मार्क्सवाद र समाज विकासमा प्रविधिको भूमिका

प्रकाशित मिति : २०७६ असार ५

- क. वसन्त

मानिस एउटा चेतनशील प्राणी हो । उसले आफ्नो भौतिक आवश्यकता पुरा गर्न श्रम गर्ने गर्दछ । कुनै पनि मानिसको ज्ञान तथा सिप र औजारको सामाजिक व्यवहारमा हुने प्रयोगको समग्रता नै उसको श्रम हो । मार्क्सवादले समाज विकासको आधार श्रम हो र यसैले नै मानिसलाई जनावर भन्दा अलग गराएको हो भन्ने मान्दछ । समाजमा मानिसका आवश्यकताहरु बढिरहन्छन् त्यसकारण नयाँ–नयाँ आवश्यकतालाई पुरा गर्नका लागि उसले आफ्नो ज्ञान, सिप तथा श्रमका औजारहरुको विकास गरिराख्नु पर्दछ । यो सबै उसले सामाजिक व्यवहार मार्फत गर्ने गर्दछ । राजनीतिक अर्थशास्त्रको भाषामा मानवीय श्रम र श्रमका औजारको समग्रतालाई उत्पादक शक्ति भनिन्छ । मार्क्सवादका अनुसार यही उत्पादक शक्ति नै मानव समाजको चालक शक्ति हो ।

जङ्गली युगको सुरुतिर मानिस प्राकृतिक जीवन बाँच्दथ्यो र शरीरका अङ्गहरु नै उसका श्रमका औजार हुन्थे । बाँच्नका लागि सङ्घर्ष गर्ने क्रममा उसलाई आफ्ना प्राकृतिक औजारहरुले मात्र नपुग्ने भयो । यही आवश्यकताका कारण मानिसले सुरुमा धनुवाणको विकास गर्यो, आगो पत्ता लगायो, फलामको धाउ खार्ने प्रविधिको विकास गरेर फलामको आविष्कार गर्यो, फलामका औजारहरु बने । मानिसको आवश्यकता र समाजको विकाससँगै प्रविधि र श्रमका औजार पनि विकास हुँदै गए, यो क्रम आजसम्म पनि जारी छ र भोली पनि यो रोकिने छैन । मानिसले श्रमका औजार अर्थात् प्रविधिको विकास गर्दैनथ्यो भने शायद आजसम्म पनि उ जङ्गलमै कन्दमुल खाएर बस्थ्यो वा उसको भौतिक अस्तित्व नै समाप्त हुन्थ्यो । यो विकास वस्तुतः आवश्यकता तथा स्वतन्त्रता अर्थात् पदार्थ तथा चेतनाका बीचको द्वन्द्वात्मक एकत्वको अभिव्यक्ति हो ।

ज्ञान तथा औजार बारे माओले भन्नु भएको छ, “मानिसको ज्ञान व्यवहारबाट सुरु हुन्छ । हामीले बन्चरो र मेसिनलाई संसार बदल्न प्रयोग गर्छौं, र यसरी हाम्रो ज्ञान गहिरिन्छ । औजारहरु भनेका मानिसका अङ्गका विस्तार हुन् । बन्चरो हाम्रा पाखुराहरुको विस्तार हो जव कि दुरदर्शक यन्त्र हाम्रो आँखाको विस्तार हो । मानव शरीर तथा अङ्गहरु सबैलाई विस्तार गर्न सकिन्छ ।” ज्ञान तथा श्रमका औजारहरु बारे मार्क्सवादी दृष्टिकोण यही हो । यसरी ज्ञान तथा श्रमका औजारको विकास अर्थात् प्रविधिको विकास भनेको अन्ततः मानिसको श्रमगर्ने क्षमताको विकास हो अथवा उत्पादक शक्तिको विकास हो । यसरी नै लेनिनले भन्नु भएको छ, “आधुनिक प्रविधिको विधिद्वारा हुने प्राकृतिक श्रोत–साधनको विकासले उत्पादक शक्तिको अभूतपूर्व प्रगति गर्ने आधार निर्माण गर्नेछ ।” माथिका उद्धरणहरुबाट के स्पष्ट हुन्छ भने मानव समाजको विकासको आधार नै उत्पादक शक्तिको विकास हो । यो उत्पादक शक्ति मानव चेतना, विज्ञान र प्रविधिको विकासको अनन्त प्रक्रिया हुँदै अगाडि बढ्छ । यसमा मानिसको भूमिका निर्णायक हुन्छ ।

उत्पादनको प्रक्रियामा औजारहरुको विकास युग परिवर्तनका लागि एउटा मूल कारण बनेको थियो भन्ने कुरा एङ्गेल्सले ‘परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति’ भन्ने उहाँको प्रसिद्ध कृतिमा उल्लेख गर्नु भएको छ । उहाँका अनुसार जङ्गली युगमा प्राकृतिक जीवनबाट मानिसले गरेको धनुवाणको विकास वर्वर युगमा प्रवेशका लागि एउटा कोशे ढुङ्गा थियो । त्यसरी नै फलामका धाउहरुबाट फलाम खार्ने प्रविधिको आविष्कारले तात्कालीन मानव समाजलाई वर्वर युगबाट सभ्य युगमा प्रवेश गर्ने ढोका खोलेको थियो । विज्ञान तथा प्रविधि र मानव समाजको विकासको अन्तर–सम्बन्धका बारे ऐतिहासिक भौतिकवादी दृष्टिकोण यही हो ।

