विप्लव नेकपाका सर्लाही इञ्चार्ज कुमार पौडेलको प्रहरीद्वारा हत्या

प्रकाशित मिति : २०७६ असार ५

काठमाडौं । सर्लाहीमा नेकपा विप्लवका जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीद्वारा मारिएका छन् । प्रहरी र विप्लव नेकपाका कार्यकर्ताबीच भिडन्तमा मारिएका भनिएका कुमार पौडेल जिल्लाका निकै प्रभावशाली र क्षमतावान स्थानीय नेता हुन् ।

सर्लाहीको लालबन्दीमा भएको भनिएको उक्त भिडन्तमा पौडेल मारिएको भनेर प्रहरीले स्वीकार गरिसकेको छ । उता नेकपा निकट स्रोतले पौडेल प्रहरीद्वारा मारिएको भने पनि घटनाबारे विस्तृत धारणा भने सार्वजनिक गरेको छैन ।

प्रहरीले भने सिन्धुली जाने बाटोमा गस्तीमा रहेको प्रहरी टोलीमाथि लालबन्दी नगरपालिका–१ मा विप्लव नेकपाका कार्यकर्ताले आक्रमण गर्दा निज पौडेल मारिएको दाबी गरेको छ ।

घटनास्थलबाट प्रहरीले थ्री नट थ्रीको तीन राउण्ड गोली र ना २२ प ६४ नम्बरको मोटसाइकल बरामद गरेको बताएको छ । पौडेलसँग सँगै हिंडिरहेका अरु तीन जना भने भागेर ज्यान जोगाउन सफल भएको बताइएको छ ।