै ठूलो मान्छे भई तर उनले परिकल्पना गरेको समाज निर्माण गर्न बाँकी छ । त्यो जिम्मा अब हामी बाँचेकाहरूले पूरा गर्नुपर्छ । कोही पनि शहीदको रगतको अपमान गर्दै क्रान्तिबाट भाग्न पाउने छैन ।

माइला दाजु इवबहादुर दर्लामी थापामगरः

ऊ विद्रोही स्वभावको थिई । ऊ कसैसँग झुक्दैन थिई । युद्धमा गएर शहीद भई । उसको बलिदान अनुसारको परिवर्तन पनि भएन नेताहरूले शहीदको रगतको कदर गरेका छैनन् साह्रै दुःख लागेको छ ।

माइली भाउजू गुणकुमारी दर्लामी थापामगरः

म विवाह गरेर आउँदा ऊ सानै थिई । अति असल कसैलाई केही नभन्ने र नबिराउने । भाइ बहिनीहरूलाई अति माया गर्ने । खाना बनाएर खुवाउने । उसँग हाम्रो कहिल्यै नराम्रो भएन । यस्तो मान्छेलाई त्यस्तो गरे हामीलाई अत्यन्त दुःख लागेको छ ।

साइँलो दाइ यमबहादुर दर्लामी थापामगरः

अति असल बहिनी थिई । अहिले पनि जिवितै छ कि जस्तो लाग्छ । जसले जनताको लागि युद्ध लडेकी हो जे होस् उसको विचार मरेको छैन । उसले अमरत्त्व प्राप्त गरी उसले छाडेर गएको बाँकी काम हामी बाँचेकाले पूरा गर्नुपर्दछ ।

साइँली भाउजू कान्छीमाया दर्लामी थापामगरः

ऊ अति असल मान्छे । भान्छामा जे पाक्यो त्यही मिठो मानेर खान्थी । हामी सबैलाई काममा सघाउँथी । माया गर्थी सबैलाई । के गर्ने हाम्रो घरको बत्ती नै निभ्यो ।

काइँलो दाइ राजु दर्लामी थापामगरः

बहिनी बच्चामै माओवादी पार्टीमा गई । हाम्रो मुटुको टुक्रा थिई । उसको नराम्रो बानी भन्ने कुरा केही थिएन । हाम्रो सबै परिवार एकै ठाउँमा छौँ । हाम्रो बहिनी हिरामात्रै हामीसँग टाढा भई । दुश्मनले हामीलाई त्यस्तो गरी दियो ।

काइँली भाउजू बुलकुमारी दर्लामी थापामगरः

म २०५७ सालमा विवाह गरेर आएँ । उनी २०५८ सालमा पार्टीमा गइन् । एक वर्ष मात्र हाम्रो सँगै उठबस भएको हो । उनी अत्यन्तै असल मान्छे थिइन् । आजसम्म बाँच्न पाएको भए केही गर्न सक्थिन् होला उनी निडर, सुरो मुटु भएको मान्छे हो ‚ शहीद भईन ।

भाइ कुमार थापामगरः

दिदी पार्टीमा पूर्णकालीन भएर जाँदा म सानै थिएँ । दिदीको विषयमा मलाई धेरै कुरा त जानकारी भएन तर ऊनी माओवादी पार्टीमा लागेर पूर्णकालीन हुँदा म पनि जान्छु भनेको थिएँ । उनले म पार्टीमा पूर्णकालीन भएर काम गर्छु तिमी घरमै बसेर सहयोग गर भनेर छोडेर गएकी थिइन् । उनी सदाको लागि अमर बनेर गइन् । त्यसपछि हाम्रो भेट भएन ।

कान्छो भाइ कृष्ण बहादुर दर्लामी थापामगरः

म र दिदीसँगै एउटै स्कुलमा पढेको हो । ऊ साह्रै मिलनसार थियी । सबै साथीहरूसँग मिलेर पढ्ने लेख्ने गर्थी । म चाँही बाटोमा खेलेर स्कुल गयल हुन्थेँ । बेलुका हामी सँगै घर आउँथ्यौँ । बाबा आमाले भाइ स्कुल गयो कि गएन भनेर सोध्दा गएको थियो भनेर बाबा आमाको सजायबाट मलाई बचाउँथी । यस्तो माया गर्ने दिदी अहिले हाम्रो साथमा छैन के गर्ने?

