क्रान्तिकारीहरु मृत्युलाई हाँकदिने प्रलयकारी सुनामी भई उठ्नु जरुरी

क्रान्तिकारीहरु मृत्युलाई हाँकदिने प्रलयकारी सुनामी भई उठ्नु जरुरी

कुवाभित्रको त्यो भ्यागुताले त्यही कुवाभित्र आफ्नो आनन्दमय संसारको अनुभूति गर्दै प्रफुलित भई क्वार्रक्वार्र कराई बसे जस्तैगरी, मार्क्सवादी शिक्षालाई सुगारटाइमा सिमित पार्ने किसिमले व्यावहारिक ज्ञानबाट बेखवरभई पूरै आँखा चिम्लेर मात्र मार्क्सवादी किताबी ज्ञानमा अल्झी, मार्क्सवादको ब्याख्या र विश्लेषण गर्दै हिंड्नु भनेको, आधुनिक समाजमा दर्शन–शास्त्रका धेरैजसो प्रोफेसरहरु वास्तवमा “पुरोहितवादको डिग्री प्राप्त नोकरहरु” बाहेक अरु केही होइन ।

मार्क्सवाद भनेको त मानव समाजको त्यो ज्ञान–सागरबाट चिन्तन् मनन् गरी त्यसबाट निचोड निकाली, वर्तमान मानव समाजको ठोस परिस्थितिको ठोस विश्लेषण गरी आजको आवश्यकता अनुरुप व्यवहारतः अग्रगमनतिर पाइला चाल्नुको नाम र काम हो मार्क्सवाद ।

मार्क्सवाद, त्यस्तो कुनै जडसूत्रवाद होइन, हो त विज्ञानमा आधारित अग्रगमनकारी द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद हो । देश, काल र परिस्थितिको ठोस वस्तुको ठोस विश्लेषण गरी अवश्यकता अनुरुप आआफ्नो देशको विशेषतामा आधारित राजनैतिक रणनीति, कार्यनीति र क्रान्तिकारी कार्यदिशा निर्माण गरी देश र जनतालाई पूर्ण मुक्त र स्वतन्त्र पारी, नयाँ जनवाद, वैज्ञानिक समाजवाद तथा साम्यवादतर्फ उन्मुख हुने सैद्धान्तिक मार्ग दर्शन हो ।

यसै मार्गदर्शनको धरातलमा उभेर मार्क्सवादलाई चरणवद्ध विकास गर्ने काममा लेनिनले कोसेढुङ्गा थप्नुभयो, अर्थात् लेनिनले पुँजीवादी मुलुकमा गरिने सर्वहारा क्रान्तिको मोडेलको रुपमा आफ्नो देश रुसमा कायम रहिआएको पूँजीवादी चक्रब्यूह तोड्न सशस्त्र विद्रोहको मोडेल प्रस्तुत गरी उक्त क्रान्तिकारी युद्ध सफल तुल्याउन रुसी विशिष्टतामा आधारित रहेर सिर्जनात्मक कला प्रयोग गरी समाजवादी क्रान्ति सफल गर्यो । वास्तवमा यो मार्क्सवादको विकसित छलाङ्ग हो लेनिनवाद ।

त्यसैगरी चिनियाँ समाज औपनिवेशिक, अर्ध–औपनिवेशिक र अर्ध–सामन्ति रहिआएको सन्दर्भमा माओले चीनको वस्तुस्थितिको माग अनुरुप मार्क्सवाद–लेनिनवादी पथप्रदर्शनलाई आत्मसात् गरी चीनको ठोस परिस्थितिको ठोस विश्लेषण गरी, औपनिवेशिक, अर्ध–औपनिवेशिक तथा अर्ध–सामन्ती समाजमा ‘गाउँले सहर घेर्ने दीर्घकालिन जनयुद्धको मोडेल प्रस्तुत गरी सर्वहारा क्रान्तिकारी युद्ध सफल तुल्याउन चिनियाँ समाजको विशिष्टतामा आधारित रहेर सिर्जनात्मक कला प्रयोग गरी नयाँ जनवादी क्रान्तिको धुरी चढ्न सफल भयो । मार्क्सवादको यो अर्को दोस्रो गुणात्मक र विकसित छलाङ्ग हो माओवाद ।