समय बित्दै जाँदा उत्पादक शक्तिको विकास हुँदै गयो र उत्पादनमा पनि बृद्धि हुँदै गयो । यसले उत्पादनमा बृद्धि मात्र गरेन त्यसले वचतमाथि कस्को अधिकार हुने भन्ने स्वामित्वको प्रश्न पनि अगाडि लिएर आयो । त्यो वस्तुतः उत्पादक शक्ति र उत्पादन सम्बन्धका बीचको अन्तरविरोधको स्वाभाविक अभिव्यक्ति थियो । यही अन्तरविरोधलाई मार्क्सवादले मानव समाजको चालक शक्ति हो भन्ने मान्दछ । यो अन्तरविरोध दुश्मनीपूर्ण स्थितिमा पुगेपछि पुरानो उत्पादन सम्बन्ध बदलिन्छ र त्यसले समाजलाई नयाँ ठाउँमा पुर्याउँछ । यही नै समाजको विकास प्रक्रिया हो । यसबारे मार्क्स भन्नु हुन्छ, “विकासको खास चरणमा पुगेपछि समाजका भौतिक उत्पादक शक्तिहरु तात्कालीन उत्पादन सम्बन्धसँग टक्कराउँछन् । ती सम्बन्धहरु उत्पादक शक्तिहरुका विकासको अनुरुप नरहेर तिनका लागि बाधक बन्न जान्छन् । अनि सामाजिक क्रान्तिको युग सुरु हुन्छ । आर्थिक आधारमा हुने परिवर्तनहरुले ढिलो–चाँडो सम्पूर्ण उपरी संरचनालाई नै बदलिदिन्छन् ।” समाज बिकास बारे मार्क्सवादी दृष्टिकोण यही हो ।

इतिहासको लामो प्रक्रियामा, मानव समाज विभिन्न चरणहरु हुँदै अगाडि बढेको छ । विगतमा ठीक यही प्रक्रिया मार्फत् आदिम समाजको गर्भबाट दास–स्वामी समाज, दास–स्वामी समाजको गर्भबाट सामन्ती समाज र सामन्ती समाजको गर्भबाट पुँजीवादी समाजको विकास हुदै आएको हो । पुँजीवादी समाजको गर्भबाट वैज्ञानिक समाजवाद हुदै साम्यवादी समाजको विकास हुने वस्तुगत प्रक्रिया पनि यही नै हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादले हामीलाई यही सिकाएको छ ।

यद्यपि समाज विकासको तात्कालिक दृष्टिले आदिम समाजमा धनुवाण र फलाम खार्ने प्रविधिको आविष्कार पनि कम महत्वका थिएनन् तर आधुनिक समाजमा औद्योगिक क्रान्तिको गणना भने वाष्प इन्जिनको आविष्कारबाट सुरु गरिएको छ । वाष्प इन्जिनको आविष्कारलाई पहिलो औद्योगिक क्रान्तिको आधार थियो भन्ने मानिन्छ । त्यस्तै, विद्युत तथा स्टिलको आविष्कार, कम्प्युटर प्रविधिको विकास र हालमा आएर विज्ञान तथा प्रविधिले गरेको यन्त्रमानव प्रविधि (Robotics) र कृत्रिम प्रज्ञा (Artificial Intelligence) सम्मको विकासलाई वैज्ञानिकहरुले क्रमशः दोस्रो, तेस्रो र चौथो औद्योगिक क्रान्तिका आधार हुन् भन्ने मान्दछन् । पहिलेका औद्योगिक क्रान्तिहरुले पनि सुरुमा मजदुरका श्रम खोसेका थिए भन्ने बहस सिर्जना नगरेको होइनन् । तर, त्यो बहसको क्षेत्र आजको सापेक्षतामा निकै साँगुरो थियो । आज, मुख्यतः चौथो औद्योगिक क्रान्ति पछि यन्त्र मानव र कृत्रिम प्रज्ञाको विकासले बहसको क्षेत्रलाई निकै व्यापक गरिदिएको छ । हिजोसम्म असम्भव मानिएका विषयहरु आज सम्भव भएको कुरा व्यवहारले नै पुष्टि गरिसकेको छ ।

चौथो औद्योगिक क्रान्तिको प्रक्रियामा भएको प्रविधिको विकास कुनै एउटा क्षेत्रमा मात्र सिमित छैन । यो बहुआयामिक रहेको छ । यसमा त्रि–आयामिक मुद्रण 3D-Printing, कृत्रिम प्रज्ञा (Artificial Intelligence), यन्त्रमानव प्रविधी (Robotics), नेनो प्रविधि (Nano Technology), स्वचालित जहाज तथा गाडीहरु (Autonomous drones and vehicles), जैविक प्रविधि (Biotechnology), स्नायु प्रविधि (Neuro-technology) लगायतका व्यापक क्षेत्रहरु समेटिएका छन् । विज्ञान तथा प्रविधिको क्षेत्रमा भएको यो बहुआयामिक विकासले मानव समाजमा गहिरो असर देखाइसकेको छ । त्यसका केही प्रमूख पक्षलाई उदाहरणसहित निम्नानुसार उल्लेख गरिएको छ ।