दिदी सीता नेपालः

हाम्रा लागि एकदम राम्रो थिई । अरुलाई कस्तो लागेको छ कुन्नी? उसको असल बानी अहिलेसम्म पनि बिर्सन सकेको छैन । कतैबाट आइहाल्छ कि जस्तो लाग्छ । दुष्टहरूले यस्तो गरी चुँडेर लगे ।

छिमेकी हरि बहादुर भण्डारीः

उनी राम्रो मान्छे थिइन् । उनको विचार सिद्धान्त ठिक थियो । उनी सारा समाजलाई सुखसँग बाँच्न पाउने व्यवस्था निर्माण गर्न पार्टीमा लागेकी हुन् । उनी युद्धमा मारिइन् शहीद भइन् तर शहीदको लागि पार्टीले केही गरेन त्यही दुःख लागेको छ ।

यसरी दश वर्षे जनयुद्धमा नेपाल आमाका दशौँ हजार सर्वोत्तम छोराछोरीले बलिदान गरेका छन् । शहीद भएका छन् । तीनै शहीद मध्येकी एक हुन् क. हीरा थापा दर्लामी मगर (निमा) । यिनै शहीदको बलिदानको तागतबाट कतिपय हिजोका क्रान्तिका नायकहरू सत्तामा पुगेका छन् र खलनायकमा परिणत भएका छन् । हिजोका जनयुद्ध हाँकेका कतिपय नेताहरू करोडौँको गाडीमा चढेर गगनचुम्बी महलमा बिलासी जीवन बिताइरहेका छन् । सम्पत्ति थुपारेका छन् । नातावाद, कृपावादको सँस्कृति अवलम्बन गर्दै प्रतिक्रान्तिको नेतृत्त्व गरिरहेका छन् । शहीदको रगतको व्यापार गर्दै आफ्नो निजी स्वार्थ पूरा गरिरहेका छन् ।

नेपाली जनताका समस्याहरू ज्यूँका त्यूँ छन् भनौँ अझ बिकराल बनेको छ । बाँच्न सकस भएको छ । शहीदका परिवार बेहाल भई सडकमा रोइरहेका छन् । जसका कारण क्रान्तिको कार्यभार पूरा गर्नको लागि क्रान्तिकारीहरूले शहीदको विचारलाई दह्रोसँग पक्डँदै जस्तोसुकै चुनौतिको सामना गर्दै अगाडि बढ्ने प्रतबद्धता सहित क्रान्तिकारी पार्टी नेकपा(माओवादी अगाडि बढिरहेको छ । खबरदार क्रान्तिको खोल ओढेर नेपाली जनतामाथि शासन गर्ने सपना नया लेण्डुप दोर्जेहरूले नदेखे हुन्छ । तिम्रो चिहान जनयुद्धका दशौँ हजार शहीदको विचार बलिदानबाट प्राप्त भएको क्रान्तिकारी तागतले खनेर समाप्त पार्नेछ । बाटो केही कठिन भए पनि नेपाली जनताको भविष्य उज्ज्वल बनाएरै छाडिने छ ।

यसरी शहीदले छोडेर गएको बाँकी कार्यभार पूरा गरेर मात्र सच्चा शहीदको श्रद्धाञ्जली हुनेछ । त्यसकारण एकपटक सबै मुक्तिकामी क्रान्तिकारीहरूले शहीदप्रति सच्चा श्रद्धाञ्जली अर्पण गरौँ र नेपाली जनताप्रतिको आफ्नो जिम्मेवारीलाई पूरा गरौँ ।

– साभार : ग्रेट मिसन मासिक