यसो भनेर फेरि, मार्क्सवाद–लेनिनवाद–माओवादी शिक्षा अध्ययन गर्नुको नाउँमा उही पुरानो किताबी पढाइको शिक्षा प्रणालीलाई अङ्गीकार गर्नु ठीक होइन । त्यस शिक्षा प्रणालीले मानिसहरुलाई यस्ता थुप्रै अनावश्यक, अनुपयोगी र निर्जिव ज्ञान प्राप्त गर्न विवश तुल्याउँथ्यो, जो दिमागमा खाँदिएर रहेको हुन्थ्यो र जसले जनमानसलाई दक्षिणपन्थी अवसरवाद, नवसंशोधनवादको साँचोमा धालेर क्रान्ति विरोधीमा परिणत गरिदिन्थ्यो ।

तर मानव–ज्ञानद्वारा सञ्चित निधिलाई हृदयंङ्गम नगरिकन कम्युनिष्ट बन्न सकिन्छ भन्ने यसबाट निष्कर्ष निकाल्न खोज्नु भयो भने तपाइले ठूलो भूल गर्नु हुनेछ । स्वयम् साम्यवाद जसको परिणाम हो यो समग्र ज्ञान आत्मसात नगरिकनै कम्युनिष्ट नाराहरु र साम्यवादी विज्ञानको निष्कर्षहरु मात्र रट्नु पर्याप्त छ भन्ने सोच्नु पनि ठूलो गल्ति हुनेछ । मानव ज्ञानको निधिबाट साम्यवादको प्रादुर्भाव कसरी भएको थियो भन्ने कुराको उदाहरण हो– मार्क्सवाद।

मालेमावादी कम्युनिष्टहरुले अत्यन्तै महत्वका साथ ध्यान केन्द्रित गर्नुपर्ने कुरो भनेको सशस्त्र बलद्वारा राजसत्ता कब्जा गर्नु र सशस्त्र विद्रोह (जनयुद्ध) द्वारा समस्याको फछ्र्यौट गर्नु क्रान्तिकारी कम्युनिष्टहरुको केन्द्रिय अभिभारा र सर्वोच्च रुप हो । क्रान्ति सम्बन्धी यो मार्क्सवाद–लेनिनवाद–माओवादी सिद्धान्त सर्वव्यापी रुपले नेपालमा जस्तै अरु प्राय सबै देशहरुमा लागु हुन्छ ।

युगौं युगदेखि नेपालका वीर–विराङ्गनाहरुको रगतले कोरेको नेपालको गौरवशाली इतिहांसमा कालो धब्बा स्वरुप तत्कालिन निम्छरो शासक वर्गले आफ्नो वर्गीय तथा व्यक्तिगत स्वार्थ सामु राष्ट्रिय स्वाधिनतालाई तुच्छ मानी आततायी ब्रिटिस साम्राज्यवाद सामु नतमस्तक भई गरेको १८१६ मार्च ४ को सुगौली सन्धिले नेपालको भूभाग करिवन एकतिहाई, अर्थात् नेपालको पूर्व सिमाना मेची नदी र पश्चिमको महाकाली नदी बीचमा खुम्चियो ।

पूर्व पश्चिम ११२० कि.मि.को लम्बाईमा फैलिएको ८५५ कि.मि.मा सिमित हुन गयो । विशाल नेपालको चौवन्दी सिमाना ३७७६ कि.मि.को सिमारेखामा तन्किएको थियो भने सुगौलीको सन्धिले २८८९.४७ कि.मि.को सिमाबन्दीको रेखाभित्र रहन बाध्य गरायो । २,०४,९१७ वर्ग कि.मि. क्षेत्रफलबाट १,४७,१४१ वर्ग कि.मि.को सीमित रहन पुग्यो ।

