रिले अनसनको १४ औं दिन : नेतादेखि प्राध्यापकसम्मको ऐक्यबद्धता

प्रकाशित मिति : २०७६ जेष्ठ २०


काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले १४ दिनदेखि त्रिवि सेवा आयोगको गेटमा अनसन जारी राखेको छ । त्रि.वि.सेवा आयोग– खारेज गर, आयोगका भ्रष्ट पदाधिकारीहरुलाई तत्काल– कार्वाही गर, अवैधानिक रुपमा प्रकाशित गरिएको नतिजा– खारेज गर जस्ता तीन बुँदे माग राखेर गरिएको अनिश्चितकालीन रिले अनसनप्रति नेतादेखि प्राद्यापकसम्मले ऐक्यबद्धता जाहेर गरेका छन् र उपत्यका बाहिर पनि ठाउँ ठाउँमा रिले अनसनको समर्थनमा प्रदर्शन र अनसन समेत भइरहेका छन् ।


प्राप्त जानकारी अनुसार जारी रिले अनसनलाई प्रा.डा. विद्यानाथ कोइराला, प्रा. डा.सुरेन्द्र के. सी, प्रा. डा. कृष्ण हाछेथु, पुराना विद्यार्थी नेता लेखनाथ न्यौपाने लगायतले ऐक्यबद्धता जनाएका छन् । उनीहरुले अनसन स्थलमै पुगेर ऐक्यबद्धता जाहेर गरेका हुन् । यसअघि नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल, स्थायी समिति सदस्य रामसिंह श्रीस लगायत क्रान्तिकारी माओवादी सम्बद्ध जबस मोर्चाका नेताहरुले समेत ऐक्यबद्धता जनाएका थिए ।
अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलले रिले अनसन जारी राखिने र शिक्षा र स्वास्थ्यलाई पुर्ण रुपमा राष्ट्रियकरण, निशुल्क एवं सर्वसुलभ गराउनको निम्ति आन्दोलनलाई थप सशक्त बनाउने बताए ।


यसैबीच, सुर्खेत मध्यपश्चिम विश्वविद्यालमा पनि जारी अनसनको समर्थनमा अनशन सुरु गरिएको छ । विभिन्न माग राख्दै ०७६ जेठ ६ गतेदेखि त्रिवि शिक्षा आयोगको गेटमा जारी रिले अनशनको समर्थन र ऐक्यबद्धताका लागि मध्यपश्चिम विश्वविद्यालयमा पनि रिले अनसन थालिएको अखिल क्रान्तिकारी सुर्खेतका अध्यक्ष तथा अखिल क्रान्तिकारीका केस हिमाल शाहिले बताएका छन् । अनसनमा क्रान्तिकारी माओवादीका ६ नं. प्रदेश सचिव सीपी शर्मा, पार्टी जिल्ला सचिव श्याम कार्की लगायतका नेताहरुसमेत बसेको हाम्रा सहकर्मी गोपाल जिसीले जानकारी दिए ।