हङ्गकङ्गबाट प्रकासित भएको एउटा अनलाइन पत्रिकाले “१२ प्रकारका चिनिया रोबोटहरुले हाम्रा दैनिक कामहरु खोस्दै छन्” भन्ने शीर्षकमा एउटा समाचार प्रकासित गरेको थियो । त्यसमा लेखिएको छः एक, “चीनको एउटा औद्योगिक फर्मले प्रतिदिन २,००,००० वटा प्याकेज तयार पार्न रोबोटहरुलाई प्रयोग गरेर मजदुरहरुको ज्याला बापतको खर्च आधाले घटायो” । दुई, “चीनको हेबेईमा अवस्थित कियोजी (Qiaoxi) नामको अदालतमा मानिसहरुलाई स्वागत गर्न रोबोटहरु राखिएका छन्, ती रोबोटले अदालतको कार्यविधि बारे जानकारी गराउन र कानुनी सल्लाह पनि दिन सक्छन्” । तीन, “चीनको हतियार कारखानाका एक–चौथाई काम रोबोटहरुले गर्दछन्” । चार, “आइदाम (Aidam) नाम दिइएको एउटा रोबोटले चीनको एउटा कलेजको प्रवेश परीक्षामा १० मिनेट भन्दा कम समयमा १५० पूर्णांकमा १३४ अँक प्राप्त गरेको छ” । पाँच, “एउटा चिनियाँ रोबोटले एकजना बिरामी मानिसका मुखमा मानवीय सहयोग बिना नै एउटा कृत्रिम दाँत फिट गरिदिएको छ” । छ, “गत नोभेम्बर २०१७ मा जिओयी (Xiaoyi) नामको रोबोटले चीनमा मेडिकल लाइसेन्सका लागि लिइएको परीक्षा उत्तीर्ण गरेको छ” । सात, “चीनको एउटा कर्मचारी नै नभएको पकौडा कारखानामा २४ सै घण्टा सबै काम रोबोटले गर्छन्, तर ती पकौडा मानिसले बनाएका जस्ता स्वादिला भने हुँदैनन्” आदि । हिजोसम्म यी कुराहरु मानिसको कल्पनाभन्दा बाहिर थिए । तर, आज यी सबै धरातलीय यथार्थ भएका छन् ।

यो सबैका अतिरिक्त, प्रतिघण्टा १,००० बटा ईटा लगाएर भवनको गारो ठड्याउन सक्ने Hadrian-X मेसिन, एक घण्टाभित्र करीव दुई बिघाजति खेतमा धानका विरुवा रोप्न सक्ने Transplanter मेसिन लगायत धेरै किसिमका यन्त्रहरु दैनिक प्रयोगमा आइसकेका छन् । पाईलटबिना चल्ने जहाज तथा ड्राइबर बिना चल्ने गाडीहरुको सफल परीक्षण भइसकेको छ र विकसित देशहरु तिनको प्रयोग गर्ने तरखरमा छन् । यन्त्र महिला “सोफिया”लाई साउदी अरेवियाको सरकारले आफ्नो देशको नागरिकता प्रदान गरेको कुरा विश्वभरि व्यापक चर्चाको विषय बनेको छ । उनले जुनसुकै मानिसका हरेक प्रश्नको स्वतस्फुर्त जवाफ दिन सक्छिन् । यो विज्ञान तथा प्रविधिको विकासले सिर्जना गरेको आजको यथार्थ हो ।

यद्यपि मार्क्सले आफ्नो जीवनकालमा आजका यी विकासको प्रत्यक्ष अनुभूति गर्न पाउनु भएन तर पनि वहाँले मजदुर र मेसिनहरुको स्वचालनको सम्बन्ध बारे त्यति बेलै उल्लेख गर्नु भएको थियो । उहाँ लेख्नु हुन्छ, “उत्पादन प्रक्रियामा समावेश भएपछि, श्रमका औजारहरु विभिन्न रुपमा बदलिंदै जान्छन्, जसको उत्कर्ष मेशिन हो, अझ भनौं मेसिनहरुको स्वचालन प्रणाली हो, … … थुप्रै यान्त्रिक तथा बौद्धिक संरचनामा मिलेर रहने यो स्वचालन प्रक्रियामा श्रमिकहरु सचेत सम्बन्धमा मात्र जोडिन्छन् ।” प्रविधिको विकासको प्रारम्भिक चरणमा पनि मार्क्सले त्यो विकास स्वचालित मेसिनको निर्माणसम्म पुग्न सक्ने आकलन गर्नु भयो र भन्नु भयो कि प्रविधिले जतिसुकै विकास गरे पनि मेसिनलाई नियन्त्रण गर्ने चेतना भने मानिसमा हुन्छ, मेसिन आफैमा होइन ।

यहाँ नेर विशेष ध्यानाकर्षण गर्न खोजिएको के कुरामा हो भने मूख्यतः पहिलो र दोस्रो औद्योगिक क्रान्तिले सुरुमा केही प्रश्न र समस्या उठाए पनि पछि तिनले श्रमका क्षेत्र विस्तार गरेर रोजगारीको व्यापक बृद्धि गरेका थिए । तर अहिले चौथो औद्योगिक क्रान्तिसम्म आइपुग्दा यसले पहिलेका क्रान्तिले सिर्जना गरेका रोजगारीका क्षेत्रमा कामगर्ने रोबोटहरु पठाएर मानिसलाई कामबाट विस्थापित गर्न थालेको छ र यसले मानिसलाई प्रविधिसँग सचेत सम्बन्ध मात्र स्थापना गर्ने भुमिकामा पुर्याएको छ । यसको प्रभाव क्षेत्र निर्माणमात्र होइन सेवा लगायतका विभिन्न क्षेत्रहरु समेत पर्दछन् । यो पहिलो र दोस्रो औद्योगिक क्रान्तिले निर्माण गरेको भन्दा नितान्त भिन्न स्थिति हो ।

