फेरि इजरायली मसिन ल्याउने हावा कुरामा प्रम ओली

प्रकाशित मिति : २०७६ जेष्ठ २३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इजराइलबाट कृषि उपकरण भित्र्याएर नेपालमा कृषि आधुनिकीकरण गरिने कुरा बताए । महानगरपालिकाद्वारा आयोजित ‘स्मार्ट अर्वन टेक्नोलोजी च्यालेन्ज २०१८’ कार्यक्रममा बोल्दै ओलीले नेपालमा ‘एग्रिकल्चर एक्सिलेन्स सेन्टर’ स्थापना गरी यसलाई गतिदिने कुरा बताए ।

प्रम ओलीले अर्काको देश इजरायलको निकै प्रशंसा गरे पनि । इजरायललाई बालुवा–बालुवाको देश भन्दै तथापि यो देश आफैमा कृषि उत्पादनमा आत्मनिर्भर भएको कुरा पनि गरे । आफ्नो देश नेपाल भने पुरानो खालको कृषिमा आधारित भएको भन्दै यहाँको कृषिलाई आधुनिकीकरण जरुरी भएकाले प्रविधिको आवश्यकता माथि जोड दिए । तर उनले यो कुरा गरेनन् कि युवाहरुलाई विदेश पठाउनुको साटो नेपालमा कृषिकर्ममा लगाउने र सरकारले उनीहरुलाई आर्थिक ऋण तथा अनुदान दिई कृषि उत्पादनमा देशलाई आत्मनिर्भर बनाउनु पर्छ भनेर ।

प्रम ओलीले आफ्नो देशको कृषि हजारौं वर्ष पहिलेको पुरानो र परंपरागत भएको भन्दै कृषिसम्बन्धी इजरायली टेक्नोलोजी भित्र्याए देश कृषि आधुनिकीकरणमा प्रवेश गर्ने पनि बताए । यो विदेशमुखी र यन्त्रमुखी सोचको उपज हो । आधुनिकीकरण इजरायली उपकरणले हुने होइन, यो त नेपालको कृषि क्षेत्रको विकासको चरण जहाँ पुगेको छ, त्यहींबाट त्यसै अनुरुपका स्थानीय प्रविधि तथा त्यहाँको आश्यकतामा आधुनिक प्रविधिको प्रयोगले हुने हो ।

ओलीको सोच चिनियाँ र भारतीय रेल ल्याएर विकास हुने, भारतीय सामान ढुवानी गर्ने पानी जहाज र डुंगा चलाएपछि विकास हुने, इजरायली उपकरण ल्याएपछि धान र मकै फल्ने आयातमुखी र दलालीकरणको उपज हो । नेपालका कृषकहरुको अवस्था के, कृषिको स्तरोन्नति कसरी, किसानहरुको आर्थिक हैसियत कति, सरकारको सहयोग कस्तो आदि कुरालाई ख्याल गरिनु पर्छ ।

नेपाली विशिष्टतामा हुने आर्थिक विकास र यसका लागि अध्ययन अनसन्धान जरुरी छ । एका देशको कथा सुनाएर, उखान टुक्का जुराएर, दोहोलो काढ्ने खेल खेलेर वा परिकल्पनाका कुरा गरेर देशको कृषि क्षेत्रको विकास हुँदैन ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण पहिले नै छ । यो हुँदाहुँदै र यसले केही काम नगरिरहेका बेला प्रधानमन्त्री ओलीलाई ‘एग्रिकल्चर एक्सिलेन्स सेन्टर’ स्थापनाको भूत चढेको छ । नेपालमा विकासका कामहरु होइन कि कसले के नाम राख्यो वा राख्ने हो भन्नेमा चिन्ता छ । हरेक कुरा नारामुखी र हरेक काम नाममुखी रहेका छन् । काम एक पैसा पनि भएको छैन ।