३,२२२.८८ कि.मि. सिमारेखाले नेपाल राज्य घेरिएको मध्ये १,४३९.१८ कि.मि. लामो सीमारेखाले चीन सीमा छोएको छ भने १,८८० कि.मि. सीमारेखा भारतीय सीमातर्फ पर्दछ । नेपाल–भारत नदी सीमाखण्डमा साना–ठूला गरी ६० वटा नदी नालाले दुई देशका सिमानाको काम गरेका छन् । यस्ता नदीहरु मध्ये पूर्वको मेची र पश्चिमको महाकाली उल्लेखनीय रहेका छन् । मेचीले ८० महाकालीले २२५, नारायणीले २४, राप्तीले ६ र अन्य बाँकी नदीहरुले ३३५ कि.मि. सीमारेखाको काम गरेको छ । नेपालको २६ जिल्ला भारतसँग जोडिएका छन् भने १५ जिल्लाले चीनको सिमाना छोएका छन् ।

त्यसो त बेलायतको संसदले १८ जुलाई १९४७ मा पारित गरेको “इण्डिया इन्डिपेन्डेन्ट ऐक्ट”मा स्पष्ट रुपमा हामी जुन अवस्थामा भारत आएका थियौं, त्यहि अवस्थामा छाडेर जाँदैछौं भन्ने लेखिएको निर्णयले त्यो सुगौली सन्धिको पनि औचित्यता समाप्त भएको जनाइसकेको स्थिति छ भने अर्कोतिर सन् १९५० जुलाई ३१ मा भएको नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको धारा ८ मा यो सन्धि भएको मिति भन्दा पहिले भारत सरकारका तर्फबाट बेलायत सरकार र नेपाल सरकार बीच भएका सबै सन्धिपत्र, स्वीकारपत्र र कबुलनामाहरुलाई खारेज गरेको अवस्था र ३० अक्टोबर १९५० को नेपाल–बेलायत बीच भएको सम्झौताको धारा ८ मा पनि काठमाडौंमा भएको २१ डिसेम्बर १९२३ सन्धि तथा यस पूर्वका सम्पूर्ण सन्धिहरु, व्यवस्थाहरु र सम्झौताहरु वर्तमान सन्धि लागु भएसँगै कार्यरुपमा प्रयोग हुनबाट कितानीसाथ बञ्चित भएको स्पष्ट भइसक्दा पनि साम्राज्यवाद विशेषतः भारतीय विस्तारवादका दलाल सत्ताधारी बुँख्याचाहरु चुँसम्म नबोलेको मात्र हैनन् ।

ती बुँख्याचाहरुले भारतीय विस्तारवादसँग १९६५ को सन्धि नेपालको अथाह जलस्रोत सम्बन्धी विभिन्न परियोजना सन्धि, व्यापार तथा पारवहन सन्धि, बिप्पा सन्धि लगायत विभिन्न कालखण्डमा भए गरेका असमान सन्धि सम्झौता गर्दै देशलाई नङ्ग्याउँंदै जनतालाई थाङ्नामा सुताई आफुहरु चाहिं पूरै ऐयासी जीवन व्यतित गर्नमै व्यस्त रहिआएका छन् ।