अब, एउटा प्रश्न अगाडि आएको छ । उत्पादन गर्ने रोबोटहरुले उत्पादित वस्तु खरिद र उपभोग दुवै नगर्ने र उपभोग गर्ने मानिसले बेरोजगारीका कारण क्रयशक्ति नभएर खरिद गर्ने नसक्ने स्थितिमा पुँजीवादी उत्पादनको औचित्य के ? यो एउटा सामान्य प्रश्न होइन । यसको अन्तिम परिणाम पुँजीवादको अन्त मात्र हुने छैन, पुरै मानव सभ्यताको समेत पूर्ण विघटन हुने छ । साथै प्रविधिको अनियन्त्रित प्रयोगका कारण पर्यावरणमा परेको नकारात्मक प्रभावले पनि मानव समाजलाई ध्वंशको दिशातिर डोर्याइ रहेको कुरा पर्यावरणविदहरुले बारम्बार औल्याइराखेका छन् । यही सन्दर्भमा, संयुक्त राष्ट्रसङ्घले हालै पोल्याण्डमा २०० भन्दा बढी देशका प्रतिनिधिका बीचमा आयोजना गरेको जलवायु शीखर सम्मेलनमा डेभिड एटेनबोरोले “सभ्यता र प्राकृतिक विश्वको अन्त क्षितिजमा छ” भनेका छन् ।

ठीक यही सन्दर्भमा, एकजना बामपन्थी समाजशास्त्री तथा वरिष्ठ पत्रकार पिटर फ्रेजले २०१६मा एउटा महत्वपूर्ण पुस्तक प्रकासन गरेका छन् । उक्त पुस्तकको नाम Four Futures: Life After Capitalism भन्ने रहेको छ । त्यस पुस्तकको भूमिकाको पहिलो वाक्यमा उनले लेखेका छन् “२१औ शताव्दीमा संसारलाई दुईबटा भूतहरुले सताइरहेका छन्, ती हुन् : पर्यावरणीय विपत्ति र स्वचालनका भूतहरु” । त्यो पुस्तकमा उनले यी दुई भूतहरुका कारण विश्वमा पुँजीवादको अन्त नजिक छ भन्ने निष्कर्ष निकालेका छन् ।

त्यसमा उनले पुँजीवादको अन्त हुने मात्र होईन, त्यसपछि स्थापित हुने समाजको सामाजिक नीति र उत्पादनको मात्राको आधारमा मानव जीवनका चार भिन्न अवस्था हुनसक्ने सम्भावना समेत देखाएका छन् । ती हुन् : एक, उत्पादनमा प्रचुरता (Abundance) र नीतिमा समानता (Equality) भएको खण्डमा पुँजीवाद पछिको मानव समाज साम्यवाद (Communism) हुनेछ । दुई, सक्ने मानिसहरुले Software लाई भाडामा लिई रोबोट मार्फत् उत्पादन गर्दा उत्पादनमा प्रचुरता त आउन सक्छ तर समाजको वर्गीय भर्याङ्ग (Hierarchy) बदलिएन भने त्यो भाडावाद (Rentism)मा सिमित हुनेछ । तीन, नीतिमा समानता त आयो तर उत्पादनमा प्रचुरता आएन भने त्यो समाजवाद (Socialism) हुने छ । चार, समाजमा वर्गीय भर्याङ्ग जस्ताको तस्तै रह्यो र उत्पादन पनि अपर्याप्त (Scarcity) भयो भने स्वचालित यन्त्रको प्रयोग गरेर मस्तीगर्ने समाजको अति सानो हिस्साले उनीहरुको वैभवपूर्ण जीवनलाई वर्गीय चुनौती दिने काम र माम नभएका मानिसको जमातलाई आमरुपमा संहार गर्नेछ । त्यो स्थितिलाई उनले संहारवाद (Exterminism) भनेका छन् । उनका यी निष्कर्षहरु संभावना भन्दा बाहिर देखिन्नन् ।

पछिल्ला केही वर्षमा विज्ञान तथा प्रविधिले गरेको विकासका गम्भीर असरहरु समाजमा जताततै देखिन थालि सकेका छन् । यसले विश्वभरी चर्को बहस नै छेडेको छ । बहसका कोणहरु भिन्न–भिन्न रहेका छन्, तर बहस निकै गम्भीर र पेचिलो छ । यो बहसलाई सामान्यतः दुई प्रमूख धारामा विभाजित गर्न सकिन्छ । ती हुन् : बुर्जुवा यथास्थितिवादी धारा र सर्बहारावादी परिवर्तनकामी धारा । तल यी धाराहरुको सङ्क्षिप्त अध्ययन गरिएको छ ।

पहिला बुर्जुवा यथास्थितिवादी धाराबारे चर्चा गरौं । यो धाराका पक्षपोषक श्रमजीवि वर्गका मानिसहरुले विज्ञान र प्रविधिको विकासका कारण रोजगारीका अवसरहरु खोसिने र परिणामतः मानव समाज नै खतरामा पर्नसक्ने मान्दछन् । टम वाट्सन नामका एकजना स्तम्भकारले “सबै कामहरु रोबोटले गर्ने भएपछि मानिसहरु कसरी बाँच्ने” भन्ने शीर्षकमा एउटा लेख प्रकासित गरेका छन् । त्यस्तै म्याकिन्से तथा कम्पनी नामको संस्थाले “२०३० सम्ममा स्वचालित रोबोटहरुले ८० करोड मजदुरहरुका काम खोस्ने छन्” भन्ने प्रतिबेदन प्रस्तुत गरेको छ ।

