अखिल (क्रान्तिकारी)का अध्यक्ष ढकाल प्रहरीद्वारा गिरफ्तार

२४ घण्टाभित्र रिहाई नगरे सशक्त संघर्षमा उत्रने ११ विद्यार्थी संगठनको चेतावनी

प्रकाशित मिति : २०७६ बैशाख २७

काठमाडौं । ११ विद्यार्थी संगठनले शुक्रवार दिउँसो आफ्ना कार्यक्रमहरु पत्रकार सम्मेलन गरी सार्वजनिक गरिरहेकै बेला विप्लव नेकपानिकट अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरीले गिरफ्तार गरेको छ । उक्त गिरफ्तारीलगत्तै विद्यार्थी संगठनहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै २४ घण्टाभित्र ढकालको रिहाइ नगरिएमा ओली सरकारविरुद्ध सशक्त संघर्ष अघि बढाउने चेतावनी दिएका छन् ।

पञ्चायती काललाई पनि बिर्साउने गरी ओली सरकारले देखाएको फासीवादी हर्कतको चर्को विरोध गर्दै विज्ञप्तिको सुरुमा भनिएको छ– ‘पञ्चायतकालमा समेत सरकारले विद्यार्थी संगठनका राजनीतिक एवं शैक्षिक गतिविधिमाथि प्रतिबन्ध गरेको थिएन, सो समेतलाई माथ दिने गरी हालको केपी ओली नेतृत्वको नेपाल सरकारले फाँसीवादी शैलीमा गैरन्यायिक तवरले अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकाललाई पत्रकार सम्मेलन गरिरहेकै स्थान युनियन हाउसबाट प्रहरीले गिरफ्तार गर्नुले सरकारको तानाशाही प्रवृत्ति स्पष्ट हुन्छ ।’

सो निन्दनीय कार्यकोे ११ विद्यार्थी संगठन घोर विरोध एवं भत्सर्ना गर्दै गिरफ्तार गरिएका ढकाललाई ‘बिनासर्त तत्काल रिहाइको माग गर्दै’ यदि ओली सरकारद्वारा ढकाललाई ‘२४ घण्टाभित्र रिहाइ नगरिए सशक्त संघर्षमा उत्रने’ विज्ञप्तिमार्फत् जानकारी गराइएको छ । यसका साथै विद्यार्थी संगठनले ‘सरकारका यस्ताखाले गतिविधिको विरुद्धमा उत्रन सम्पूर्ण विद्यार्थीलाई अपिल’ समेत गरेको छ ।