गौतम सम्मानित तर सगरमाथाको उचाइ गुमनाम

प्रकाशित मिति : २०७६ जेष्ठ २३

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ सफलतापूर्वक मापन गरेको भनी उचाइ मापन टोलीका प्रमुख इञ्जिनियर खिमलाल गौतम सम्मानित भएका छन् । माछापुच्छ्रे गाउँपालिकाका बासिन्दा गौतमलाई बुधवार विश्व वातावरण दिवसका अवसरमा वडा कार्यालयले सम्मान गरेको हो ।

गौतमलाई गाउँपालिकाका अध्यक्ष कर्ण गुरुङ र उपाध्यक्ष कृष्ण दवाडी दुबैले दोसल्ला ओढाएर सम्मान गरेका हुन् । कास्कीको जिल्लाको प्रमुख नापी अधिकृतका रुपमा कार्यरत गौतम नेतृत्वको टोलीले जेठ ८ गते सगरमाथाको चुचुरोमा पुगी एक घण्टा १६ मिनेट लगाएर सगरमाथाको उचाइ सर्वेक्षण गरेको थियो ।

सम्मानित गर्नेहरुका तर्फबाट सगरमाथाको उचाइ नाप्ने काम आफैमा एक ऐतिहासिक, साहसिक र प्राविधिक दक्षतासम्बन्धी काम भएकाले गौतमले देशकै इज्जत र प्रतिष्ठा उचो बनाएको बताइएको थियो ।

पोखरामा सम्मान गरिएका गौतम पहिलो नेपाली नागरिक हुन्, जसले सगरमाथाको उचाइ सर्वेक्षण गरेका छन् । तर उनले गरेको सर्वेक्षणको आधिकारिकता सार्वजनिक भएको छैन । गौतमले आफ्नो टिमले गरेको सर्वेक्षणलाई आवश्यक अनुसन्धान गरी पूर्व डाटाहरु भिडाई त्यसको आधिकारिकतासहित सार्वजनिक गरिने बताएका थिए ।