वाल स्ट्रिट जर्नलले लेख्दछ, “जापानको नोरुमा भनिने अनुसन्धान सस्थानले २०१५मा तयार पारेको प्रतिवेदनका अनुसार आउने २०३५ सम्ममा जापानका करीव आधाजसो कामहरु रोबोटले गर्नेछन्” । त्यस्तै इजरायलको हेब्य्रु विश्वविद्यालयका एकजना प्राध्यापक र प्रसिद्ध इतिहासकार डा. युवल नोह हरारीले “कृत्रिम प्रज्ञा र स्वचालनले संसारभरी निकम्मा वर्ग (Global useless class) सिर्जना गर्ने छ”१० भनेका छन् आदि । स्वचालनका कारण रोजगारी खोसिने कुरा प्रायः अनिवार्य भएको तर त्यसको कुनै वैकल्पिक उपाय नदेखेको अवस्थामा यो धाराका पक्षपाति श्रमजीवी वर्गका मानिसहरु अलि बढी चिन्तित देखिने गरेका छन् ।

पुँजीपति र तिनका आर्थिक संस्थाका तर्फबाट पनि स्वचालन र कृत्रिम प्रज्ञाबारे विभिन्न विचारहरु व्यक्त हुँदै आएका छन् । उनीहरु यसमा खुसी छन् । उक्त पत्रिकामा टम वाट्सन लेख्दछन्, “व्याङ्क अफ अमेरिकाले हालैमा दावीकासाथ भनेको छ कि आउने एक पुस्ताभित्र स्वचालित प्रणालीले औद्योगिक उत्पादनको क्षेत्रको आधा काम गर्ने छ र यसबाट दुनियाँलाई चकित पार्नेगरी ९० खरब डलर बराबर मजदुरहरुको ज्याला बचत हुने छ ।” त्यसरी नै बेलायत स्थित PWC नामको एउटा संस्थाको प्रतिवेदनले स्वचालन र कृत्रिम प्रज्ञाका कारण “२०३० सम्ममा विश्व अर्थतन्त्रलाई प्रतिवर्ष जम्मा १५७ खरव डलरको योगदान पुग्ने छ, यो चीन र भारतको हालको कुल गार्हस्थ उत्पादन भन्दा पनि धेरै हो” भनेर स्वचालन प्रति निकै गर्व गरेको छ । यसले विषयको गम्भीरतालाई दर्शाउँछ । यो सामान्य स्थिति होइन ।

अर्कोतिर, स्वचालनले ल्याउने वेरोजगारीको समस्या कसरी समाधान गर्न सकिन्छ त भन्ने प्रश्नको जवाफमा विश्वका एक नम्बर धनी बिल गेटले “जागिर खोस्ने रोबोटहरुलाई कर लगाउनु पर्दछ” भनेका छन् । यति मात्र होइन, उनले त्यसबाट आएको रकम रोबोटहरुका कारण कामबाट हातधुन वाध्य पारिएका मजदुरहरुलाई राहत प्रदान गर्न र तिनको शीपविकास गर्ने काममा प्रयोग गर्नु पर्दछ भन्ने आशय समेत व्यक्त गरेका छन् । पुँजीको लगानी गरेर त्यसबाट अत्यधिक अतिरिक्त मूल्य आर्जन गर्न पल्केका पुँजीपति वर्गलाई प्रविधिको विकासले निकै खुसी तुल्याएको छ ।

अब, सर्बहारावादी परिवर्तनकामी धाराबारे चर्चा गरौं । आफुलाई कम्युनिस्ट हुँ भन्ने सबै खाले समुहहरुले यस धाराको प्रतिनिधित्व गरेको दावी गर्छन् । तर, यो धारा अन्तर्गत पर्ने समूहहरुका बीचमा विज्ञान तथा प्रविधिले पैदा गरेका चुनौती र सम्भावनालाई बुझ्ने प्रश्नमा समान धारणा रहेको पाइँदैन । तिनीहरु विभिन्न प्रवृत्तिहरुमा विभाजित छन् । तिनलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।

पहिलो, यो नाममा सर्बहारावादी तर काममा पुँजीवादी प्रवृत्ति हो । यसलाई दक्षिणपन्थी संशोधनवादी प्रवृत्ति पनि भन्न सकिन्छ । यो प्रवृत्ति हुनेहरु विज्ञान र प्रविधिको विकासका कारण उत्पन्न भएका चुनौतिहरु प्रति चिन्तित त देखिन्छन् तर तिनीहरुसँग त्यो चुनौतिलाई क्रान्तिकारी ढङ्गबाट समाधान गर्ने न चिन्तन छ न त कुनै कार्यसुची नै । सारतः यो प्रवृत्तिको मान्यता बुर्जुृवा यथास्थितिवादीको भन्दा खासै भिन्न हुँदैन । यो पुँजीवादको पुच्छर प्रवृत्ति हो ।