बर्तमानका यी कथित बाम्पन्थि बहुमतिय सरकार (मत्ताहात्ती), भ्रस्ताचार, घुसखोर कमिसनतन्त्रका महारथी देशद्रोही निकम्वा सत्तासिनहरुले पनि नेपाललाई अज्झ अरु बरबाद गर्ने क्रममा भूमाफियाहरुसँगको मिलेमतो गरी नेपाली उर्बरा भूमिलाई मरुभूमिमा परिणत गर्दै, कृषि प्रधान देश नेपालको अर्थव्यवस्थाको मूल स्तम्भ किसान समूदायलाई बिल्लनवाठ पारी देशको अर्थव्यवस्था धरासाई पार्नु, देशका युवा पुस्तालाई बेरोजगारको चपेटामा पारी विश्व बजारमा सस्तो मजदुरीमा निर्यात गरी आएको रेमिट्यान्सले देशको अर्थव्यवस्था धान्न बाध्य बन्नु, हुँदाहुँदा हेपाहा र मिचाहा प्रवृत्तिका भारतीय विस्तारवादले अनाधिकार निर्माण गरेको नेपालको भूभाग कालापानी र लिपुलेख बिनाको नेपालको नक्कली नक्सा र सोही नक्सा सहितको निशानाछाप बेरोकटोक सरकारी कार्यालयहरुमा प्रयोगमा ल्याउनु र यस विषयमा सरकार मौन बस्नु, के यो सार्वभौमसत्ता माथि खेलवाड होइन ?

हो, अब बाँकी रहेको छ त नेपाली अनुहारका ती भारतीय विस्तारवादी दलालहरुले हाम्रो प्राण भन्दा प्यारो स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न भूअखण्ड राष्ट्र नेपाललाई संघीय संसदबाटै भारतमा विलय गरियो वा भयो भनी प्रस्ताव पास गर्नु गराउनु । नेपालमा यस प्रकारको कालो बादल मडारिरहेको यो अत्यन्तै भयावह स्थिति सिर्जना गर्दै र हुँदै आइरहेको वर्तमान स्थितिलाई बुझपचाएर कुनै पनि स्वाभिमानी नेपालीहरु हात मुखबाँधी गुमसुम भइ बस्न सकिदैन र बस्न हुँदैन ।

ओली नेतृत्वको वर्तमान सरकार फासिस्त चरित्र निर्माण गर्दै नेपाली भूमिलाई अमेरिकी साम्राज्यवादी स्वार्थ (रणनीति) अनुरुप प्रयोग गर्न र हुनदिने मनसायका साथ त्यसैको पछि पछि आँखा चिम्लेर दगुर्न थालेको गम्भिर आशंका उब्जिन थालेको छ । उता स्याल कराउनु यता कुखुरा हराउनु भने जस्तै नेपालका परराष्ट्रमन्त्री अमेरिका जानु र त्यहाँ इण्डो–प्यासिफिक मिसनमा नेपाललाई सहमत गराइयो भन्ने समाचारहरु आउनु, यता नेपालमा देशलाई विखण्डन गर्न गराउन सिके राउटले आफ्नै नेतृत्वमा पृथकतावादी पार्टी नै खोलेर खुलेयाम क्रियाशिल रहिआएका सिके राउटलाई पुरै रहस्यमय ढङ्गले आकस्मिक रुपमा रिहा गराई उनसँग त्यो पनि बेटा न बेटी अर्थात दोहरो अर्थलाग्ने भाषा प्रयोग गरी सहमति गर्नु कतई सिके राउटको कुरा इन्डो–प्यासिफिकमा अमेरिकी रणनीतिसँग जोडिएको त छैन गम्भिर आशंका छ ।

जनयुद्ध दवाउन सेना परिचालन र आफ्नो टाउकाको मूल्य टोक्न घनिष्ट सहयोगी बनेका केपी ओलीसँग घाँटी जोडि जनयुद्ध विरोधी प्रतिक्रियावादीहरुको भाषा बोली, विप्लव नेतृत्वको नेकपा माथि प्रतिबन्ध लगाई मुलुक ब्यापि फासिष्टवाद लाड्ने अभ्यासमा लागेका ओलीको फेद समाई आनन्दित मनले जुँगा मुसार्न मै ब्यस्त छ प्रचण्ड । कम्युनिष्ट नाउँकै कलंक यिनीहरु साम्राज्यवाद विस्तारवादीहरुको टहल चाकडि र सेवा सुसारमा लाग्दालाग्दै यिनीहरुको राजनैतिक सुजबुझनै गुम भइसकेको  छ । 

