संगठन र संघर्षका आगामी कार्यक्रम तय गर्दै क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठक

प्रकाशित मिति : २०७६ असार १४

काठमाडौं । पार्टीको संगठन र संघर्ष सम्बन्धी आगामी कार्यक्रम तय गर्न नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको बैठक तीन दिनदेखि जारी छ । पार्टी महासचिव मोहन वैद्य‘किरण’ले बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ । ललितपुरको चाङ्गाथलीमा १२ गतेदेखि जारी बैठकमा शुक्रबारसम्ममा स्थायी समिति सदस्य, पोलिटव्यूरो सदस्य लगायतले प्रतिवेदनमाथि आफ्नो धारणा प्रस्तुत गर्दै आफ्नो कार्यक्षेत्रको रिपोर्टिङ समेत राखेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले मूलबाटोलाई बताए ।
प्रतिवेदनमा अन्तर्राष्ट्रिय परिस्थिति तथा राष्ट्रिय परिस्थितिको ठोस विश्लेषण गर्दै पार्टी कामको मूल्याङ्कन र समस्याको चर्चासहित संघर्ष तथा जनपरिचालनबारे ठोस ठोस प्रस्ताव गरिएको ती केन्द्रीय सदस्यले बताए । बैठक अझै ३–४ दिनसम्म जारी रहने बताइएको छ । नयाँ जनवादी क्रान्तिको तयारीको क्रममा रहेको क्रान्तिकारी माओवादीको यस बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।