दोस्रो, यो नाममा क्रान्तिकारी हुँ भन्ने तर काममा रुढिवादी हुने प्रवृत्ति हो । यो प्रवृत्तिले प्रविधिको विकासले सम्भावना सहित सुरुमा केही चुनौतिहरु लिएर आउने कुरा स्वीकार गर्दछ । तर यसले विषयको गहिराईसम्म प्रवेश गर्ने कोसिस नै गर्दैन । यो प्रवृत्तिले वाष्पइन्जिनको आविष्कार पछि लुडाइट विद्रोहीहरुले आफ्नो रोजगारी खोसेको भनेर मेसिन तथा कपडाका तानहरु तोडफोेड गरेका थिए तर पछि रोजगारी बढदै गएका कारण उनीहरु निकै खुसी भए भन्ने हिजोको विषयलाई नजीर बनाएर आजकोे प्रश्नलाई पनि त्यसरी नै पन्छाउन खोज्छ ।

यो प्रवृत्तिले क्रान्तिको कार्यदिशा र रणनीति निर्माणको प्रक्रियामा विज्ञान तथा प्रविधिको विकासका कारण पैदा भएका सम्भावना र चुनौतिहरुले कुन स्तरको भूमिका खेल्दैछन् भन्ने प्रश्नमा घोत्लिन त्यति आवश्यक नै ठान्दैन । यसले ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने झन्झट नगरी हिजो जे बुझेको थियो आज पनि त्यही नै सत्य हो भन्ने ठान्दछ । यसरी यो प्रवृत्ति अन्नतः परिस्थितिको विश्लेषण गर्ने र क्रान्तिको खाका कोर्ने कार्यमा मनोगतवादको सिकार हुन पुग्दछ । यो सारतः रुढिवादी मार्क्सवादी प्रवृत्ति हो । यसले क्रान्तिलाई त यान्त्रिक ढङ्गले समात्छ तर त्यसको विकास गर्न सक्दैन ।

तेस्रो, यो सिर्जनात्मक ढङ्गले परिस्थितिको विश्लेषण गर्ने नाममा मार्क्सवाद–लेनिनवाद–माओवादलाई ओझेलमा पार्ने र विज्ञान तथा प्रविधिलाई निर्णायक मान्ने प्रवृत्ति हो । यसले विज्ञान तथा प्रविधिको विकासका कारण उत्पादन प्रक्रियामा मानिसको भूमिकामा कमी हुदै गएको र प्रमूख उत्पादक शक्तिका रुपमा विज्ञान तथा प्रविधि अगाडि आएको कुरा गर्दछ । विज्ञान तथा प्रविधिलाई निवर्गीय र प्राकृतिक वस्तु वताएर यसका पक्षधरहरुले यसलाई जो कोहीले पनि आफ्नो आवश्यकता अनुसार उत्पादन प्रक्रियामा उपयोग गर्न सक्ने बताउँँछन् ।

आदिम समाजमा प्रकृति नै उत्पादक शक्ति भएको र त्यसमा सबैको अधिकार समान रहेको थियो भन्ने तर्क अगाडि सारेर अहिलेको उत्पादक शक्ति, विज्ञान र प्रविधिमाथि पनि सबैको अधिकार समान हुन पुगेको छ भन्ने उनीहरुको निष्कर्ष छ । विज्ञान तथा प्रविधि भनेको ज्ञान हो र ज्ञानलाई पुँजीपतिको सत्ताले नियन्त्रण गर्न सक्दैन भन्दै यिनीहरुले समाजमा अब वर्गसङ्घर्ष प्रधान नरहेको बताउन थालेका छन् ।

यहि सन्दर्भमा रमेश सुनुवारले लेखेका छन्, “आज विज्ञान–प्रविधिले उत्पादन क्षेत्रमा जुन आमूल परिवर्तन ल्याएको छ, जुन क्रान्ति ल्याएको छ, त्यसबाट अब समाजमा जीवनको लागि आवश्यक साधनहरुको अभावको कारण उत्पन्न सम्पूर्ण समस्याहरु, द्वन्द्वहरुको अन्त हुने सम्भावना देखिएको छ ।” विज्ञान तथा प्रविधिको विकासले वर्गसङ्घर्षको समस्यालाई हल गर्न सक्ने सम्भावना बढेको छ भन्ने यो मान्यता मार्क्सवाद सम्मत छैन । यसको सम्बन्ध द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादसँग होइन उत्तर–आधुनिकतावाद र उत्तर–मार्क्सवादसँग जोडिएको कुरा सहजै बुझ्न सकिन्छ ।

बरु सत्य त यो हो कि प्रविधिको विकासका कारण रोजगारीबाट हातधुन बाध्यहुने ‘निकम्मा वर्ग’ सहित आम श्रमजीवि वर्ग र प्रविधिमाथि एकाधिकार कायमगर्ने पुँजीपति वर्गका बीचको अन्तरविरोध अर्थात् वर्गसङ्घर्ष अरु चर्किने कुरा प्रष्ट छ । यस्तो हुँदा पनि उनले समाजमा वर्गसङ्घर्ष नै नरहने हास्यास्पद तर्क किन गरेका होलान् ? स्पष्ट छ, यो मार्क्सवादको सिर्जनात्मक विकास होइन, यो त मार्क्सवादबाट गम्भीर विचलनको अभिव्यक्ति हो ।