त्यसैले त यिनीहरुसँग सामन्तिका प्रतिक पूर्वं राजा विरेन्द्रसँग जत्तिको राजनैतिक सुझबुझ पनि छैन । राजाले त जनयुद्ध दवाउन सेना परिचालनको हुकुम बक्सनु पर्यो भनि विन्ति चढाउन आएका गिरिजालाई, तिमीहरु राजनीतिज्ञ हौ, यो राजनीतिक समस्यामा सेना परिचालन होइन, राजनीतिक समस्यालाई राजनैतिक रुपले नै समस्या समाधान गर्नुपर्छ भनि फर्काएका थिए ।

कैलालीको टिकापुर घटना पनि तिनीहरुले भनेजस्तो स्थितिबाट घटेको घटना पक्कै पनि होइन । हो त उक्त घटना आफै बोक्सी आफै धामी भने जस्तै गरी तिनीहरु आफैले थारु मधेशीहरुले ज्यादती गरेका हुन भनेर पहाडी, मधेशी र थारुहरुलाई विभाजित गराउने उद्देश्यले साम्प्रादायिक षडयन्त्रमा उत्रेर प्रतिक्रियावादीहरुले गराएको घटना हो त्यो ।

खासमा भन्ने हो भने यी निम्छरो दलाल, सामन्ति र पं्रतिक्रियावादीहरुको निम्ति जनजागरण, जन–एकता,राजनैतिक गतिविधि र चहल पहल सृजना हुनु भनेको महाप्रलयकारी सुनामी उठ्नु सरह हो । तसर्थ उनिहरु आफ्नो बलबुट्टाले भ्याएसम्म जनजागरण, जनएकता र कुनै किसिमको राजनैतिक चहलपहलविरुद्ध गएर राजनीतिक अनेकौं षड्यन्त्र र तौरतरिका अपनाई खरो उत्रने गर्छन को चरितार्थ यो कैलालीको टिकापुर घटनालाई राजनीतिक सहमतिको आधारमा टुग्यांउनुको सट्टा रेशम चौधरी लगायत ११ जनालाई जन्मकैदको गएर राजनीतिक अदालती फैसला गरेको छ । यो गम्भिर घटना हो ।

नेपालको वर्तमान स्थिति दिनानु दिन एक पछि अर्को गरी राष्ट्रिय स्वाधिनता, जनतन्त्र र जनजिविका अत्यन्तै जतिल बन्दै गइरहेको छ । के यस्तो जतिलतम स्थिति आइपरी सक्दा पनि क्रान्तिकारी देशभक्त प्रगतिशिल राष्ट्रवादी तथा जनवादीहरु हातमा दही जमाई बस्नु ठिक हो र ? कदापि ठिक होइन र ठिक मान्न सकिन्न । देशको वर्तमान स्थितिबाट राष्ट्रिय स्वाधिनता जनतन्त्र र जनजिविकालाई सुरक्षित सहज सुलभ बनाई देश र जनतालाई मुक्ति र स्वतन्त्रताको निम्ति नयाँ जनवादी क्रान्ति अपरिहार्य छ मात्र होइन, धिलो हुँदैगइरहेको छ ।

देशमा विकशित यस्तो विकराल स्थितिबाट पूर्ण रुपले सचेत भई अरु धिलो नगरी पूरै तयारिका साथ जनवादी क्रान्तिको झण्डा मूनि एकत्रितभई मृत्युलाई हाँक दिने जुझारु मनस्थितिसाथ एक ढिक्कोभई कम्मर कसेर प्रलयकारी सुनामिको रुप धारण गरी नयाँ जनवादी क्रान्ति (सशस्त्र बिद्रोह) मा उत्रनु नितान्त जरुरी छ र यो हाम्रो क्रान्तिकारी राष्ट्रिय दायित्व पनि हो ।