अर्कोतिर विज्ञान तथा प्रविधिको क्षेत्रमा भएको विकासका कारण उत्पादन क्षमतामा जुन बृद्धि भएको छ त्यो साम्यवाद निर्माणका लागि एउटा महत्वपूर्ण आर्थिक आधार बन्न जान्छ भन्ने उनीहरुले गरेको विश्लेषण भने एकदम सही छ । तर, “विज्ञान तथा प्रविधिमा आधारित समाजवाद अबको राजनीतिक कार्यक्रम हुनु पर्दछ” भन्ने यो प्रवृत्तिको मान्यता रहेको छ । यसमा उनले अबको समाजवादलाई आजसम्मको उच्च चेतना मालेमावादले होइन विज्ञान र प्रविधिले निर्देशित गर्नेछ भन्ने गलत तर्क अगाडि सारेका छन् । यो प्रविधिवाद हो । यसको मार्क्सवादसँग कुनै साइनो छैन । सिर्जनशील हुने नाममा श्रमजीवी वर्गलाई मार्क्सवादबाट अलग गर्ने यो सोच सर्बहारावर्गको हितका विरुद्ध छ । फलतः यो प्रवृति पुँजीपति वर्गको इमान्दार सेवक बन्न पुगेको छ ।

चौथो, यो मार्क्सवादमा आधारित क्रान्तिकारी प्रवृत्ति हो । यो प्रवृत्तिले विज्ञान तथा प्रविधिको विकासलाई मानव जातिले वर्गसङ्घर्ष, उत्पादनका निमित्त सङ्घर्ष र वैज्ञानिक प्रयोगको शिलशिलामा आजसम्म आर्जन गरेकोे समग्र ज्ञानको उपज हो भन्ने मान्दछ । यो उत्पादक शक्तिको विकास हो र यसले मानव समाजलाई पहिले कहिल्यै नपुगेको नयाँ ठाउंमा पुर्याउने क्षमता राख्दछ । विज्ञान तथा प्रविधिको क्षेत्रमा भएको यो अभूतपूर्व विकासले महान् सम्भावना र गम्भीर चुनौति दुबै लिएर आएका छन् । यो प्रवृत्तिले सम्भावनालाई वास्तविकतामा बदल्न र चुनौतिबाट मुक्त हुनका लागि कम्युनिस्टहरुले क्रान्तिको रणनीति र कार्यनीतिको विकास गर्नु पर्दछ भन्ने विश्वास गर्छ । यसलाई एउटा सच्चा कम्युनिस्टले निम्नानुसार आत्मसात गर्नु उचित हुन्छ ।

आज विज्ञानले गरेको कृत्रिम प्रज्ञा र स्वचालनको विकास भनेको वस्तुतः उत्पादक शक्तिको विकास हो । यो उत्पादक शक्ति यति बेला विद्यमान पुँजीवादी उत्पादन सम्बन्धसँग टक्कराई रहेको छ । आफ्नो लगानीबाट अत्यधिक अतिरिक्त मूल्य आर्जन गर्नका लागि पुँजीपतिले प्रविधिको अनियन्त्रित विकास र प्रयोगमा निकै जोड दिने गर्दछन् । तर, यसले रोजगारीको क्षेत्रलाई खुम्च्याइ दिन्छ, अर्धवेरोजगार र वेरोजगारको सङ्ख्यालाई, हरारीका शव्दमा विश्वभर निकम्मा वर्गको जमातलाई, अरु बढाइ दिन्छ र यसरी यसले आउने दिनमा धनी र गरीवका बीचको खाडललाई अरु गहिर्याउँदै लैजान्छ । यो भनेको उत्पादक शक्ति र उत्पादन सम्बन्धका बीचको अर्थात् श्रम र पुँजीका बीचको अन्तरविरोध अरु विष्फोटक हँुदै जाने स्थिति हो ।

ठीक यहीँ नेर नवउदारवाद पनि असफल सिद्ध भैसकेको र भूमण्डलीय प्रतिस्पर्धामा आँफु पछाडि परेको स्थितिमा अमेरिकाले यति बेला “अमेरिकालाई फेरि महान बनाऔं” भन्ने संरक्षणवादी नारा दिएर विश्वबजारमा पुनः एकाधिकार कायम गर्ने कोसिस गरिरहेको छ । चीन र रुस जस्ता महाशक्ति समेत अन्य थुप्रै देशहरु संरक्षणवादका विरुद्ध छन् । यति बेला मूख्यतः अमेरिका र चीनको बीचमा व्यापारयुद्ध चर्किदै गएको छ । यो प्रक्रियाले विश्वमा साम्राज्यवादी शक्तिहरुका बीचको ध्रुवीकरणलाई तीव्रता दिएको छ र अन्तर–साम्राज्यवादी अन्तरविरोधलाई पनि चर्काइरहेको छ । कतिपय मानिसहरुले यो ध्रुवीकरण एवम् अन्तरविरोध आणविक अश्त्रमा आधारित विध्वंशात्मक तेस्रो विश्वयुद्धसम्म पुग्नसक्ने आकलन गर्न थालेका छन् ।

यसका साथै विश्वको प्रधान अन्तरविरोध अर्थात् साम्राज्यवाद तथा उत्पीडित राष्ट्र तथा जनताका बीचको अन्तरविरोध पनि चर्किदै गएको छ । यसरी विश्वका सबै आधारभूत अन्तरविरोधहरु विस्फोटक बन्दै गएका छन् । यो सबैका पछाडिको आधारभूत कारण वस्तुतः विज्ञान तथा प्रविधिको विकास अर्थात् उत्पादक शक्तिको अभूतपूर्व विकास नै हो ।

यो स्पष्ट भइसकेको छ कि विश्वमा यतिबेला अभूतपूर्व रुपमा विकास भएको उत्पादक शक्ति र अति पिछडिएको उत्पादन सम्बन्धका बीचको अन्तरविरोध उत्कर्षतिर गइराखेको छ । आउने दिनमा साम्राज्यवादी शासकहरुले यो अन्तरविरोधलाई आंशिक सुधारको प्रक्रियाबाट टालटुल पार्न निकै कोसिस गर्ने छन् । तर, सुधारबाट मात्र यो अन्तरविरोध मत्थर पार्न सकिने स्थितिमा छैन र साम्राज्यवाद कै कारण उत्पन्न भएको अन्तरविरोधलाई साम्राज्यवादले नै समाधान गर्ने भन्ने प्रश्नै उठ्दैन ।

स्पष्ट छ, पुँजीवादी व्यवस्थाभित्र यो अन्तरविरोधको कुनै समाधान छैन । यसरी वर्तमान पुँजीवादी विश्व असमाधेय अन्तरविरोधमा फस्दै गइरहेको छ । यसरी आउने दिन विश्वभरी नै विभिन्न सार र रुपका विद्रोहका दिन हुने छन् । क्षितिजमा यसको सङ्केत देखिन थालिसकेको छ ।

यो स्थितिमा विश्वका सामु तीनवटा सम्भावना रहेका छन् । ती हुन् : एक, विश्वभर समाजवादी क्रान्तिको लहर पैदा हुनु, दुई, विध्वंशात्मक तेस्रो विश्वयुद्ध भड्किनु अथवा तीन, मानव सभ्यताको क्रमिक विघटन हुनु । पहिलोले पुरानो उत्पादन सम्बन्धलाई ध्वस्त पारेर नयाँको स्थापना गर्दछ र यो नै अहिलेको मूल प्रवृत्ति हो । दोस्रोले सबै कुराको ध्वंश गर्दछ । पहिलो वा दोस्रो मध्ये कुनै पनि नभएको स्थितिमा तेस्रो अवस्था आउने हो । यो तेस्रो अवस्थामा विश्वभर व्यापक बेरोजगारी, अभाव, भोकमरी, जातीय दङ्गा, क्षेत्रीय तथा धार्मिक युद्ध, आप्रवासन, पर्यावरणीय विपत्ति लगायत साम्राज्यवादले सिर्जना गरेका यावत समस्याहरु हुँदै अन्ततः मानव सभ्यताको नै अन्त हुने छ ।

जसरी सुकै किन न होस्, पुँजीवादको अन्त सन्निकट छ । पूँजीपतिले उत्पादन गर्ने सबै वस्तुहरु उसैको चिहान खन्ने मलामीहरु हुन् भनेर माक्र्स र एङ्गेल्सले कम्युनिस्ट घोषणापत्रमा भनेको भनाईको मर्म यही हो । यो परिस्थितिमा विश्व भरीका सच्चा कम्युनिस्टहरुले सचेत प्रयत्नद्वारा पहिलो सम्भावनालाई पक्रनु पर्दछ, यसको अर्को विकल्प छैन । समाजवादी क्रान्तिको लहरले सर्बहारा वर्गको मुक्ति र मानव सभ्यता तर्फको मार्ग प्रसस्त गर्नेमात्र होइन विद्यमान पुँजीवादी समाजलाई ध्वस्त पारेर वैज्ञानिक समाजवाद हुँदै विश्व साम्यवादको दिशामा अगाडि बढ्ने बाटो समेत खोल्ने छ ।

निष्कर्षमा, उत्पादक शक्तिको अभूतपूर्व विकास र पिछडिएको उत्पादन सम्बन्धका बीचको चर्किँदो अन्तरविरोधका कारण विश्व यति बेला आँधी पहिलेको शान्तिको स्थितिबाट भीमकाय उथल–पुथलको दिशातर्फ अगाडि बढिरहेको कुरा स्पष्ट देख्न सकिन्छ । यो स्थितिमा सर्बहारा वर्ग तथा उत्पीडित वर्गको मुक्ति र मानव सभ्यताको रक्षाका लागि समेत विश्वभरीका कम्युनिस्ट क्रान्तिकारीहरुले साम्राज्यवादको भण्डाफोर र सम्भावित तेस्रो विश्वयुद्धका विरुद्ध जनमत निर्माण गर्दै विश्व सर्बहारा क्रान्तिको प्रक्रियामा लाग्नुको विकल्प छैन । विज्ञान तथा प्रविधिको आफ्नो भन्ने कुनै वर्ग हुँदैन, जुन वर्गको नेतृत्वमा छ त्यसले त्यही वर्गको हितमा काम गर्ने हो ।

समाजवादी क्रान्तिको सफलता पछि मात्र विश्व सर्बहारा वर्गले विज्ञान तथा प्रविधिको विकासलाई उत्पीडित वर्गको सामुहिक हितमा प्रयोग गर्न सक्छ । त्यो बेला प्रविधि जनताको रोजगारी खोस्ने अभिशाप होइन बरु त्यो प्रविधिलाई मानव समाजको हितमा लगाउने, मजदुर वर्गको श्रमघण्टा घटाउने, ‘निकम्मा वर्ग’लाई रोजगारी दिने र त्यो प्रक्रियामा विश्व साम्यवादको स्थापनाका लागि प्रचूर सामुहिक सम्पत्ति आर्जन गर्ने वरदान साबित हुनेछ । यसरी विज्ञान तथा प्रविधिको विकासले प्रायः संसार भरी नै सर्बहारा समाजवादी क्रान्तिका लागि अत्यन्त अनुकुल वस्तुगत आधार निर्माण गरिराखेको मात्र छैन, यसले अभूतपूर्व रुपमा उत्पादक शक्तिको विकास गरेर विश्व साम्यवादलाई पनि नजिक्याइ रहेको छ ।